३ माघ २०८१ बिहीबार
image/svg+xml
कला

आफ्नो उपस्थितिमा रमाउनु हो एक्लोपन

चिन्तन

अधिकांश व्यक्तिलाई आफू एक्लो हुनुको र एक्लै बस्नुपर्दाको अनुभूति सुन्न र कल्पनासम्म गर्न पनि गाह्रो लाग्ने कुरा हामीले सुन्दै आएका छौं। साथीभाइ, परिवारजन वा कोही पनि किन नहोस्, कोही छ मेरो, म कसैका लागि छु र म कसैको बन्नुपर्छ भन्ने संस्कार र बानीमा जीवन चलिरहेको हुन्छ। आफ्नो जीवनमा कोही हुनु वा आफू कसैका लागि हुनु एउटा आधार मानिन्छ। बिनाआधार, बिना आफ्नो मान्छे जीवनयापन वास्तवमै कल्पनाबाहिरको कुरा लाग्छ। किन यस्तो लाग्छ भन्ने प्रश्नमा सबैको जवाफ एउटै हुन सक्छ किनकि मानिस सामाजिक प्राणी हो। ऊ एक्लै बस्न सक्दैन। त्यसैले समाज बन्यो। सामाजिक धारणा आफैंमा गलत छैन। यसको आर्थिक पाटो हेर्ने हो भने एकअर्काको सहयोग र सहज जीवनयापनका लागि कसै न कसैलाई साथ दिनु, योगदान दिनु मानव जीवनको उद्देश्य हो भन्न सकिन्छ।

मनोभावनात्मक दृष्टिले हेर्दा मनका भावना साटासाट गर्न र एकअर्काको सुख या दुःखमा साथ दिनु नै जीवन हो भन्ने लाग्छ। वैज्ञानिक वा चिकित्सकीय दृष्टिकोणले हेर्दा एक्लो हुनु त चिन्ता निम्त्याउनु हो, रोग निम्त्याउनु हो। यो त आइसोलोफोबिया हो, एक्लै हुन मानिस डराउँछ र त्यो नै विविध समस्याको कारण बन्न सक्छ।

एउटा बच्चा मात्र हुने परिवारमा सल्लाह दिइन्छ कि अर्को बच्चा पनि बनाउनुपर्छ। एक्लो बच्चा हुर्किंदै गर्दा एकोहोरो हुन्छ, अनेक समस्या आउँछन्। साथी त चाहिन्छ। एक्लै हुर्केका बच्चाको बुद्धि विकास राम्रो हुँदैन। एक्लो बच्चा बिग्रिन सक्छ, मात्तिन सक्छ, यस्तै यस्तै कथनले गर्दा वास्तविकताभन्दा बाहिर हाम्रो जीवन गुज्रिनपुगेको हुन्छ।

मानौं एक्लो हुनु अभिशाप हो, पाप हो। त्यसो नभई एक्लोपनले आफ्नो खुसीको स्रोत, आफ्नो रचनात्मकता र आफ्नो आन्तरिक क्षमता आफैंमा खोज्न मद्दत गर्छ। अरूले भनेजस्तै गर्नुपर्ने, सिक्नुपर्ने र अरूकै इसारामा चल्नुपर्छ भन्ने जरुरी छैन। बरु अरूसँग भएर पनि कसरी एक्लो हुने र आफ्नो इच्छाअनुसारको जीवन बाँच्ने, त्यो खोज्न सक्नु महत्त्वपूर्ण पक्ष हो।

एक्लो हुनुले समग्र सम्भावनाको खोज आफैंबाट गर्ने, आफ्नो दायित्वबोध र आत्मनिर्भरताको विकासमा पनि सहयोग पुग्छ। एक्ला बच्चाहरूले आफैंले आफैंलाई अनुशासनमा राख्ने, आत्म मनोरञ्जन लिने र जीवनको मार्ग निर्देशमा आफ्नै अनुभवले अगाडि बढिरहेका पनि हुन्छन्। एक्लो हुनु आफैंमा आत्मविश्वास र निर्भयताको विकास गर्नु, प्रतिस्पर्धामा उत्रिन कोसिस गर्नु र नेतृत्व क्षमता लिनु पनि हो।

