७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

जीवनको लय पहिल्याउने अभीप्सा

पुस्तक

आफ्नो छुट्टै पहिचान बनाउँदै सुललित शैली र प्रभावपूर्ण प्रस्तुतिले निबन्ध, कविता र समालोचना लेख्दै आएका पूर्वप्रशासक तथा साहित्यकार गोपी मैनालीले भर्खरै नेपाली साहित्यमा एउटा कथासङ्ग्रह ‘विशृङ्खलित सपना’ लिएर आएका छन्। निबन्ध, कविता र समालोचनामा कलम चलाइसकेका स्रष्टाको यो आठौं कृति भए पनि आख्यान विधामा यो पहिलो कृति हो।

संवेदना, विचार र चेतनाले छपक्क भिजेका हरेक मान्छे एउटा सिंगो कथा हुन्, कविता हुन्, निबन्ध हुन्। हाम्रा सबै सपना शृङ्खलित हुन कहाँ पाउँछन् र ! मृत्युको अन्तिम घडीमा जब जीवन सरल रेखा बनाएर मोनिटरमा शान्त हुन्छ, तब हाम्रो जीवन पनि समाप्त हुन्छ। जीवनको सार्थकता उतारचढावमा नै हुने रहेछ। जीवनको आरोह अवरोहका क्रममा कति सपना दोबाटोमै छुट्छन्। हाम्रा कैयौं सपनाहरूको सिलसिला टुट्छन्। लक्ष्य, उद्देश्य र गन्तव्यहरू क्रमभंग हुन्छन्।

मैनालीको ‘विशृङ्खलित सपना’ पढ्दै गर्दा मैले पनि मेरा कैयौं विशृङ्खलित सपनाहरू टुटेको आवाज सुनेँ, अधिकृत बन्ने अभीप्सा बोकेर म पनि पुगेकी थिएँ स्टाप कलेजको द्वारभित्र। सोचेकी थिएँ ‘कुनै दिन म पनि प्रशासनमा गएर देशको सेवा गरौंला, अधिकृतदेखि अझ माथि माथि पुगेर प्रशासनमा सुशासनको अभ्यास गरौंला, देश बुझौंला, हिमाल, पहाड र तराई चिनौंला, देशको कुना कुनामा पुगेर सम्पूर्ण नेपाललाई छामौंला।’ मेरो ऊर्जावान् सपना स्टाफ कलेजको पर्खालभित्रै विशृङ्खलित भएको थियो।

तर आज मनन गर्दैछु, विशृङ्खलित सपनाको दोबाटोबाट मैले हिँडेका अनन्त पाइलाहरू। आज महसुस गर्दैछु साहित्यको शक्ति, सामथ्र्य र सम्भावना। राष्ट्रसेवक बन्ने सपना त्यहाँ विशृङ्खलित नभएको भए म आज यसरी साहित्यको क्षेत्रमा रमाएको हुन्नथेँ कि !

सुनेकी थिएँ– आकाशबाट झरेका ताराहरूलाई हेरेर केही माग्यो भने हाम्रो वाञ्छा पूरा हुन्छ। मलाई यो कृति पढ्दा यस्तो लाग्यो, विशृङ्खलित सपना पनि आकाशबाट झरेका ताराहरू नै हुन्। ती झरेका ताराले हामीलाई केही न केही संकेत गरिरहेका हुनेरहेछन्। तर विशृङ्खलित सपनाको चिहानबाट हामीले अझ परको क्षितिज चिहाउन छोड्नु नहुने रहेछ। म आभारी छु साहित्यको यो स्वतन्त्र र समावेशी सांग्रिलाप्रति।

कृतिको समीक्षा गर्नुभन्दा अगाडि मैले मार्कोपोलोलाई स्मरण गरेँ। उनले भनेका छन्, ‘मैले जे देखेँ, त्यसको आधा मात्रै लेखेँ।’ ‘मैले देखेको नेपालमा’ हर्क गुरुङ भन्छन्, ‘मैले जे जानेँ त्यो लेखेँ।’ मैनालीका कथा पढेपछि म पनि भन्छु, ‘मैले जे बुझेँ त्यो मात्र लेख्ने आँट गरेकी छु।’

