म गायक बन्न चाहन्थेँ। भीष्म सरले पर्दापछाडिबाट गाएको अनि पर्दाअगाडि त्यही गीतमा छात्राहरूलाई नचाएको देखेँ, सुनेपछि मलाई लाग्थ्यो– मेरो जीवनको उत्तरोत्तर भविष्य अन्ततः गायकमै गएर थुरिने छ र त्यसैबाट आफ्नो राष्ट्रिय परिचय पुष्पित र पल्लवित हुने छ।
सरस्वती पूजा आउन लाग्यो कि भीष्म सरको दौडधूप तीव्र हुन थाल्थ्यो। कक्षा पनि लिनुपर्ने र विद्यालय छुटेपछि बेलुका छात्राहरूलाई अभ्यास पनि गराउनुपर्ने। अझ भर्खरै रेडियो नेपालले बजाएको नयाँ लोकगीतमा सुर बसाउन अभ्यास गर्नु त छँदै थियो। पोहर सालको सरस्वती–पूजामा गाएको गीत यसपालि पनि गायो भने त विद्यार्थी र शिक्षकहरूमा रहेको भीष्म सरको छवि अरूणा लामाले गाएको राजेन्द्र थापाको गीतजस्तो ‘यसपालि त माया फाटेर’ उनलाई ‘केले सिउने, केले टाल्ने’ अवस्थामा पु¥याउने प्रवल सम्भावना हुन्थ्यो। तर, भीष्म सरको स्मरण–शक्तिलाई सलाम गर्न्ुपर्छ। किनभने कुनै पनि गीत दुई–तीन चोटि सुनेपछि उनलाई त्यसको एक–एक लय र ताल कण्ठ हुन्थ्यो। अनि उनी गाउन थाल्थे– ‘लेककी ठिटी बेँसीमा आई किन लायौ माया ठ्याम्मै लौ भन नठाँटी।’ अनि त्यसैमा उनकी एक जना चेलीले स्वर मिसाउँथिन्।
भीष्म सर अचम्मका प्रतिभाशाली व्यक्ति थिए। रेडियो नेपालबाट मात्र बजाइने लोकगीत सुनेर उनी कति छिटो कण्ठ पार्थे। अहिले सम्झिँदा अचम्म लाग्छ। त्यसबेला आजजस्तो क्यासेट वा सिडीले त संगीत प्रविधिमा गर्भाधारणसम्म गरेको थिएन। रेडियोमा गीत बज्दा बिजुलीको गतिमा कलम चलाएर शब्दहरू टिप्नुपथ्र्यो र त्यसलाई कण्ठ पार्नुपथ्र्यो।
त्यसैले भीष्म सरलाई हरेक वर्षको सरस्वती–पूजामा ‘डबल, ट्रिपल रोल’ खेल्नुपथ्र्यो। चलेका नयाँ–नयाँ गीतका शब्दहरू रेडियो नेपाल सुनेर कापीमा सार्नु, तिनलाई कण्ठ पार्नु र ती गीतहरू सहगायिकालाई सिकाउनु अनि छात्राहरूलाई तिनमा नचाउने अभ्यास गराउनु। त्यो बेला आजजस्तो केटा र केटीको भूमिकामा केटा र केटी नै मञ्चमा नाच्न आउँदै थिए। केटीलाई नै सिँगारेर, अँगार घोटेर वा यस्तै केही चीजले बनाएको कालो दलेर नाकमुनि जुँगा बनाएर, जिउमा दौरा–सुरुवाल, अस्कोट र शिरमा टोपी भिराएर केटोको भेषमा मञ्चमा उतारिन्थ्यो। त्यो समय पूर्वमा त्यति कडिकडाउ त थिएन केटीलाई नाच–नाटकमा सहभागी हुन। तर, किन हो खै हाम्रो विद्यालयमा भने केटाको भूमिका पनि केटीले नै भेष बदलेर नाच्ने चलन थियो। केटा नर्तकको खडेरी परेर पनि होला सायद।
