११ कार्तिक २०८१ आइतबार
image/svg+xml
कला

चौतारीमा देखें उन्लाई मेरो यो दिल धड्क्यो!

मुक्तक

१) मुक्तक

छैनन् मानवता कुनै किसिमका पैसा सधैं जोख्त छन्।

गर्छन् खोज सधैं धराप अरूको पार्ने कला पोख्त छन्।

खन्चुवा फटाहा गुण्डा र तस्करी पेशा बनाए वरै

सित्तैं पाए भने कुकुर जसरी चाटीचाटी धोख्त छन्।

२) मुक्तक

आज घर अगाडिको आँपको बोट सम्झें बुबा,

दराजमा राखेको हजुरको कोट सम्झें बुबा।

ठगी, फट्याइँ र बेइमानी गर्ने आफन्त देख्दा

तिनैले नै दिएका अनगिन्ती चोट सम्झें बुबा।

३) मुक्तक

छन् कमल जलका मलमा यहाँ।

छन् कुसुम वनका तलमा यहाँ।

किन सकलमा कल शून्य देख्छु

नदी सलबलाउँछिन् ढलमा यहाँ।

४) मुक्तक

रित्तिएको बोत्तल जस्तो खाली भयो जीवन।

चुहिएको थोत्रो घरको पाली भयो जीवन।

सोचे जस्तो केको हुन्थ्यो हेर्नुस् पापी संसार!

जति भर्‍यो उत्ति चुहिने थाली भयो जीवन।

५) मुक्तक

हामी पनि के कम झिलिक्क देखिएका छौ।

जुनकिरीझैं त्यसै मिलिक्क देखिएका छौ।

धेरै स्याम्पु र साबुनले धोए रे प्रधानमन्त्रीले

त्यसैले त हामी पनि टिलिक्क देखिएका छौ।

६) मुक्तक

आज थाह भो फोस्राे माया गराइ रहेछ

जस्लाई आफ्नो सम्झें ऊ त पराई रहेछ

सधैं सोच्थें ऊ त मेरो मन मुटुभित्रै छ

तर ऊ त यतै भिडमा कतै हराइरहेछ।

७) मुक्तक

मलाई पनि केही दुख लागेको छ सहन देऊ ठिकै छ।

मन्मा लागेका केही कुरा उस्का पनि कहन देऊ ठिकै छ।

डर लाग्छ यी आँखाहरू कतै मरुभूमिझैं सुक्खा नहुन फेरि

त्यसैले मेरा आँखाबाट केही आँसु, बहन देऊ ठिकै छ।

८) मुक्तक

काभ्रेलीको सान छुट्टै हिमालको छ त गजुर।

हिले जात्रा संस्कृतिका नाच्छन् डाँफे मजुर।

विविध भाषा बोल्छौ हामी र पनि छ मन एउटै

हेपाइदपाइ नसहने काभ्रेलीको जात हजुर। 

९) मुक्तक

किन होला मायालुको साथ प्यारो लाग्ने

माया गर्ने कोमल ती हात प्यारो लाग्ने।

न पुरानो हुने कैल्यै कस्तो माया होला

लुटपुटिंदै बिताएका रात प्यारो लाग्ने।

१०) मुक्तक

चौतारीमा देखें उन्लाई मेरो यो दिल धड्क्यो,

कराऊँ, बोलाऊ, के गरूँ खै मनमा कुरा अड्क्यो,

जवान हुँदा काठमाण्डुको कहानी यो साथी,

उन्को मन्द मुस्कानले दिमाग बमझैं पड्क्याे।

 

  -डा. गोपाल पौड्याल "मण्डने"

प्रकाशित: ११ कार्तिक २०८१ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App