गाउँका बालिकालाई काठमाडौंमा राम्रो काम पाइने प्रलोभन दिएर फकाइन्छ। त्यो प्रलोभनले तिनलाई नतान्ने कुरा भएन। पारिवारिक विखण्डनले बालबालिकाको मानसिकतामा असर परिरहेको हुन्छ। सानैमा तिनले परिवारको बोझ कम गर्ने उद्देश्य राख्दा पनि सहरतिर जानुपर्ने अवस्थामा पुग्छन्।
यस्तै एउटा आश्वासनका कारण धादिङको एक गाउँकी १३ वर्षे किशोरी काठमाडौं सहर पस्छिन्। उनलाई सिधै खाजाघरमा काम गर्न पुर्याइन्छ। चिनजानकै माध्यमबाट उनी खाजाघर पुगेकी हुन्। बाहिरका मानिसले सोध्दा खाजाघर सञ्चालकहरूले आफूहरूलाई आमाबाबा, मामामाइजू आदि नाता लगाउन सिकाउँछन्। त्यति मात्रै नभएर १३ वर्षकी किशोरीलाई २०/२२ वर्ष पुगेको भनाउँछन्।
गाउँघर पनि राम्ररी नघुमेकी यी किशोरीलाई संसार घुमाउने सपना देखाउँदा फुरुङ्ग हुन्छिन्। ‘१३ वर्षकी मलाई २२ वर्ष नाघेको भनेर उमेर ढाँट्न सिकाइयो,’ उनले नागरिकसँग भनिन्, ‘दैनिक नयाँ नयाँ मानिससँग मलाई बस्न लगाइयो। बाआमाले काखमा राखेझैं मलाई सबैले माया गरेर काखैमा राख्थे।’
बाबासरहका मानिसले काखमा राख्दा नराम्रो हुन्छ भन्ने अनुभव तिनलाई भएको थिएन। ‘मलाई हरेक दिन मासुभात खुवाउँथे,’ ती किशोरीले भनिन्, ‘त्यो मायामा स्वार्थ लुकेको म अबोध बालिकालाई के थाहा ? काखैमा राखेर गालामा चुम्ने ती पापीहरूलाई बुबाआमाको स्थान दिन्थेँ ।’
खाजाघरमा आएका विभिन्न थरीका ग्राहकले उनलाई कोठामा राखेर मिठा खानेकुरासँगै कहिले औषधी, कहिले गाँजाचुरोट त कहिले केके खुवाउँथे खुवाउँथे। त्यति मात्रै नभएर उनको शरीरका प्रत्येक अंगसँग खेल्ने गर्थे। खाजाघर सञ्चालकले समेत बलात्कार गरेको आरोप उनको छ।
‘खानेकुरामा के के मिसाएर खुवाएपछि मलाई लट्ठ बनाई त्यो साहु आफैंले मायाको बहाना बनाएर बलात्कार ग¥यो,’ पीडित किशोरी भन्छिन्, ‘त्यसपछि खाना खान आउने ग्राहकहरूलाई कोठाभित्र पठाएर मलाई पनि सँगै जाऊँ र बसेर खाऊँ भन्थे। तिमीलाई मन लागेको खानेकुरा मागेर टन्न खाऊँ भन्दै कोठामा पठाउने गरियो।’
त्यसरी आएका ग्राहकले मिठो मिठो खुवाउने बहानामा तिम्रो यो चिज राम्रो र ऊ चिज राम्रो भन्दै बलात्कार गरेको उनी बताउँछिन्।
‘मलाई पटक पटक त्यसरी बलात्कार गर्दा मेरो पेटमा बच्चा समेत बसेछ। आफूलाई आमाबाबु भन्न सिकाउनेहरूले मेरो गर्भपतनसमेत गराए,’ बालिका भन्छिन्, ‘गर्भपतनको केही दिनमै मलाई खाजा र खाना खान आएका ग्राहकहरूसँग पुनः कोठामा मायाले सम्झाइबुझाइ गरेर पठाए। त्यति मात्रै नभएर महिनावारी भएको अवस्थामा पनि जबरजस्ती मलाई बलात्कार गरे ।’
गाउँघरमा साथीभाइ र परिवारसँग बाहेक बाहिरका मान्छेसँग नबोल्ने उनी आज पनि मौन छिन्। उनको सुन्ने र सुनाउने ठाउँ कतै छैन।