त्यति मात्र कहाँ हो र, हाम्रो बुढेसकालमा हामी एक्लै भयौं भने कसरी गुजारा चल्छ होला ? त्यसको चिन्ता आज सबैलाई छ। हामीले आज सन्तानलाई गरेको यो सबै लगानी वृद्धावस्थामा आफूलाई हेरून् भनेर त हो नि। तर, सबैको भाग्यमा यो नहुन सक्छ, नमिल्न सक्छ, सबैका सन्तानले आमाबाले सोचेजस्तो साथ दिऊन्, यो एक अपेक्षा मात्र पनि हुन सक्छ। छोराछोरी, बुहारी, नातिनातिना आफ्नै काममा व्यस्त हुन्छन्। उनीहरू पैसा दिन सक्छन्, हेरचाह गरिदिने मान्छे राखिदिन सक्छन् तर साथ र समय दिन सकिरहेका हँुदैनन्।

यस्तो अवस्थामा पनि आफ्नो खुसी र आनन्द नगुमोस् र बुढेसकालको अनुभूति गर्न पाइयोस् भनेर तयार रहनु अर्को बुद्धिमानी हो। त्यसका लागि अहिलेदेखि नै योजना बनाएर आफ्नो स्वास्थ्य कसरी राम्रो राख्ने, आर्थिक बचत कसरी गर्ने, कुन योजना बनाउँदा बुढेसकाल बिनागुनासो बित्छ र कसैलाई दुःख दिनुपर्दैन, त्यो सोच्नु पनि रचनात्मक हुनु हो। कसैले साथ दिए ठिक छ, नदिए पनि त्यो अवसरको उपयोग आफैं गर्छु भन्ने मनस्थिति बनाउने समय आएको छ।

आध्यात्मिक दृष्टिकोणले हेर्ने हो भने एक्लो हुनु सुवर्ण अवसर हो। त्यसैले ओशो भन्नुहुन्छ– एक्लोपन अरूको अनुपस्थिति मात्र हो। यो कठिन र अनौठो परिस्थिति होइन। अरूको उपस्थितिले सुख, खुसी र साथ मिल्छ भन्ने आदत बसेपछि अरूको अनुपस्थितिले दुःख महसुस हुनु स्वाभाविक हो तर अरूको अनुपस्थितिको अर्थ हो आफ्नो उपस्थिति। आफ्नो उपस्थिति, आफू हुनुको बोध, आफैंसँग रमाउने कला मानिसले जानेन। एक्लै हुन डराउनु यो बहिर्मुखी स्वभाव हो। एक्लै रमाउनु अन्तर्मुखी स्वभाव हो। अस्तित्वगत अनुभूति लिन सक्नु, अस्तित्वसँग तादात्म्य बनाइराख्नु एक्लोपनको आनन्द लिनु हो। यसलाई नै शून्यताको अनुभूति, परमबोधको अनुभूति र म हुनुको अनुभूति भन्न सकिन्छ। ध्यान साधनाबाट यसलाई अनुभूति गर्न सहज र बोधगम्य हुन्छ।

एक्लोपन अर्थात् एकान्तपन महान् शक्ति हो। व्यक्ति जब एक्लोपनमा डुब्न सक्छ, उसमा रचनात्मकता र आत्मखोजको शक्ति बढेर आउँछ। एक्लोपन आत्मनिरीक्षणको क्षण हो, भित्रको आत्मासँग जोडिनु हो। अन्तरसंगीतमा डुब्नु हो। एक्लोपन विचारोत्तेजक नभई आन्तरिक रहस्यसँग जोडिनु हो। एकान्तपनमै व्यक्तिले आफ्नो हृदयको संगीत सुन्न सक्छ, आफूसँग कुरा गर्न सक्छ र आफूलाई न्याय गर्न सक्छ। यसको अनुभूति हाँसिल गर्न सक्नु एक साधनाको शिखर छुनु पनि हो। मौनता, निराकार र ब्रह्मतत्त्वसँग साक्षात्कार हुन पनि एक्लो हुनु जरुरी छ। यो स्वाध्यायन, स्वानुभूति र आत्मविकासका लागि सुन्दर अवसर हो।

