८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

जात्रा सधैं रमाइलो

भक्तपुर, मंगलाक्षेका ७८ वर्षीय जगतलाल जाकीबन्जारका लागि बिस्काः (बिस्केट) जात्रा नौलो होइन। उनले हरेक वर्ष चैत अन्तिम साता  भैरवको रथ तानातान गरेको, भेलुखेलमा  लिंगो ठडाएको र ढलाएको हेरिरहेका छन्। जात्रामा रथ फेरियो, लिंगो फेरियो, जात्रालुको पोशाक फेरियो। तर, यसबाट मिल्ने खुसी भने हरेक वर्ष उस्तै रहेको उनले सुनाए।  
‘जात्रा सधैं रमाइलो,’ विगत र अहिलेको जात्रामा कुन रमाइलो भन्ने प्रश्न खस्न नपाउँदै उनले भने, ‘यसले हामीलाई अर्को वर्ष बाँच्ने आशा जगाउँछ।’
 उनको कुराममा समर्थन जनाउँछिन्, ८२ वर्षीय कान्छी धेमसु। भक्तपुरे हाकुपटासीमा सजिएर आएकी उनी जात्राको रौनकमा रमाउँदा अनुहारमा चाउरी देखिएन। ‘सानै उमेरदेखि जात्रामा रमाउन थालेको हो,’ उनले भनिन्, ‘जात्रा नियाल्दा सबै दुःख बिर्सिन्छ।’
जगतलाल र कान्छी धेमसुको सांस्कृतिक नगरी भक्तपुर यतिबेला जात्रामय छ। चैत २७ गते रथ तानेर सुरु भएको बिस्केट पर्वसँगै   प्राचीन नगरीमा खुसी छरिएको छ। टोल–टोलमा नाचगान, घर–घरमा छरिएको जात्राको रौनकले नगर झनै जीवन्त छ। रंगीविरंगी कपडामा सजिएका भक्तपुरवासी तान्त्रिक विधिअनुसार बिस्केट उत्सवमा सहभागी भएर रथ तान्दै गर्दा नगर उत्वसमय छ।  
बुधबार जात्राको क्रममा रथ सामान्य बिगे्र पनि स्थानीयको खुसी बिथोलिएको छैन। यसलाई उनीहरू सामान्य मान्छन्।
२०७२ को भूकम्पमा समेत जात्रामा रमाएका उनीहरूका लागि यस्ता समस्या सामान्य हुन्। ‘भीडको जात्रा हो, अलीअली समस्या आइहाल्छ,’ लाकुलाक्षेका ६६ वर्षीय सानुकाजी खायजुले भने, ‘जात्रालुको उत्साह र नाचगानले सबैलाई रमाइलो दिएको छ।’   भैरवको रथ अलिकति भत्के पनि भैरव बस्ने मन्दिर बन्दै गरेकोमा उनी खुसी देखिन्थे।
चैत २७ बाट भक्तपुरको टौमडीबाट रथ तानेर सुरु भएको उत्सव आठ दिन नौ रात चल्नेछ। 

‘जात्रा सधैं रमाइलो,’ विगत र अहिलेको जात्रामा कुन रमाइलो भन्ने प्रश्न सोध्न  नपाउँदै ७८ वर्षीय जगतलाल जाकीबन्जारले भने, ‘जात्राले हामीलाई फेरि अर्को वर्ष बाँच्ने आशा जगाएर जान्छ।’

