१९ असार २०८१ बुधबार
image/svg+xml
कला

फोटोमा ‘न्यायको प्रतिक्षा’

काठमाडौं - बबरमहलस्थित नेपाल कला परिषद्मा द्वन्द्व पीडितहरूले न्यायको लागि गरेको प्रतिक्षामा आधारित फोटोहरू प्रदर्शनीमा राखिएका छन्। बिहीबारदेखि सुरू भएको द्वन्द्व पीडितहरूको ‘न्यायको प्रतिक्षा’ नामक फोटो प्रदर्शनीमा नेपालभरबाट संकलन फोटोहरू समावेश गरिएका छन्।

द्वन्द्व पीडितहरू फोटो र कथासहितको क्याप्सन प्रदर्शनीमा राखिएका छन्। त्यस्तै न्यान्यको लागि संघर्ष गरिरहेका पीडितहरूको पीडामा आधारित डकुमेन्ट्रीसमेत प्रस्तुत गरिएको थियो।  सशस्त्र द्वन्द्वका बेला यौन हिंसामा परेका, अंगभंग भएका, बेपत्ता पारिएका व्यक्ति र तिनका परिवारले भोग्नु परेको पीडालाई उजागर गर्ने फोटोहरु प्रदर्शनमा राखिएको छ।

‘द्वन्द्वकालपछि गठित सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पीडितहरूको पक्षमा काम गर्न सकेको छैन्,’ द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका संयोजक गोपालबहादुर शाहले भने, ‘आयोगलाई राजनीतिक भर्तीको थलो बनाएर सिफारिस समितिले पदाधिकारी पीडितको निम्ति काम गर्न दिएका छैनन्।’
१० वर्षे सशस्त्र द्वन्द्वको अवधिमा १३ हजारभन्दा बढी मानिसहरू मारिएका थिए। सरकारले न्यायको लागि स्थापना गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगले न्यायको लागि कुनै किसिमको काम गर्न नसकेको द्वन्द्व पीडितहरू बताउँछन्।

कार्यक्रममा महिला, कानून र विकास मञ्चले ‘नमेटिएका द्धन्द्धका डोबहरू’ नामक पुस्तक समेत विमोचन गरेको थियो। नेपाली र अंग्रेजी भाषामा प्रकाशित पुस्तकमा सशस्त्र द्वन्द्वकालमा भएका यातना, यौन हिंसा, अपहरण र हत्या लगायत घटनामा आधारित कथाहरू समेटिएको छ। द्वन्द्व पीडितहरू काली पुन, तेजकुमारी विक, रामकुमार यादव, गौरी थारु, धनिराम थारु, तुलसा पाठक र गीता चौधरी लगायतको कथा प्रस्तुत छन्।

कार्यक्रममा सशस्त्र द्वन्द्वकालमा भोग्नु परेको पीडामा आधारित ‘अझै दुख्छ घाउ’ नामक नाटक मञ्चन गरिएको थियो। सशस्त्र द्वन्द्वकाल अवधिमा सामान्य जीवन बाँचिरहेका बुबा छोरीको कथा नाटकमा समावेश गरिएको थियो। देशमा शान्ति स्थापना भएसँगै हिंसा भोग्न बाध्य बुबा छोरी मार्मिक कथामा नाटक तयार भएको छ। शैली थिएटरले निर्माण गरेको नाटकलाई नारायण न्यौपानेले निर्देशन गरेका थिए। नाटकमा प्रियंका चौधरी, देवेन्द्र बब्लु, सुवास सुवेदी, रोविन तामाङ, करिश्मा केसी, सुरन्जन शर्मा, राज सुवेदी, निर्भिक भट्टराई र रुपक काफ्ले लगायतले अभिनय गरेका छन्। प्रदर्शनी आगामी असार २५ सम्म चल्नेछ।
 

प्रकाशित: २४ असार २०७६ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App