३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

पानीमा तैरिरहेका शब्द

अनुभूति

पानीमाथि तैरिरहेका छन् शब्द। शब्द बगिरेहका छन् मेरो मनको नदीमा। शब्दलाई खोज्न निस्केको छु। मानसपटलमा अनायसै पल्टिन्छन् शब्दाद्वैतवादका पानाहरू। शब्दाद्वैतवादले शब्दलाई ब्रह्म अर्थात् ईश्वरको रूपमा मानेको छ। सम्पूर्ण जगत् शब्दमय छ, शब्दको प्रेरणाले गर्दा समस्त संसार गतिशील छ भन्छ शब्दाद्वैतवादले।

शब्द अक्षरले नै बन्छन्। शब्दकोशमा कहिले नाश नहुनेलाई अक्षर भनिएको छ। र, त जीवित हुन्छन् अक्षरले बनेका शब्द। प्रेमीप्रेमिकाको मुटुमा खोपिएका प्रेमका शब्दहरू हेर्नुपर्छ। कसैलाई सान्त्वना वा बधाई दिएका शब्दले पारेका प्रभावको आँकलन गर्नुपर्छ। कसैउपर प्रहार गरिएको कठोर शब्दको चोट कति छ भनेर नाप्नुपर्छ। अनि थाहा हुन्छ शब्दको शक्ति।

उहिले अक्षरका गुच्छा शब्द बनेर ढुङ्गामा कुँदिए। रुखका बोक्रामा खिपिए। अलिकपछि कोरिन थाले कागजमा। अहिले लेखिन्छन् शब्द कम्प्युटर र मोबाइल फोनमा। भविष्यमा कहाँकहाँ लेखिएलान् अक्षरका माला ? कुन नवीन ठाउँमा पढ्न मिल्लान् अक्षरका झुप्पाहरू ? भविष्यमा कस्तो अचम्मको ठाउँमा सुरक्षित होलान् अक्षरका लहरहरू ?

यस्तै कुराहरू मनमा खेल्दै गर्दा लन्डनको किंग्स क्रस अन्डरग्राउन्ड ट्रेन स्टेसन आइपुग्छ। ट्रेनबाट उत्रेर मानिसको भिडसँगै पाइला चाल्छु। बाहिर पुगेपछि फेरि मानिसकै भिडमा मिसिन्छु।

के साह्रो भिड हो ? एक्लै बोल्छु भिड देखेर। भिड किन नहोस् त। किंग्स क्रस स्टेसनसँगै जोडिएको छ सेन्ट पानक्रस अन्तर्राष्ट्रिय ट्रेन स्टेसन। यहाँबाट फ्रान्स, बेल्जियम, नेदरल्यान्ड र जर्मनीसम्म नियमित रूपमा ट्रेन आवतजावत गर्छ। बेलायत र फ्रान्सबिचको पचास किलोमिटर समुद्रमुनिको सुरुङ मार्गमा दौडने ट्रेनले तोकिएको समयमा सकुशल पु¥याउँछ गन्तव्यमा। सहरका विभिन्न दिशामा चल्ने अन्डरग्राउन्ड ट्रेनहरू किंग्स क्रसमा जोडिएका छन्। विभिन्न स्थानमा जाने बसहरूको बिसौनी पनि यहीं छ। र, त भिड हुन्छ हरसमय।  

हेरिरहेको छु मानिसको भिड। संसारभरका अनुहार देख्छु। खासगरी भिडमा म आप्रवासीहरूको अनुहार पढ्न खोज्छु। खोज्ने गर्छु तिनको मुहारका खुसी, पीडा, दुःख र भविष्यको चिन्ता। यस्तै भिडमा भेट्टाउँछु कथाका पात्र र विषयहरू। भिडमा फेला पार्छु कविताका बिम्बहरू। त्यसैले भिडभाड मलाई मन पर्छ। अथाह भिड छिचोल्दै स्टेसन छेउको बाटोमा मेरा पाइला चल्छन्। उत्सुकताको छालले हुत्याइरहेको छ मलाई। खोज्दै निस्केको छु पानी र शब्दहरू।

