काठमाडौं – आगामी फेब्रुअरी १२ देखि १७ अर्थात माघ २९ गतेदेखि फागुन ५ सम्म सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसनल २०१९’ मा नेपालको प्रतिनिधित्व अदिती श्रेष्ठले गर्ने भएकी छन्। प्रतियोगिताको लागि नेपालको आधिकारिक संस्था इप्लानेट नेपालले गत शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०१९’को ताज अदितीलाई पहिर्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि बाटो खुल्ला गरेको हो।
कार्यक्रममा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०१९’ दुर्गा विसुराल चुनिइन्। उनले पनि सिंगापुरमा सोही समय आयोजना हुने विवाहित महिलाहरूको प्रतियोगिता ‘मिसेस हेरिटेज इन्टरनेसनल २०१९’मा नेपालको प्रतिनिधित्व गर्नेछिन्।
प्रतियोगितामा ४० बढी देशको सहभागिता हुनेछ। युनेस्कोले ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचीमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्नामा हेरिटेज इन्टरनेसनलले सहयोग पुर्याउने आयोजकले जनाएका छन्।
२० वर्षीया अदिती सामाजिक विषयमा स्नातक तहमा अध्ययनरत छिन्। दुर्गाले भने समाजशास्त्रमा मास्टर्स गरिसकेकी छन्। दुवै प्रतियोगीलाई कोरियोग्राफर अनिला श्रेष्ठले व्यक्तित्व, सञ्चार कला, आत्मविश्वास, प्रतिभा, स्टेज प्रस्तुतिलगायत विभिन्न विषयमा प्रशिक्षण दिनेछिन्।
प्रकाशित: २९ पुस २०७५ ०५:४३ आइतबार