काठमाडौं- दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका कलाकार गणेश मुनालको ६८ वर्षको उमेरमा निधन भएको छ। दमको रोगी मुनालको सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो।
उनले २०५२–५३ सालमा रमेश बुढाथोकीद्वारा निर्देशित टेलिसिरियल ‘उज्यालोतिर’मा ‘काजी बा’को चरित्रबाट अभिनय यात्रा सुरु गरेका थिए। यो सिरियलपछि उनले रमेशकै निर्देशनमा बनेको ‘भावना’, ‘मन’, बद्री अधिकारीको ‘अविरल बग्दछ इन्द्रावती’लगायत दर्जनौं फिल्ममा अभिनय गरे।
टेलिसिरियलमा अभिनय गरिरहँदा उनले फिल्म ‘प्रेमपिण्ड’बाट फिल्मी अभिनय सुरु गरेका थिए। उनले ‘जंगे’, ‘माया बैगुनी’, ‘सन्यास’, ‘प्रेमयुद्ध’, ‘पाउजु’, ‘मिष्टर डन’, ‘दिदी भाइ’, ‘नारी’, ‘शिरिषको फूल’, ‘सेतो बाघ’, ‘एक पल’, ‘लभ लभ लभ’, ‘घामपानी’, ‘सेतो सूर्य’, ‘गुडबाइ काठमाडौं’लगायत दर्जनौं फिल्ममा अभिनय गरेका छन्। उनी अभिनित पछिल्लो फिल्म ‘गोपी’ आगामी माघ १८ गतेबाट रिलिज हुँदैछ।
काठमाडौंको महाकाल निवासी मुनालको सोमबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो। अन्त्येष्टि अघि कलाकारहरूले उनलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।
प्रकाशित: ७ माघ २०७५ ०७:३२ सोमबार