पहिलेपहिले परदेशी घर फर्किन थालेपछि गाउँलेलाई अनुमान हुन्थ्यो, चाडबाड घरआँगनछेउ आइसकेछ। परदेशीका सुकिला पहिरन, तिनले परदेशबाट ल्याउने खबर र कोसेलीले गाउँलाई बेग्लै वातावरण दिन्थ्यो।
अचेल दसैंका बेला परदेशी घर आउने भन्दा पनि घरमा भएकाहरू पनि परदेसिने चटारोमा हुन्छन्। हुनेखाने त दसैंका किनमेलमा लागेका छन् तर धेरैका निम्ति दसैं होइन, दशा आएकोजस्तो हुने गर्छ।
‘दसैंको मुखमा बिदेसिनुपर्ने अवस्था रहर होइन, बाध्यता हो,’ मोरङकी २८ वर्षीय एक युवती भन्छिन्, ‘दसैंको मुखमा विदेश जाने रहर कसलाई हुन्छ र ?’
यो दसैंको माहोलले उनको बाटो छेक्न सकेको थिएन। पारिवारिक जिम्मेवारीले उनलाई बिदेसिन बाध्य पारेको पनि हो। विदेशबाट कमाएर ल्याउन सके भविष्यमा परिवारसँग दसैं मनाउन पाइएला भन्ने विश्वास उनीमा रहेको छ।
यसो भन्दै गर्दा उनका आँखामा अविराम झरी देखिन्छ। संयोगले उनी बिदेसिन पाइनन्। चाडपर्वको चाहना र परिवारको मायाले उनको बाटो छेकेको होइन। परिवारसँग बिदा भएर दुबईका लागि हिँडेकी उनको बाटो राज्यले छोकिदियो। उनका कागजात नक्कली रहेको भन्दै प्रहरीले विमानस्थलबाटै फर्काइदियो। यस्तो नहुँदो हो त उनी यतिबेला दुबईमा आफ्नो भाग्य खोजिरहेकी हुन्थिन्।
वैदेशिक रोजगारीका लागि खाडी मुलुक तथा अन्य देशमा अवैध तवरले गएको भन्दै इन्टरपोलअन्तर्गत सप्ताह अपरेसन विभिन्न देशका मानव बेचबिखन अनुसन्धान ब्युरो तथा प्रहरीबिचको सहकार्यमा चलिरहेको छ। जसमा मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखनको उच्च जोखिममा परेका महिलाहरूलाई फर्काइरहेको छ।
यसरी फर्काइनेमा ती युवती पनि परेकी हुन्। आफ्नो कागजात सबै ठिक छ भनेर एजेन्टले हातमा थमाएको थियो। तर, के कारणले दुबई जान दिएन त्यसमा उनी अनविज्ञ छन्।
परिवारले त्रिभुवन विमानस्थलमा छोडेर जाँदा पनि नझरेका आँसु त्यतिबेला झरे, जतिबेला उनलाई नेपाल प्रहरीको मानव बेचबिखनविरुद्ध क्रियाशील ब्युरोले फर्कायो। बिदेसिन नपाएपछि उनी साह्रै नमिठोसँग रोइन्। सायद ब्युरोका प्रहरीको मन पनि त्यतिबेला पग्लियो होला, आखिर ती पनि मानिस नै हुन्। सबैको हृदय कहाँ ढुंगाले बनेको हुन्छ र?
