१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

तेङबुचेसम्मको समय-यात्रा

नियात्रा

सगरमाथा आधार शिविर जाने कुरा ‘डाइरेक्ट नेपाल’का सुवर्ण श्रेष्ठबाट सुनेपछि मन मन्दिर बन्यो। वासस्थानबाट झोलीगुन्टा बोकेर उठेका पाइला त्रिभुवन विमानस्थल पुगे बिहान ९ः३० बजे। प्रायः विदेशी पर्यटकले खचाखच भरिएको छ, आन्तरिक भवनका भित्री कक्ष।  

हतारहतार टिकट काउन्टरमा पुगेँ। टिकट र चिनियाँ पाहुनाको राहदानी जचाएँ। तर समान तौलको त सुरसारै देख्दिनँ। ‘लुक्लाको मौसम खराब छ। एक घण्टापछि आउनुभए हुन्छ।’ काउन्टरकी महिलाले भनेपछि यता र उता अल्मलिँदै एक घण्टा घिसारेर बिताए। पुनः पुगेँ सोही काउन्टरमा।

अझै मौसममा सुधार नआएकाले कम्तीमा २ घण्टाअगाडि नहुने जानकारी दिइन्। एकाबिहानैदेखि यसरी व्यग्रतासाथ बस्नेहरूको हुलमा हामी पनि मिसिएका छौं। मध्यान्न भइसक्यो। अझै सामान तौलेको छैन। बोर्डिङ पास त कहिले हो कहिले। ‘अपरान्नपछि विमानका लागि लुक्लाको मौसम त्यसै पनि प्रतिकूल भएर जान्छ। आज उड्ने छाँटकाँट छैन,’ मनननै भनेँ। नभन्दै केहीछिनमा मौसम खराबीकै कारण एकाएक उडान रद्द भएको सूचना सुनिन थाल्यो। धमाधम यात्रुहरू फर्कन थाले निन्याउरो अनुहार लिएर।

‘पाहुनालाई एयरपोर्ट ल्याउ, फेरि होटल फर्काउको दैनिकीले दिकदार बनाइसक्यो हजुर,’ फर्कंदै गरेको एक गाइडले हैरानको भाकामा तितो ओकले। मौसम प्रतिकूलताको कारण तीन दिन अघिदेखि कुनै चिलगाडी उड्न सकेको रहेनछ लुक्लाको। मौसम खुल्नु र लुक्ला उडान भर्नु भनेको एक हिसाबले भाग्योदय चिट्ठा पर्नुजस्तै भइदिन्छ कहिलेकाहीं।

काठमाडौंको दिकदार लाग्दो एक दिनको पर्खाइपछि उडानको बढी सम्भावना बोकेको रामेछाप एयरपोर्ट पुगियो रातारात। यहाँको मौसम ठिक भएर के गर्नु। जबकि जानुपर्ने लुक्लाको मौसम नै नसुध्रिएपछि। रामेछापमा विरक्तलाग्दो अर्को थप एक दिन गुजार्नुपर्‍यो। लडाइँ हारेको सिपाहीका जस्तो अनुहार ओइलाएका देखिन्थे आम लुक्ला उड्ने यात्रुहरू।  

बल्ल तेस्रो दिनमा साइत जुर्‍यो लुक्ला उडानको। बिहानैबाट मौसम खुलेको खबर छ, लुक्लामा समेत। फटाफट टिकट जाँच, सामान तौल र बोर्डिङ पास पाइयो। प्रस्थान कक्षमा छिरेपछि पनि धेरै बेर बसिरहन परेन। चिलगाडी बिहान ९ः२२ तिर भुनभुनाउदै भुइँ छोड्यो हामीलाई बोकेर। अग्ला घरहरू पुड्किँदै गए।

ठुल्ठुला रुखहरू ससाना बिरुवामा बदलिए। अनि मुनिको मैदान, पहाड र हिमाल कलाकारले सिर्जना गरेको उत्कृष्ट क्यानभास बन्यो। बत्तिँदै २२ मिनेटमा लुक्ला उतार्‍यो। एयरपोर्ट ओर्लनासाथ चिनियाँ पाहुनाले मलाई जोडले हक गर्दै ‘से से’ (धन्यवाद) भने। मुस्कुराउँदै हाते झोलाबाट चकलेट झिक्दै बाँडे। एकप्रकारको खुसियाली र सन्तुष्टिको संकेत थियो त्यो। जुन २०८० असोज ९ गतेको कुरा हो।