एक्लो हुनु अपेक्षाभन्दा माथि उठेर स्वयंको पहलमा चाहेजस्तो जीवन बाँच्ने प्रेरणा विकसित गर्ने अवसर पनि हो। अरूको भरमा, अरूको अपेक्षामा बाँच्नु दुःखको कुरा हो किनकि अरूबाट मिल्यो भने खुसी र मिलेन भने दुःखी हुनु भनेको परनिर्भरताको जीवन हो। अरूले गरिदेलान् भन्ने आशाले आफ्नो ऊर्जाशक्ति र आफ्नो क्षमताबोध पनि पहिचान हुन सक्दैन।

एक्लो हुनु बिना कसैको अवरोध स्वतन्त्र भएर आफ्नोबारे सोच्ने, हाँस्ने, रुने, रमाउने र आफूलाई खुलस्त भएर जान्ने मौका हो। एक्लो हुनु आफैंमा ध्यान मग्न भएर आफ्नो सोच र योजनामा ध्यान केन्द्रित हुने अवसर हो। एक्लो हुनु अरूको झोला नबोकी आफैंमा मनमग्न हुनु हो। एक्लो हुनु आफैंसँग आफूले राम्रो सम्बन्ध स्थापना गर्नु हो। स्वतन्त्र र अनुशासित भएर आफ्नो चाहना, लक्ष्य, खुसी र जिम्मेवारी बोध गर्न पनि एक्लोपनले अरू मद्दत गर्छ।

प्रेम, सहयोग, दया सबै या कुनै कारणसँग जोडिएका हुन्छन् या स्वार्थसँग। आफैंले आफैंलाई प्रेम गर्न जानेपछि आफ्नो जीवनको प्रेम कथा कस्तो लेख्ने, आफ्नो जीवनको निर्देशक आफैं कसरी बन्ने स्वप्रेरणा मिल्छ। आफैंले बनाएको मार्ग, आफ्नो सोचले सिर्जना गरेको संसार, आफ्नो बगैंचा, रंगीचंगी फूल। बाहिरको रंगीचंगी कोलाहल, अरूको इसारा, अरूको तर्क र अरूको सोचमा बाँच्नुभन्दा कयौं गुणा शान्ति र आनन्दको क्षण हुन्छ जब एक्लै शान्त चित्त र सकारात्मक भएर रूपान्तरणका लागि जागृत हुनुमा। आत्मजागरुकताका साथ आफ्नो मनोभावनामा रमाउनु एक्लो हुनुको फाइदा हो।

एक्लो हुनु समाज र परिवारबाट अलग हुनु पनि होइन। परिवारमै रहेर, समाजमा रहेर आफ्नो आत्मसत्तासँग नजिक हुनु पनि एक्लोपनमा रमाउने कला जान्नु हो। भिडबिच पनि आफूलाई आफ्नो स्वसत्तासँग जोडेर हेर्नु, भिन्न परिचय र एक सत्यवान व्यक्तिका रूपमा पहिचान बनाउनु एक्लो हुनुको अर्थ हो। कुरा सबैको सुन्नु तर निर्णय आफ्नो ब्रह्मले जे भन्छ, जे सत्य र सात्विक छ, त्यसका आधारमा लिनु एक्लो हुनुको गरिमा हो। सत्य कुराका लागि भिडसँग अलग हुन सक्नु एक्लो हुनुको परिचय हो।

एकान्तमा रमाउने व्यक्तिले एकाग्रताको विकास गरी स्वस्थ र सुन्दर कार्यमा आफ्नो समय दिन सक्छ। प्रकृति रमण गर्नु, साधनामा डुब्नु, सही लागेको कुरामा आफ्नो सहयोग र योगदान दिनु एक्लो भएर गर्न सक्ने निर्णयका मापन हुन्। अरूसँग अलग भएर केही फरक पर्दैन तर आफैंसँग नजिक भएर बाँच्नु एक्लो भएर गुणात्मक जीवन बाँच्नु हो।  

प्रकाशित: ८ मंसिर २०८१ ०७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App