यस्ता दर्दनाक दिनहरू बिताइरहेका बेला एक दिनको घटना सम्झिएर भक्कानिँदै उनी भन्छिन्, ‘यौन पिपासुहरूले मलाई अन्य ग्राहकहरूसँग सुत्न लगाउँदा मेरो भित्री अंगमा कन्डम अड्किएछ। पेटभित्र त्यसरी अड्किएको कन्डमले गर्दा मेरो शरीर कुहिएर उठ्नबस्न नसक्ने बेलासम्म पनि मलाई कुटेर कोठामा लगी गलत काम गर्न लगाइयो।’
पीडित बालिकाअनुसार यस्तो पीडामा पनि रमाएर निस्कनेहरूलाई के थाहा, सहन नसकेर रुँदै कराउँदै बसेको। यस्तो पीडा कसलाई भनूँ म? हरेक दिन एकएक गरी दिनमा कहिले दश जनासम्म त कहिले दिनमै २० जना समेतले मेरो कलकलाउँदो जवानीलाई बलात्कार गरेको। एक दिन त २६ जना निर्दयी मानिसहरूबाट आफू बलात्कृत भएको भक्कानिँदै उनी बताउँछिन्।
उनी आफ्नो बिस्ताराबाट उठ्न नसक्ने अवस्थामा थिइन्। त्यतिबेला पनि उनीमाथि जाइलाग्न बलवान्हरू आएको सहिनसक्नु पीडाको अनुभव उनीसँग छ। ‘जब म प्रतिकार गर्न खोज्थेँ, मलाई लट्ठ हुने नसालु पदार्थ खुवाई पटकपटक ममाथि जबरजस्ती उनीहरू खेलिरहेका हुन्थे,’ सुँक्कसुँक्क रुँदै ती बालिकाले भनिन्।
कुनै कुनै बेला असह्य भएर चिच्याएको बखत कोठा थर्किने गरेर सङ्गीत बजाई आफूमाथि धेरै पापीहरूले भोग गरेको किशोरीको अनुभव छ। ‘रुन कराउनै हुन्न, ठुलो आवाजमा म्युजिक लगाइदिन्थे,’ उनले डाँको छोडेर रुँदै भनिन्, ‘मेरो आवाजलाई लुकाइन्थ्यो। म न्याय खोज्न कहाँ जाने?’ हरेक दिनको त्यस्तो नारकीय भोगाइले उनको शरीर कमजोर भइसकेको थियो।
उनको उमेर सानै छ तर शरीर एउटा मक्किइसकेको रुखजस्तो भयो। ‘त्यो बुढो रुख मर्छ बरु, जवान हुन सक्दैन। शरीरका प्रत्येक अंगले काम गर्न छोडेझैं लाग्छ। चुसेर फ्याँकेको लप्सीको गेडो के काम ? मेरो शरीर त्यस्तै भएको छ,’ सहर नसालु पदार्थ खुवाएर मरेको लासमाथि रमाउने मानिसहरूले भरिएको उनले बताइन्।
महिनावारी रोक्न आफूलाई धेरै महिना औषधी पनि खुवाउने गरेको उनी बताउँछिन्। ‘महिनावारी रोक्न मैले औषधी खान नमानेको अवस्थामा खाजाघर सञ्चालकहरूले मायाले सम्झाएर खुवाउने र नमानेको अवस्थामा गालीगलोजसमेत गर्थे,’ उनले रुँदै भनिन्, ‘म कोसँग रुने ? रुने ठाउँ नै कहाँ छ र ? कोसँग खोल्ने मनभित्रका कहालीलाग्दा पीडाहरू ।’ खाजा घरमा गैरकानुनी रूपमा काम गर्दागर्दै बालिकाले आफ्नो हाँसो र खुसी गुमाइसकेकी थिइन्।
दैनिकको यौन अत्याचारले शारीरिक अवस्था नाजुक भएको थियो। ‘मेरो शरीर पूरै एलर्जी भएसँगै यौनाङ्गबाट पिप र रगतको धारा बग्थ्यो,’ उनले भनिन्, ‘त्यो पीडादायी घाउमा मलम लगाइदिने को ? मेरो पेट अझै दुख्न छाडेको छैन। स्वार्थको माया राखेकाहरूले खोइ त मेरो औषधी उपचार गरिदिएका ?’
