६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

पुस्तकमा नेपाल-भारत सम्बन्धको इतिहास

नेपाल–भारत सम्बन्धबारे अनुमा कोइरालाद्वारा लिखित ‘अनभेलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एन्ड पोलिटिकल डेडलक’ पुस्तक प्रकाशित भएको छ। विश्वमा नेपाललाई शान्तिप्रिय मुलुकका रूपमा परिचित गराउने उद्देश्यले गरिएको ‘शान्ति क्षेत्र प्रस्ताव’को आजको अवस्था र उक्त प्रस्तावलाई भारतले समर्थन नगर्नुका कारणसहितका नयाँ खुलासा र सन्दर्भ पुस्तकमा समेटिएको लेखक कोइरालाले जानकारी दिइन्।

अनुसन्धानमा आधारित यस पुस्तकमा नेपालमा हुँदै आएका ठुला राजनीतिक परिवर्तनसँग शान्ति क्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलाइएको छ। पुस्तकले नेपाल–भारतबिचको पुरानो तर जटिल सम्बन्धका अन्तर्य सतहमा ल्याएको छ। पुस्तकमा दुई देशको ‘विशेष सम्बन्ध’ले बारम्बार भोगेको अवरोधका दीर्घकालीन असरलगायतका विषयलाई समेत समेटिएको कोइरालाको भनाइ छ।

विमोचन कार्यक्रममा अधिवक्ता स्वागत नेपालले पुस्तकले पाठकलाई तमाम भ्रमबाट मुक्त गराएको बताए। पुस्तकमा समेटिएका अनुसन्धानमा आधारित तथ्यहरू पढेपछि नेपाल दुई ढुंगाबिचको तरुल नभएर दुई तरुलबिचको ढुंगा भएको आफूले महसुस गरेको उनको भनाइ थियो।

राजा वीरेन्द्रले सन् १९७३ को सेप्टेम्बरमा अल्जेरियामा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा शान्ति क्षेत्र प्रस्तावको अवधारणा अघि सार्दै विश्वका दुई ठुला देशबिच अवस्थित नेपालले आफ्नो भूगोल शान्ति क्षेत्र रहनुपर्ने चाहना राखेको सन्दर्भ कार्यक्रममा आएको थियो।

नेपालले असंलग्न विदेश नीति अँगाल्ने धारणा राख्दै राजा वीरेन्द्रले भनेका थिए, ‘हामीलाई सुरक्षाका लागि शान्ति चाहिन्छ, हामीलाई हाम्रो स्वतन्त्रताका लागि शान्ति चाहिन्छ र हामीलाई विकासका लागि शान्ति चाहिन्छ।’ नेपाललाई शान्ति क्षेत्र बनाउनुपर्ने राजा वीरेन्द्रको दूरदर्शी नीति तथा उक्त प्रस्तावलाई भारतले समर्थन नगर्नुभित्रको अन्तर्य उल्लेख गरिएको पुस्तक नेपालको राजनीतिक इतिहास बुझ्न महŒवपूर्ण रहेको कार्यक्रममा वक्ताहरूले बताएको थिए। पुस्तक आर्ट नेपालले प्रकाशन गरेको हो।

प्रकाशित: ३ मंसिर २०८१ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App