२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

सातौं नेपाल फोटो प्रतियोगिता हुने

काठमाडौं – फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्लोबल आइएमई बैंकसँगको सहकार्यमा सातौं संस्करणको नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको छ। क्लबले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सो प्रतियोगिता तथा प्रदर्शनीको घोषणा गरेको हो।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहनेका लागि आइतबारबाट आवेदन खुल्ला गरिएको छ। क्लबको आधिकारिक वेवसाइटबाट फोटोहरु दर्ता गर्न सकिनेछ। व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन्। प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन्। तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको फोटो समावेश गराउन पाइने छ।

कार्यक्रममा प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको ‘नेपाल ल्याण्ड अफ कन्ट्रास–५’ संग्रह पुस्तक सार्वजनिक गरिएको थियो। प्रतियोगिताको मुख्य विधा फोटो अफ द इयरको विजेताले १ लाख रुपैयाँ पाउनेछन्। आइतबारदेखि सुरु भएको दर्ता प्रक्रिया आगामी माघ १७ मध्यरातमा १२ बजे बन्द हुनेछ। पिजे क्लबले भव्य कार्यक्रमबीच सातै विधाका विजेताको घोषणा गरेर विजेतालाई पुरस्कार वितरण गर्नेछ। प्रतियोगिताका उत्कृष्ट फोटोहरुलाई काठमाडौं र मोफसलका पाँच स्थानमा प्रदर्शनी गरिने पिजे क्लबका अध्यक्ष विकास कार्कीले बताए।

प्रतियोगितामा न्युज फोटो, डेली लाइफ, कल्चर एण्ड टुरिजम, नेचर एण्ड वाइल्डलाइफ, नेपाल स्माइल, स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन्। विभिन्न सात विधाका विजेताले जनही ३० हजार, उपविजेताले जनही २० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन्।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले स्थापनाको छोटो समयमा क्लबले ठोस उपलब्धि हाँसिल गरेको उल्लेख गरे। ‘यो क्लबको अवधारणा एउटा सानो कोठामा भएको थियो,’ उनले भने, ‘तर यसले स्थापनाको यति छोटो समयमै पाएको उपलब्धि निकै गौरवशाली छ।’

कार्यक्रममा ग्लोबल आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थापना भएको छोटो अवधिमा नै क्लबले लिएको उचाइ तथा उपलब्धिको प्रशंसा गर्दै क्लबले गरेका कामहरू उदाहरणीय रहेको बताए। उनले विगत ५ वर्षदेखि ग्लोबल आइएमईले क्लबसँग सहकार्य गरिरहेको र आगामी दिनमा समेत क्लबसँग सहकार्य जारी राख्ने जानकारी दिँदै यसबाट सरकारको भ्रमण वर्ष–२०२० अभियानमासमेत सघाउ पुग्ने अपेक्षा व्यक्त गरे।

प्रकाशित: २१ पुस २०७६ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App