उनको प्रश्न छ– आफूजस्ता कयौं बालिकालाई यस्तो अवस्थामा पुर्याएका छन्, खोइ त उनीहरूको उपचार र न्याय ? हामीजस्ता बालिकालाई फकाइफुलाई गरी माया देखाएर गरिने यस्तो निन्दनीय व्यवहार गर्नेमाथि कसले दण्ड दिने ?
कलिलो उमेरमा आफ्नै शरीरको पनि राम्रो ज्ञान नभएकोमा यसबारे ज्ञान लिने अधिकार अरूको कसरी भयो भन्ने उनको प्रश्नमाथि प्रश्न छ। ‘आफैंलाई आफ्नो शरीरका अंगप्रतिको महत्त्व थाहा हुँदैन। तर, यसको महत्त्वबारे बुझ्न र उनीहरूकै अधिकार हाम्रो शरीरमा जताउन कसले सिकायो ? लाऊँलाऊँ खाऊँखाऊँ भनी विद्यालय जान पाउनुपर्ने उमेरमा हामीलाई हाम्रो शरीर बेच्न लगाउने उनीहरूप्रति के सजाय हुन्छ सरकार ?’ उनले रुदै भन्छिन्, ‘बालअधिकार मानव अधिकारसम्बन्धी आवाज उठाउनेहरूसम्म हामी कसरी पुग्न सक्छौं सरकार?’
देशमा बालशोषण र बलात्कारविरुद्ध कडा कानुन ल्याए पनि यस्ता किशोरीलाई जोगाउन सकिएको छैन। कानुनले तिम्रो संरक्षण गर्छ भन्ने अवस्था छैन। उनी प्रश्न गर्छिन्, ‘न्याय दिलाउन नसक्ने निकायहरू किन बिदा हुँदैनन् ? हामीलाई यस्तो अवस्थासम्म पुर्याउने अधिकार कसको हो र? यस्ता कानुन व्यवहारमा लागु गर्नुपर्ने होइन?’
बेचबिखनमा परेका बालिकाको आवाज सुनियोस् र न्याय दिइयोस् भन्ने उनको माग छ। आफ्नै देशभित्र स्वतन्त्र बाँच्न पाउने अधिकार हुनुपर्ने पीडितको चित्कार छ। ‘मेरो देह बेचेर महल ठड्याउनेहरूलाई मेरो आग्रह छ– मजस्ता कति जनाको शरीर बेचेर कतिवटा महल बनाउने छौ? कहिलेसम्म मजस्ता बालिकालाई बन्धक बनाएर देह व्यापार गर्ने गर्छौ? त्यसरी बन्धनमा परेर छटपटाइरहने हामी कहिलेसम्म?’ अन्तिममा बालिकाले रुँदै भनिन्।
उनी जस्ता हजारौं बालिका आफ्नै देशभित्र सुरक्षित छैनन्। एक ठाउँबाट अर्को ठाउँ हुँदै आन्तरिक रूपमा धेरै मानव बेचबिखन भएको छ।
सीमापारि लगेर बेचबिखन गरिने कार्यमा सरकार र सरोकारवालाहरू कहाँ छन् ? यस्ता घटनाहरूप्रति बालबालिकालाई कसरी सचेत गराउने भन्ने जनचेतनामूलक सन्देश फैलाउन जरुरी छ। उनी त एक पात्र मात्रै हुन्। उनीजस्ता बालिका अवस्थामा यौनकार्यमा लगाउने मानिसहरू आज गल्ली गल्लीमा छन्।
राम्रो खाना र चिटिक्क नाना लगाई विद्यालय जान पाउनुपर्ने बालबालिकाको अधिकार हो। तर, उनीहरू विद्यालयको कक्षाकोठामा नभएर यौन कार्यको मोलमोलाइ गर्ने कोठामा हुन्छन्। विद्यालयको कक्षाकोठामा भविष्यको मार्गदर्शन गरिरहेका हुन्छन् भने त्यही उमेरका धेरै बालिकाहरू खाजाघर र स्पासेन्टर, मसाज सेन्टर, डान्सबार आदिमा भविष्य नै अन्धकार पारेर बसेका हुन्छन्। विद्यालय