१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

सर्लाहीमा ‘क्या दामी भो’

महोत्सवमा गीत गाउँदै गायक शिव परियार। तस्बिर : टंक/नागरिक

सर्लाही - गायक शिव परियारले गत शुक्रबार राती गृहजिल्लाबासीलाई भरपुर मनोरञ्जन दिलाएका छन्। उनको प्रस्तुतीले मध्यरातसम्म सर्लाहीको हरिवनमा जारी रमाईलो मेला एवं महोत्सवस्थल गुञ्जायमान बन्यो।

सर्लाहीकै हजरिया निवासी परियारको प्रस्तुती हेर्न हजारौं दर्शक सूर्तीविकास मैदानस्थित मेलास्थल पुगेका थिए । जेठ ३ गतेदेखि जारी महोत्सवमा सुरक्षाका कारण अन्य समयमा राती साढे ९ बजे बन्द हुने भएपनि दर्शकको अपार भीड एवं निरन्तर ‘वान्स मोर’को माग आएपछि परियारले राती साढे ११ बजेसम्म एक दर्जन बढी गीत गाएका थिए।

आफ्नै जिल्लाका दर्शकले गरेको अपार माया देखेर उत्साहित बनेका गायक परियारले आयोजकको समयको आग्रह वेवास्ता गर्दै निरन्तर प्रस्तुती दिए।

आफ्नै जिल्लाका दर्शकले गरेको अपार माया देखेर उत्साहित बनेका गायक परियारले आयोजकको समयको आग्रह वेवास्ता गर्दै निरन्तर प्रस्तुती दिए।
उनले ‘बेहोस पछि होसमा आउँदा क्या दामी भो’,  ‘आँशुको अर्थ के थाहा’, ‘अल्लारे माया’लगायत दर्जन बढी गीत गाए। परियारको गीतमा महोत्सवस्थलमा उपस्थित दर्शक कम्मर मर्काइमर्काइ नाचेका थिए। दर्शकले नाच्दा मैदान धुलाम्मे बनेको थियो। जिल्लाबासी गायक परियारको प्रस्तुतीमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं, प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, सुरक्षा निकाय प्रमुखहरूसमेत राती अबेरसम्म स्टेजमा बसेर रमेका थिए।

परियारलाई साथ दिँदै गायक शंकर थापा ‘इस्माइल’ले ‘सेल्फी हानौला’ गीत गाउँदा महोत्सवस्थल गुञ्जयमान बनेको थियो। गायक भुवन थापाले गाउँदा पनि मैदान झुमेको थियो। महोत्सवमा हालसम्म भोजपुरी स्टार गायक अवधेश प्रेमीको सांगीतिक टोली, नेपाली लोकगायिका ज्योती मगर, गायक कमल खत्री, प्रमोद खरेल,  कर्णराज गिरी, भोजराज काफ्ले, मेलोडी रमेश श्रेष्ठ, भोजपुरी गायक प्रमोद जख्मी लगायतले समेत प्रस्तुती दिइसकेका छन्। चर्को गर्मी कारण दिउँसो दर्शकको न्यून उपस्थिति हुने भएपछि आयोजकले राती मात्र स्टेजमा कलाकार उतार्ने गरेको छ।

राष्ट्रियस्तरमा चर्चित कलाकारहरूको प्रस्तुती हेर्न दर्शकहरू ५० रुपैंयाको टिकट काटेरै महोत्सवस्थलमा पुग्ने गरेका छन्। ‘हाम्रो हरिवन राम्रो हरिवन, पर्यटन सहितको सुन्दर नगर निर्माण हाम्रो हरिवन’ भन्ने नारासहित पशुपति फेयर एक्जीविशन नेपाल चितवनको आयोजना एवं हरिवन युवा समूहको संयोजनमा जारी महोत्सवमा गार्मेण्ट जुत्ता चप्पल कस्मेटिक तथा विभिन्न लत्ताकपडा, शैक्षिक पर्यटन तथा हस्तकला सामग्रीहरूको स्टल राखिएको र रोटे पिङ, झुलालगायत मनोरञ्जनात्मक खेलहरु समेत रहेको आयोजक समितिका कामना क्याप्छाकी मगरले बताइन्। महोत्सव सोमबार सकिएको छ।

प्रकाशित: २१ जेष्ठ २०७६ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App