रथमा यसपटक नयाँ बेताल प्रयोग गरिएको थियो। रथ तान्ने कार्यक्रममा ज्येष्ठ नागरिकसँगै युवा समुदाय र बालबालिकाको  सक्रियता समेत देखियो। सांस्कृतिक जगेर्नामा युवाले हात बढाउने क्रम बढ्दा बूढापाका हर्षित देखिन्थे। नयाँ बेतालसँगै जात्रामा देखिएको युवा तालले सबैको मन छोएको छ। ‘अब संस्कृति डो¥याउने युवाले त हो नि,’ जगतलाल थप्छन्, ‘हामी त पेटीको डिलमा बसेर रमाइलो हेर्ने हो।’  
 बुधबार टौमडीमा केन्द्र बनाएर सुरु भएको जात्राले यतिबेला नगर परिक्रमा गर्दैछ। टोलटोलमा जात्राको उत्साह फैलिएको छ। चैत मसान्तको साँझ भेलुखेलमा लिंगो ठड्याउँदा देखिने रौनक होस् वा भोलिपल्ट (वैशाख १ गते) बिहान लिंगो ढाल्दाको उत्साह हेरेर सबै रमाउँछन्। ‘लिंगो ठड्याउँदा पनि खुसी ढाल्दा पनि खुसी,’ सानुकाजी मुस्कुराउँछन्, ‘यो हाम्रो रमाउने कला हो।’
उनले भनेजस्तै वर्षाैदेखि भक्तपुरवासी यही कलामा बाँचेका छन्। त्यसैले होला संस्कृतविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुरको समग्र जीवन जात्रामय भएको  बताउँछन्। ‘यहाँ बाँचेका र मरेका सबैका लागि जात्रा मनाइन्छ,’ उनले भने, ‘हासो र आसुको संगम बनेको छ भक्तपुरको जात्रा।’
भाषाको बिजबाटै संस्कृतिको वृक्ष खडा हुन्छ। सायद यो भाव भक्तपुरवासीले राम्रोसँग बुझेका छन्। त्यसैले उनीहरू पछिल्लो समय बिस्केट जात्राको मौलिक नाम बिस्काको सम्झना गर्दै सबैलाई बिस्का भनिदिन समेत आगह गर्र्दैछन्।
‘बिस्काभन्दा जात्रा झनै प्यारो लाग्छ,’ थिमीका राम प्रजापतीले भने, ‘यो, युवापिढीले भाषाप्रति देखाएको सम्मान हो।’
लिच्छवि र मल्लकालमा राजनीति र प्रशासनिकमा समेत प्रभावशाली रहेको भक्तपुरले समयसँगै यसको प्रभाव गुमाउँदै  गए पनि यो सहरले संस्कृति भने जोगाउन सफल भएको श्रेष्ठ सुनाउँछन्।

‘भाषाको बिजबाटै संस्कृतिको वृक्ष खडा हुन्छ,’ सायद यो भाव भक्तपुरवासीले राम्रोसँग बुझेका छन्। त्यसैले उनीहरू पछिल्लो समय  जात्राको मौलिक नाम बिस्काको सम्झना गर्दै  बिस्केट होइन, बिस्का भनिदिन समेत आग्रह गर्छन्।

जात्राको रङ भक्तपुरमा कति देखिन्छ भने त्यो हेर्न वैशाख २ गते थिमीमा मनाइने सिन्दुरे जात्रा नियाल्नु पर्छ।
विभिन्न खटसहित निस्कने जात्राको क्रममा खेलिने सिन्दुरको रङले जात्राको रङ झनै गाढा बनाउने छ। यहाँ हरेक जात्राले  केटाकेटीदेखि वृद्धवृछासम्मलाई छपक्कै पार्छ। यसको उमंगमा सबै रमाउँछन्।
भक्तपुरको टौमडीको चोकबाट सुरु भएको  जात्रासँगै  टोल–टोलमा नाचगान,  घर–घरमा  सम्म रौनक पुगेको छ। अझ भनौं, त्यो सर्वसाधारणको अनुहारसम्म फैलिएको छ।  
संस्कृतविद् तेजेश्वरबाबु ग्वंग जात्रा भक्तपुरको  ढुकढुकी रहेको बताउँछन्। त्यसैले उनी जात्रा चलुन्जेल भक्तपुर बाँच्ने सुनाउँछन्। ‘त्यसैले स–साना केटाकेटीदेखि वृद्धवृद्धा सबै जात्रामा उत्साहित हुन्छन्,’ उनी भन्छन्, ‘यस्तो लाग्छ– जात्राले यहाँका मानिसलाई बाँच्न सिकाएको छ।’ यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको सस्कृतविद् तेजेश्वर बाबु ग्वंग सुनाउँछन्।
‘कतै कथा जोडिएका छन्, कतै इतिहास,’ उनले भने, ‘यहाँको जीवन जात्रासँग जोडिएको छ।’
उनी भक्तपुरमा मनाइने जात्राले थुप्रै सन्देश दिने सुनाउँछन्। बिस्केटको लिंगो उठाउने र ढाल्ने प्रक्रियालाई प्रकृति र पुरुषका समागमनको अवस्था बुझाउँछन्। ‘त्यो आकास र पृथ्वीको मिलनको जात्रा हो,’ उनले भने, ‘त्यसैले लिंगो उठाउँदा र ढाल्दा सर्वसाधारण उस्तै रमाउँछन्।’
जात्रालाई राम्रोसँग नबुझ्दा पछिल्लो समयमा केही विकृति पनि देखिएका छन्। जात्रामा होहल्ला बढी होला भनेर प्रशासनले चाडै सकाउन उर्दीसमेत जारी गर्नु पर्ने अवस्था आएको छ। त्यसैले कतिपयले जात्रा जीवन्तता बनाइराख्न यसमा देखिएका कमजोरीलाई हटाउँदै जानुपर्ने बताउँछन्।
‘जात्राको मौलिकता नगुम्ने गरी यसलाई समयसाक्षेप गर्नु जरुरी छ,’ संस्कृतविद् ओम धौभडेल भन्छन्, ‘योभन्दा पहिला जात्रा मनाउनेलाई जात्राको खास अर्थ बुझाउनु आवश्यक छ।  बिस्केट रथ तान्ने काममा हुने झडपलाई उनी संस्कृतिबारे राम्रो ज्ञान नभएको बताउँछन्। ‘रथलाई सन्तुलन मिलाउन दुवैतिर डोरी राखेर रथ तान्ने प्रक्रियाको सुरुवात भएको हो,’ उनले भने, ‘जात्राको महŒव नबुझ्दा रथ आफ्नोतर्फ लैजान होडबाजी हुने गरेको छ।’
कला संस्कृतिमा युवाको माया र बालबालिकाको रहर  यसपटक पनि  बिछट्टै देखियो। रथको डोरी तान्न युवाले थुुप्रै पसिना बगाए। यस्तो लाग्छ– रथको डोरीसँगै युवापिढीले संस्कृति तानिरहेका छन्।
जात्रालाई भनेर भक्तपुर नगरको अलावा जिल्लाका अन्य ठाउँमा रहेका टोल–टोलमा  धिमे बजाउने अभ्यास गरिएको छ। चैत २७ गते टौमढीबाट भैरवको रथ तान्दै सुरु भएको बिस्केट जात्रा वैशाख ५ गते रथ भित्र्याउँदै सम्पन्न हुनेछ।

