८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

स्वदेश फर्केर उद्यमी बनेकाहरू

जीवनपथ

वैदेशिक रोजगारीका निम्ति बिदेसिएका युवामा प्रत्येक क्षण देशको माया झल्किन्छ। त्यसैले त उनीहरू विदेशमै रहँदा पनि देशकै चिन्ता गरिरहन्छन्।

नेपालमा भएको बेतिथि र आर्थिक मन्दीले कतिपय बिदेसिएका युवा स्वदेश फर्केपछि भने विदेशमा देखेका काम गर्न चाहन्छन्। देशमै उद्योगधन्दा चलाएर अघि बढ्ने तिनको चाहना हुन्छ।

जापानबाट स्वदेश फर्किएका अर्घाखाँचीका अर्जुन अधिकारीमा पनि यही सोचले घरजम गरेको हो। ‘जापानदेखि विभिन्न विकसित देशहरू पुगेँ,’ उनी भन्छन्, ‘त्यहाँको भयङ्कर आमूल परिवर्तनले नेपालमा यस्तो भइदिए हुन्थ्यो, उस्तो भइदिए हुन्थ्यो भन्ने सपना बारम्बार देख्ने गर्थें। नेपालमा नबसेर हो कि यति धेरै चिन्तन भएको? आफूले विदेशमा गरेको दुःख स्वदेशमै गर्न पाए कति धेरै राम्रो हुन्थ्यो भन्ने मनमा हुटहुटी सधैं हुन्थ्यो।’

धेरै वर्षको विदेशी अनुभवले त्यहाँ के नपुग्दो थियो र? तर, आफूलाई नेपालको मायाले डो¥याएको उनी बताउँछन्। विदेशमा पुगेका युवाले सधैं एउटै कुरा गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘हाम्रो देशमा केही भएन। त्यसैले विदेश आएका हौं। नेपालमा केही गरौं भने पनि राज्यको केही साथसहयोग छैन।’

यसरी सबै युवा देशमा सेवासुविधासहितको रोजगार छैन भन्दै बिदेसिएका छन्। ‘देशमा स्वचालित तवरले परिवर्तन गर्ने चाहिँ कसले?’ प्रश्न गर्दै अधिकारीले भने। उनका अनुसार नेपालमा सियोदेखि जनैसम्म अर्काको देशबाट आउने गरेको छ। तर, नेपालमा केही उत्पादन हुँदैन। त्यसका लागि विदेशमा सिकेको सिप र पुँजीलाई आफ्नै देशमा परिचालित गर्नुपर्छ भन्ने उत्साह, उमंग र ऊर्जासहित नेपाल फर्किएको उनी बताउँछन्।

सन् २०१७ मा कफीसप वा सानै व्यापार किन नहोस् आफ्नै देशमा व्यवसाय गरेर सय जनाभन्दा बढी उद्यमी जन्माउने उद्देश्यले स्वदेश फर्किएको उनले बताए। ‘विदेशमा अथाह पैसा कमाएको थिइनँ,’ उनले भने, ‘विदेशमा कमाएको आधाभन्दा बढी उत्तै खर्च हुन्छ। तर, विदेशमा मरेर गर्ने दुःख नेपालमै गर्ने मेरो एउटै उद्देश्य थियो।’

त्यसपछि काठमाडौं बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टभित्र सन् २०१९ मा जापानिज होक्काइदो रामेन हाउस रेस्टुरेन्ट सुरु गरेको उनी बताउँछन्। ‘उपत्यकामै ३/४ लाखको सानो रेस्टुरेन्ट खोलेर त्यहाँ सय जना उद्यमी बनाउन सकिन्छ भनेर पार्क भिलेजमा ठुलो सेन्ट्रल किचेन बनायौं। मेरो उद्देश्य भनेकै उद्यमी जन्माउने हो। साथै बेरोजगार युवालाई बाहिर जान होइन, आफ्नै देशमा केही गर्नुपर्छ भनेर प्रोत्साहन गर्नु हो,’ जापानबाट फर्किएर नेपालमै रमिरहेका अधिकारीले भने।