‘मोरङ हो घर मेरो,’ बलिन्द्र धारा आँसुले पुरिएका आँखा पुछ्दै उनले नागरिकसँग भनिन्, ‘विदेश जान्छु भनेर परिवारलगायत सबैसँग हाँसखेल गर्दै काठमाडौं आएँ। मेरी माइली दिदीले मलाई एयरपोर्ट पुर्याउनुभयो। मेरो बोर्डिङ पास हुँदै थियो। राति ११ः१५ बजे दुबई उड्ने भनेको थियो। तर, तपाईं विदेश जान पाउनुहुन्न भनेर मेरा सबै कागजात खोसियो।’
विदेश जाने कल्पनाले मात्र पनि उनी फुरुङ्ङ थिइन्। उनका अनेकन् सपना मनमा एकपछि अर्को गर्दै उकुसमुकुस गरिरहेका थिए। उनका सपना त्यतिबेला छरपस्ट भएर भुइँमा पोखिए, जसरी धागोबाट पोते चुँडिन्छ। ‘तपाईं विदेश जान पाउनु हुन्न’ भन्ने शब्द उनको कानमा पर्दा नपर्दै आँखामा कोसीको बाढी आइसकेको थियो। विदेश जान मिलाएर लगाएको गाजल आँसुले यसरी मेटिदियो, जसरी भर्खरैको बाढीपहिरोले नदी किनारालाई भत्काइदिएको थियो।
उनी असाध्यै राम्री। त्यसमा पनि विदेश जाँदै गर्दाको खुसीले उनको अनुहार चौखण्ड उज्यालिएको थियो। अनायासै आएको हुरीले सपना उडाइसकेको थियो। विदेश जाने सेटिङ यहाँ चलिरहेका छन्। यिनकै बेलामा आएर यो दुर्भाग्य भइदियो।
विमानस्थलबाट फर्केर आएको स्थितिलाई अझै उनले राम्ररी ठम्याउन सकेकी थिइनन्। शिर निहुर्याएर गम्भीर सोचमा डुबुल्की लगाइरहेका उनका हात भने पछ्यौरी बटारिरहेका थिए। परिवारलाई उनले केही भनेकी थिइनन्। परिवार सदस्य भने उनी विदेश पुगिसकेको ठानिरहेका होलान्।
‘ऋण गरेर दसैं मनाउनु, विदेशमा कमाएको पहिलो तलब नै घर पठाउँछु भनेकी थिएँ,’ उनले भनिन्, ‘तर, आफू यहीँ छु। घरमा दसैंले घेरेको छ, मलाई भने दशाले।’
ब्युरोमा पासपोर्ट लिन आएको बेला उनले आफूलाई विदेश जाने रहर एजेन्टले जगाइदिएको बताइन्। भिजिट भिसामा दुबई जाने र त्यहाँबाट अन्य देशमा पुगेर काम गर्ने सपना एजेन्टले दिएको थियो। दश कक्षासम्म पढेकी उनी एजेन्टका गुलिया कुराले लट्टिएकी थिइन्। विदेश गएर काम गर्ने कुरा एजेन्टले भनेजस्तो सजिलो थिएन। उनले विदेश गएर कसरी काम गर्न सकिन्छ भन्ने सामान्य जानकारी पनि लिएकी थिइनन्।
विमानस्थलबाट फर्किएकी उनले साथीमार्फत चिनजान भएको एजेन्टलाई आफूमाथि आइपरेको आपतबारे जानकारी दिएकी थिइन्। घरपरिवारलाई भन्दा एजेन्टलाई खबर गर्नुपर्ने बाध्यता उनको थियो। उनले उक्त एजेन्टलाई विदेश जान भनेर ऋण लिएको दुई लाख रूपैयाँ बुझाएकी थिइन्।
एजेन्टले आफू एयरपोर्टमा हुँदा नै नआत्तिनु भनेको कुराले उनी केही हदसम्म आश्वस्त छन्। ‘तिमी किन डराएको लाटी?’ एजेन्टले उनलाई भनेको थियो, ‘अहिले चेकिङ भइरहेको रहेछ। त्यो हामीलाई थाहा नै भएन। यो चेकिङ दुईचार दिन मात्रै हो। दसैं अगाडि नै तिमीलाई विदेश उडाउँछु, धन्दै नमान। भिजिट भिसामा घुम्न जान लागेको मात्रै भन, अरू नभन।’
दसैंको मुखमा खुसी हुँदै विदेश जान लागेकी सुनसरीकी २१ वर्षीय युवती पनि ब्युरोद्वारा गत बुधबार फर्काइएकी छिन्। उनका सपना पनि त्यसरी नै छरपस्ट भएका छन्, जसरी मोरङकी अर्की युवतीका भएका छन्। उनका पनि घरमा साना भाइबहिनी छन्। दसैंको बेलामा उनलाई पनि विदेश जाने रहर कहाँ थियो र?