‘अब संस्कृति डो¥याउने युवाले त हो नि,’ जगतलाल थप्छन्, ‘हामी त पेटीको डिलमा बसेर रमाइलो हेर्ने हो।’

भक्तपुरका चोक र गल्लीमा जता गए पनि मन्दिर भेटिन्छन्। यस्तो लाग्छ– यहाँ हरेक आँगनमा भगवानको बास रहेको छ। त्यसो भएपछि जात्रामा भगवानको उपस्थिति नरहने त कुरै भएन। त्यसैले होला– संस्कृतविद् पुरुषोत्तमलोचल श्रेष्ठ भक्तपुरमा देवता र मानिस सँगसँगै जात्रा मनाउने सुनाउँछन्।
यहाँका हरेक जात्रा र पर्वमा देवताका बिम्ब प्रतिबिम्बसँग रहने उनी सुनाउँछन्। नवदुर्गा नाचको वर्णन गर्दै मुखुण्डो लगाएका देवआकृतिसँगै सहर जात्रामा डुब्ने उनले सुुनाए। नवदुर्गा नाचका पात्रले मानिसको जन्म, जीवन र मृत्युको सन्देश दिने सुनाए।
‘जात्राको मोह कतिसम्म छ भने जात्राको अन्त्य हुँदा सर्वसाधारण रुने गर्छन्,’ उनले भने, ‘यसैबाट बुझिन्छ– जात्रा जीवनसँग कसरी जोडिएको छ भन्ने।’
बोडेको मुखुण्डो जात्रामा पनि देवताको आकृतिमा मानिस नृत्य गर्ने गर्छन्। ‘विभिन्न भगवानका आकृतिका मुखुण्डो लगाएर परम्परागत धुनमा नृत्य गर्दा साक्षात भगवान नाचेको जस्तो लाग्छ,’ बोडेका  प्रेमकृष्ण अदुवाले भने, ‘भगवान र मान्छे एकै ठाउँमा भेट भएजस्तो लाग्छ।’
जात्रा भगवानसँग जोडिएको र त्यो आफ्नो जीवनसँग पनि मेल खाने गरेको उनले सुनाए।
बूढापाकाको जात्रामा सहभागिता घट्दै गए पनि युवा सहभागिता भने बढ्न थालेको छ।   कला संस्कृतिमा उनीहरूको माया  यस पटक पनि बिछट्टै देखियो। जात्रालाई भनेर टोल–टोलमा धिमे बजाउने अभ्यास गरिएको थियो। रथको डोरी तान्न युवाले थुुप्रै पसिना बगाए। ‘रथको डोरीसँगै युवापिढीले संस्कृति तानिरहेका छन्,’ पुरुषोत्तम लोचन सुनाउँछन्, ‘अब जात्रा जोगाउने जिम्मेवारी युवाको काधमा आएको छ।’
उनीहरू जात्रामै जीवन देख्छन्। उनीहरूलाई जात्रा सधैं रमाइलो लाग्छ। त्यसैले होला– भक्तपुरमा जात्रा पनि धेरै छन्। अर्थात् भक्तपुरवासी वर्षभरी जात्रामा रमाउँछन्।

प्रकाशित: ३० चैत्र २०७५ ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App