२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

तिहारमा थरीथरीका गीत

न गलामा फूलको माला,
न निधारमा टिका,

यसपालि नि झ-यो दिदी,
बरबर आँसु ढिका।।

विन्द्यावासिनी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘टिका माला’ बोलको गीतले तिहार निजिकिदै गर्दा चर्चा बटुल्दैछ। गायक रमेश बिजीले दिदीभाईले भाईटिका मनाउन नपाउँदाको पीडा समेटेका थिए। तिहारलाई केन्द्रित गरेर गायक रामकृष्ण ढकाल, शान्तिश्री परियार, खुमन अधिकारी र सन्तोष केसीलगायत कलाकारले युट्युबमार्फत् गीत सार्वजनि गरिरहेका छन्।

तिहारको झिलिमिलीदेखि, सेल रोटी, देउसी–भैलो र परदेशको पीडामा आधारित गीतहरुले चर्चा कमाइरहेका छन्। गायक रमेश बिजीका अनुसार नेपालीहरुको महान पर्वमा केन्द्रित गरेर निकालिएका गीत संगीत स्रोता र दर्शकले धेरै सुन्ने गरेका छन्। ‘नेपाली मौलिकता र संस्कृति झल्काउने गीतहरु तिहारको निम्ति तयार हुने गरेका छन्। समाजमा विकृति फैलाउने गीतहरुमा जोड दिनुहुन्न्,’ उनी भन्छन्। ‘टिका माला’ गीतमा दाजु बहिनी र दिदी भाईको सम्बन्ध झल्काएको दाबी उनले गरेका छन्।

अर्का गायक खुमन अधिकारीले ‘यो तिहारमा’ र ‘आँगनमा भैलेनी’ गीतहरु बजारमा ल्याएका छन्। उनले तिहारका गीतमा मौलिकतामा जोड दिएका छन्। ‘तिहारमा खेलिने देउसी र भैलो संस्कृतिमाथि आधारित गीतहरु दर्शक र स्रोताले मनपराउने गरेका छन्। त्यसलाई केन्द्रित गरेर यसपटक दुई वटा गीत सार्वजनिक गरेको छु। मैले नेपाली समाजको मौलिकता र सांस्कृतिक पक्षलाई आधार बनाएर गीत तयार गरेको छु। यस्ता गीतले समाजमा सकारात्मक सन्देश दिने गर्छन्,’ उनले भने।

गायिका शान्तिश्री परियार र नन्दु परियारले तिहार संस्कृतिलाई केन्द्रित गरेर ‘रातै रमाइलो’ गीत सार्वजनिक गरेका छन्। गायिका परियारका अनुसार स्रोता र दर्शकले चाडपर्वमा रमाइलो शैलीका गीत सुन्न मनपराउने गर्छन्। ‘चाडपर्वमा परिवारसँग रमाइलो गर्न रुचाउने दर्शक र स्रोताहरुलाई केन्द्रित गरेर रमाइलो शैलीका गीत सार्वजनिक गरेको छु। यसमा नेपालीपनसँगै मौलिकता र सांस्कृतिक पक्षमा जोड दिएको छु,’उनले भनिन्। ‘रातै रमाइलो’ गीतलाई खेम सेन्चुरीले लेखेका हुन्।

गायक पशुपति शर्माले यसपटक तिहारमा नयाँ गीत सार्वजनिक गरेनन्। गत वर्षको गीत दर्शक र स्रोताले सुनिरहेको हुँदा यसपटक नयाँ गीत सार्वजनिक नगरेको तर्क उनको छ। ‘मौलिक चाडपर्वका लागि ल्याइने गीतहरुमा नेपालीपन हुनु आवश्यक रहेको छ। त्यसबाहेक नेपाली संस्कृति र मौलिकता झल्काउने गीतलाई सबैले मनपराउने गरेका छन्। चाडपर्वको नाममा ल्याएका गीतहरु नयाँ पुस्ताले सुन्न मिल्ने साथै हाम्रो संस्कार र संस्कृतिलाई बुझ्न सक्ने हुनुपदर्छ। संस्कृतिसँग सम्बन्धित नभएका गीतलाई पर्वको नाममा सार्वजनिक गर्नुहुँदैन्,’ उनले भने।

गायक सन्तोष केसीले ‘देउसी रे’ बोलको गीत सार्वजनिक गरेका छन्। चर्चा कमाउन विकृतिलाई जोड दिएका गीतहरुले समाजमा असर गर्ने हुँदा कलाकारहरु जिम्मेवार हुनुपर्ने तर्क उनले गरेका छन्।

प्रकाशित: ७ कार्तिक २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App