भीष्म सर अचम्मका प्रतिभाशाली व्यक्ति थिए। रेडियो नेपालबाट मात्र बजाइने लोकगीत सुनेर उनी कति छिटो कण्ठ पार्थे। अहिले सम्झिँदा अचम्म लाग्छ। त्यसबेला आजजस्तो क्यासेट वा सिडीले त संगीत प्रविधिमा गर्भाधारणसम्म गरेको थिएन। रेडियोमा गीत बज्दा बिजुलीको गतिमा कलम चलाएर शब्दहरू टिप्नुपथ्र्यो र त्यसलाई कण्ठ पार्नुपथ्र्यो। त्यो पनि एकै चरणमा सकिँदैनथ्यो। फेरि कहिले रेडियोले त्यो गीत प्रसारण गर्ला भनेर ढुकेर बस्नुपथ्र्यो। रेडियो नेपालले भीष्म सरले चाहेकै बेला कहाँ त्यही गीत बजाइ दिन्थ्यो र ? त्यसपछि पनि त्यसको लय ठ्याक्कै पक्डिन, तलमा प्रयोग भएका बाजागाजाका सुर–ताल कपी गर्न पनि पटक–पटक रेडियो सुन्नुपथ्र्यो। तर, उनी गीतको लय, त्यसमा बजाइने बाजाको धुन र तालसम्म रिट्ठो नबिराई हार्मोनियमका पर्दा फिटिदिन्थे, मादलका तालमा बजाउन लगाउँथे।
उनी अभ्यास गराउँदा–गराउँदै खल्तीबाट सानो डिब्बा झिक्थे। त्यसमा दिनभरिलाई पुग्ने सुर्तीमा चुना मिलाएर बनाइएको अग्र्यानिक मडुवा खैनी हुन्थ्यो। डिब्बा खोलेर औँलाले कोट्याउँथे र एक चिम्टी खैनी चोर र बुढी औलाले च्याप्थे अनि तल्लो ओठको बायाँ गिजामा जतनपूर्व घुसार्थे। अनिखैनीको रसलिँदै फेरि हार्मोनियमको रिडहरूसँग आफ्ना लामालामा औँलाहरू खेलाउँदै गाउन थाल्थे– ए कान्छा ठट्टमा यो बैँस जान लाग्यो...।
भीष्म सर जब हार्मोनियमका पर्दामा आफ्ना औँला नचाउन थाल्थे, त्यस बेला उनका औँलाहरू यति तीव्र गतिमा चलायमान हुन्थे कि कुन औँलाले कुन सुरको गोटी थिचिरहेछन् भन्ने ठम्याउन हामीलाई असम्भव नै हुन्थ्यो। उषा फ्यान फननन घुम्दा त्यसका पखेटा नदेखिएजस्तो अथवा एकाकार भएको अनुभूति भएजस्तो भीष्म सरका औँलाहरू हार्मोनियमका सुरसँग खेल्दा त्यसरी नै गतिशील हुन्थे। उनी हार्मोनियमका पर्दालाई थिच्ने होइन, फिट्ने काम गर्थे। त्यसबेला मैले नारायणगोपाल वा कुमार बस्नेतको नाम सुनेको थिइनँ। तर, भीष्म सरको आवाज रेडियोले गाउने गायकको भन्दा सुमधुर र हृदयस्पर्शी लाग्थ्यो त्यस बेला मलाई।
अग्लो तर खिरिलो ज्यान। मोटो आवाज। विरलै घरहरूमा इस्त्री पाइने त्यस जमानामा पनि उनी सधैँ धारिलो प्यान्ट र त्यस्तै सिनित्त इस्त्री गरेको कमिजमा ठाँटिएर विद्यालय आउँथे। गाउँदा–गाउँदै उनी आँखा चिम्म गरेर गीतमा यसरी डुब्थे मानौँ उनलाई आफू वरिपरिको वातावरणको पनि हेक्का हुँदैनथ्यो। उनको गायकी र हार्मोनियमको लय कहीँकतै खण्डित हुँदैनथ्यो। स्वर र सुर दुवै समवेत स्वर भएर गुञ्जिन्थे।
भीष्म सरको संयोजनमा साँझ आयोजना हुने सांस्कृतिक कार्यक्रम त प्रमुख आकर्षण हुने नै भइहाल्यो। तर, हामी एक घन्टा हिँडेर आउनुपर्नेहरूलाई प्रायः त्यो कार्यक्रम आधा–अधुर नै हुन्थ्यो। साँझ छिप्पिँदै समयले राततिर पाइला चाल्न थालेपछि हामी त्यो रमाइलो बीचैमा छोडेर घर फर्किन बाध्य हुन्थ्यौँ। त्यसबाहेक पनि हामीलाई सरस्वती–पूजाको विशेषरूपमा प्रतीक्षा हुन्थ्यो। त्यो थियो पूजामा बाँडिने प्रसाद। हिजोआजको भोजमा जस्तो ऊ बेला