९ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

सेलिब्रिटीका तिहार थरीथरी

काठमाडौं  – प्राय सुटिङ र रेकडिङमा व्यस्त रहने सेलिब्रिटीहरुले परिवार, आफन्त र फ्यानहरुसँग तिहार मनाएका छन्। कोही सांगीतिक कार्यक्रमको सिलसिलामा विदेशमा रहेका फ्यानसँग मिलेर तिहार मनाए भने कोही परिवारसँग बसेर तिहारको रमझममा रमाएको फोटोहरु सामाजिक सञ्जालमा राखेका छन्।

अधिकांश सेलिब्रिटीले सुटिङ र रेकडिङको चटारोबाट फुर्सद लिएर कुकुर पूजा, लक्ष्मी पूजा र भाइटिका मनाएका फोटो सामाजिक सञ्जालमा राखेका छन्। अभिनेता अनमोल केसीले तिहारको अन्तिम दिन भाइटिका मनाएको फोटो सामाजिक सञ्जालमा राखेका थिए। उनले बहिनी प्रान्सु केसीले दिर्घायुको कामना गर्दै सप्तरंगी टिका र माला लगाइदिएको फोटो फेसबुकमा राखेका थिए। उनका बुबा अभिनेता भुवन केसीले पनि भाइटिका लगाएको फोटो फेसबुकमा राखेका थिए।

त्यस्तै अभिनेत्री रेखा थापाले लक्ष्मी पूजादेखि भाइटिका मनाउँदासम्मका विभिन्न फोटो सामाजिक सञ्जालका राखेकी थिइन्। ‘दीपजस्तै उज्यालो, जगतझैं भरिपूर्ण र उमंगले झिलिमिली होस् सबैको जीवन। तिहारको न्यानो शुभकामना,’ उनले फेसबुकमा लेखेकी थिइन्।

अर्की अभिनेत्री प्रियंका कार्कीले तिहार मनाउँदै गरेका विभिन्न फोटोहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा राखेकी थिइन्। पछिल्लो समय ‘जस्ट एनदर लभ स्टोरी’ नामक वेव सिरिज निर्माण गरिरहेकी उनले तिहारमा रंगोली बनाएदेखि लक्ष्मी पूजा र भाइटिकाका विभिन्न फोटो राखेकी थिइन्।

हाँस्यकलाका हरिवंश आचार्यले परिवारसँग तिहार मनाउँदै गरेको फोटो फेसबुकमा राखेका थिए। उनले लक्ष्मी पूजा र रंगोलीअघि खिचेका फोटोहरु सामाजिक सञ्जालमा राखेर लेखेका थिए, ‘ह्याप्पी तिहार।’

अभिनेत्री केकी अधिकारीले पनि तिहारको झिलिमिलीमा रमाउँदै गरेको फोटो सामाजिक सञ्जालमा राखेकी थिइन्। उनले रंगोली, लक्ष्मी पूजादेखि भाइटिकाको टिका लगाउँदै गरेका फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन्। त्यस्तै अभिनेत्री निता ढुंगानाले यसपालिको तिहार टिका लगाईनन्। उनले देउसीभैलो खेलेको हेरेर तिहार मनाएको बताइन्।

हाँस्यकलाकार सिताराम कट्टेलले यसपालि दुई बहिनीको हातबाट टिका लगाएर तिहार मनाएको बताए। देउसीभैलो नखेलेपनि परिवारसँग मिलेर लक्ष्मी पूजा गरेको जानकारी उनले दिए। ‘फुसर्दमा परिवारसँग चाडपर्व मनाउनुको रमाइलो बेग्लै हुन्छ। तिहारमा परिवारसँग मिलेर लक्ष्मी पूजादेखि भाइटिकासम्म मनाउने मौका मिल्यो,’ उनले भने। अभिनेत्री अदिती बुढाथोकीले तिहार मनाएको फोटो सामाजिक सञ्जालमा राखेकी थिइन्।

गायक बद्री पंगेनीले दिदीको हातबाट भाइटिका लगाएका थिए। तिहारमा सांगीतिक कार्यक्रमका लागि कोरिया पुगेको उनी भाइटिका थाप्न दिदीको घर पोखरा पुगेका थिए।

चित्रकार विधाता केसीले तिहार रमाइलोसँग मनाएको बताइन्। ‘कलासम्बन्धी कार्यशालामा सहभागी हुन चीन पुगेको थिएँ। लक्ष्मी पूजाको दिन नेपाल आएर तिहार मनाए। आफ्ना दाजुभाई नभएकाले मामाको छोरालाई टिका लगाएर भाइटिका मनाएँ,’ उनले भनिन्।

गायिका सुनिता दुलालले तिहार मनाउँदै गरेका फोटोहरु सामाजिक सञ्जालमा राखेकी थिइन्। उनले भैलो खेलिरहेको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दै शुभकामना समेत दिएकी थिइन्। त्यस्तै अभिनेत्री वर्षा राउत, हेमन्त शर्मा , प्रमोद खरेल, दीपाश्री निरौला र ऋचा शर्मालगायतका कलाकारहरुले सामाजिक सञ्जालमा तिहार मनाएका फोटोहरु राखेका थिए।

प्रकाशित: १४ कार्तिक २०७६ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App