पुरानो बानेश्वरकी लक्ष्मीदेवी थापा २१ वर्षदेखि पशुपति वृद्धाश्रममा आफ्नो दैनिकी बिताइरहेकी छन् । ८६ वर्षकी उनी बिरामी हुँदा अपरिचित मान्छेले ल्याएर राखिदिएका थिए।
उनको कोही परिवार छैनन् । उनले न आफ्नो आमाको मुहार देखिन् न बुबाको माया पाइन् । अहिले वृद्धाश्रम नै उनको घर बनेको छ ।‘मलाई थाहा छैन, कसैले हेटौँडा लगेर पालेको थियो रे, हुर्काएको रहेछ । काम पनि गर्थें । आफूलाई पालेको घरमा । पछि काठमाडौं आएँ । अरुको घरमा काम गरेर बस्थेँ,’ उनी भन्छिन् ।उनी जन्मेदेखि अहिलेसम्म एक्लै छिन् । न त पतिको स्नेह पाउने मौका जुर्यो । न त छोराछोरीलाई ममता पोख्न पाइनँ।
बाल्यकाल र बूढेसकाल धेरै हिसाबमा सामान मानिन्छ । बाल्यकालमा अरुको सहारा चाहिन्छ । त्यसैगरी बूढेसकालमा पनि । बाल्यकालमा शरीर पूर्णरूपमा विकसित भइसकेको हुँदैन । त्यसैगरी बूढेसकालमा शरीर बूढो पुरानो इन्जिनजस्तै भइसकेको हुन्छ ।
वृद्धावस्था यस्तो समय हो जब मानिस शारीरिक र मानसिक रूपमा गलिसकेको हुन्छ । तर, उमेरले नेटो काट्ने यस्तो समयमा छोरा, बुहारी र नातिसँग खेल्ने भाग्य सबैसँग हुँदैन । शारीरिक रूपमा कठिन हुने जीवनको यो अन्तिम अध्यायमा गास, बास र कपासको लागि संघर्ष हुनु दुर्भाग्यपूर्ण कुरा हो । कति वृद्धाहरू एक्ला पर्छन् । कति वृद्धाहरू एक्ला पारिन्छन् । समयको बर्बरताको सिकार हुने हजारौँ वृद्धाहरू वृद्धाश्रम खोज्दै जान्छन् । र, बाँकी समय त्यही गुजार्छन् । आफूजस्तै टुहुरा र एक्लाइएका अरु समूहसँगै।
पशुपतिनाथको भीडभाडदेखि अलग एउटा कुनामा रहेको वृद्धाश्रममा बस्नेहरूको कथा कहालिलाग्दो छ । दुःख बारम्बार आउन मन गर्ने ननिम्त्याइएका पाहुनाजस्तै हो । थापा यसको ज्वलन्त उदाहरण हुन् । उनी एकदिन दुर्घटनामा परिन् । मोटरसाइकलको ठक्करले उनको दायाँ घुँडामा चोट लाग्यो । ‘सिनामंगलमा मान्छेहरूले उपचार गराए । अलि निको भएपछि जीविको टार्न अरुको घरमा काम गर्न थालें । त्यहाँ भाँडा माझ्ने र लुगा धुने काम गरें । काम गर्न नसकेपछि कसैलाई केही नभनी त्यहाँबाट निस्किएँ,’ उनले विगत सम्झिइन्।
दाताहरूले गुणस्तरीय खाने कुरा दिए पनि वृद्धाश्रमका वृद्धवृद्धाले खान पाउँदैनन् । कति सामानहरू कति खानेकुराहरू कर्मचारीको हातबाटै गायब हुन्छ । आश्रममा पारदर्शिता नभएको आश्रमलाई नजिकबाट नियाल्नेहरू बताउँछन् ।
एकदिन शान्तिनगरस्थित राम मन्दिरमा बसिरहेकी थिइन् उनी । एक आमाले उनलाई कहाँबाट आएको भनेर सोधिन् । उनलाई आफ्नो दुःख सुनाउन मन लागेन । तर, ती आमाले ‘तिम्रो आँखामा आँसुु देख्छु म । किन रोएको ?’ भनेर सोधिन् । केहीबेर कुराकानी गरेपछि आफ्नो छोराहरूलाई बोलाइन् । अनि सबैले सल्लाह गरेर पशुपतिको वृद्धाश्रममा लाने निर्णय गरे ।