कार्यक्रम स्थलमै जुलेबी, लालमोहन, रसभरी या बुनियाँ बनाउने चलन थिएन। यस्ता कालीगढहरू उत्पादन भइसकेका थिएनन्। हाम्रा प्राध्यापक दीनानाथ शर्माले टिनका डब्बामा बन्द गरिएको बुनियाँ भारतको सिलिगुढीबाट झिकाउँथे। धेरै विद्यार्थी थियौँ। प्राथमिकदेखि कक्षा दससम्मका विद्यार्थीहरूको गन्ती नै करिब दुई सय पुग्थ्यो। त्यसमाथि शिक्षक र विशेषरूपमा आमन्त्रित स्थानीय गण्य–मान्य अतिथिहरूसमेतको हिसाब गर्दा प्रसादी खानेको संख्या झन्डै दुई–तीन सय पुग्थ्यो। त्यसैले हाम्रो विद्यालयमा सरस्वती–पूजामा टिनका टिन बुनियाँ भित्रिन्थ्यो।
सरस्वती–पूजाको अघिल्लो दिन नै हाम्रो विद्यालय विभिन्नथरी ध्वजापताकाले दुलहीजस्तो चिटिक्क सिँगारिन्थ्यो। सरस्वतीपूजाका बिहान विद्यार्थी, शिक्षक र अतिथिहरूलाई त्यो बुनियाँ छुसछुस बाँडिन्थ्यो। फेरि पनि एक दुई–तीन बुनियाँ बाँकी नै रहन्थ्यो। थपेर खान या मागेर थप्न हाम्रो हिम्मत हुँदैनथ्यो। दाजु विद्यार्थीहरूको कब्जामा पुगिसकेका हुन्थे, बुनियाँले भरिभराउ ती टिनहरू। मागे पनि ‘ई तँपाई’ भनेर बुनियाँको सट्टा लोप्पा खुवाउँथे। दस बजेतिर बिहानको कार्यक्रम सकेर हामी घर फर्किन्थ्यौँ र राती फेरि भात खाएर भीष्म सरको सांस्कृतिक कार्यक्रम हेर्न भेला हुन्थ्यौँ। त्यस बेला हामी सांस्कृतिक कार्यक्रम त हेरिरहेकै हुन्थ्यौँ। साथसाथै दस कक्षाकादाइहरूले एउटा कोठाभित्र जाँदै बुनिया मुक्क्याउँदै गरेको पनि राल काड्दै बढो निरीहतापूर्वक हेरिरहन्थ्यौँ।
एक दिन हामी पनि दस कक्षामा पुग्यौँ। अब सरस्वतीपूजाको बुनियाँ वितरणको शासनभार हाम्रो अधीनमा आएको थियो। दुई–तीन वर्षअघि शान्तिनगर विद्यालयका विद्यार्थीहरू पनि हाम्रै माध्यमिक विद्यालयमा गाभिन आएका थिए। शान्तिनगरबाट आएकामध्ये रुद्र भण्डारीसँग मेरो गहिरो मित्रता भयो। उनी सुमधुर स्वरमा गीत पनि गाउँथे। उनका भाइ चन्द भण्डारीको स्वर पनि मीठो थियो। रुद्र भण्डारीका दाजु परशुराम शर्माले हामीलाई पढाएका पनि थिए। तर पछि उनले खै के कारणले हो, विद्यालय छाडे। उनकी श्रीमती सावित्री शर्मा भने त्यस बेला पनि हामीलाई पढाउँथिन्। मेरा तिनै गुरु परशुराम र गुरुआमा सावित्रीका छोरा हुन् अहिले नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा । अनि उनीहरूकै भजिता हुन् सङ्गीतकार टीका भण्डारी। चन्द्र भण्डारीले लामो समय एमालेमा लागेर राजनीति गरे। अहिले उनी झापा विर्तामोडको प्रसिद्ध रेडियो कञ्चनजङ्घा एफएमको सञ्चालक छन् र कार्यक्रम प्रस्तोताका रूपमा सुविख्यात छन्।