यथार्थको धरातलमा भोगिएका विविध घटनालाई स्मरण र अनुभूतिको माध्यमबाट कथाको घुम्टो ओढाएर प्रस्तुत गरिएका कथाहरू जीवन्त छन्। कथाका परिवेश रोसी खोलादेखि आरम्भ भएर काठमाडौं हुँदै जापानसम्म पुग्छ। बहुसांस्कृतिक र बहुराष्ट्रियता झल्काउने किसिमका कथाहरू आएका छन्।

कथामा यान्त्रिक सम्बन्ध र समाजको डरलाग्दो चित्र पनि आएको छ। कथाहरू उच्च भावावेगमा बुनिएका छन्। त्यसैले कथा मार्मिक हुनुका साथै अर्थपूर्ण र सन्देशमूलक छन्। बोधगम्य भाषा, मिश्रितशैली र शिल्पको मिहिन धागोले बुनिएका कथाहरूसँग हामी पाठक बारम्बार ठोक्किन पुग्छौं।

हाम्रै समाज, सम्बन्ध र जीवनमा घटेका घटनाहरू यहाँ कथा बनेर आएका छन्। कथाहरू पढ्दै गर्दा यस्तो लाग्छ, समाज र सम्बन्धको स्वरूपमा डरलाग्दो परिवर्तन आउँदै छ। नैतिकता, स्वाभिमान, संस्कारमा बेथिति, विसङ्गतिको खिया लाग्दै गएको छ।

आफ्नो पहिचानलाई धुलिट्याम पार्ने नौलो संस्कार फैलिँदै छ। वैदेशिक रोजगारीले निम्त्याएको कथा पढ्दा यस्तो लाग्छ- हामी हाम्रो मूल्य, मान्यता, संस्कार र संस्कृतिलाई अर्थहीन ठानेर आयातित संस्कारमा रमाउँदै गएका छौं।  

मलाई यस्तो लाग्यो, ‘हामी लालचको सीमापारि पुगिसकेका छौं। यदि कसैले हामीलाई सुनको बैसाखी दियो भने हामी आफ्नै हातले आफ्नो खुट्टा काट्न पनि पछि हट्दैनौं। तर म आशावादी पनि भएँ, यहाँ उज्यालोको मार्ग पनि देखाइएको छ। प्रशासनमा अँध्यारो मात्र हेर्ने बानी परिसकेका हामी पाठक प्रशासनभित्रका उज्यालोका बिउसँग परिचित हुने मौका यी कथामा पाउँछौं।

जनविद्रोहमा आक्रान्त एक अब्बल कर्मचारीले भोगेको पीडा, संघर्ष, त्रासदी र मनोविज्ञानलाई कथामा जीवन्त तरिकाले ल्याइएको छ। यसरी विभिन्न क्षेत्रसँग सम्बन्धित विषय, मानवीय मन र भावनाहरूको विशृङ्खलित सपनाहरूको टोकरी यस सङ्ग्रहमा थपक्क राखिएको छ।

आमाको साथ, आमाका साना साना सपना, रहर पूरा गर्न नसक्दा स्रष्टा–हृदय निकै संवेदनशील भएको छ। कथामा दुईवटा समय देखिन्छ। एकातिर गोरे दाइ आफ्नी जहानको देहावसानपछि आफ्नो अस्तित्व नै समाप्त पार्छन् भने अर्को कथामा अधिकृत श्रीमान्ले गाडी किन्न नसक्दा श्रीमान्लाई नै छोड्नेसम्मको भयावह अवस्थाको कथा आएको छ।

सबैभन्दा नजिक साथीहरू नै हुन्छन् तर यहाँ यस्ता साथीहरूको चरित्रचित्रण गरिएको छ कि डरलाग्छ साथीको छद्म चरित्र देखेर। रेडियोप्रतिको मोहदेखि मोटरसाइकलसम्मको प्रेम आकर्षणका यथार्थ र मनोवैज्ञानिक कथा यहाँ आए छन्। साथीले दिएको धोकादेखि निचताको कथा पनि छन्।

गुल्नारको कथाले नारीहरूको वास्तविक अवस्थालाई स्पष्ट रूपमा देखाएको छ। प्रशासनमा स्वच्छ छवि लिएर हिँडेका इमानदार कर्मचारी कसरी आफ्नै लालची, भ्रष्ट र निर्लज साथीहरूको फन्दामा पर्छन् भन्ने यथार्थ पनि कथामा आएको छ। मलाई रमाइलो लागेको अर्को कुरा छ।

