जुनसुकै धर्मावलम्बी, जुनसुकै जातजाति भए पनि नेपालीको महान् पर्व भनेकै दसैं हो। नवदुर्गाको पूजा गर्नु, नयाँ कपडा लगाउनु, टीकाटाला गरी मान्यजनबाट आशीर्वाद थाप्नु मात्र दसैं होइन, नेपाल सरकारले दिने गरेको सरकारी छुट्टीमा घुमफिर गर्नु, आफन्तसँग भेटघाट गरी रमाउनु, खानपान गर्नु, सरकारी तथा निजी संस्थाले दिएको दसैंभत्ता लिनुलगायत कुनै न कुनै माध्यमबाट सरिक हुनु पनि दसैं मनाउनु हो। हरेक नेपाली यसरी नै रमाएर यस पर्वमा सरिक भइरहेका हुन्छन्।
नयाँ संवत्सर सुरु भएसँगै वा बजारमा पञ्चाङ्ग आएदेखि नै हरेक नेपालीलाई अहिले पनि चासो हुन्छ,‘दसैं कहिले परेछ?, कति दिन छुट्टी छ?, यो दसैंमा कता घुम्न जाने होला?, कसरी मनाउने होला?’ अनि तानाबाना बुन्न पनि थालिन्छ। साथै नयाँ संवत्सरसँगै चाडपर्व सुरु हुन्छन् अनि बालबनिता, बुढापाका सबैको मुखबाट निस्कन्छ-दसैं आयो, दसैं आइहाल्यो है। यसरी यी भनाइ र दसैं मनाउने विभिन्न रङ्ग र ढंगले के पुष्टि गर्छ भने दसैं कुनै न कुनै प्रक्रियाबाट हरेक आम नेपालीसँग जोडिएको छ।
तर, अहिलेको भन्दा उबेला दसैं फरक रूपमा आउँथ्यो। अर्थात् दसैं मनाउने तरिका वा रङ्गढङ्गमा धेरैजसो फरकपन आएको छ। हुन त सबैभन्दा स्थिर नै परिवर्तन हो, किनकि परापूर्व कालदेखि परिवर्तनको गति रोकिएकै छैन। त्यसैगरी दसैं आउने, दसैं मनाउने कुरामा पनि तात्त्विक रूपमा परिवर्तन नभए पनि व्यावहारिक रूपमा परिवर्तन आउनु स्वाभाविक कुरा हो, यस कुरामा सबै जानकार नै छौं तापनि उबेलाको र अहिलेको दसैंमा आएको फरकपन वा परिवर्तनलाई यहाँ उठान गर्नु नयाँ पुस्ता वा दोस्रो पुस्ताका लागि पक्कै पनि उपयोगी पाठ बन्नेमा दुईमत नहोला।
उबेला... सहरीकरण कम, ग्रामीण परिवेश ज्यादा। परिवारका सदस्य केही मात्र सहरमा, बढी गाउँमा वा मूलथलोमै। अझ धेरैजसो नेपाली छिमेकी देश भारतका कोलकाता, मुम्बई, दिल्ली, दार्जिलिङ लगायत ठाउँ (मुगलान) पसेका हुन्थे। अनि दसैं आउँदा सबका सबै गाउँ फर्किने चलन थियो। आफन्तसँगै बसेर मनाउने चलन थियो। सिदोपिठो, मिठोमसिनो जेजस्तो भए पनि रमाएर खाने चलन थियो। रिनपान गरेर भए पनि सबैले वर्षमा एक पटक एकसरो कपडा फेर्दा जीवनले काँचुली फेरे झैं लाग्थ्यो।
मुख्यमुख्य सहरबाहेक ग्रामीण क्षेत्रमा चिउरा मिल थिएनन्, नौरथा (नवरात्र) लागेसँगै गाउँघरमा ढिकीमा आवाज सुनिन्थ्यो चिउरा कुटेको। साकाहारीका लागि दसैं मनाउँदा दहीचिउरा र केरा प्रिय खानेकुरा थिए। अष्टमीको दिन दहीचिउरा नखाई केही खान हुन्न है भन्ने चलन थियो। मांसाहारीहरूका हरेक घरमा मार हान्नैपर्ने चलन थियो। खसी, च्यांग्रा, राँगा, कुखुरा, सुँगुर आदि पक्षी र जनावरको बलि दिई खाएर रमाउने गरिन्थ्यो।
नौरथा लागेसँगै काठको कोलमा तोरी, सस्र्यूं, फिलुंगेलगायत पेलेर तेलको जोहो गरिन्थ्यो। रातो माटो, कमेरो माटो लिन, पात टिप्न डोका या बोरा बोकेर जंगलतिर जाने चलन थियो। ढुंगामाटाले बनेका सबका सब घर पोतिन्थे। पात गाँसेर दुनाटपरा तयार हुन्थे।
दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने टीकाजमरासँगै सगुन (सेल, दही, चिउरा र केरा) दिँदा तिनै टपरा प्रयोग हुन्थे। बेँसीबाट केराका घरी ल्याउने र कोठा वा घ्याम्पामा असुराका पात राखी पकाउने, दाउराको जोहो गर्ने, घरवरिपरि र टोल सफा गर्ने, स्कुलदेखि खोलासम्म, खोलादेखि स्कुलसम्म, एउटा गाउँदेखि अर्को गाउँसम्म मिलेर बाटो खन्ने वा सरसफाइ गर्ने सामाजिक कार्यमा सबै सरिक हुन्थे।
विशेष युवावर्ग गाउँटोलमा लिंगे पिङ, रोटे पिङ, चाकाचुलीआदि बनाउने तयारी गर्थे। भिरमा बाबियो काट्न जाने, बाबियो सुकाउने, लठारो बाट्ने, बाँसका लिंगा ल्याउने र गाडेर जोड्ने युवाहरूमा कामको बाँडफाँट अझ व्यवस्थित तरिकाले हुन्थ्यो। दसैंभरि पिङ खेलेर रमाउने, युवायुवती पिङकै जमघटमा प्रेम साटासाट गर्ने र दोहोरी गीत गाउने, विभिन्न क्लब (समूह) बनाएर मादल, बिनायो, सारंगी, खैजडीलगायत नेपाली मौलिक बाजा बजाएर गाउँगाउँ घुमी नाचगान गर्ने र दानदक्षिणा संकलन गर्ने गरिन्थ्यो।
नौरथा पहिलो दिनदेखि नै घरघरमा शङ्खघण्टको ध्वनि सुनिन्थ्यो। पूजापाठ हुन्थ्यो। घटस्थापनाका दिन पञ्चेबाजा बजाएर जमरा राखिन्थ्यो। दसैंभरि घरघर घुमेर पञ्चेबाजासँगै मालश्री वा मङ्गल धुन घन्किन्थ्यो। गाइनेको र्याइँर्याइँ सुनिन्थ्यो, दुःख–पीडा र वेदनाका स्वरमा। घरघरमा दर्जी दाइभाउजू कल बोकेर कपडा सिलाउन आउने चलन थियो।
अष्टमीमा हतियार पूजा गर्नुपर्छ, हतियार धारिलो हुनुपर्छ र मात्र देवी दुर्गाले महिषासुरलाई मार्छिन् भन्ने मान्यताले हतियार साँध लगाउने चलन रहेकाले लौहकार दाइ आरन बोकेर घरआँगनमा आइपुग्थे। हतियार उद्याउँथे। केटाकेटी कल चलाएको र आरन घुमेको देखेर घण्टौं रमाएर हेरिबस्थे। कोही कोहीचाहिँ आफैं दर्जी दाइ र लौहकाार दाइकहाँ गएर कपडा सिलाउने र हतियार उद्याउन लगाउँथे। गाउँमा सबका सब दसैंको तयारीमा जुटेका हुन्थे।
प्रकृतिले साथ दिएको खण्डमा सबैलाई सिदोपिठो खानलाई समस्या हुँदैनथ्यो। ढिकुटीमा धान, हर्पेमा घिउ र ठेकामा दही हुन्थ्यो। हरेक घरमा गाईभैंसी पालेकै हुन्थे। बिहानबेलुका गाईभैंसीको दूध दुहुँदा दुधेरो भरिन्थ्यो। डेरी के हो कसैको कल्पनामा पनि थिएन। जंगली जडिबुटीयुक्त घाँसपात खाएका वा जंगल चरेका गाईभैंसीको अर्गानिक दूधसँग भात, दहीचिउरा, चाम्रेको स्वादआदिमा सबै मस्त रहन्थे। महिलापुरुष सबैमा स्वस्थ मानसिकता, हृष्टपुष्ट शरीर, सो शरीरमा उस्तै किसिमको तेज थियो।
अझ रमाइलो थियो-‘तल्लाघरे माइलो त कोलकाताबाट काँधमा ठूलो ट्याङ्कामा के के सामान लिएर आइपुगेछ नि !’ यो खबर ऊ आइनपुग्दै गाउँभरि फैलन्थ्यो। सबै फुर्सद निकालेर तल्लाघरे माइलासँग भेट गर्न आउँथे, भलाकुसारी गर्ने क्रम चल्थ्यो। ‘माझघरे जेठो त अष्टमीका दिन आइपुग्छ रे !’
