२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

भक्तपुरमा मनाइयो पञ्चदान पर्व

पाँचवटा दीपंकर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराई शनिबार पञ्चदान पर्व मनाइएको छ। बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चर्‍हे) का दिन यो पर्व मनाइन्छ। काठमाडौं र आसपासका केही जिल्लामा मनाइने पञ्चदान पर्वमध्ये भक्तपुरमा मनाइने पर्वको श्रेष्ठता र सांस्कृतिक विविधता रहेको जनाइएको छ।

पर्वका क्रममा भक्तपुर नगरपालिका–९ सूर्यमढीमा पाँचवटा दीपंकर बुद्धलाई बिहानै भेला गराइन्छ। यसअघि नगरका पाँच छुट्टाछुट्टै मुनिविहारहरूमा राखिएका दीपंकर बुद्धलाई सूर्यमढी ल्याई जम्मा पार्ने गरिन्छ।

यसअनुसार बिहानै प्रशन्नशील महाविहार क्वाठडौंको मूलदीपंकर बुद्ध, चतुर्ब्रह्म महाविहार साकोठाको दीपंकर बुद्ध, मंगलधर्म दीप महाविहार झौरबही पलिखेलको दीपंकर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपंकर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपंकर बुद्धलाई भक्तपुर–९ सूर्यमढी टोलस्थित डबलीमा बोकेर ल्याइपुर्‍याइन्छ। त्यसपछि त्यहाँबाट नगर परिक्रमा सुरु गरिन्छ।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी (थाय्पाजु) द्वारा पञ्चदान प्रारम्भ गरेपछि ती पाँच दीपंकर बुद्धलाई नगरका विभिन्न स्थानमा परिक्रमा गराइन्छ। नगरका विभिन्न टोल, चोकको ठाउँठाउँमा स्वागत गर्ने, विराजमान गराई पूजा चढाउने, विशेष सांगीतिक बाजाको धुनमा नृत्य गराउने, स्तोत्र पाठ गरी परिक्रमा गर्ने गराउने परम्परा छ।

परम्परा अनुसार पाँचवटा दीपंकर बुद्धलाई बिहान सूर्यमढीबाट जेँला, दतात्रय, क्वाठडौं, गोल्मढी, सुकलढोका, महालक्ष्मी, भोलाछें, चोछेंबाट सुकुलढोका ल्याइएको थियो। त्यहाँबाट पुनः साकोथा, दरबार स्क्वायर, इटाछें, भक्तपुर मिनीबस पार्क ल्याइएको थियो। साथै परम्पराअनुसार त्यहाँबाट फेरि इटाछें, भार्वाचो, वंशगोपाल हुँदै अन्तिममा टौमढी पाँचतले मन्दिर पुयाइएको थियो। दिनभरिमा टौमढी पुयाइएपछि साँझ त्यहाँबाट पुनः यथास्थानमा ती बुद्धलाई लगिएको थियो। त्यसपछि पर्व समापन हुन्छ।

नगर परिक्रमा गराउने क्रममा दसौं हजार नगरवासी सहभागी देखिएका थिए। उनीहरूले दान दिएका थिए। दानका रूपमा दैनिक उपभोग्य वस्तु दिने परम्परा छ। धान, चामल, मकै, गेडागुडीलगायत खाद्यान्न दान गर्ने परम्परा रहेको छ।

लोभलालच नराखी केही प्राप्त गर्ने मनसायले नभई शुद्ध मनले निःस्वार्थ रूपमा दान गर्दा पुण्य प्राप्ति हुने विश्वासका साथ हजारौं नगरवासी दानमा सहभागी भएको पर्वका एक जना स्वयंसेवी चिनियाकाजी बज्राचार्यले जनाए।

प्रत्येक वर्ष बौद्ध धर्मावलम्बी नेवारहरू ठूलो पर्व पंजदान अर्थात् पञ्चदान सांस्कृतिक उत्सवका रूपमा मनाउँछन्। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यो पर्व काठमाडौं, भक्तपुर, मध्यपुर थिमि, बनेपा, साँखु, पनौतीलगायत ठाउँमा मनाइन्छ। पाटनमा भने यो पर्व हरेक वर्ष श्रावणशुक्ल अष्टमीका दिन मनाइन्छ ।

पर्वलाई कसैले पञ्चदान भन्ने गर्छन् भने कहीँ पंजदान पनि उल्लेख गरिएको पाइन्छ। पञ्चदान भन्नेहरूका अनुसार यस दिन धान, गहुँ, सानो केराउ, नुन, फलफूल गरी पाँच प्रकारका अन्नदान गर्ने परम्परा छ। त्यसैले यस पर्वलाई पञ्चदान भनिएको हो।

विषयविज्ञ महेन्द्रराज शाक्यका अनुसार यस पर्वको वास्तविक नाम पंजदान हो। उनका अनुसार पंज संस्कृत शब्द हो। पं अक्षरले पृथ्वी भन्ने अर्थ लगाउँछ भने ज शब्दले उम्रिएको भन्ने जनाउँछ। त्यसैले पृथ्वीमा उम्रिएको वस्तु दान दिने पर्व भएकाले यसको नाम पंजदान हो। त्यसदिन आफ्नो क्षमताअनुसार खासगरी धान, चामल, गहुँ, मास, भटमास, फलफूल, नुन र दक्षिणा गरी सात प्रकारका वस्तु दान गर्ने प्रचलन रहेकाले पनि यस पर्वलाई पञ्चदान भन्न नमिल्ने उनको बुझाइ छ।

प्रकाशित: १६ भाद्र २०८१ ०८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App