२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

जर्मनी र अस्ट्रेलियामा गुन्जिँदै ‘१९७४ एडी’

नेपाली पप ब्यान्ड ‘१९७४ एडी’ जर्मनी र अस्ट्रेलियामा गुञ्जिने भएको छ। ब्यान्ड स्थापनाको ३०औं वर्षगाँठको अवसर पारेर वल्र्डटुर गरिरहेको ब्यान्डले आगामी २४ अगस्टमा जर्मनीको स्टुगार्टमा सांगीतिक प्रस्तुति दिन लागेको ब्यान्डका व्यवस्थापक अनुज कार्कीले जानकारी दिए।

‘नेपाली पप ब्यान्ड १९७४ एडीको स्थापनाको ३०औं वर्षगाँठका अवसरमा वल्र्डटुर गरिरहेको छ’, उनले भने, ‘सो अवसरमा आगामी २४ अगस्टमा जर्मनीको स्टुगार्टमा पहिलोपटक सांगीतिक प्रस्तुति दिँदै छ ।’ ब्यान्डले यसअघि मे र जुनमा अमेरिकाका आधा दर्जन सहर र जुलाई र अगस्टमा जापानका टोकियो र क्योटो सहरमा सांगीतिक प्रस्तुति दिइसकेको छ।

जर्मनीमा सांगीतिक प्रस्तुति दिएलगत्तै ४ देखि २१ सेप्टेम्बरसम्म अस्ट्रेलियाका सात सहरमा कन्सर्टको तयारीसमेत भइरहेको उनले बताए । आगामी सेप्टेम्बर ४ मा ब्रिसबेन, ८ मा पर्थ, ९ मा मेलबर्न, १२ मा एडिलेड, १४ मा होबर्ट, १९ मा क्यानबेरा र २१ तारिखमा सिड्नीमा सांगीतिक प्रस्तुति दिने छ।

‘सन् २०१९ मा ब्यान्डबाट छुटेका सदस्यहरू पूर्ण १९७४ एडीमा आबद्ध भएलगत्तै वल्र्डटुरमा निस्कने तयारी गरे पनि विश्वव्यापी कोरोना महामारीका कारण रोकिएको यात्रालाई ३०औं वर्षगाँठका अवसरमा संसारभर रहेका ब्यान्डका शुभचिन्तकसम्म पुग्न पाउँदा खुसी लागेको छ’, ब्यान्डका पर्कसनिस्ट सञ्जय श्रेष्ठले भने, ‘१९७४ एडी ब्यान्डले पुरानै लाइनअपमा अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिएको थियो।’

३० वर्षको यात्रामा धेरै उतारचढाव झेलेको भए पनि अहिले सँगै आफ्ना पुराना र नयाँ सबै फ्यानसँग एकैपल्ट जोडिन पाउँदा भिन्न अनुभव भएको ब्यान्डका संस्थापक तथा बेसिस्ट निराकार याक्थुम्बाले बताए। ३०औं वर्ष पुगेका अवसरमा ब्यान्डले केही समयअगाडि आफ्नो ‘हजार सपना’ गीतको भिडिओ पनि बनाएको थियो।

प्रकाशित: ३ भाद्र २०८१ ०८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App