लुक्ला एयरपोर्ट (२८४० मिटर) उतार्दाको तापक्रम १३ डिग्रीको छ। पूर्वतिर कोङ्दे रि हिमाल र कोङ्दे पिक (चुली)ले प्रेमपूर्वक हेरिरहेका छन् हामीलाई। रामेछापको ३२/३३ डिग्रीको तातोबाट आएकाले पनि होला ! यहाँको घाम आनन्द दिने खालको न्यानो छ। हनिमुनमा हिँडेकी प्रेमिकाको बोली र व्यवहारजस्तै प्रिय र रुचिकर छ। तर एकै ठाउँमा बसिरहन कहाँ पाउनु ! कहाँ आतुर मनले जोर खुट्टालाई दिनु बसिरहन ! आजको गन्तव्य छ, फाक्दिङसम्मको।

एयरपोर्ट उत्रेपछि अगाडि बढ्ने क्रममा सर्वप्रथम लालीगुराँस, ठिङे« सल्ला, धुपी सल्ला, खर्सु, उत्तिसलगायतका हराभरा जंगलले स्वागत गर्छ। चलिरहेको छ, चिसो चिसो प्रदूषणरहित हावा। ओरालो झरेको १० मिनेटमै जंगलको घाचमा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको मुहार अंकित अर्धकदको प्रतिमासहितको प्रवेशद्वार भेटिन्छ।

यसैको तल सगरमाथा राष्ट्रिय निकुञ्ज र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको कार्यालय भवन छ। जहाँ तोकिएको शुल्क भुक्तान गर्नुपर्छ सबैले आआफ्नो गन्तव्यअनुसारको। यहाँबाट बाहिरिएपछि संसारको सर्वोच्च शिखर सगरमाथा आरोहण/आधार शिविरलगायत थ्री पासको गन्तव्य सुरु हुन्छ।

महान् चाड बडादसैं आगनमै आइपुग्न धेरै दिन पर्खन पर्दैन अब। घुमन्तेहरूका लागि प्रकृति खुलेर हाँस्ने सबैभन्दा उत्तम शरद यामको मादक मौसम छ। समय र सम्पत्ति अनुकूल मिलाएर खुम्बु क्षेत्रको पदयात्रामा देखिएका छन् विदेशी-स्वदेशी पर्यटकहरूको लामो लस्कर। उल्लास, रोमान्स र रौनक हुर्किरहेको छ–यो विश्वविख्यात हिमाली बाटैभरि।

लुक्लाबाट सुर्के, चौंरीखर्कपछि छेप्लुङ (२६६० मिटर) भेटिन्छ आधा घण्टा ओरालो झरेपछि। यहींबाट सबैभन्दा अग्लो ठाउँमा अवस्थित सगरमाथा राष्ट्रिय निकुञ्ज सुरु हुन्छ। करिब ११४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जले ८८४८ मिटर उचाइ नापेको छ। जसले दुर्लभ जंगली जीवजन्तु र रंगीन चराचुरुंगीलाई संरक्षण दिएको छ।

हिँड्दाहिँड्दै ढुंगे छपनी बिछ्याइएका बाटो भेटिन्छ। डिरिँदै अघि बढ्दा निलो र रातो रङको जस्ताले छाइएका घरबस्ती आइपुग्यो। घर सफा र चिटिक्कका छन्। वरपर फक्रँदैका सुन्दर सयपत्री झुलिरहेका छन्। घरैपिच्छे होटल, लज र रेस्टुराँ। झन्डै साढे तीन घण्टाको पदयात्रापछि भेटिएको यो सुविधाजनक गाउँ त फाक्दिङ (२६१० मिटर) रहेछ। जुन हाम्रो पदयात्राको पहिलो वासस्थान बन्यो।

दुधजस्तो सेतो कञ्चन पानी लिएर लडाकुजस्तो उँधो दौडिरहेको छ दुधकोशी नदी। हामी भने उँभो उक्लँदै छौं। मानव जीवनको लयजस्तै नफर्कने गरी गुनगुनाउँदै अटुट लहरमा बौद्ध दर्शनका पवित्र भाव छङछङाइरहेका छन्। सगरमाथा स्रोत भएर आएको यो सुकिलो नदीलाई पहिलोपटक जम्काभेट भयो।

