७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन!

दशैं एउटा शब्द र चाड मात्र होइन, योसँग थुप्रै भावना र स्मृतिहरू जोडिएका हुन्छन्। दशैं भन्नेबित्तिकै धेरैको मनमा उमङ्ग र मुहारमा उज्यालो छाउँछ भने पक्कै पनि उसले आफ्नो बालापन सम्झिरहेको छ भनेर बुझ्न गाह्रो पर्दैन।

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन। बर्सेनि कसैले आफन्त गुमाउँछन् भने कसैका आफन्त अस्पतालमा उपचार गर्दै हुन्छन्। कतिलाई ऋणको भारले उठ्नै नसक्ने गरी थिचेको हुन्छ।

यसपटकको दशैंको पूर्वसन्ध्यामा त झन् हाम्रो देशमा ठूलै विपत्ति आइलाग्यो। सयौंले ज्यान गुमाए भने कति घाइते भए। कैयौंको घरखेत बगाएर उजाड  बगर बनाइदियो जसको पुर्ताल सरकारी आश्वासन र नाम मात्रको राहतले आहत भएका नागरिकको घाउमा मलम लगाउन सक्दैन।

दशैंमा बाजेबजू र बूढा बाआमाको हातबाट टीका लगाई आशीर्वाद थाप्न आफ्नो थातथलो फर्कनेलाई सास्ती भयो। तैपनि रहरलाई कहरले छेक्न सकेन। झोला भिरेर घुमाउरो बाटो लड्दैपड्दै आफ्नो नाभी गाडिएको ठाउँतिर जानेको लर्को देखियो। वीपी राजमार्ग नखुलेकाले पूर्व जानेहरू नारायणघाट, चितवन हुँदै घुमेर जान बाध्य भए।

दोलालघाट, खाडीचौर, मुडे, चरीकोट हुँदै फेरो घुमेर गाउँ फर्कनेहरू वीपी राजमार्ग खुल्नुअघिका दिनहरू सम्झदैं नोस्टाल्जिक भएँ। तथापि अघिल्ला वर्षमा झैँ यसपटक पनि क्षमताभन्दा बढी यात्रु चढाउनाले दोलखा लगायतका ठाउँमा सवारी दुर्घटना हुने क्रम रोकिएन। दशैंको सङ्घारमा प्राकृतिक विपत्ति र जोखिम मोलेर गरिने यात्रा अनि दुर्घटनाले मानिसको कोमल हृदय छियाछिया भएको छ।

जे होस् मानिसले बिस्तारैबिस्तारै पीडाहरू भुल्दै जान्छ। यस्तो गुण वा क्षमता उसँग नभइदिएको भए सायद मान्छे आजीवन पीडाको पोखरीमा डुबिरहने थियो। मान्छेको मनमा जिजीविषा छ र त पीडा भुलेर रमाउन सक्छ।

शहरको दशैं कस्तो हुन्छ! यो त शहर नै कस्तो हुन्छ भनेर थाहा नपाएको बालकलाई के थाहा र! गाउँको दशैं भने खुब रमाइलो हुन्थ्यो। दशैं आउनु पन्ध्र दिनअघि देखि नै दशैंको कुरा मात्र हुन्थ्यो।

पीङ बाट्ने बाबियो काट्न साँझ परेपछि हुल बाँधेर पाखामा गइन्थ्यो। रातिराति बाबियोको मुठा बोकेर फर्किन्थ्यौं। भोलिपल्ट बाबियो कसले चोर्‍यो कसले भन्दै ठूला मान्छेहरूले कुरा गर्दा हामीलाई हाँसो रोक्न कम्ता सकस पर्थेन। हाँसेको देखेर पक्कै यिनै मोराहरूले चोरेका हुन् भनेर झपार्थे। हामी भने रिसाएझैं गरी डाँडामा भेला हुन्थ्यौं र बाबियो सुकाउँदै थप सल्लाह गर्थ्यौ। पीङ बाट्न जसले कराउँथे, तिनैलाई बोलाएर लेराउँथ्यौं जसको बाबियो केही दिनअघि काटिएको हुन्थ्यो। कराउने मान्छे सायद उनीहरूले पनि उमेरमा हामीले जस्तै मीठो बदमासी गरेका थिए होला। त्यसैले उनीहरूको गालीमा त्यति कठोरता झल्किंदैनथ्यो।

गाउँ छोडेर गएकाहरू फर्कन थालेपछि गाउँको रौनकै अर्कै हुन्थ्यो। क्यासेट बजाउँदै यताउता हिँड्थे र उनीहरूका पछिपछि हामी झुम्मिन्थ्यौं। कहिलेकसो मिठाई पनि दिइजान्थे। त्यत्तिकै पनि हामी उनीहरूले गर्ने गफ सुन्न वरिपरि झुम्मिन्थयौं।

“यी घरभन्दा ठूला गाडी हुन्छन्, एकैछिनमा काँबाट काँ पुर्याइदिन्छन्!”