आँखाअगाडि छन् किंग्स क्रस वरपरका परम्परागत भवन। ती भवनहरू पुरानो बेलायतको बिरासत बोकेर बसेका छन्। सुरक्षित राखेका छन् इतिहासमा नलेखिएका केही पानाहरू। आकासिएका नयाँ भवनहरू पनि त्यहीं छन्। तिनले विकास र आधुनिकताको प्रतिनिधित्व गर्ने प्रयास गरेका छन्। आधुनिक र पुरानो बेलायत सँगसँगै उभिएका छन्।

दौडिरहेका छन् सडकमा सार्वजनिक बस। गुडिरहेका छन् चिल्ला र महँगा कार। मेरा अगाडि चार सुन्दरी जुत्ताको टक टक आवाज निकाल्दै हिँडिरहेका छन्। तिनका देहबाट महँगा पफ्र्युमको बास्ना उडिरहेको छ हावामा। तिनको गुनगुन सुनिरहेको छ सडकले। मेरा पछि कोही पनि नभएकाले दृश्य यस्तो देखिन्छ कि मानौं म उनीहरूलाई पछ्याइरहेको छु। कि यी सुन्दरीभन्दा निकैपछि हिँड्नुपर्‍यो कि त यिनीहरूभन्दा अगि हिँड्नु पर्ला भनेर मनमा योजना बनाउँदै थिएँ। एकछिनमै मेरो योजना भताभुङ्ग बनाइदिए ती सुन्दरीहरूले। सामुन्नेको ट्राफिक लाइटबाट उनीहरू दाहिने मोडिएपछि मैले केही गर्नै परेन। आनन्दसाथ एक्लै लमक लमक लम्किरहेको छु सडक पेटीमा।

म हिँडिरहेको सडक पेटी र छेउको सडक एकसाथ एउटा पुलमाथि चढ्छन्। म पनि पुलमाथि चढ्छु र रोकिन्छु। यही पुल नजिकै थियो मेरो गन्तव्य। घडी हेर्छु करिब पाँच मिनेट जति लागेछ यहाँ आइपुग्न। पुलुमुनि बगिरहेको नहरमा आँखा खस्छन् मेरा। सहरको बिचबाट बहने रिजेन्ट नहर शान्तसँग बगिरहेको छ। देख्छु नहरमा तैरिरहेका डुङ्गाहरू। त्यही नहरमा खोज्नु छ मैले पानीमाथि तैरिरहेका शब्द।

पुल छेउबाट खुत्रुक खुत्रुक तल उत्रन्छु नहरको किनारामा। हाँसको बथान पौडी खेलिरहेको छ पानीमा। नहरको पानीमा वरपरका अग्ला भवनका छाया तैरिरहेका छन्। आफ्नै प्रतिबिम्ब हेर्दै गौरवान्वित हुँदा हुन् ती भवन। घामको उज्यालोमा रोमान्टिक देखिन्छ नहरको पानी। सायद पानीले गुनगुनाउँदै होला कुनै बैंसालु गीत।

लन्डनको एक छेउ हुँदै बहने नहरको पानीमा प्लास्टिकलगायतका अन्य फोहोर तैरिएका छैनन्। न त कुनै ढल मिसाएर फोहोर पारिएको छ नहरको पानी। यही हो सभ्य र शिक्षित समाज। यही हो सभ्यताको प्रतीक र वातावरणप्रतिको सजगता। नहरको पानी देखेर अचानक मेरो मन नेपाल पुग्छ।

सम्झन्छु धार्मिक रूपमा पवित्र मानिएको बागमती नदी। बागमती नदी किनारमा थुपारिएको फोहोरहरू र नदीमा मिसाइएका ढलहरूको दृश्यचित्र घुम्छ मेरो मानसपटलमा। बागमती नदीको पानीमा तैरिरहेका फोहोरहरू मेरा आँखामा तैरिन थाले। अचानक चिलचिलाउँछन् मेरा आँखा। दुई हातले आफ्नै आँखा मिच्छु। मनमा एउटा प्रश्न उठ्छ, कहिले आउला नेपालका शासक र जनतालाई नदी सफा राख्नुपर्छ भन्ने चेतना ?

