२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

स्वस्तिमाको लाइभ नृत्यसँगै ‘बुलबुल’को गीत

कठमाडौं– फिल्म ‘बुलबुल’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘खुद्राखुद्री’ बोलको गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो। भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ। निर्माण युनिटले काठमाडौं मल, पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट बिहीबार एक साथ फ्ल्यास मोब शैलीमा गीत रिलिज गरेको हो।

काठमाडौं मलमा अभिनेत्री स्वस्तिमा खड्कासहितको टोलीले गीतमा नृत्य गरेका थिए। फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिनेछिन। गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् र यसलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा झन्डै १८ लाख खर्च भएको निर्माण पक्षले बताएको छ। 

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालले नृत्य गरेका छन्। विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ। विनोद पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन्। अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्मको रामराजा दाहाला कार्यकारी निर्माता हुन्। फिल्ममा सम्पादन अनिमेष सापकोटाको रहेको छ। फिल्म फागुन ३ बाट देशभर प्रदर्शन हुँदैछ। 

 

प्रकाशित: १५ कार्तिक २०७५ १५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App