उनका अनुसार नेपालबाट बिनासिप मानिस मात्रै बिदेसिएका छैनन्। सिप र कला भएका अधिकांश मानिसहरू पनि देश छोडेर विदेश पुगेका छन्। दक्ष कामदारलाई रोकेर सेवा सुविधासहितको रोजगारी दिन सकेमा र अदक्ष कामदारलाई विभिन्न सिप सम्बन्धि तालिम दिन सकेमा देश विकसित हुने उनले बताए।

आफ्नै देश फर्किएर अधिकारीले नेपालमा नौ वटा जापनिज आउटलेट खोलेकोमा एक सय ७० जनालाई रोजगार दिइरहेका छन्।

‘आजभन्दा ६०/७० वर्षअघि जापान पनि बिजोक अवस्थामा थियो। उनीहरू पनि अर्काको देशमा गएर काम गर्थे। तर, अब अरू देशका श्रमिकलाई रोजगार प्रदान गरिरहेको छ। त्यसैले देश विकासका लागि हामी आफैंले सुरुवात गर्नुपर्छ,’ देश विकासमा तल्लीन अधिकारीले भने।

गुन्द्रुकदेखि मासु काट्ने अचानोसमेत चाइनाबाट आउँदा साह्रै चिन्तित रहेको उनी बताउँछन्। ‘देशमा शिक्षित मानिस नभएका पनि होइनन्। तर, हामी कहाँनेर चुकेका छौं भन्नेबारे कसैलाई मतलब छैन,’ उनले भने, ‘आयातित रेडिमेड चिजहरूमा देश नै निर्भर छ। त्यसैले सरकारले पनि उत्पादन गर्नुपर्ने जरुरी ठानेको छैन। त्यसैले यस्ता कुरालाई मानसपटलमा राखेर बिदेसिनुभन्दा बरु उत्पादन क्षेत्रतिर लाग्नुपर्छ।’

देशको उच्च राजनीतिक तहदेखि कर्मचारीतन्त्रसम्म सही मानिस हुनुपर्ने उनको तर्क छ। ‘विदेशबाट फर्किएयता नेपालमा मैले करिब दुई सय जना युवालाई रोजगार दिएको छु। त्यस्तै विदेशबाट फर्किएका करिब पाँच हजार युवाले आफ्नै देशमा विभिन्न किसिमका व्यापार व्यवसाय सञ्चालन गरेर दुई सय जनालाई मात्रै रोजगारी दिए भने १० लाख बेरोजगार युवालाई रोजगार दिन सकिन्छ,’ उनले भने।

सरकारले आफूलाई साथसहयोग गरेको अवस्थामा जापानिज कम्पनी नेपाल ल्याउने आत्मविश्वास रहेको उनी बताउँछन्। उनका अनुसार भारत सरकारको सहयोगमा त्यहाँ १२ हजारभन्दा बढी जापानी कम्पनी छन्। सरकारले थोरै मात्र साथ दिने हो भने देशमा सुन फलाउन सकिने विश्वास उनको छ।

अधिकारीजस्तै वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै व्यवसाय गरिरहेका बारा, निजगढ–९ का हिराबहादुर थापा मगर अर्का यस्तै उद्यमी हुन्। उनी वैदेशिक रोजगारीका लागि सन् २००२ मा मलेसिया पुगेर १० वर्ष बिताएपछि स्वदेश फर्केर उद्यममा व्यस्त छन्। निजगढमा ‘निजगढ केरा एग्रिकल्चर फार्म’ खोलेका छन्।