त्यसरी उनी वृद्धाश्रमको ढोकासम्म आइपुगिन् । मन्त्रालयमा गएर सिफारिस लिएर कार लिएर उनलाई वृद्धाश्रम पुर्याए । त्यतिबेला आश्रममा सबै कुरा आफैँ ल्याउन पथ्र्यो । उनीसँग केही पनि थिएन । मान्छे मरेर फालेका लुगा ल्याएर दिने गर्थे । अरु त अरु मान्छे मरेको ओछ्यान समेत ल्याएर हालिदिए ।‘मलाई डर लाग्थ्यो । त्यसैले ती बिस्तारामा सुत्नै सकिनँ,’ उनी भन्छिन् ।उनी कैयौ रात चिसो भुइँमै सुतिन् । भुइँमा सुत्दा असाध्यै अप्ठयारो हुने गरेको कुरा उनी सम्झिन्छिन् । अहिले उनी आफैँ खाना बनाउँछिन् । आश्रमले दही–दुध दिन्छ, त्यही मात्रै खान्छिन्।
उनलाई पहिलेदेखि नै धेरै पढ्न मन थियो । तर, जीवनले त्यो मौका कहिल्यै दिएन । सारा जीवन जीविको टार्न र बास खोज्दै बित्यो । अरुको घरमा काम गर्दाताका एकपटक उनले त्यो धोको पूरा गर्ने अठोट लिइन् र बल्लबल्ल ५० पैसा जुटाएर ‘ठूलो वर्णमाला’ किताब ल्याइन् । किताब टेबलमा राखेर खाना खान गइन् । फर्कदा किताब थिएन, किताब खोइ भनेर सोध्दा तल हेर भने । हेर्दा उनको किताब हुरहुर जलिरहेको थियो । उनी सानै थिइन् । त्यतिबेला छोरी मान्छेले पढे भने पोइल जान्छन् भन्ने सोच राख्ने समाज थियो । उनी त्यसदिन धेरै रोइन्।
एक–एक पैसा जम्मा गर्दै किनेको किताब त्यसरी हुरहुर्ती जलेको आज पनि उनको आँखामा घुमिरहन्छ । र, यसले उनको मन दुखाइरहन्छ । कुराकानीका क्रममा उनको आँखाभरि आँशु भरिएको थियो ।२१ वर्षअघि अहिले धेरै परिवर्तन देखेकी छन्, उनले । आश्रममा पनि धेरै परिवर्तन आइसकेको छ । पहिले मांसाहारी भोजन भित्र्याउन पाइँदैनथ्यो । ‘पछि मासु खानेलाई दिऊँ । तर, यहाँ मन्दिर परिसरमा काटमार नगरौँ भनेर मैले नै भनेको थिएँ,’ उनी थप्छिन्।
उनीहरू मिलीजुली बसेका छन् । एक–आपसका दुःख बुभ्दै । प्रायः त उनी एक्लो अनुभव गर्दिनन् । तर, पहिले–पहिले जब अरुको परिवार भेट्न आउँथे । अथवा आश्रममा बसेकाहरू आफन्तहरूलाई भेट्न जान्थे । उनको मन रेटिन्थ्यो । मनभित्र चिसोपन छाउँथ्यो । सारा संसारमा आफू एक्लो अनुभव हुन्थ्यो । एक्लो हुनुको पीडाले चरम सीमा नाघ्थ्यो त्यतिबेला । उनी एकदम रुन्थिन् ।
तर, दुख बानी पर्ने चिज हो । उनलाई पनि पर्यो । आजभोलि उनले त्यो कुरा स्वीकार गरिसकेकी छन् । वृद्धाश्रमका सबैजनालाई आफ्नो परिवार मानेकी छन् । रगतको नाताभन्दा मानवीयताको नाता नै ठूलो हुने उनले बुझिसकेकी छन् । उनी सबै काम गर्छिन् । बत्ती कातेर बिक्री गर्छिन् । ढिकी बुन्ने, लुगा बुन्ने उनले आफैँ सिकिन् । उनी ध्यान पनि गर्छिन्।
