मुम्बई– भारतको लोकसभा निर्वाचनअन्तर्गत उत्तरप्रदेशको मथुरामा भाजपाका तर्फबाट विजयी बलिउड अभिनेत्री हेमा मालिनीले मन्त्री बन्ने इच्छा व्यक्त गरेकी छिन्। सफल अभिनेत्री र सांसदपछि हेमाले मन्त्री पदमा पुग्ने लक्ष्य अघि सारेकी हुन्।
‘जित्नेमा म ढुक्क थिए। तर यति ठूलो जित जनताले दिलाउने भन्ने सोचेको थिइन। यसपटक गठबन्धनका अप्ठेरो हुने प्रतिक्रियाले म डराएकी थिए। तर, खुसी छु कि जनताले मलाई दोस्रोपटक सांसद चुने। मप्रति विश्वास गरे, मेरो पनि उनीहरुप्रति जिम्मेवारी बनेको छ’, एक अन्तर्वार्तामा उनले भनिन्।
जितपछि उनले नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय मन्त्रिमण्डलमा स्थान पाउने अपेक्षा गरेकी छिन्। ‘हेर्दैछु, अफर आउन सक्छ। भगवानको आर्शिवाद यदि रह्यो भने म जरुर मन्त्री बन्नेछु’, उनले सुनाइन। २०१४ को निर्वाचनबाट राजनीतिमा आएकी हेमा त्यसयता बलिउडबाट भने टाढा छिन्।
उनका शोले, सीता और गीता, प्रेम नगर, अमीर–गरिब, बागवान, सन्यासी, धर्मात्मा, खुश्बू, प्रतिज्ञा जस्ता हिट फिल्म छन्। हेमालाई बलिउडकी ड्रिम गर्ल समेत भनिन्छ।
प्रकाशित: ११ जेष्ठ २०७६ ०८:१७ शनिबार