‘घरको आर्थिक अवस्था साह्रै कमजोर भएरै विदेश जान लागेको हो,’ उनले पनि आँखाभरि आँसु पारेर भनिन्, ‘ममीको सुन बेचेर र अलिकति ऋण गरेर विदेश जान लागेकी हुँ। विदेश गएर ममीको ओठमा हाँसो ल्याउनु र भाइबहिनीको पढाइलाई तीव्रता दिनु छ।’
उनलाई जसरी हुन्छ विदेश छिर्नु छ। उनकी आमा पहिल्यै कुवेत बसेर आएकी हुन्। महिला बेचबिखनको खतरा हुने ठानेर ब्युरोले फिर्ता गरेकोमा उनलाई चित्त बुझेको छैन। आफ्नै आमा विदेश बसेर आएको उदाहरण हुँदाहुँदै उनलाई त्यो खतरायुक्त छ भन्ने लाग्दैन।
‘बिग्रिने भए मेरी ममी पनि बिग्रिनुहुन्थ्यो त,’ उनले अति नै चिन्ता व्यक्त गर्दै भनिन्, ‘बिग्रिने महिला नेपालमै पनि टन्नै छन्। तर यहाँ विदेश जाने मात्रै बिग्रिन्छन् भन्ने मान्यता छ।’
उनको दृढ विश्वास छ, विदेशमा पुगेका सबैलाई गाह्रो हुन्छ भन्ने हुँदैन। धेरैको राम्रो भएको छ। धेरैको पारिवारिक अवस्था पनि सुल्झिएको छ। दुईचार जनालाई नराम्रो भयो, अप्ठेरो पर्यो भन्दैमा स्वर्गैस्वर्गको ठाउँ र सुखसुविधा त कहाँ छ र ? मानौं, यहाँ सँगै भएका हामी पाँचैजना साथीहरू विदेश पुग्यौं। त्यसमध्ये मलाई साह्रै अप्ठेरो भयो, अरूलाई त सहज भएको छ नि। एकजनालाई अप्ठेरो भयो भन्दैमा सबै विदेश गएका महिलालाई गाह्रो हुन्छ भन्ने सोच्नु हुँदैन।
गलामा फूलमालाले सजिँदै विदेश हिँडेकी आफू एयरपोर्टबाट फर्किंदा आमा पनि साथमा रहेको उनले बताइन्। ‘दसैं नजिकिँदै गर्दा विदेश कमाउन हिँडेकी मलाई ममी पुर्याउन एयरपोर्ट आउनुभएको थियो,’ उनले भनिन्, ‘मलाई एयरपोर्ट भिजिट भिसामा विदेश जान लाग्नुभएको रहेछ। तपाईं विदेश जान पाउनुहुन्न भन्दै हातमा भएको सबै कागजातपत्र त्यहाँ प्रहरी लियो। एयरपोर्टमा ममीसँग अंकमाल गरेर छुटिएकी थिए। पछि मलाई दुबई जानै रोक्यो भनेर बाहिर आएर ममीसँग धेरैबेर रोएँ।’
आमासँग हाँसीहाँसी छुटेकी उनी विदेश जान ब्युरोले गत बुधबार रोकिदिएपछि दुई आमाछोरी अंकमाल गर्दै धेरै रोएका थिए। ‘ममीका अगाडि मेरो आँसु लुकाउन खोजेँ तर ममीले आँसु रोक्न सक्नुभएन,’ उनले नागरिकसँग भनिन्, ‘हिजो ममीसँग मःम खाएर एयरपोर्ट गएकी थिएँ। राति एयरपोर्टबाटै फर्किनुपर्यो। हिजोदेखि ममी र मैले केही खाएका छैनौं। उहाँ रोइरहनुभएको छ। ममीको आँखाको आँसु म विदेश नगएसम्म रोकिँदैन। मलाई जसरी पनि दसैंअघि विदेश जानु छ।’