एकपटकको सरस्वतीपूजामा हामी कक्षा दसमा पुगेका थियौँ। रुद्र आफैँमा बहुमुखी प्रतिभा भएका विद्यार्थी थिए। उनी गाउँथे, नाच्थे, वादविवाद प्रतियोगितामा पनि भाग लिन्थे। भनौँ न उनी त्यस बेला विद्यालयका चल्तापुर्जा बहुमुखी विद्यार्थीमा गनिन्थे। तिनीसँग मेरो दोस्ती भएपछि हामी त्यस रात स्कुलमै बिताउने भयौँ। अनि भीष्म सरले छोडेर गएको माइक हामीले समात्यौँ र प्रस्फुटन हुन नपाएको आफ्नो प्रतिभालाई केही घन्टा माइकमा ‘जेपीटी’ गाएर पोख्यौँ। माइक छुन पाउनु नै मेरा लागि त ठूलो अहोभाग्य थियो। गाउन त गाउँका बिहाबटुलोहरूमा यदाकदा रातीराती गाइन्थ्यो। तर आफ्नै विद्यालयको, त्यो पनि केही घन्टाअघि भीष्म सरले गाएको माइकमा गाउनुको सान र आनन्द नै अर्कै हुने भइहाल्यो।
सङ्गीतमा अलिअलि रौस–राग भएका साथीहरू बिस्तारै पनि रात बाक्लिँदै गएपछि घरतिर लागे। त्यसपछि बाँकी रह्यौँ रुद्र र म। यो भनेको अब त्यहाँको राजकाजको एक मात्र जिम्मेवारी हामीमा निहित हुनपुगेको थियो। अनि हामीले आधा बाँकी रहेको बुनियाँको एउटा टिनबाट झिक्दै भकाभर बुनियाँ मुक्याउन थाल्यौँ। कक्षा एकदेखिकै भोकोथिएँ बुनियाँका लागि म त। कक्षा दस पुगेपछि बुनियाँ सञ्चालनको शासनभार हाम्रा हातमा आइपुगेपछि त्यसको निर्विघ्न र समयोचित सञ्चालन गर्नु हाम्रो परम् कत्र्तव्यहुनआउँथ्यो।यसरी हामीले झन्डै आधा किलो बुनियाँ खाइसकेर त्यो कत्र्तव्य पूरा गर्दागर्दै हाम्रो घाँटीले पानी माग्यो। हामीले यो कत्र्तव्य अझै गर्न बाँकी नै थियो। तर हामी तिर्खाले प्याकप्याक हुनथाल्यौँ। विद्यालयमा इनार एउटा थियो। त्यहाँ सधैँ पानी उघाउने एउटा बाल्टी पनि हुन्थ्यो। अनि रुद्र र म पानी पिउन इनारमा गयौँ तर त्यस दिन त्यहाँ कुनै बाल्टी थिएन। हाम्रो बुनियाँ–काण्ड थाहा पाएर कुनै साथीले बाल्टी कतै लुकाइदियो या कसैले चोरर लग्यो–हामीले यही लखकाट्यौँ। किनभने बाल्टी चोरेर लैजाने जमाना थिएन त्यो। मध्यरात भएको थियो। सारा सहर (सहर पनि के भन्ने शुक्रबार हटियाका दिन मात्र जाग्थ्यो धुलाबारी बजार, नत्र केही खित्रिङमित्रिङ बेच्ने दोकानहरू मात्र खुल्थे) चकमन्न निद्रामा घुरिरहेको थियो। कसका घरका ढोका ढकढक्याउने यति राती ? अनि हामीलाई बुनियाँ खाँदा जति गुलियो भएको थियो, पानी पिउन नपाउँदा त्यसको परिणाम त्यति नै तीतो भयो। घाँटी नै सुकेपछि स्वर निस्किने कुरै भएन। रातभरि गाएर बिताउने हाम्रो योजना बुनियाँ–काण्डले सखाप पारिदियो।
अनि मैले भीष्म सरलाई सम्झेँ। उनले बिहान अलिकति मात्र बुनियाँ खाएकाले साँझको कार्यक्रममा यति समधुर स्वरमा गाए। तेल या घिउमा तारेर चिनीको पाकमा डुबाएर बनाइएको बुनियाँ खाँदा जति नै मीठो भए पनि धेरै खाएपछि त्यसले क्याप्प आँटी समाउछ। र पानी पिउन पाइएन भने पानी बाहिरको माछाजस्तै छटपटिन थाल्छ। त्यस राती रुद्र र म पानीबाहिरको माछाजस्तै छटपटाइरह्यौँ।
