काठमाडौं –फिल्म निर्माणदेखि रिलिजसम्मको प्रक्रियालाई सुक्ष्म किसिमले लेखिएको पुस्तक ‘चलचित्रः कला र प्रविधि’ सार्वजनिक भएको छ। फिल्म, संगीत र साहित्यको अध्ययन र लेखनमा सक्रिय साहित्यकार प्रकाश सायमी लेखेको यो पुस्तकको राजधानीमा गत मंगलबार फिल्मकर्मी चेतन कार्की र त्रिभूवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा शिक्षाविद केदारभक्त माथेमाले सार्वजनिक गरे।
फिल्मकर्मी कार्कीले फिल्म क्षेत्रलाई ललितकलाको छैटौं विधाको रुपमा मान्नेपर्ने बताए। ‘फिल्ममा पनि संगीत र नाटकको कुरा प्रस्तुत हुन्छ। नाटकमा हुनुपर्ने सबै कुराहरू फिल्मले दिएको छ’, उनले भने, ‘फरक यत्ति हो कि नाटकमा प्रविधि प्रयोग हुँदैन। तर फिल्ममा चाहिँ भरपुर हुन्छ।’ उनले पुस्तकले फिल्म क्षेत्रको सबै कुरा समेटेकोमा लेखक सायमीलाई बधाई दिए। पूर्व उपकुलपति तथा शिक्षाविद माथेमाले आफूले सायमीलाई धेरै पहिलेदेखि चिन्ने भएकाले उनले पुस्तकमा फिल्मको राम्रो कुराहरू लेखेको हुनुपर्ने बताए। उनले आफू नेपाली फिल्मको बारेमा केही परिचित पनि रहेको खुलाए।
पुस्तकका समिक्षक पत्रकार शेखर खरेलले सायमीको पुस्तक पाठकका लागि ‘चलचित्रको वंशावली’ रहेको बताए। ‘पुस्तकले नेपालको मात्र होइन। विश्वको फिल्मको पनि कुरा गरेको छ। यसले फिल्मका सबै कुरा समेटेको छ। यो हिसाबले पुस्तक चलचित्रको वंशावली नै हो’, खरेलले भने, ‘लेखकले ६० को दशक पछिको फिल्मको विकासक्रमलाई लेख्नुभएको छैन। एक समय फिल्मले बाटो बिराएको बेला अहिले भने फिल्मले सही बाटो समातेको छ। यो कुरा पुस्तकमा समेटिएको छैन। मेरा लागि पुस्तकको कमजोरी यही हो।’ उनले पुस्तक फिल्मका बारेमा कुनै न कुनै रूपमा चासो राख्नेहरूका लागि पठनीय रहेको बताए।
लेखक सायमीले पुस्तकमा फिल्मका बारेमा आफूले गरेको अध्ययन र बुझेका कुराहरूलाई लिपिबद्ध गरेको बताए। उनले आफूलाई पुस्तक लेख्न सधैं घचघच्याइरहने नृत्य निर्देशक बसन्तजंग रायमाझीलाई पुस्तक समर्पण गरेको खुलाए। सायमीको पुस्तक ‘चलचित्रः कला र प्रविधि’को तेस्रो संस्करण हो। शब्दहार क्रियसनले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय रुपैयाँ रहेको छ।
प्रकाशित: १२ पुस २०७५ ०६:५० बिहीबार