फाक्दिङको होटल छोड्नासाथ झोलुंगे पुल तर्दा। अब हाम्रो दायाँतिरबाट बगेको छ दुधकोशी। यसपछि बैंकर, जोर्सले, लार्चे दोभान, तेङबुचे, डिङबुचे... र अन्तमा थुक्लाका झोलुंगे पुलहरूमा पुनर्मिलन हुनेछ।

फाक्दिङ काटेर उँभो लाग्दा छोटाछोटा उकालो, ओरालो र तेर्सो बाटो तय गर्नुपर्छ। वरपरका दृश्य नियाल्दै टोकटोक भन्ने गाउँमा पाइला टेक्न पुगिन्छ। जहाँ पहरा छिचोलेर निस्केको झरनाले लठ्याउँछ। तर बोत्तलको नसाले जसरी बेहोस होइन। बरु होस खुलाउने गरीकन आत्मिक सुखको सागरमा डुबाएर।

यहींबाट पहिलोपटक उत्तरतिर थामसेर्कु हिमाल र कुसुम खाङ्गारु हिमाल देखापर्‍यो। थामसेर्कु हिमालले त मञ्जु गाउँसम्म नै साथ दिएको छ। मञ्जु गाउँ सुरु हुनासाथ चेक पोस्ट भेटिन्छ। चेक पोस्ट परिसरको बोर्डमा लेखिएको छ, निकुञ्जबारे जानकारीमूलक सूचना÷सुझाव। तर हेर्ने फुर्सद र धैर्य धेरैमा देखिँदैन।

प्रायः पर्यटक आआफ्ना प्रवेश टिकट देखाउँदै गन्तव्यतर्फ बढ्न आतुर छन्। चेक पोस्टबाट बाहिरिनेबित्तिकै पहिलोपटक देखिएको खुम्बिला हिमालले मनमा खुसीको तरंग पैदा गर्छ। आधा घण्टाको पदयात्रा नगर्दै बैंकरको अर्को छङछङ झर्दैको आकर्षक झरनाले आँखा तान्छ।

यसपछिको गाउँ हो लार्चा दोभान। जोडले हावा चलेको छ। सधैं बिहान १०/११ बजेपछि यस्तै हावा चल्छ यहाँ। एक हातले टोपी समाउँदै यस भेगको सबैभन्दा अग्लो अनि डरमर्दो लार्चे दोभान हिलारी पुल लगभग जगिंको जोस र गतिमा तर्दैछु तर अनायास रोकिन्छन् पाइलाहरू। परपरका डाँडा रुखविरुवाको गाढा हरियालीले ढाकिएको छ।

पुलको ठिक मुन्तिर जहाँ पहाडको घाँचबाट सेतो धर्सोमा थकान बगाउँदै बगिरहेको छ, सम्मोहनकारी दुधकोशीको सङ्लो पानी। दृष्टिभरि फैलिएको जीवनसादृश्य ल्यान्डस्केप हेरेर हराएछु। हराउँदै हराउँदै तोपडाँडाको उकालो उक्लिएछु। वनको ठाडो बाटोले थकाउनुसम्म थकाउँछ।

तर डाँडामा उक्लेको मात्र के थिएँ, शरीरको थकान त विदेशी भूमिमा कार्यक्रम-गोष्ठीका लागि पुगेका युवाझैं गायब भयो। यतिले मात्र नपुगेर हर्षले खुसीको सगरमाथा नै नाघ्यो, पहिलोपटक शिखरका सम्राट सगरमाथा देखेपछि।

यसरी हिँड्दै गयौं हामी, प्राकृतिक सौन्दर्य शक्तिबाट तानिँदै फाक्दिङबाट १२ किलोमिटरको यात्रा गरेछौं। झकिझकाउ बस्ती नाम्चे बजार (३४४० मिटर) को जम्काभेटले झस्किएँ। भिरालो भूमिमा बनेका छन् होटलहरू। तर केवरा फूलको झुप्पाजस्ता नजरमा बस्ने खालको आकर्षक।