नहर किनार हुँदै गएको सानो र आकर्षक बाटोमा छु। यस बाटोमा मेरा मात्र होइनन्, थुप्रै पाइला चलिरहेका छन्। पानीमा आफ्नै दर्पण हेर्दै हिँड्न मिल्ने बाटोमा न गाडीको आवाज, न त मानिसको भिड। आहा ! सडकको फुटपाथभन्दा नहर किनारको फुटपाथमा हिँड्नु कति मजा ! आनन्दमा रमाएपछि मेरो मन बोल्छ।

नहर किनारमा लहरै राखिएका दुईवटा डुङ्गापछि तेस्रो डुङ्गामा ‘वर्ड अन द वाटर’ लेखिएको छ। त्यही डुङ्गाअगाडि रोकिन्छु। मैले रोकिनुपर्ने यहीं थियो। मजस्ता थुप्रै मानिसहरू रोकिएका छन् यहाँ। चल्नुपर्ने डुङ्गा पनि रोकिएको छ। तर, नहरको पानी रोकिएको छैन। आफ्नै लयमा बगिरहेको छ।

पानीमाथि तैरिरहेको डुङ्गाभित्र रहेको पुस्तक पसल खोज्दै यहाँसम्म आइपुगेको थिएँ। आकाशको छानामुनि पानीमाथि तैरिइरहेको पुस्तक पसलले चकित पार्‍यो मलाई। पुस्तक र पानीको कस्तो सङ्गम हो यो ? पानीका केही थोपाले सिङ्गो पुस्तक बेच्नै नमिल्ने बनाउन सक्छ। पुस्तकलाई काम नलाग्नेगरी क्षति पुर्‍याउन सक्छ। कत्रो जोखिम मोलेर खोलिएको छ पानीमाथि पुस्तक पसल। कसरी आयो होला त्यत्रो आँट। कस्तो अजिब कल्पना। व्यावसायिक रूपमा सफल पुस्तक पसलको योजना बनाउनेलाई चोखो मनले सम्मान चढाउँछु। सम्झन्छु ‘पानीमाथिको ओभानो’ भन्ने नेपाली उखान।

डचहरूले प्रयोग गर्ने गरेको ‘कनाल बोट’ अर्थात् नहरमा प्रयोग गरिने डुङ्गामा बनाइएको छ पुस्तक पसल। पूर्ण रूपमा स्टिलले बनेका यस्ता कनाल बोटभित्र सुत्न र बस्न सकिन्छ। झ्याल, ढोका र छानासमेत भएकाले यस्ता डुङ्गामा स्थायी रूपमा मानिसहरू बस्छन्। यी डुङ्गा ‘हाउसबोट’का नामले पनि चिनिन्छन्।

बेलायतमा केही नहरमा मैले यस्ता हाउसबोट देखेको थिएँ। एक तथ्याङ्कअनुसार करिब तीस हजार मानिस बेलायतभरका विभिन्न नदी, नहर र जलाशयमा यस्ता हाउसबोटहरूमा बस्छन्। पानीमा तैरिने यस्ता घर अर्थात् हाउसबोटले मानिसहरूलाई सस्तोमा आवास सुविधा उपलब्ध गराएको छ। कस्तो होला एउटा हाउसबोटभित्रको साँघुरो क्षेत्रफलमा जीवन गुजार्नेको अवस्था ? तिनीहरू हाउसबोटमा रमाएका होलान् कि त्यहाँ बस्नु उनीहरूको बाध्यता हो ? थाहा पाउन खुलदुली लागिरहेको छ।

नहरको किनारसँगै जोडिएको छ पुस्तक पसल भएको हाउसबोट। हाउसबोटमा पाइला राख्छु। हल्का लचक्क हल्लिन्छ हाउसबोट। हाउसबोट हल्लिए पनि मेरो मुटु हल्लिएन। हाउसबोटभित्रका पुस्तकहरूको चाङ देखेर हल्लियो मेरो मथिंगल। त्यहाँ राखिएको ध्यानमग्न बुद्धको मूर्ति देखेर शान्त हुन्छ मन। मेरो र बुद्ध भगवानको मातृभूमि एउटै हो।

असीम श्रद्धा छ भगवान बुद्धप्रति। गर्व लाग्छ क्रिश्चियनहरूको देशमा भगवान बुद्धका दर्शन र अनुयायीहरू स्वःस्फूर्तरूपमा फैलिएको देख्दा। खुसी मान्छु भगवान बुद्धका मूर्तिहरू घर, अफिस आदि ठाउँमा ससम्मान राखेको देख्दा।