बिहान भएपछि थाहा पायौँ, बाल्टी त इनारभन्दा अलि पर चौरमा नै टुक्रुक्क बसिरहेको रहेछ। अँध्यारो र खप्नै नसक्ने तिर्खाको हडबडीमा हामीले कसैमाथि बाल्टी लुकाएको मिथ्या आरोप लगायौँ र रातभरि व्याकुल भएर छटपटाइरह्यौँ। किशोरवयको त्यो उद्दण्डता सम्झिँदा आज पनि एक किसिमको अतीतमोह हुन्छ। जुन अतीतमोहले मलाई धुलाबारी माध्यमिक विद्यालयमा बिताएका ती वर्षहरू एउटा मीठो सपनाजस्तो पछ्याइरहन्छ।
र यो अतीतमोहको विस्तार पनि फेरि भीष्म सरकै प्रसङ्गमा आएर टुङ्गिन्छ। त्यसको धेरै वर्षपछि मैले उनलाई एक जना कविको घर घट्टेकुलामा भेटेको थिएँ। जेठो छोरो अनिललाई ब्लड क्यान्सर भएर उपचारका लागि आएका रहेछन्। उनीसँग सोध्ने कति धेरै कुराहरू थिए। उनी शिक्षक पेसाबाट निवृत्त भइसकेका थिए। अनिलको रोगबाहेक पनि सोध्ने धेरै प्रश्नहरू थिए। अचेल के गर्दै हुनुहुन्छ ? गुरुमालाई कस्तो छ ? मोहन सर, लीला सर, बीएस्सी सर, प्राधानाध्याक दीनानाथ सर, सवित्री गुरु, संस्कृति पढाउने भक्ति सर आदि थुप्रैका बारे सोध्ने प्रश्नहरू थिए मनभरि। तर धक फुकाएर कुरा गर्न सकिनँ। किनभने उनी मेरा गुरु थिए। अहिलेजस्तो टिचरसँगै चुरोट सेयर गरेर खाने जमानाका गुरु–चेला थिएनौँ हामी। सरसँग एउटा निश्चित दूरी हुन्थ्यो, त्यो दूरी अद्यापि कायमै थियो। त्यो एउटा दकस मनमा रहि नै रहेको थियो। दोहोरो संवाद गर्ने आँट हुँदैनथ्यो। त्यसैले त्यस दिन त्यति खुलेर कुराकानी हुन पाएन। म पनि काठमाडौँमा आएर उनीजस्तै गाएक हुन्छु भन्थेँ। दाजुहरूको फरक सङ्गतले हार्मोनियमका पर्दामा होइन, कागजका पानामा सिर्जना उमार्ने व्यवसायमा लागेँ भन्ने सुनाउन मन थियो। तर वाक्य फुटेन। एकछिन उनकै कुरा सुनेँ र श्रद्धापूर्वक नमस्कार गरेर डेरा फर्किएँ। त्यसपछि भीष्म सरसँग फेरि भेट भएको छैन। अहिले भीष्म सर कहाँ छन् ? त्यो पनि थाहा छैन। धुलाबारी हाइस्कुल छोडेर के गर्दै छन् ? पहिला बसेको टिमाई खोलापारिकै घरमा छन् कि अन्यत्र कतै बसाइँ सरे त्यो पनि थाहा छैन ?निवृत्त जीवनको यस फुर्सदमा कहिलेकाहीँ हार्मोनियमका पर्दाहरूमा आफ्ना लामा सुरिला औँलाहरू खेलाउँदै भाका गुनगुनाउँछन कि गुनगुनाउँदैनन् ? केही थाहा छैन। तर उनलाई बेलाबेला सम्झिरहन्छु। त्यतिबेला झन् धेरै सम्झिन्छु, जतिखेर रेडियोमा गीत बज्छ, जतिखेर कुनै कलाकार मञ्चमा गाउँदै हुन्छ, जतिखेर कुनै टीभी च्यालनमा लोकगीत प्रसारण भइरहेको हुन्छ। म गीत लेख्छु। अनि गीतका हरफहरूमा उनकै स्वर गुञ्जिरहेको अनुभूति गर्छु। भनौँ न ! मेरा गीति सिर्जनाका हरेक पल, हरेक निमेष म भीष्म सरलाई सम्झिरहेको हुन्छु। सायद यो सम्झने क्रम यो जीवन रहेसम्म निरन्तर दोहोरिइरहने छ।
०
प्रकाशित: १५ असार २०७६ ०९:४६ आइतबार