९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

हराउँदै थारू समुदायकाे मन्द्रौहा नाच

कैलाली – पौराणिक कथामा आधारित रहेर नाटकीय रूपमा नाचिने थारु समुदायको मन्द्रौहा नाच बिस्तारै हराउँदै गएको छ। धान भित्र्याएपछिको थकान मेट्न नाचिने मन्द्रौहा नाचमा युवा पुस्ताको सहभागिता हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो।

मनोरञ्जनात्मकसँगै संस्कृति संरक्षण गर्दै नाचिने मन्द्रौहा नाचमा पुस्तान्तरणको अभावका कारण लोप हुँदै गएको गौरीगंगा नगरपालिका–७ मट्कौनाका स्थानीय गंगाराम चौधरीले बताए। दसैंदेखि छठसम्मको अवधिमा यो नाच प्रचलित हुने गरेको भएपनि युवा सहभागिता न्यून रहेको छ। ‘द्वन्द्वकालदेखि मन्द्रौहा नाच विस्थापित हुँदै गएको थियो।

अहिले पुस्तान्तरण हुन नसक्दा र युवाहरुले रुचि नदेखाउँदा यो नाच हराउँदै गएको छ,’उनले भने, ‘भगवान राम र लक्ष्मणको जीवनीमा आधारित रहेर नाचिने मन्द्रौहा नाचमा नाटकीय भूमिका प्रस्तुत गर्न नसक्नुले पनि यो नाच लोप हुने शंका बढेको छ।’ मन्द्रौहा नाचमा पुरुषले महिलाको नृत्य पोशाक (लेहंगा, चोली तथा गरगहना) लगाएर मादलको धुनमा नाचिन्छ। जसलाई थारु भाषामा नचुनिया भनिन्छ। नचुनियाले नाचिसकेपछि मात्र मन्द्रौहा नाचको नाटकीय पात्रको आगमन हुने गर्छ।

रातभर मन्द्रौहा नाच नाचेपछि बिहानीपख कुखुराको डाँकोसँगै झुम्रा नाच देखाएर मन्द्रौहा नाच सकाउने प्रचलन रहेको छ। भगवान राम र लक्ष्मणको जीवनीलाई आधार बनाएर पीडाको कथा मिसाउँदै मादल बजाएर देखाउने मन्द्रौहा नाच प्रविधिको विकाससँगै लोप हुन लागेको स्थानीय भलमन्सा जोगी बताउँछन्। ‘पुरानो संस्कृतिमा मादलद्वारा नाच देखाउने गरिन्थ्यो,’ उनले भने, ‘तर, आधुनिक समयमा डिजे र आधुनिक नृत्यले गर्दा मन्द्रौहा नाच लोप भइसक्यो।’ आधुनिक फेसनप्रति युवा आकर्षित हुनु र परम्परागत पहिरन लगाउन लजाउनुले पनि मन्द्रौहा नाचको अस्तित्व हराउँदै गएको उनको बुझाइ छ।

मन्द्रौहा नाचमा केटीको लुगा लगाएर सुन्दरी बनेर नाचेको स्मरण गर्दै स्थानीय प्रेम जोगी भन्छन्, ‘मट्कौनाको मन्द्रौहा नाच भनेपछि कुनै समयमा चर्चित थियो।’ विसं. २०४७ सालतिर धनगढी जाली गाउँमा मन्द्रौहा नाचको माग भएपछि त्यहाँ पुगेर कला प्रस्तुत गरिएको उनले स्मरण गरे। ‘एक रात नाच देखाउने भनेर धनगढी जाली पुगेका हामीलाई दर्शकले खुबै रुचाएपछि दुई रात बसेर नाच देखायौं,’ उनले भने, ‘त्यस समयमा पनि नाच राम्रो मानेर दर्शकले पैसा दिएका थिए।’

मट्कौनाको मन्द्रौहा नाच त्यो समयमा थारु बस्तीमा चर्चा कमाएको उनले बताए। मन्द्रौहा नाचमा सधैं राजाको अभिनयमा देखा पर्ने चेचुराम जोगी पनि आधुनिक गीत संगीतमा थारु समुदायका नयाँ पुस्ताको आकर्षले गर्दा मन्द्रौहा नाच संकटमा परेको बताउँछन्। संकटकालमा रातिको समयमा घुम्न मिल्दैनथ्यो। मन्द्रौहा नाच राति नाचिने भएकाले त्यस समयदेखि बन्द भएको उनले बताए। ‘द्वन्द्वकालमा रातिको समयमा मन्द्रौहा नाच बन्द गर्नुप¥यो,’ उनले भने, ‘त्यसयता भने मन्द्रौहा नाच नाचिएको छैन।’ देशमा स्थायी शान्तिपछि सबैले क्यासेट तथा म्युजिक प्लेयरबाट नाचगान गर्न थालेसँगै मन्द्रौहा नाचप्रति कसैको चासो नगएको उनको बुझाइ छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App