२०७५ मा एक लाख ५० हजार रूपैयाँबाट सुरु भएको उनको व्यवसाय एक करोड २६ लाख ३६ हजार रूपैयाँको भएको छ। उनले २२ बिगाहा १४ कट्ठामा केरा, उखु, मकै, उन्नत जातको वयर, कागती र धान खेती गरेका छन्।

उनका अनुसार १४ बिगाहामा मालभोग र जिनाइन केरा खेती, पाँच बिगाहामा उखु खेती र बाँकी जमिनमा अन्य खेती भइरहेको छ। नेपालमा केरा उत्पादन चैतदेखि भदौसम्म अत्यधिक मात्रामा हुने गर्छ। उनी आफ्नो उत्पादनसँगै अन्य कृषकको केरा खरिद गरेर बजारमा पुर्‍याउने काम पनि गर्छन्।

वैदेशिक रोजगारीले उनलाई मासिक १५ हजार रूपैयाँ दिएको थियो भने अहिले उनले प्रत्यक्ष १७ जना र परोक्ष २२ जनाभन्दा बढीलाई रोजगारी दिएका छन्। अन्य मासिक खर्च कटाएर उनको भागमा प्रत्येक महिना एक लाख रूपैयाँभन्दा बढी आउने गरेको छ।

‘विदेशमा महिनाभरि मरेर काम गरेपछि दश वर्षको अन्तरालमा १५ देखि धेरैमा २५ हजार रूपैयाँमात्रै कमाएँ,’ उनले भने, ‘अहिले करिब चार दर्जन बेरोजगार मानिसलाई रोजगार दिइरहेको छु। उनीहरूलाई खर्च छुट्याएर आफूलाई लाख रूपैयाँभन्दा माथि बस्छ। त्योभन्दा बढी अरू के चाहियो र? आफ्नै देशमा परिवारसँग खाइखेली गरेर लाख रूपैयाँ कमाउन पाउनु धेरै राम्रो हो।’

अबको केही दिनमा केराको बोट अर्थात् खेर गएको खम्बालाई आधुनिक तवरले रेसा बनाएर तानदेखि यावत सामान बनाउने चाँजोपाँचो भइसकेको उनले उत्साहित हुँदै बताए।

उनले आफ्नो व्यवसायलाई अगाडि बढाएसँगै नवकृषक तथा युवालाई प्राविधिक सिप र व्यावसायिक खेतीका लागि प्रयोगात्मक अभ्यास दिने गरेका छन्। मलेसियामा कागज कम्पनीमा काम गर्दा दुःख पाएका उनले स्वदेशमा अहिले भरपुर सुख पाएका छन्।  

‘नेपालमा हुँदा वरको सिन्को पर नसार्ने हामी नेपाली विदेश गएपछि बाध्य भएरै काम गर्नुपर्छ,’ उनले भने, ‘दुःख के हो? भन्ने कुरा विदेश गएपछि थाहा हुन्छ। विदेश गएर भान्छादेखि लत्ताकपडा र काम आफैं गर्नुपर्दा मात्रै थाहा हुन्छ दुःखको अनुभव। विदेश जानै हुन्न भनेर कसैलाई भन्दिनँ। तर, विदेश एकपटक पुगेर त्यहाँको आधुनिक सिप र पुँजी लिएर देशमै फर्की व्यवसाय गरे धेरै राम्रो हुन्छ। पटकपटक विदेश जानुचाहिँ समयको बर्बादी हो।’

नेपालमा ठुलो बजारीकरण नभएकाले एकैचोटि धेरै लगानी लगाउन नहुने उनी सुझाव दिन्छन्। उनका अनुसार थोरै लगानीबाट व्यवसाय सुरु गर्नु राम्रो हो। बिस्तारै लगानी बढेसँगै आफ्नो अनुभव पनि उकासिँदै जान्छ। यहाँ व्यवसाय गर्ने व्यवसायीहरू तातै खाऊँ जल्दी मरौं गर्छन्। त्यसकारण व्यवसायमा फाइदा भएन भन्दै पुनः बिदेसिन्छन्।  

