काठमाडौं – स्वदेश तथा विदेशमा निर्माण हुने फिल्ममा प्रायः प्रहरीलाई खराब चरित्र अर्थात् ‘भिलेन’का रूपमा प्रस्तुत गरिन्छ। केही अपवादबाहेक अधिकांश फिल्ममा प्रहरीको उपस्थिति खलपात्रको सहयोगीका रूपमा देखाइन्छ।
‘सत्य सेवा सुरक्षाणम्’को नारा बोकेर प्रहरी चलिरहँदा प्रहरीलाई राम्रो चरित्रमा देखाउन नयाँ फिल्म ‘कप्स’ निर्माण गरिएको छ। आगामी शुक्रबार अर्थात् जेठ १७ गतेबाट रिलिज हुने फिल्ममा कलाकार सम्राट सापकोटाको ‘डेब्यू’ निर्देशन छ।
हालैको भेटमा निर्देशक सापकोटाले आफ्नो फिल्म अहिले चलिरहेको ट्रेन्ड भन्दा फरक रहेको दाबी गरे। ‘हाम्रो फिल्मको कथा अहिले चलिरहेको ट्रेन्डभन्दा फरक छ। फरक किसिमको फिल्म बनाउँ भनौं भनेर ‘कप्स’ बनाएका हौं। यो यथार्थपरक फिल्म पनि हो’, निर्देशक सापकोटाले भने, ‘फिल्ममा मुलुकको वर्तमान अवस्थाको सजिव चित्रण प्रस्तुत गरिएको छ। कप्स नेपाल प्रहरीको लागि बनाइएको होइन। तर नेपाल प्रहरीको गतिविधिको बारेमा फिल्ममार्फत जानकारी दिएका छौं। प्रहरी सक्षम त छन् तर के कारणले हाम्रो सोच अनुसार अगाडि आउन सकिरहेका छैनन् भन्ने कुरामा फिल्मले बोल्छ।’
उनले फिल्मले ‘थ्री पी’ अर्थात् पुलिस, पोलिटिक्स र पब्लिकको सेरोफेरोलाई देखाउने दाबी गरे। ‘राम्रो प्रहरी देखाउन कप्स निर्माण गरेका हौं। प्रहरी सक्षम हुँदाहुँदै पनि कताबाट असक्षम बनाउने प्रयास गरिन्छ कुरा फिल्ममा देखाएका छौं’, उनले भने, ‘प्रहरी सेवामा काम गर्ने केही मानिसहरू खराब हुनसक्ने भए पनि समग्रमा प्रहरी प्रशासन राम्रो छ भन्ने सन्देश दिन चाहन्छौं।’ उनले विश्वमा राम्रो प्रहरीको छवि बनाएको नेपाल प्रहरीलाई फिल्ममा त्यसै अनुसार प्रस्तुत गरेको बताए।
फिल्मका कलाकार अमित गिरीले फिल्ममा आफु खराब प्रहरीको भूमिकामा रहेको खुलाए। ‘फिल्ममा राजनीतिक शक्तिले प्रहरीलाई कसरी प्रभाव पार्छ भन्ने कुरा फिल्ममा देखाइएको छ। त्यो प्रभावमा म पनि पर्छु’, अमितले भने, ‘अहिलेसम्म मैले अभिनय गरेका सबै फिल्ममा मेरो चरित्र भिलेनकै छ। म भिलेन चरित्रमा भर्सटायलिटी पाउँछु।’
फिल्ममार्फत अभिनयमा ‘डेब्यू’ गरेकी नायिका अनुपमा भण्डारीले फिल्ममा आफु प्रहरीकी श्रीमतिको भूमिकामा देखिने खुलाइन्। उनले पहिलो फिल्ममा नै फरक अभिनय देखाउन पाएको दाबी गरिन्। त्यस्तै नवकलाकार रोशन सुवेदीले आफु पनि फिल्ममा प्रहरी अधिकृतको भूमिकामा देखिने बताए।
फिल्ममा नायक अनुपविक्रम शाही प्रहरी नायव उपरिक्षकको रूपमा देखिँदैछन्। निर्देशक सापकोटाले यस अघि प्रायः खलचरित्रमा देखिने गरेको अनुपलाई ‘कप्स’मा एउटा सक्षम र देशभक्त प्रहरीको रूपमा प्रस्तुत गरिएको बताए। फिल्ममा अनुपबिक्रमसँगै सन्दिपा लिम्बु, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङ्तान, रोशन सुवेदी, सुन्दर श्रेष्ठलगायतको अभिनय छ।
राम शाक्यले निर्माण गरेको फिल्ममा सुसन प्रजापतिको छायांकन, विपिन मल्लको सम्पादन, स्वयम्भुराज शाक्यको संगीत र निर्देशक सापकोटाकै लेखन छ।
प्रकाशित: १२ जेष्ठ २०७६ ०१:३० आइतबार