मैनालीका कथाका धेरै जसो पात्र रोसीबाट टपक्क टिपेर काठमाडौं ल्याएर लोकसेवाको तयारी कक्षामा पठाएका छन्, कति सजिलै लोकसेवाको परीक्षा फुत्त पास गरेर नासु भएका छन्। निजामती सेवामा आफ्नो नाम, मान र सान कमाएका छन्। मलाई त कथा पढ्दै जाँदा ती नासु र अधिकृतमा सजिलै नाम निकाल्ने पात्रहरू पो हुन मन लाग्यो। 

यसरी जागिर, सम्बन्ध, सोच, प्रेम, काम, माया साथै वैदेशिक रोजगारीले निम्त्याएका सामाजिक, आर्थिक, पारिवारिक र मनोवैज्ञानिक समस्याहरू कथामा विशृङ्खलित भएर देखिएका छन्।

अन्त्यमा आमाको स्मरण, गाउँको सम्झनामा कथाकार भावुक हुँदा पाठक आफ्नी आमा र गाउँलाई स्मरण गर्न भुल्दैनन्। म अहिले स्मरण गर्दैछु, ‘गोरे दाइ गए, खोला पनि सुक्यो।’ यो कथा साहित्यपोस्टमा आएपछि ममा एउटा हिम्मत बढ्यो। गोपी सर त मेरो गुरु हुनुहुन्छ, गुरुले कक्षाकोठामा मात्र कहाँ पढाउँदा रहेनछन्।

साहित्यको कक्षाकोठामा गोपी सरका निबन्ध र कथाहरूले मलाई मार्गदर्शन गरिरहे। मैले सोचेँ, ‘अहो ! गोपी सरले लेखेकाजस्तै विषय त मसँग पनि त छ।’ म ढुक्क भएँ। अग्रजले हिँडेको बाटोमा अनुजलाई हिँड्न सुरक्षित हुनेरहेछ।

सरले हिँडेको डोबमा उभिएर मैले पनि यस्तै खाले स्मृतिका कथा, संस्मरण, निबन्ध र आफूले घुमेको समयलाई यात्रासाहित्य बनाएर लेखेँ। अनि मैले गोरे दाइसँग नजिकै रहेर एउटा निबन्ध पनि लेखेँ, ‘बगरमा निदाए झुङ्गेली बाजे।’ गोपी सरका कथाहरूले साहित्यमा आउन रुचाउने नव पुस्तालाई उत्साह थप्छ। कसरी कथा लेख्ने, कस्तो विषय छान्ने भनेर अलमल्ल परेको समयमा मार्ग देखाउँछ।

‘आमासँग कुरा गर्ने धोको’ कथा पढ्दै गर्दा आमाको त्यो निर्दोष मुहारसँग म बारम्बार ठोक्किरहेँ। मेरो हृदयमा आमाको सपना गुन्जिरह्यो। परिस्थितिले आमाको उपचार समयमा गर्न नसक्दा निरपराध छोराको हृदयमा अपराधबोधले जरो गाडेको छ।

मैनालीका यी कथाले मलाई बारम्बार गैरजिम्मेवार छोराहरूका कर्तुतलाई सम्झिएर तुलनात्मक विचारहरू आइरहे। विशृङ्खलित कथाको समाप्तिपछि पनि नवीन कथा जन्मिएछन्। कथामा नलेखिएका कथाहरू पनि यहाँ लेखिएजस्तो लाग्यो। प्रशासनको उच्च तहमा पुगेका स्रष्टा देशविदेश घुम्दा पनि हृदयमा रोसीको सेरोफेरो बोकेर नै हिँडेका छन्। 

रोसीको प्रकृति र आमाको स्नेहलाई अन्तरमनको यात्रामा बलियो लट्ठी बनाएर हिँडेकाले नै होला कथामा आफ्नोपन छ, प्राण छ। हृदयभरि सकारात्मक सोच लिएर हिँडेका स्रष्टा सुशासनको अभावमा इमानदारी, जिम्मेवारी र समझदारीको टोपी लगाएर आमाहरूको अधुरो सपनाले पिरोलिइएका छन्।

कथाकारले आफ्नो जन्मदातृ र जन्मभूमिलाई सम्मान गरेका छन्। साँच्चै भनिएको रहेछ- जसले आफ्नी आमालाई हृदयबाट प्रेम गर्छ, आमाको मन पढ्छ र आमाको व्यथा बुझ्छ, उसले देश, जनता र समाजलाई पनि उति नै सम्मान र प्रेम गर्छ।

प्रकाशित: २२ भाद्र २०८१ ०९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App