‘यहाँ हरेक व्यवसायीलाई गाह्रो छ। सरकारले आडभरोसा नदिँदा समस्यै समस्या छ। सरकारको पछि लाग्यो भने केही गर्न सकिँदैन। यहाँ कसैले गदिँदैनन्,’ उनले भने, ‘मेरै कुरा गर्दा केरा विज्ञ नेपालमा छैनन्। भारत वा चीनदेखि केरा विज्ञहरू बोलाउनुपर्छ। सुरुसुरुमा त पत्रपत्रिका, युट्युबजस्ता विभिन्न सामाजिक सञ्जाल हेरेर मैले सिकेको हुँ।’

उद्यमी थापा मगरले भने, ‘देशका कृषि पढेका राम्रा विद्यार्थी सबै विदेश गएका छन्। यहाँ व्यापारव्यवसाय गर्ने भनेकै विदेशबाट फर्किएका वा बुढापाकाले हो। विदेशमा हुँदा नेपालकै चिन्ताले फर्काएर धेरै राम्रो भयो। आफ्नै देशमा मानो रोपेर मुरी फलाइरहेको छु। यसमै गौरवान्वित छु।’

मधेस प्रदेशका कृषि मन्त्रीद्वारा उत्कृष्ट कृषकको सम्मानका साथै पुरस्कृतसमेत भएका थिए थापा मगर। त्यतिमात्रै नभएर उनले यही असार १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट राष्ट्रिय पुरस्कारसमेत पाएका थिए।

त्यसरी श्रम मन्त्रालयबाट थापा मगरसहित आठ जनाले उत्कृष्ट कृषकका नाममा राष्ट्रिय पुरस्कार पाएका हुन्। लिखु–४, नुवाकोटका बंगुर उद्यमी अर्जुन परियार पनि श्रम मन्त्रालयद्वारा सम्मानित हुने कृषक हुन्। करिब दश वर्ष मलेसियामा बिताएर स्वदेशमा आफ्नै व्यवसायमा रमाउँदै आएका परियार ३० लाख रूपैयाँ खर्चेर बंगुर फर्ममा व्यस्त भएको चार वर्ष भएको छ। उक्त व्यवसायमा संलग्न हुन उनी सामाजिक सञ्जालबाट प्रेरित भएका हुन्।

‘आज भन्दा चार वर्षअघि म मलेसियामै थिएँ,’ उनले भने, ‘त्यो बेला साथीहरूले गाउँगाउँमा बंगुर, बाख्रा र कृषि गरेर विदेशमा कमाउनेभन्दा दोब्बर पैसा कमाइरहेको सुनाए। त्यो सुन्दैगर्दा मैले पनि युट्युबमार्फत आफ्नै गाउँठाउँमा के व्यवसाय गर्ने होला भनेर करिब एक महिना ध्यानमग्न भएँ। परिवारसँग सरसल्लाह गरी मैले बंगुर पाल्ने निर्णय गरेर देश फर्कें।’

आमा, बुबा र पत्नीको साथसहयोगमा सञ्चालन गरेको बंगुर पालनमा उनले सुरुसुरुमा धेरै घाटा बेहोरे पनि। सुरुमा उनको आत्मबल कमजोर भएको थियो तर परिवारले नआत्तिन दिएको सुझावले उनलाई सधैं जागृत बनायो। ‘विदेशबाट के के नै गर्छु भनेर फर्केको थिएँ। सुरुमै बंगुर पालन घाटामा गएपछि मनै मरेको थियो। तर, परिवारको साथले यो बंगुर पालनबाट अहिले वार्षिक आम्दानी १५ लाख हुन्छ। अन्य खर्च कटाएर करिब ६ लाख चोखो बचत हुन्छ,’ उनले भने।  