पासपोर्टको प्रतीक्षामा रहेकी उनी पासपोर्ट हात पर्नेबित्तिकै विदेश जाने तयारीमा छिन्। उनलाई न विदेशमा हुने मानव बेचबिखनको उच्च जोखिमले नै छेकेको छ, न त आइसकेको महान चाड दसैंले नै।
‘घर पनि कसरी जानु ममीबाहेक परिवार कसैलाई थाहा छैन,’ उनले भनिन्, ‘के अनुहार लिएर जानु ? कसरी दसैं मनाउनु र? म घर फर्किंदा सबैको अनुहार दसैं होइन, दशाले भरिएको जस्तै हुन्छ। बल्लतल्ल ऋण गरेर एजेन्टलाई बुझाएपछि विदेश जाने अवसर मिलेको थियो। यहाँबाट पासपोर्ट दिए दसैंको टीकाकै दिनसम्म भए पनि विदेश जान्थेँ।’
उनलाई पनि एजेन्टले भिजिट भिसामा दुबई हुँदै अन्यन्त्र देश पठाउन लागेको हो। त्यसमा उनी राजी थिइन्। उनलाई पनि भिजिट भिसामा दुबई जाने सबै कागजात एजेन्टले मिलाई दिए पनि ब्यागको कुनाकन्दरामा लुकाएर अर्को कुनै देशको भिसा राखेकी थिइन्। त्यो कागजात दुबई पुगेपछि मात्रै निकाल्नुपर्छ भनेर एजेन्टले उनलाई सिकाएइको थियो। दुईचार दिन काठमाडौंमै बस्न आदेश एजेन्टले दिएको उनी सम्झिन्छिन्, ‘ब्युरोबाट जसरी पनि पासपोर्ट मागेर ल्याऊँ, तिमीलाई विदेश पठाइहाल्छु, तिमी ढुक्क हुनु, दसैं अगाडि विदेश पुग्छौ।’
पाल्पाकी २२ वर्षीय अर्की युवती पनि भिजिट भिसामा विदेश जान नपाएकी भन्दै ब्युरोको एक कुनामा रोइरहेकी थिइन्। दुबई जान नपाएकी उनको अनुहार पनि अरूका जस्तै निन्याउरो थियो। उनी दुबईमा आफ्नो प्रेमी भेट्न भन्दै भिजिट भिसामा दुबई जान लागेकी हुन्। पाँच वर्षदेखि प्रेमसम्बन्धमा रहेकी उनलाई आफ्नो प्रेमीको पूर्ण विश्वास भएको बताइन्।
‘उहाँले नै मलाई भिजिट भिसामा दुबई बोलाउनुभएको हो,’ उनले नागरिकसँग भनिन्, ‘त्यसका लागि सबै खर्चको प्रबन्ध उहाँले नै गर्नुभएको थियो। म दुबई गएको केही समयपछि फर्किने हो। म उहाँलाई एकदमै विश्वास गर्छु। हामी दुवैजना पछि विवाह पनि गर्ने हो। दुबई लाने मेरो कोही एजेन्ट छैन।’
गत साता लगातार पानी परेका कारण बाढी पहिरो आई बाटो बन्द भएपछि उनी हवाईमार्गबाट काठमाडौं आएकी थिइन्। वैदेशिक रोजगारीमा कतारमा रहेका बाबाले पनि आफू एयरपोर्टबाट फर्किनुपरेको खबरले विक्षिप्त बनाएको उनी सुनाउँछिन्। आफू एयरपोर्टबाट फर्किनुपरेको पीडा परिवारलाई सुनाएपछि रुवाबासी चलेको उनले बेलिविस्तार लगाइन्।
‘छोरी पनि विदेश लागिन्, अब सबै राम्रो हुन्छ भन्नेमा परिवार छन्। बाबालाई पनि स्वदेश फर्किनु, अब दुःख गर्नुपर्दैन भनेकी थिएँ। यो दसैंलाई ममीले गाउँबाटै खसी ल्याउनुभएको थियो। मेरो खबरले ममी धेरै रुनुभयो। अब घर जाऊँ कि विदेश जाऊँ केही थाहा छैन,’ उनले भनिन्।