जानुपर्ने बालिकालाई आफ्नो खुसीका लागि बिस्तारा बनाएका छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी एसपी गौतम मिश्रका अनुसार वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिएर मानव बेचबिखन भइरहेको छ। परिवारसँग हाँसीखुसी बसेका महिला र बालिकाहरूलाई विविध प्रलोभन देखाएर नेपालभित्रै वा विदेशमा बेचबिखन गर्ने गरेको उनले बताए।
ब्युरोको अनुसन्धानअनुसार विश्वव्यापी रूपमा हुने मानव बेचबिखनमध्ये ७५–८० प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने गरेको छ। मानव बेचबिखनरूपी व्यापारबाट विश्वव्यापी रूपमा वार्षिक करिब ५० अर्ब अमेरिकी डलर आर्जन हुन्छ।
मानव बेचबिखन तथा ओसारपसारको वर्तमान प्रवृत्ति गरिबी, बेरोजगारी, पारिवारिक समस्या, सामाजिक समस्या, साथ–सङ्गत, समृद्धिको सपना, दलालको पासो रहेको मिश्रले बताए। जसले गर्दा यौन शोषण, बाध्यकारी श्रम, आर्थिक शोषण, अङ्ग प्रत्यारोपण र हिंसाजस्ता जोखिम तथा समस्या देखापर्छन्। नाबालिकाहरू, सानैमा बिहे गरी डिभोर्स भएका, आर्थिक अवस्था कमजोर भएका, पारिवारिक विखण्डन भएकाहरू मानव बेचबिखनमा पर्ने लक्षित वर्ग रहेको ब्युरोको अनुसन्धान छ।
स्पा, मसाज सेन्टर, डान्सबार आदिमा रोजगारी दिने प्रलोभन देखाई यौनजन्य गतिविधिमा संलग्न गराउने मनोरञ्जनात्मक क्षेत्र हुन्। ‘युवतीहरूलाई एकै लहरमा राखी ग्राहकलाई रोज्न लगाई मूल्य निर्धारण गर्ने र अन्यत्र पठाउने गर्छन्,’ मिश्रले भने, ‘उनीहरूको वास्तविक नाम लुकाउन लगाएसँगै पीडितको अर्कै नाम राखी यौनजन्य कार्यमा लगाउने गर्छन्। युवती परिचालनमा सामाजिक सञ्जालको प्रयोग पठाओ, इनड्राइभबाट ग्राहकहरूको लोकेसनमा महिला तथा बालबालिकालाई पठाउने गर्छन् ।’
ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म ७७ जिल्लाको मानव बेचबिखन तथा ओसारपसारमा एक हजार चार वटा घटना, पीडित एक हजार चार सय ४२ जना, अभियुक्त दुई हजार एक सय २२ जना र पक्राउ एक हजार दुई सय ५६ जना रहेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा नेपालभित्रको (आन्तरिक) उद्धार संख्या दुई सय १० जना महिला तथा बालबालिका रहेको ब्युरोका तथ्यांकमा उल्लेख छ। त्यस्तै हालसम्म भारतबाट गरेको उद्धारमा तीन सय ७५ जना (एक सय ४८ महिला, एक सय ८६ पुरुष, १९ बालिका, २२ बालक) छन्।
मानव बेचबिखनको जनचेतनामूलक कार्यक्रमसँगै जनचेतनामूलक लघु चलचित्र भिडियो मनसरा निर्माण गरी सामाजिक सञ्जालमार्फत चेतना फैलाएको मिश्रले जानकारी दिए।
प्रकाशित: १९ श्रावण २०८१ ०८:५४ शनिबार