१) मुक्तक
मनैभरि माया बोकी प्रेमको गीत गाए के जान्थ्यो
बाहुपासमै चट्ट कसी कर्के नजर लाए के जान्थ्यो
तिमी दुखेर रुँदा दिन्थें सान्त्वनाका चुम्बनका प्रसून
प्रसून थुँगामै बैंस पोखी हिया भरी छाए के जान्थ्यो।
२) मुक्तक
आठौं आश्चर्यचकित देखिदैछ संसारमा
अनि त दिनानुदिन भासिदै छ जंघारमा
दिनकै देशले सय करोड कर्जा पचाएको
किन था छरुभ्रष्टकै मुखिया छ सरकारमा।
३) मुक्तक
बसुन्धरा हराभरा उनले गर्दा हो
ब्योममा सुन्दरता जूनले गर्दा हो
हेलेन पद्मिनीझैं मिठास माया
कष्टकर क्षणको गुनले गर्दा हो।
४) मुक्तक
पाषाण जस्तो हियारो पनि पगाल्न सक्दिनँ म
कल्मष अन्तस्करणमा दीप बाल्न सक्दिनँ म
कामवासना नै ब्रह्माण्ड हुँदो हो कसैलाई भने
बुख्याचा मायामा कायानै त फाल्न सक्दिनँ म।
५) मुक्तक
बचेखुचेका फोटा देख्छु अझै तिहार झिलमिल
मेरा लोचन पोखरी बन्छन् वेदनाले टिलपिल
पछुतोको हाँगोले लछार्छ विगत सम्झिदा पनि
हियारो चरक्कै चर्कियो भएर भाग्यहीन दिल।
- ध्रुव अर्याल निरस
प्रकाशित: २७ कार्तिक २०८१ १२:१७ मंगलबार