१७ असार २०८१ सोमबार
image/svg+xml
कला

‘घरको काम छोडेर बाहिर किन गएको?’

नुवाकोट - पहेंलो मजेत्रो टाउकोमा गुथेर रातो पछ्यौरीसँगै चोली र लुंगीमा एक महिला भिडभित्र प्रवेश गर्दै यताउता कसैलाई खोजे जसरी आँखा डुलाउछिन्। नेपथ्यबाट उनै महिलालाई सम्बोधन गरी कुनै पुरुष बोल्न थालेपछि सर्वसाधारणको ध्यान त्यही पुरुषतर्फ मोडिन्छ। दौरासुरुवाल र कोटमा सजिएका ती पुरुष बरबराउदै भिडभित्र पसेर महिलालाई ‘घरको काम छोडेर बाहिर किन गएको ?’ भन्दै सत्तोसराप गर्छ। पुरुषले महिलालाई गाली गरेको सुनिरहेका सर्वसाधारण त्यसपछि मात्र पुरुष र महिला श्रीमानश्रीमती रहेको थाहा पाउँछन्।

हेर्दा वास्तविक जस्तै लाग्ने यो दृश्य वास्तविक भने होइन्। यो दृश्य लैंगिक हिंसाविरुद्धको सोह« दिने अभियानअन्तर्गत लैंगिक हिंसा र महिलाको कार्यबोध सम्बन्धी जनचेतनामूलक सडक नाटक ‘अत्ति भो’को हो। ‘लैंगिक हिंसा र दुव्र्यवहार, छैन् हामीलाई स्वीकार’ भन्ने नारासहित गत मंसिर ९ गतेबाट सुरु भएको ‘लैंगिक हिंसाविरुद्धको सोह« दिने अभियान’ सोमबार सकिएको छ। अभियान सुरु भएको दिनदेखि नै विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको सामाजिक संघसस्थाहरूले अन्तिम दिन सोमबार त्रिशुली बजारदेखि विदुरको बालमन्दिरसम्म ‘पुरुष पदयात्रा’ आयोजना गरेको थियो। पुरुषपदयात्रा सभामा परिणत भएपछि सप्तक कला प्रतिष्ठान गेर्खुटारले नाटक ‘अत्ति भो’ मञ्चन गरेको हो।

नाटकमा एउटा परिवार भित्र महिला र पुरुषलाई गरिने विभेदलाई उठान गरिएको थियो। छोरी मान्छे घरायसी काममा मात्र थन्किनुपर्छ भन्ने परम्परागत सामाजिक सोचलाई उठान गरिएको नाटकमा छोरालाई विद्यालय पठाउने, पढ्छ–पढ्दैन ख्याल गर्ने, कस्तो लुगा लगाएको छ र कस्तो खानेकुरा खाएकको छ कि छैन जस्ता विषयमा ध्यान दिँदा विद्यालय जान लागेको छोरीलाई जुठो भाडामा अल्झाइएको दृष्यलाई मार्मिक रुपले प्रस्तुत गरिएको थियो।

गाइने पात्रमार्फत मञ्चमा गाइएको ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भइ’ गीतले रुष्ट श्रीमानको अनुहारमा देखिएको आक्रोशलाई नाटकमा देखाइएको थियो। त्यहिबेला सालो केटो आएर आफ्नी दिदी र भान्जीले भोग्नुपरेको दमन र अत्याचारको बारेमा बोल्न थाल्छ। गीतलाई उदाहरण दिएर भिनाजुलाई सम्झाउन सालो सफल हुन्छ। छोरीलाई पनि विद्यालय पठाउने र  घरको काम सबैजनाले मिलेर गर्ने प्रतिबद्धतासहित नाटक सकिन्छ।

नाटक हेरेपछि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले आफूहरूले भनेको नमान्ने व्यक्तिहरूलाई गीत, नाटकमार्फत आत्मग्लानी बनाएर परिवर्तन गर्न सहयोग गर्ने बताए। ‘हरेक क्षेत्रको विशेष दिन भनेर दिवस मनाइरहेका हुन्छौं। तर उपलब्धि शुन्य हुन्छ। विशेष दिनलाई व्यवहारमा उतार्न चुनौती छ। त्यो चुनौतीलाई चिर्नसक्नुपर्छ,’ तामाङले भने, ‘लिंगको क्षेत्रमा मात्र होइन। सामाजिक, आर्थिक, जातीय, भेगीय क्षेत्रमा पनि हिंसा भइरहेको छ। यसको निराकरणमा ध्यान जान आवश्यक छ।’

नाटकमा देउती प्याकुरेल, विजय लामिछाने, संगिता प्याकुरेल, प्रताप तामाङ र दामोदर खतिवडाको अभिनय रहेको थियो। नाटकको लेखन तथा निर्देशन खतिवडाले नै गरेका थिए।

प्रकाशित: २५ मंसिर २०७५ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App