उनी चाहन्छिन्– कसैले पनि आफ्नो छोराछोरीलाई घुर्काएर आाश्रम बस्छु नभनुन् । ‘कोही छोराछोरीले पनि आफ्नो बुबाआमालाई आश्रममा नलैजाउन्,’ उनी भन्छिन्, ‘आश्रममा केही कमी नभए पनि आफ्नाको साथ भनेको आफ्नाको साथ नै हो । सरकारले दिएको दालभात खानु भन्दा आफ्नै घरमा सिस्नो र ढिडो खानु बेस । आश्रमको बिस्तारामा सुत्नुभन्दा आफ्नो घरमा गुन्द्रीमा सुत्नु बेस । आफ्नो घरमा जति राम्रो निद्रा कहीँ पर्दैन ।’ आफ्नो घरमा तातो पानी खानु र सरकारको मानोमा घरपरिवारले जित्छ । दुःख पाएर बाटोमा नबसुन् । आफ्नो घर, आफ्नै परिवारमा सबैजना रमाउन् । उनी त्यही चाहान्छिन्।
चरिकोटबाट आएकी मुना न्यौपाने अहिले ७५ वर्षकी भइन् । उनी करिब पाँच वर्षदेखि पशुपति वृद्धाश्रममा आएर बसेकी छन् । आश्रमसम्मको यात्रा कम पीडादायी छैन उनको । परिवार, पति, सन्तान सबै हुँदा पनि उनको बास आश्रममा आएर सकियो । उनको गल्ती केही थिएन । छोरो भनेर मरिहत्ते गर्ने समाजमा पर्नु मात्र उनको भुल भयो।
बाल्यकाल पनि राम्रोसँग नसकिँदै उनको विवाह भयो । हातमा गुडिया हुने उमेरमा चुरा र चुलो थमाइयो । ‘९ वर्षको हुँदा विवाह भएको थियो, छोरा भएनन् भनेर श्रीमानले अर्को विवाह गरे,’ उनले भनिन् । सौतालाई ल्याएपछि उनलाई शारीरिक र मानसिक यातना दिन थालियो । ‘झनै सौताको छोराहरू ठूलो भएपछि मलाई नचाहिने कुरामा पनि कुटपिट गर्थे,’ अहिलेसम्म मेरा जिउ, हात–खुट्टा दुख्छ । काँडाको घारीमा बसेको चराजस्तो भएको थियो मेरो हालत । जताबाटै पनि पीडैपीडा।
आफ्नो पति र उनको दोस्रो श्रीमतीसँग बस्नै नसकेपछि उनी घर छोड्न बाध्य भइन् । त्यतिबेला छोरीहरू सहारा बनेर आए । छोरीहरू बिहे भएपछि उनीहरूको पतिकै मात्र हुन्छन भन्ने गलत मान्यता छोरीहरूले तोडे । दुईवटा छोरीको विवाह भइसकेको थियो । पहिला त चरिकोट बस्ने ठूली छोरीकहाँ गइन । तर, पछि त्यहाँ बस्न गाह्रो भयो । ‘सासु ससुरा ज्वाँई कहाँ सधै बस्न कहाँ सजिलो हुन्छ र ?’ उनी त्यसपछि कान्छी छोरीकहाँ गइन । तर पनि उनको हालत सुध्रिएन । उनी भन्छिन्, ‘ज्वाइँले सधैँ छोरीसँग झगडा गर्न थाले ।
उनी प्रायः रक्सी खाएर आउथे, अनि झगडा गर्न थाल्थे । छोरीसँग झगडा गर्थे । पछि त मलाई पनि हेला गर्न थाले । त्यसैले म त्यहाँ बस्न सकिनँ ।’ कान्छी छोरी दुविधामा परिन् । आमालाई घर लगे बाउ र उनका छोराहरूले कुट्छन्, आफ्नै घरमा राखे आफ्नै पतिको हालत त्यस्तो छ । उनी बाध्य भइन र आमालाई वृद्धाश्रममा ल्याएर राखिदिइन् ।यहाँ बस्ने लगभग सबैको कथा यस्तै छ । सबैसँग कहालीलाग्दो भुत छ । र, अनिश्चित भविष्य ।काठमाडौंकी पार्वती सापकोटा आश्रम आएको दुई वर्ष भयो । आफ्नो श्रीमानसँग जीवन बिताउँदै आएकी उनी दुई वर्षअघि श्रीमानको मृत्यु भएपछि आश्रममा आउन बाध्य भएकी हुन् । बाल्यकालमा विवाह भएको उनी अहिले ८० वर्षकी भइन् । उनको छोराछोरी छैनन् ।