लिखुको सबैभन्दा ठुलो उनको बंगुर फर्ममा करिब सय बंगुर छन्। दुई महिना आमासँगै रहेको बंगुरको बच्चा उनले प्रतिगोटा नौ हजार र कटिङ बंगुर (ठुलो बनाएर मासुको लागि पठाउने) करिब आठ हजार रूपैयाँमा बेच्ने गरेको उद्यमी परियार सुनाउँछन्। उनले वर्षमा बंगुरको बच्चा र कटिङ एक सय ५० भन्दा बढी बिक्री गर्ने गर्छन्। जति बंगुर उत्पादन गर्न सक्यो, उति धेरै फाइदा हुने उनको अनुभव छ।

मधुमेह र रक्तचापले थलिएका उद्यमी परियार बंगुर फर्मले उकासिएका छन्। ‘मलाई धेरै रोगले समातेको छ। तर, यो व्यवसाय चुलिनुको मुख्य कारण मेरा परिवारजन हुन्। बंगुर पाल्न सजिलो छैन। धेरै दुःख हुन्छ। तर, यसमा परिवारको खुसीका लागि दुःख गरिरहेका छन्। विदेशबाट फर्किएर सुरु गरेको यो व्यवसायमा धेरै खुसी छु,’ उनले भने।

मलेसियामा करिब एक लाख रूपैयाँ तलब थाप्ने गरेका उनी भन्छन्, ‘विदेशमा राम्रो आम्दानी थियो। तर, आफ्नो परिवारसँग रहेर मासिक पाँच हजार किन नहोस्, त्यो नै अमूल्य हुन्छ। विदेश हुँदा कतिबेला सास जान्छ भन्ने चिन्ताले वर्षौं रातहरू बिते। स्वदेशमा आनन्दले निदाउँछु। आधा रातमै केही भएछ भने पनि ढुक्क यो कुरामा छु कि साथमा परिवार छ। त्यसैले यहाँ रातमा पनि मिठो निन्द्रा आउँछ।’

वैदेशिक रोजगारपछि परिवारसँग आफ्नो व्यवसायमा रमाएका उद्यमी परियारले राष्ट्रिय पुरस्कार पाउँदा उनका बाबु धेरै हर्षित भए। छोराले श्रम मन्त्री डोलप्रसाद अर्यालद्वारा पाएको राष्ट्रिय पुरस्कारसहितको सम्मान पत्रलाई कपडाले पुछ्दै परियारका बाबुले भने, ‘यही देख्न बाँचेको रहेछु। यसलाई जतनले कपडामा बेरेर ट्यांकामा राख्नुपर्छ। भावी पुस्ताले यसको दर्शन पाउँछन्। अब आउने पुस्तामा दुःख गर्ने यस्तो जोसजाँगर हुँदैन। जसले गर्दा हाम्रो पुस्ताले यत्रो दुःख गरेका थिए, हामीले पनि गर्नुपर्छ भनेर पाठ सिक्छन्।’

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सरकारले प्रोत्साहनसहितको अन्य केही चासो नदेखाए पनि आफैंले गरेको दुःखको मूल्याङ्कन गरी सम्मान गरेकोमा उनी खुसी छन्। केन्द्रीय स्तरबाटै केही साथसहयोग नपाएका उद्यमी परियारले स्थानीय स्तरबाट झिनो आशा पनि नभएको बताउँछन्। सरकारले केही साथसहयोग गरिदिए कोही पनि बिदेसिनु नपर्ने बिदेसिएका तथा विदेशबाट फर्किएका युवाको गुनासो छ।

यसरी वैदेशिक रोजगारीको दुखाइपछि धेरै उद्यमीले आफ्नै देशमा सुखानुभूति गरेका छन्। यसरी नै हो विदेशमा गएर उच्च शिक्षा लिएभन्दा पनि ठुलो ज्ञान प्राप्त गर्ने। यसैले तिनलाई उद्यमी बनाएको छ। 

प्रकाशित: २९ असार २०८१ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App