काठमाडौं- ‘मिस्टर नेपाल’को मञ्चबाट एकसाथ चार प्रतियोगी छानिने भएका छन् । आयोजक एक्सपोज नेपालले अबदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने गरेर मिस्टर नेपालको मञ्चबाट नयाँ ‘मिस्टर नेपाल’का साथै एकसाथ अन्य तीन प्रतियोगीसमेत छानिने जानकारी दिएको हो।
जसबाट छानिएका मध्य ‘मिष्टर नेपाल’ले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस्टर वल्र्ड’मा सहभागी जनाउने छन्, भने अन्यले अन्तराष्ट्रिय प्रतियोगिता क्रमश ‘मिस्टर युनिभर्सल एम्वेस्डर’, ‘म्यान अफ द इयर’ र ‘मिस्टर नेननल युनिभर्स’मा सहभागिता जनाउने छन् ।
राजधानीको होटल अन्नपूर्णमा मंगलबार आयोजित एक कार्यक्रममा ‘मिस्टर नेपाल’को नयाँ सिजन ‘मिस्टर नेपाल २०१८’को आवेदन समेत खुल्ला भएको जानकारी दिइयो । १८ वर्षदेखि २८ वर्ष ननाघेका युवाहरूले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् । काठमाडौं, पोखरा, चितवन, बुटवल, इटहरी लगायतको शहरमा प्रतियोगिताको पहिलो चरणको अडिसन आयोजना हुनेछ । पहिलो चरणको अडिसनबाट मात्र छानिएका प्रतियोगीलाई फाइनल प्रतिस्पर्धामा सहभागी गराउने कार्यक्रममा बताइएको छ।
देशैभरि छरिएर रहेको प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी विषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षणसहित अन्तिम प्रतिस्पर्धा उतार्ने आयोजकको योजना रहेको छ।
यस बर्षको मिष्टर नेपाल बिजेताले चलचित्र, म्युजिक भिडियो अभिनय अफरका साथै सुजुकीले भर्खर बजारमा ल्याएको नयाँ बाइक ‘सुजुकी इन्टडर’ समेत प्राप्त गर्न सक्नेछन् ।कार्यक्रममा एक्सपोज नेपालकी सिइओ अर्चना थापा र सुजुकी बाइकका मार्कटिङ म्यानेजर नवराजले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा म्यानेजर नवराजले मिष्टर नेपाल पुरुषहरूको सबैभन्दा ठूलो र प्रतिष्ठित कार्यक्रम भएकोले आफू जोडिएको बताए । ‘मिष्टर नेपालले ‘मिष्टर वल्ड’मा नेपालको प्रतिनिधित्व गर्न एक मात्र कार्यक्रम हो’ नवराजले भने ‘कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको छ।’
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि नियमित आयोजना हुदै आएको प्रतियोगिताबाट रोहित थेवे, जिवन लुइँटेल, गौतम सुवेदी, उज्वल घिमिरे, सुरेश घिमिरे, डा. आयुष्मान घिमिरे, सुरेश गैह्रे, सुरज चिल्वाल, सन्दिप पोखरेल, गणेश अग्रवाल, अक्षय रायमाझीलगायत दर्जन बढी विजेता चुनिसकेका छन् । असारको पहिलो सातादेखि अडिसन सुरु हुने प्रतियोगिताको फाइनल प्रतिस्पर्धाको मिति अडिसन राउड सकिएपछि सार्वजनिक गरिने आयोजले जनाएको छ ।
प्रकाशित: २६ वैशाख २०७५ ०२:३९ बुधबार