अहिले उनको देवरका परिवार छन् । तर, उनलाई उनको अंश दिएनन् । ‘छोराछोरी छैनन् किन चाहियो सम्पत्ति भनेर अंश दिएनन्,’ उनले सुनाइन् । अहिले उनले आश्रममा आफूजस्तै धेरै साथी बनाएकी छन् । बत्ती कातेर बस्छिन् । ग्यास्टिकको रोगी उनलाई केही खान हुँदैन । लक्ष्मीदेवी जस्तै उनी पनि बत्ती काटेर बिक्री गर्छिन् । कुरा गर्दा मात्रै ९०० रूपैयाँ कमाएको उनले हाँस्दै सुनाइन् ।पशुपति विकास कोषअन्र्तगत रहेको आश्रममा अहिले करीब दुई सय वृद्धवृद्धा छन् ।
अहिले उनीहरूलाई बिहान ७ बजे चिया बिस्कुट, ९ः३० मा खाना दिइन्छ भने दिउँसो १ बजे चिया बिस्कुट र अपरान्ह ४ बजेदेखि ४ः३० सम्म बेलुकाको खाना खुवाइन्छ । उनीहरूका अनुसार दाताहरूले गुणस्तरीय खाने कुरा दिए पनि ज्येष्ठ नागरिकले भने खान पाउँदैनन् । कति सामानहरू कति खानेकुराहरू कर्मचारीको हातबाटै गायब हुन्छ । आश्रममा पारदर्शिता नभएको आश्रमलाई नजिकबाट नियाल्नेहरू बताउँछन् । आश्रमको व्यवस्थापनमा धेरै कमी कमजोरी छन् । त्यहाँ बस्ने÷नबस्ने सबैले देखे भोगेको कुरा हो । दाताले दिएको फलफूल लुगाफाटा सबै कर्मचारीले लैजाने गरेको यहाँका वृद्धवृद्धाहरू गुनासो गर्छन् । कुहिएको खाना, कुहिएको फलफूल मात्रै वृद्धवृद्धाले पाउँछन् ।
त्यस कुरामा अधिकांशलाई चित्त बुझेको छैन । कुहिएको फलफूल मात्रै बाँड्ने गरेको र राम्रो व्यवहार नगर्ने प्रायःको गुनासो छ ।सीता श्रेष्ठ विगत १७ वर्षदेखि पशुपति आश्रमको चालचलन नियाल्दै आएकी छन् । पशुपति परिसरमै घर भएकी उनले वृद्धवृद्धाले निकै दुःख पाएको बताउँछिन् । आश्रममा खानामा कुहिएको दिने, दाताले दिएको फलफूल आफैँ लैजाने, बढी भएको र कुहिएको वृद्धवृद्धालाई बाँड्ने गरेको उनी बताउँछिन् ।कतिको भत्ता आउँदैन । दाता आफैँ गएर उनीहरूको हातमा खर्च पनि दिन सक्दैनन् । ‘त्यसरी दिए बुबाआमाले मन लागेको कुरा खान पाउनुहुन्थ्यो कति रोएको पनि देखेको छु,’ उनले भनिन्।
पशुपती आश्रममा सहयोग गर्नेहरू धेरै छन् । तर, जति धेरै दाता भए पनि यहाँ बस्ने ज्येष्ठ नागरिकहरूले भने त्यो सुविधा अनुभूति गर्न पाएका छैनन् । अधिकांश दाताहरूले सहयोग गर्न उक्त आश्रम पुग्ने गरे पनि दाताले प्रत्यक्षरूपमा वृद्धवृद्धालाई केही सहयोग गर्न पाउँदैनन् । पहिला कार्यलयमा सम्पर्क गरेर मात्रै कार्यालयमार्फत् वृद्धवृद्धामा जाने गरेको छ । देशको हरेक क्षेत्रमाझैँ यहाँ पनि भ्रष्टाचार र बेथितिले छोडेको छैन ।
ज्येष्ठ नागरिकहरू देशका सम्पदा हुन् । उनीहरू जिउँदा इतिहास हुन् । उनीहरूसँग थुप्रै अनुभव र अनुभुतिहरू हुन्छन् । सांस्कृतिक संम्पदाहरू संरक्षण गरेजस्तै ज्येष्ठ नागरिकहरूको स्याहार र संरक्षण जरुरी भएको श्रेष्ठ बताउँछिन् ।
प्रकाशित: २३ असार २०७५ ०२:४९ शनिबार