मेरा जिज्ञासु नजर चारैतिर दौडिन थाले। हिसाब गर्न थाले मेरा आँखाले। एघार जना ग्राहक रहेछन् हाउसबोटभित्रको पुस्तक पसलमा। चटक्क पारेर मिलाएर राखिएका छन् पुस्तक। केही ग्राहकहरू आफ्नो रोजाइका पुस्तकहरू खोजिरहेका छन्।

कोही त्यहाँ राखिएको कुर्सी र सोफामा बसेर पुस्तकका पाना पल्टाइरहेका छन्। नजर दौडाउँछु त्यहाँका पुस्तकहरूमा। हातले उठाउँछु केही पुस्तकहरू। नाम चलेका थुप्रै प्रकाशन गृहका पुस्तकहरूले भरिभराउ छ। फिक्सन, ननफिक्सन र क्लासिकल पुस्तकहरू प्रशस्त छन्। देख्छु बालबालिका केही पुस्तकहरू पनि। सबै उमेरकालाई उपयोगी र रुचीकर पुस्तकहरू छन्। यही भएर त होला नि सबै उमेरका ग्राहकहरूको उपस्थिति छ भित्र।

पुस्तक अवलोकनको क्रममा ध्यानमग्न बुद्धको तस्बिर भएको म्याक्स मुलरको ‘द धम्मपाद’ पुस्तकमा मेरा आँखा ठोकिए। पुस्तक हातमा उठाएर पाना पल्टाउँछु। आफ्नै देशका बुद्ध भगवान र उनको दर्शनबारे लेखिएको पुस्तक देख्दा मनमा आनन्द आउँछ। सम्झना आउँछ घरमा थुपारेका बुद्ध धर्मसम्बन्धी पुस्तकहरूको। कहिले पढिसक्ने होला नि मैले ती सबै पुस्तकहरू ?

अंग्रेजी भाषाका पुस्तक मात्र भएको यस पसलमा कुनै नेपाली लेखकको अंग्रेजी भाषामा लेखिएको अथवा अनुवाद भएको पुस्तक छ कि भनेर खोज्छु। अहँ, मेरा आँखाले भेट्टाउन सकेनन्। हुन त अंग्रेजी भाषामा लेख्ने नेपाली लेखक एकदम न्यून छन्। नेपालीबाट अंग्रेजीमा अनुवाद भएको पुस्तक पनि खासै धेरै छैनन्। विदेशका पुस्तक पसलमा नेपाली लेखकका पुस्तक सितिमिति पाइँदैनन्। फितलो अनुवाद, अन्तर्राष्ट्रिय पुस्तक बजारमा पहुँच नहुनु र विदेशका प्रकाशन गृहबाट पुस्तक प्रकाशन नहुनु यसका मुख्य कारण हुन्।

अहिलेका चर्चित लेखक युवल नोआ हरारीको पुस्तक ‘नेक्सस’ हातमा लिएर पाना पल्टाउँछु।

‘यो किताब एकदम राम्रो छ,’ एक बेलायतीले मेरो हातको पुस्तक देखेर बोले।

‘साँच्चै हो ?’ उनीसँगको संवादलाई अगाडि बढाउँदै मैले सोधेँ।

‘शङ्का मान्नु पर्दैन। पुस्तक मन नपरे पैसा फिर्ता पाउनुहुने छ,’ उनले हाँस्दै भने।

उनको हाँसोलाई साथ दिँदै म पनि हाँस्छु।

‘तपाईं यहाँ पहिलो पटक आउनुभएको हो ?’ उनले अर्को प्रश्न सोधे।

‘हो,’ मैले भनेँ।

‘तपाईं नि ?’ उनलाई सोध्छु।

‘म विगत पाँच वर्षदेखि यहाँको नियमित ग्राहक हुँ। करिब आधा घण्टाको पैदल यात्रा गर्दै प्रायः यहाँ आउँछु। यहाँका पुस्तक स्पर्श गर्न पाउँदा मलाई बेग्लै आनन्द आउँछ। नयाँ पुस्तक बजारमा आएपछि पुस्तक भए नभएको फोनमा यकिन गरेर आउने गर्छु,’ उनले छोटकरीमा सुनाए।

‘नजिकै भए त म पनि नियमित आउँथेँ। विशाल लन्डनको यस स्थानमा तीन चारवटा टे«न बदलेर आउँदा मलाई एक घण्टाभन्दा बढी समय लाग्छ। कम्तीमा दुई वटा पुस्तक किन्ने पैसा ट्रेन भाडामा जान्छ,’ उनलाई मेरो रुचि र बाध्यताको कथा सुनाउँछु।