उसको दसैंमा घर आउने कुरा सोह्र श्राद्धअगाडि नै उसले चिठीमा लेखेको र गाउँभरि सबैका कानमा परिसकेको हुन्थ्यो। उसका परिवारका सदस्य नयाँ नाना जेठाले ल्याइदेला र लगाउँला भनी मिठो सपनामा मग्न हुन्थे। गाउँकी जेठी भाउजू, माइली आमै, साइँली आमै, कलकत्तिनी आमै नयाँ बुट्टे साडीको पहिरनमा झुल्किन्थे। केटाकेटी पींपीं बाजासँगै झुल्थे, रमाउँथे र घरघर घुम्थे।
पल्लाघरे माइला काकाले ल्याएको डबल स्पिकरवाला क्यासेट (टेपरेकर्ड), जसमा चारवटा बेट्री लाग्थ्यो। लोकदोहोरी घन्काउँथे। सारा केटाकेटी, दिदीबहिनी, बाआमा सुनेर मन्त्रमुग्ध हुन्थे। माइली आमैले श्लोक टेपरेकर्डमा रेकर्ड गर्दा जस्ताको तस्तै सुनायो हौ भनेर सबै चकित हुन्थे।
अझ बाँसबोटे कान्छाले त क्यामेरा ल्याएको छ रे भनेर सबै फोटो खिचाउन तम्तयार हुन्थे। डिजिटलको जमाना थिएन। करिब ३६ वटा फोटा आउने रिल लाग्थ्यो क्यामेरामा। फोटोसँगै नेगेटिभ पनि आउँथ्यो। पछि इच्छा लाग्दा कलरल्याबमा धुलाएर फोटा निकाल्न मिल्थ्यो। हिकोला, कोड्याकजस्ता कम्पनीका कलरल्याब चर्चित थिए उबेला। फोटो खिचेको १५/२० दिनपछि मात्र कलल्याबले धुलाएर दिन्थे। त्यो प्रतीक्षामै मिठास थियो, फोटो कहिले र कस्तो आउला भनेर।
खरानीले लुगा धुने चलन थियो। दसैंका लागि फेरफार भनेर पुराना लुगा खरानीमा पकाएर धोइन्थ्यो। मुगलानबाट फर्केकाहरूले ल्याएका लिरिल, लक्सआदि साबुन लगाएर नुहाउँदा धारापँधेरामा हररर बासना आउँथ्यो। गाउँमा नेपाली पूजा साबुन पनि आइसकेको थियो तर सबैसँग एउटा साबुन किन्ने हैसियत थिएन। जसले किन्थ्यो, उसले नुहाउन, लुगा धुन, हात धुन सबैमा त्यसैको प्रयोग गथ्र्यो।
अष्टमीको दिन घरघरमा मार हान्ने चलन थियो। भोजको क्रम चल्थ्यो, कहिले मूलघरमा, कहिले जेठा बाकहाँ। दशमीका दिन मूलघरमा टीकाजमराको कार्यक्रम हुन्थ्यो। मान्यजनले दिएको ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने आशीर्वादअनुसार मूलघरमा बाआमाका हातको टीका थाप्न जेठा, माइला, काइँला, कान्छाका शाखासन्तानले घर भरिन्थ्यो। सबै एकपाने थिए। एउटै गाउँ, एउटै ठाउँ, एउटै टोलमा वरिपरि बसेका हुन्थे। परिवारका सबै सदस्य वरिपरि हुनाले र सबैको जमघट हुँदा अर्कै रमाइलो हुन्थ्यो। साइतको टीका लगाएर एकैछिनमा छोरीज्वाइँ, दिदीबहिनी फिपीमा घुमाएका रोटी, केराआदि कोसेली लिएर झुल्किन्थे। फेरि भान्जाभान्जी, ज्वाइँचेलाले घर भरिन्थ्यो। यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म चलिरहन्थ्यो।
यस्तै थियो, उबेलाको दसैं र दसैंको रमझम...।
प्रकाशित: २४ आश्विन २०८१ ०८:०० बिहीबार