दसैंको मुखमा पनि एजेन्टले महिलाहरूलाई विदेशको प्रलोभन देखाउन छोडेका छैनन्। बेरोजगार महिलालाई दुबईमा भिजिट भिसामा पुर्याउने र त्यहाँबाट कुबेत र ओमान पुर्याउने एजेन्ट दुर्गम गाउँसम्म फैलिएका छन्। विदेशमा पुगेपछि सबैभन्दा बढी संकटमा पर्ने पनि उनीहरू नै हुने गरेका छन्। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सेटिङकै कारण तिनीहरू सजिलै बिदेसिने छन्। केही दिनको मात्र कुरा हो, यी चेलीहरू आफ्ना सपना खोज्न एजेन्टको सहारा लिन बाध्य हुनेछन्।
विमानस्थलबाटै दैनिक सयौं महिला भिजिट भिसामा युएई भन्दै अन्य देश गइरहेका छन्। केही समयअघि दैनिक रूपमा ब्युरोले एयरपोर्टबाट भिजिट भिसाका नाममा मानव बेचबिखन तथा तस्करीको उच्च जोखिम भएका महिलालाई रोक्ने गरेको थियो। हाल त्यो कार्य बन्द भएको छ।
सरकारले घरेलु कामदारमा निषेध गरेको वैदेशिक मुलुकमा इजाजतबेगर एजेन्टले आफ्नो नाम ढाँटी ठुलो संख्यामा महिला पठाउने गरेको छ। इन्टरपोलअन्तर्गत सप्ताह अपरेसन विभिन्न देशका मानव बेचबिखन अनुसन्धान ब्युरो तथा प्रहरीबिचको सहकार्यमा चलिरहेको छ। अपरेसनको दौरान बेचबिखन तथा तस्करीमा संलग्न व्यक्ति र एजेन्ट पहिचान गर्न सप्ताहव्यापी अभियान सुरु भएको ब्युरोले जनाएको हो।
ब्युरोका एसपी गौतम मिश्रले इन्टरपोलद्वारा सञ्चालित यो अपरेसन सप्ताहमा वीरगन्ज, विभिन्न नाका र काठमाडौंको त्रिभुवन विमानस्थलमा अपरेसन चलिरहेको छ। मानव बेचबिखनको उच्च जोखिममा परेका महिलालाई उद्धार र सम्झाइबुझाइ गर्ने हो। त्यसरी बेचबिखन र तस्करीमा पार्ने एजेन्टलाई निगरानी गरेर समात्ने नै इन्टरपोल र ब्युरोको संयुक्त अपरेसन सप्ताह रहेको उनले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट असोज १३ देखि १७ गते सम्ममा बेचबिखनको उच्च जोखिममा रहेका एक सय ६५ महिलाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले फिर्ता गरेको हो। यसबिच जति महिलाले आफ्ना सपना बिचैमा भत्किएको ठानेका छन्, त्योभन्दा बढी सेटिङमा विदेश पुगेपछिका महिलाहरूले महसुस गर्नेछन्। पारिवारिक–आर्थिक समस्या, सबैको विदेश जाने चाहना र देशभित्रै अन्य भरपर्दा रोजगारी अवसरको अभावमा दसैं होस् वा तिहार, सबै बिदेसिन चाहन्छन्। बिदेसिने सपनालाई चाडबाडले छेक्न नसक्ने भइसकेको छ।
प्रकाशित: १९ आश्विन २०८१ ०८:२९ शनिबार