उनीसँगको संवाद सकिएपछि खोज्न थाल्छु यस अनौठो पुस्तक पसलको इतिहास। भेट्टाउँछु यसबारे केही जानकारीहरू। सन् २०११ मा पाड्डी स्क्रिच, स्टेफन चौडत र जोनाथन प्रिभेट मिलेर हाउसबोटलाई पुस्तक पसलमा परिणत गरेका रहेछन्।

सञ्चालक पाड्डीले अक्सफोर्ड युनिभर्सिटीमा पढेका हुन् भने जोनाथनले अमेरिकी साहित्यमा स्नातकोत्तर गरेका छन्। उनीहरूको एउटै रुचि भएकाले हाउसबोटमा पुस्तक पसल खोले। यो उनीहरूको साहित्यप्रतिको रुचि हो कि नयाँ काम गरौं भन्ने इच्छा हो थाहा पाउन सकिनँ। नाम चलेका विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका ती पुस्तक व्यवसायीहरूको नवीन कार्यबाट म प्रभावित भएँ।

सुरुवाती दिनमा पुस्तक पसल सञ्चालन गर्दा नहरमा उनीहरूको स्थायी ठेगाना थिएन। बेलायत सरकारको नहर तथा नदी ट्रस्टको नियमअनुसार यस्ता हाउसबोटहरू एकै ठाउँमा स्थायी रूपमा राख्न पाइँदैन। हरेक दुई हप्तामा हाउसबोटको स्थान बदल्नुपर्ने नियम अहिले पनि कायम छ। यो नियम कडाइसाथ लागु गरिएको छ। सोही नियमले गर्दा पुस्तक पसल खोलिएको हाउसबोटले हरेक दुई हप्तामा स्थान बदलिरहनु पथ्र्यो।

अर्को पटक पुस्तक किन्न जाने पुराना ग्राहक र नयाँ ग्राहकहरू त्यहाँ पुस्तक पसल होला भनेर पुग्दा हाउसबोट अरूतिर गइसकेको हुन्थ्यो। स्थायी ठेगाना नभएपछि नियमित आउने ग्राहकहरू छुटे। जसले गर्दा उनीहरूलाई व्यवसाय जोगाउन एकदम कठिन भयो। यस्तो अवस्था आउला भनेर सायद कल्पना पनि गरेका थिएनन् होला। कुनै व्यवसाय गर्नुअघि नियमकानुन बुझ्नुपर्छ। सम्भावित जोखिमको लेखाजोखा गर्नुपर्छ। कल्पनाको उडान भरेर पानीमाथि पुस्तक पसल खोले कि क्या हो जस्तो लाग्यो मलाई।

सरकारी नियमका कारण किताब पसलले पानीमा यात्रा गरिरहन्थ्यो। अनुमान गर्छु, पुस्तकका जीवित लेखक बन्द कोठामा थुनिएर अर्को पुस्तकका लागि शब्द खिपिरहेका थिए होलान्। यता लेखकका शब्दहरूले पानीमाथि यात्रा गरिरहेका हुन्थे। पानीमाथिको पुस्तक पसलमा आफ्ना पुस्तकले सास्ती बेहोर्नुपरेको कुरा थाहा पाएको भए लेखकको मनमा कस्तो प्रभाव पर्दो हो ? मेरो मनको तलाउमा प्रश्नरूपी शब्दहरू खस्छन् खुत्रुक्क।

पुस्तक पसलका सञ्चालकहरूले सन् २०१४ मा नहरको एक ठाउँमा स्थायीरूपमा बस्नका लागि लाइसेन्स माग गरे। तर, उक्त लाइसेन्स अस्वीकृत भयो। सञ्चालकहरू निराश भएनन्। सरकारको उक्त निर्णय उनीहरूले सार्वजनिक गरे। त्यसपछि पुस्तकका ग्राहक, पुस्तकप्रेमी र शुभचिन्तकहरूले दबाबस्वरूप सरकारलाई ज्ञापनपत्र बुझाए। त्यसपश्चात सन् २०१५ मा अहिलेको स्थानमा स्थायीरूपमा बस्ने अनुमति पाए।