नाम्चेबजार प्रवेशद्वार छिरेपछिको ढुंगे छपनी बिछ्याएर सर्लक्क पारिएको बाटो सफा र फराकिलो छ। जसलाई टेकेर उक्लेपछिको मुख्य बजार उत्तिकै भव्य र सुविधाजनक छ। जसले झन्डै ५० वर्षअघिदेखि खुम्बु क्षेत्रकै प्रमुख केन्द्रको इतिहास बोकेको छ। सेवा र सुविधाका हिसाबले सगरमाथा पदमार्गको राजधानीभन्दा फरक नपर्ला यो हिमाली बजारलाई। खुम्बु क्षेत्रका फरक फरक गन्तव्यका लागि निस्केका प्रायः पर्यटक बास बस्न रुचाउने लोकप्रिय थलो पनि हो यो।

निलो आकाश पृष्ठभूमिमा राखेर पहिलोपटक मोहनी रूप छर्दै हिमाल/पिक मुस्कुराउँदै छन्। उत्तरतिर लोसासा हिमाल, पूर्वतिर खाङलेमु हिमाल र आमाडब्लम हिमाल। दक्षिणतिर खाङतेका हिमाल, थामसेर्कु हिमाल, कुसुम खांगेरु हिमाल, कोङदे रि हिमाल, कोङदे चुली, सुन्दर हिमाल, खुम्बिला हिमाल। पश्चिमतिर चोलाक्छे र तबुचे चुली। शरीरलाई स्थानीय तापक्रमसँग अनुकूलित पार्नका लागि यो ऐतिहासिक बस्तीमा दुई रात बास बस्न रुचाउँछन् प्रायः पर्यटकहरू।

तेङबुचे नपुग्दै हाम्रो स्वागतसत्कारमा कोङदे रि हिमाल नजिकिन्छन्। सँगसँगै पाहुनाको स्वागतमा फूलमाला लिएर पञ्चकन्या उभिए जसरी सगरमाथा, थामसेर्कु, ल्होत्से र आमाडब्लम हिमालहरू लाइनबद्ध हुन्छन्। जो हिजोसम्म हामीसँग लजाएर नाकमुख छोपीकन ओझेलिएका थिए।

प्रकृतिवाणी सुनिने आनन्ददायी घना जंगलको ठाडो उकालो चढ्दै छौं, तेङ्बुचे (३८६० मिटर) गाउँ चुम्नका लागि। कोलाहल वर्जित निर्जन प्रकृति बोल्ने जंगलको बाटो छ। ठिङे सल्ला, धुपी सल्ला, खर्सु, उत्तिस, ताक्पा, चरुवाका बोटविरुवा बेपत्तैसँग बाक्लिएका छन् यता।

जंगलले बाघ, भालु, कस्तुरी, रेड पान्डा, घडालजस्ता जीवजन्तुहरूलाई बास दिएको छ। बाँदर भने नाम्चेसम्म मात्र पाइन्छ, यता पाइँदैन। कालिज, डाँफे, मुनाललगायतका चराचुरुंगीको चिर्बिर लेकाली बतासको ध्वनि र अनेक थरी वनस्पति बास्ना फैलिएको छ बाटोभरि। जसको निकटताले तन र मनलाई एकत्वमा बाँधेको छ।

खासमा तेङबुचे गाउँलाई खुम्बु क्षेत्रको सबैभन्दा ठूलो ‘तेङ्बुचे गुम्बा (मोनास्ट्री)’ले बढी चिनाएको छ। यसैको प्रसिद्धिबाट गौरवान्वित बनेका छन् वरपरका गाउँहरू। सन् १९१६ देखि नै शेर्पाहरूको प्रमुख सांस्कृतिक चाडबाड र पर्वहरूको मूल थलो मानिँदै आएको गुम्बा साँच्चिकै सुन्दर, सानदार र अद्भुत छ। जति केलाए, कोट्याए पनि उत्तिकै परिपूर्ण  र सार्थक।

सांस्कृतिक हिसाबले मात्र होइन, भौतिक हिसाबले पनि सम्पन्न रहेछ तेङ्बुचे गुम्बा। गुम्बाभित्रको भव्य उज्यालो र चहकिलो संसारमा अनेक भावभंगिमाका बुद्धका विशाल प्रतिमाहरू देदीप्यमानसाथ ध्यानमग्न छन्। त्रिपिटक र बौद्ध सभ्यताका चित्र ज्यादै कलात्मक ढंगले कुँदिएका छन्।