उनीहरूका यस्ता कुरा हामी कहिल्यै अघाउन्नथ्यौं। खसी मार हान्ने दिन हामी बिहानैदेखि फर्‍याकफुरुक गरिरहन्थ्यौं। घरि वल्लो घर त घरि पल्लो घर जान्थ्यौ। कहिले भुल्टुङ बोकेर पँधेरातिर कुद्थ्यौं। कसको खसी ठूलो छ भनेर मच्चीमच्ची कुरा गर्थ्यौ। साना खसी हुनेहरू घोसेमुन्टो लगाउँथे र ठूला खसी हुनेहरूको शान बढे जस्तो हुन्थ्यो।

टीकाको दिन त झन् कुरै बेग्लै हुन्थ्यो। खुब मिचीमिची मुख धोइन्थ्यो, ढुङ्गाले रगडीरगडी हातखुट्टाको मयल निकाल्न जोड गरिन्थ्यो। कुर्कुच्चाको मैला निकाल्न निकै मेहनत गर्नुपर्थ्यो। एकछिनपछि नयाँ जुत्ता मोजा जुन लगाउनु थियो।

नयाँ लुगा यत्ति खुशी भएर लगाइन्थ्यो कि के भनौं! जुन लुगा स्कूल ड्रेसका हुन्थे। पाइन्टको पेटीघरमा रोइकराइ गरेर ल्याएको पेटी जब पस्दैनथ्यो तब आँसु नआएर के आउँथ्यो त! आफ्नो आङमा नमिल्ने अलि ठूला कपडा लगाएर पाइन्ट बेलाबेलामा माथि तान्दै पीङ खेल्नगइन्थ्यो। बल्लबल्ल पालो आएपछि पीङ मच्चाउँदै माथि पुग्न थालेपछि फेरि पाइन्ट तलतल झर्न थाल्थ्यो अनि त लुगा सिलाइदिने मामादेखि खुब रिस उठ्थ्यो।

टीका लगाउने साइतको प्रतीक्षा गर्दा कसले कति पैसा दिने हुन् भनेर मनमनै हिसाब गरिन्थ्यो। नयाँ नोट पटकपटक गन्दै राख्दै, आमाले हराउँछस् यता ले म राख्दिन्छु भन्दा नि भाउ खोजिन्थ्यो। राख्न दिइहालियो भने नि एकैछिनमा मागेर हैरान पारिन्थ्यो।

फुर्किदैं मावला पुगिन्थ्यो, रोटे पीङ खेल्ने ठाउँमा गइन्थ्यो, नजिकै पोखरी थियो। आफ्ना उमेरका, अलिक साना केटी हेरेर मक्ख परिन्थ्यो। बेलाबेला खल्ती छामिरहिन्थ्यो, कतै पैसो त हराएको छैन भनेर। यदि हरायो भने त त्यो राम्री केटीलाई कसरी आफ्नी बनाउनू! कसरी भगाउनू ! कसरी नयाँ राम्रा लुगा, गहना किनिदिनू!

धेरैपछि मात्रै थाहा भयो, त्यो बेला पीङ बाट्न चोरेको बाबियो आफ्नै पनि रहेछ! हामीले भन्ने क्यासेट त भित्रको चक्का पो रहेछ जसलाई त हामी रील भन्थ्यौं र बिग्रेपछि झिकेर फुकाउँथ्यौं, हावामा फिरफिर पारेर कताकता पुर्‍याउँथ्यौं। ठूला मान्छेहरूले भनेका घर जस्ता गाडी त अनेक खाले पो हुँदा रहेछन्, केही घर जत्रा, केही तिनीहरूका छोराछोरी जस्ता ससाना।

आफ्नो आङमा नमिल्ने ठूला लुगा त बाआमाले जानीबुझीकन पो त्यस्ता सिलाइदिनू भन्नुभा’रैछ बढ्दो उमेरको मान्छेलाई पछिसम्म होस् भनेर। पाइन्टको पेटीघर कत्रो चाहिन्छ भनेर लुगा सिलाइदिने साइँला मामालाई नै थाहा रै’नछ! उनले पनि कहिल्यै पेटी लगाएका रै’नछन् र उनी त हाम्रा साँच्चिकैका मामा पनि होइन रहेछन्।

सानाठूला खसी कत्ति दुःख गरेर जोहो गर्नुपर्ने रहेछ! अहिले किलोकिलो जोखेर पसलबाट किन्दा राम्रोसँग थाहा भएको छ।

टीका लाउँदा पाएका अनौठो बासना आउने नयाँ नोटको महत्त्व त्यति धेरै कहाँ रहेछ र! आवश्यकताको पहाड अगाडि। हात्ती छोडेर अचेल सबै नोट मिलाएर दिन मन लाग्छ बच्चाहरूलाई।

नयाँ नोट, ती पनि थरिथरिका पाउँदा उनीहरूको मुहारमा छचल्किने खुशी देख्दा आफ्नै बालापनको याद आउँछ। उनीहरूले लुकेर पैसा गनेको, मिलाएको देख्दा आफूले त्योबेला पिसाब फेर्ने निहुँ गरेर बाहिर निस्केर पैसा गनेको याद आउँछ।

 त्योबेला मावला जाँदा मन पराएका केटीहरूका लालाबाला भइसकेका छन् कतिसँग त अहिले पनि भेट हुन्छ। ऊबेला भन्न नसकेका कुरा अहिले भन्दिम्झैं लाग्छ।

दशैं सकिँदा नसकिँदै तिहारको रमझम र देउसी भैलोको योजना बन्न थाल्थ्यो। दशैंतिहार जस्ता चाडपर्वले समाजमा सरसहयोग र सामाजिकीकरणमा महत्त्वपूर्ण भूमिका खेल्दछ। बूढ्यौली पुस्ता र नयाँ पुस्ताबीच ज्ञान, सीप हस्तान्तरण हुन्छ, अपनत्व बढ्छ। मोबाइल लगायतको डिजिटल डिभाइसको अचाकाली प्रयोगले हाम्रो दैनिक जनजीवन नराम्ररी प्रभावित भइरहेको छ। दशैंतिहार जस्ता धार्मिक, सामाजिक, सांस्कृतिक महत्तव बोकेका चाडपर्वले हाम्रो पहिचान र गौरव बढाउने नै छन्।

प्रकाशित: २५ आश्विन २०८१ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App