जनता जागेपछि सरकारको के लाग्छ र ? हुन त नियम कानुन बनाउनेहरू पनि जनताकै छोराछोरी त हुन्छन् नि। ज्ञानको भण्डार पुस्तक पसलप्रति तत्कालीन समयमा बेलायती सरकारले लिएको कठोर कदम मलाई मन परेन। उतिबेला उक्त दबाब अभियान थाहा पाएको भए ज्ञापनपत्रमा मैले पनि सही धस्काउने थिएँ।

यो पुस्तक पसल कुनै इँट, सिमेन्ट वा काठले बनेको भवन होइन। बजारमा रहेका आकर्षक साजसज्जासहितको पुस्तक पसल पनि होइनन्। पुस्तकप्रेमीहरूको मायाले बनेको ज्ञान भण्डार हो। तिनको प्रेम र सदभावले सिँगारिएको सुन्दर पुस्तक पसल हो। पुस्तकप्रेमीहरूको आर्शीवादप्राप्त विद्याको खानी हो।

सर्वथा नवीन खालको यस पुस्तक पसलको चर्चा रेडियो र टिभीमा हुन थाल्यो। यस पसलबारे ‘द वासिङ्टन पोस्ट’ र ‘द गार्जियन’ पत्रिकाले लेखेपछि खुब प्रचार भयो। यसको ख्याति बढ्यो। नियमित ग्राहक त छँदै थिए, थुप्रै नयाँ ग्राहकहरू पनि आउन थाले। यहाँ अवलोकन गर्न आउने पर्यटकहरू पनि पुस्तक किन्छन्। काउन्टरमा बसेकी महिला कर्मचारीले यस पुस्तक पसलको कथा र व्यथा सुनाइन्।

कोभिडको महामारीमा सारा बेलायतमा लकडाउन थियो। त्यसबेला अरू व्यवसायजस्तै यो पुस्तक पसल पनि मारमा परेको थियो। त्यस महामारीमा मानिसले ज्यान गुमाइरहेको बेलामा झन्डै यस पसलले पनि मृत्युवरण गर्नु परेन। कसो कसो गरेर यस पुस्तक पसलले फेरि खुट्टा टेक्यो। पुस्तक पसल अहिले राम्रै चलेको छ। र, त भिड छ। भिडकै माझमै टिपिरहेको छु थुप्रै जानकारीहरू।

लकडाउनका बेला कतिपय पुस्तकप्रेमीहरू कोभिड सर्ला भनेर अरूले छोएको पुस्तक छुन समेत डराउँथे। त्यस्तो कठिन अवस्थामा पुस्तकबारे जानकारी दिन, पुस्तकसँग पाठकको सम्बन्ध टुट्न नदिन र पाठकलाई पुस्तकको स्वाद भर्चुअल माध्यमबाट उपलब्ध गराउन उनीहरूले टिकटिक, युट्युब र इन्स्ट्राग्रामको मञ्चमा पुस्तकप्रति समर्पित बुकटक, बुकट्युब र बुक्सट्राग्रामलाई उपयोग गरे।

पुस्तकबारे चर्चा चलाइरहे। त्यहाँ उनीहरूले पाठक र ग्राहकसँग नियमित सम्पर्क बनाइरहे। प्रतिकूल अवस्थामा व्यवसायलाई टिकाउन उनीहरूले प्रयोग गरेको सिप र उपायबाट प्रभावित भएको छु। यही त हो नि व्यापार। व्यापार पनि एक कला हो। यस संसारमा कला देखाउन सक्नेहरू मात्र हरेक ठाउँमा टिक्छन्।

भित्र राखिएको कुन पुस्तक किन्ने होला भनेर छान्दै थिएँ। पुस्तकलाई हातमा समातेर पाना पल्टाउदै थिएँ। आँखाले अक्षरसँगसँगै यात्रा गरिरहेका थिए। अचानक बाहिर ज्याज म्युजिक बजेको सुन्छु। मेरा कान चनाखा भए। के रहेछ भनेर थाहा पाउन पुस्तक पसलबाट बाहिर निस्कन्छु।

साँझतिर त्यहाँ ज्याज म्युजिकको कार्यक्रम रहेको जनाउ दिन म्युजिक बजाएको कुरा पुस्तक पसलकी कर्मचारीले बताइन्। समय अभावका कारण मलाई खुब मन पर्ने ज्याज म्युजिक सुन्न नपाउने भएँ। मनमा अलिकति खल्लो भइरह्यो। अर्को पटक ज्याज म्युजिक सुन्नेगरी अवश्य जाने छु भनेर आफ्नै मनलाई थुमथुम्याउँछु।