गुम्बाभित्रको चित्रकारी र मूर्तिकारी अवर्णित छ। लाग्छ, हजार जिब्रो भएका शेषनागले पनि वर्णन गर्न सक्ने छैनन्। भित्रको मात्र के कुरा ! गुम्बा परिसर/बाहिर पनि असाध्यै कलात्मक कलाकारिताबाट भरिपूर्ण छ। अति उत्कृष्ट देखिन्छन्– गुम्बाका द्वारमा खोपिएका कालीगढी होस् या अनेकौं भाव जोडिएका रंगीचंगी बुट्टा र चित्र। प्रमुख गुम्बाको अघिल्तिर, ठुलो चोकको चार कुनामा फर्फराइरहने छोर्तेन र वरिपरिका माने अनि ससाना गुम्बाहरूले शोभा थपेकै छन्। मन तानिरहेकै छन्।

बाहिर उत्तरपट्टि एउटा खैरो रङको ढुंगामा तीन पाइला हिँडेको छाप छ। जुन लामा साङबा दोर्जेले टेकेका पाइलाहरू मानिन्छ। जनविश्वासको पौराणिक कथा यस्तो छ– पहिला जंगल र ढुंगैढुंगाले घेरिएको यो ठाउँमा दोर्जेले तपस्या गरेका रहेछन्।

आफ्ना गोडा चिप्लेर उनले तीन ठाउँमा टेक्न पुगेछन्। पछि यही ठाउँमा गुम्बा बनेको कुरा बताउँछन् यहाँका वरिष्ठ लामाहरू। यी तीन पाइलालाई भूत, वर्तमान र भविष्यका रूपमा व्याख्या गर्ने र बुझ्ने पनि गरिएको छ। सुरुमा ‘तिङ बिजे’ (तीन वटा पाइला) यो ठाउँको पुरानो नाम थियो। ‘तिङ बिजे’लाई मान्छेले बिगारेर तेङबुचे बनाएका हुन्।

पाँच सयको नोटमा फोटो छापिएको तेङबुचे गुम्बा प्राचीन बौद्ध, धर्म, चाडपर्व, इतिहास, सभ्यता, संस्कृतिको कहानी बोकेको छ। साथसाथै शैक्षिक तथ्यसमेत जोडिएका छन् यो गुम्बासँग। धेरैका लागि यो पवित्र ठाउँबाट सगरमाथा देख्न पाउनुलाई चुली चढ्न सकिने आधार मान्छन् र सम्झन्छन् यसलाई आशीर्वाद। धेरै आरोही तेङबुचेको दर्शन र अवलोकनपछि मात्रै सगरमाथातिर पाइला बढाउने गर्छन्।

अग्लो डाँडामा अवस्थित तेङबुचे गाउँ चारैतिरबाट चम्किला हिउँचुली र हरिया पहाडद्वारा घेरिएको छ। पूर्वबाट खाङतेका, थामसेर्कु हिमाल। दक्षिणबाट कोङदे रि हिमाल, कोङदे चुली, थामे चुली, सुन्दर हिमाल। पश्चिमबाट खुम्बिला हिमाल, चोलाक्छे र तबुचे चुली।

उत्तरबाट नुप्चे चुली, सर्वोच्च शिखर सगरमाथा, ल्होत्से चुली र आमाडब्लम हिमाल आँखामा हमेसा उज्याला बनेर बास बस्ने हिमालहरू हुन्। सगरमाथा आधार शिविरसम्मका पदमार्गबाट देखिने अधिकांश हिमालहरू यही स्वप्न बस्तीबाट स्पष्ट देखिन्छन्। अगाडिको पदयात्रामा पूरा गर्न नसक्ने (शारीरिक दुर्बलता र समयाभावका कारणबाट)हरू यिनै कल्पनातीत हिमालहरू हेर्छन्, मन प्रफुल्ल पार्छन् र भर्छन् तनमा ऊर्जा।

जीवनभरि नमेटिने लामो सम्झनाको सुखद अनुभूति बटुल्छन्। हामी भने भोलि डिङबुचे जाँदै छौं। त्यसपछि लोबुचे, गोरक्षप हुँदै विश्व चर्चित सगरमाथा आधारशिविर पुग्छौं। संसारको शिर सगरमाथा छुन नसके पनि आधारशिविरसम्म पुग्ने संसारका धेरैले सपना सजाएका हुन्छन्। मसँग साथ लागेर आएका चिनियाँ पाहुनालाई त्यहाँबाट सगरमाथा लगायत अन्य हिम शृंखला देखाएर दंग्याउनु छ ।

प्रकाशित: २२ असार २०८१ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App