बेलायतमा मौसमको भर हुँदैन। कहिलेकाहीं त एक दिनमै घाम, पानी र हिउँसँग साक्षात्कार गर्ने अवसर मिल्छ। घाम हेर्दाहेर्दै हिउँ पर्छ र हिउँ पर्न रोकिएर तुरुन्त झरी परेर अचम्ममा पार्छ। ग्रीष्म ऋतुको कामुक घाम र पानी अनि लजालु हिउँदको हिउँ र पानीले यस पुस्तक पसललाई केही फरक नपार्ने रहेछ।

बाह्रै महिना सातैदिन खुल्दो रहेछ यो पुस्तक पसल। मौसमले साथ दिएको बेला बाहिर पनि पुस्तक बिक्रीका लागि राखिँदो रहेछ। उज्यालो घाम लागेकाले हाउसबोटको छतमा पुस्तक बेच्न राखिएको छ। त्यहीं राखिएका छन् फूल फुलेका थुप्रै गमला। आहा ! कति सुन्दर देखिँदो रहेछ, घाममा पुस्तकको उज्यालो अनुहार। उज्यालो घाम, पुस्तक र फूल देखेर मेरो मन पनि उज्यालियो।

यहाँ त किताब मात्र बेचिन्न रहेछ। पुस्तक पसल भएको हाउसबोटको ठिक अगाडि नहरको किनारामा बेलाबेलामा कविता गोष्ठी आयोजना हुँदो रहेछ। त्यति मात्र होइन, कला, राजनीति, पर्यावरण र नारीवादसम्बन्धी प्रवचन गोष्ठीको पनि आयोजना हुँदो रहेछ। कला, साहित्य र विचारसँग जोडिएको यो त महत्त्वपूर्ण स्थान पो लाग्यो मलाई। यसले मलाई अर्कै संसारमा पु¥यायो। सामान्य पुस्तक पसलले कति धेरै महत्त्वपूर्ण कार्य गरेको रहेछ। पुस्तकप्रेमीहरूका लागि स्वर्ग यस पुस्तक पसललाई जसरी पनि जोगाउनुपर्छ भन्ने लागेको छ मलाई।

पानीमा तैरिरहेको हाउसबोटमा तैरिरहेका शब्दहरूलाई निकैबेर हेरेँ, पढेँ। शब्द–शब्दलाई स्पर्श गरेँ। यहाँका अद्भुत अनुभूतिहरू अक्षरबाट शब्द र शब्दबाट वाक्य बने। अन्त्यमा बन्यो यो सिङ्गो यात्रानुभूति। शब्दहरूको संसारमा पुगेर म पनि तैरिरहेको छु जस्तो अद्भुत अनुभूति भइरह्यो मनमा।

जति हेरे पनि नअघाइने यस वरपरको दृश्य र पुस्तक पसलले मलाई मोहनी लगायो। पुस्तकसँग समय व्यतीत गरेको एक घण्टा भइसकेको थियो। यहाँबाट निस्केर जान मन थिएन। तर, अरूतिर जानुपर्ने महत्त्वपूर्ण कार्यक्रम पहिले नै तय भएको थियो। बाहिर निस्कनु अघि केही महिना अघि बजारमा आएको इवी उड्सको उपन्यास ‘द लस्ट बुकसप’ किन्नका लागि उठाएँ। बेलायतबाट सधैंका लागि झन्डै हराउन आँटकोे अर्थात् ‘लस्ट बुकसप’भित्र उस्तै नामको ‘द लस्ट बुकसप’ पुस्तक किन्ने अवसरलाई एउटा गजबको संयोग मानेको छु।  

काउन्टरमा पुस्तकको पैसा तिरेर बाहिर निस्कन्छु। के होला पुस्तकभित्र थाहा पाउन तीव्र उत्कण्ठा फत्किरहेको छ मनमा। कतिबेला ट्रेन चढ्नु र ‘द लस्ट बुकसप’को पाना पल्टाउनुजस्तो भएको छ। मनमा तैरिरहेका छन् उत्सुकताहरू। विलम्ब नगरी फटाफट लम्किन्छु ट्रेन स्टेसनतिर।

प्रकाशित: ८ मंसिर २०८१ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App