सन् २०१४ को भदौ निख्रिँदै लाग्दा मेरा एक मित्र बेला बेला झन्की बस्थे मसँग, ‘कसैलाई चाबहिल–बाँसबारी आनाजाना राउन्ड टिकटै सेवा दिनुपर्ने, कसैलाई फाक्साको सिकार र जर्किने छ्याङसहित सातदोबाटोदेखि बाँसबारी पुर्याउनुपर्ने! तिमार्को भट्टराई ढुवानी सेवा हो म र मेरो भटभटे? अब २०१८ देखि पठाओ सेवा सुरु हुँदैछ, अनि मनलागी आवतजावत गर्नु जतासुकै। कहिले ट्याक्सीमा, कहिले भटभटेमा। तिमारु मक्खीचुसलाई त्यै ठिक हुन्छ अनि!’
म हाँसिरहेँ, मुख फर्काइनँ पनि, किनकि राम्रै थाहा थियो स्वभावका झडंगे भए पनि दिलका उनी हिरा हुन्।
त्यस्तैमा एकपटक बाँसबारीबाट चाबहिल फिर्दै गर्दा दर्के नै त होइन, सिमसिमे पानी चाहिँ पर्दै थियो। बाँसबारीबाट चाबहिल पुगुन्जेलमा मजाले भिजाएर सिमसिमे पानीले ज्यानलाई बेइमान गर्ने खालको चाहिँ पक्का थियो। छाता उघार्न थालेको मलाई उसले भन्यो, ‘यही ओढ न मैले ओडिराखेको। यो डबल रेनकोट हो। तिमी सानी डल्ली मान्छे, मजाले अटाउँछ्यौ। छाता ओढ्यौ भने भटभटे बिस्तारै कुदाउनुपर्छ, अनि के मतलब बैलगाडी चढ्नु र मोटरसाइकल चढ्नुमा।’
‘नाइँ! कहिल्यै ओढेकी छैन मैले यस्तो, दिउँसै ओढारभित्र बसेजस्तो। बरु बिस्तारै नै कुदाउ। कत्ति न टाढा पुग्नु छ र हाम्लाई, त्यै चाबेल त हो।’
‘लुलु छाताकुमारी, धेरै मुख चलाउनुभन्दा बसिहाल बरु।’
उसले छाता ओढेकी यो जिद्दी साथीलाई मोटरसाइकलमा चाबहिल छाडिदियो।
नभन्दै, २०७६ असार १३ गते, चाबहिलबाट पहिलो पटक पठाओ मोटरसाइकलमा सवार भएँ। ऊबेला मेरा मित्रले गरेको भविष्यवाणी सदर भएको मानें। त्यसयता पनि बेलाबेला पठाओ सेवा लिरहें।
तर चाबहिलबाट कपन डेरा सरेको अर्को वर्षको साउनमा टिबीलगायत अनेक थरी रोगले गाँजेर मलाई खटियामा थलायो। कतै बाहिरतिर जाने कुरा भएन। अलिपछिदेखि चाहिँ कहिलेकाहिँ अस्पताल फलोअपमा जाँदा र अस्पतालबाट फिर्दा सहयोगी बहिनीसँग सामान्य ट्याक्सीमै गएँ। सम्म ठाउँमा बिस्तारै हिँड्न सक्ने भएदेखि हिजोआज म पठाओ सेवाको अम्मली बनेकी छु। ट्याक्सीभन्दा धेरै मोटरसाइकलको। छिटोछरितो अनि सस्तो हुन्छ नि ट्याक्सीभन्दा मोटरसाइकल।
फेरि कपन आकाशेधारा चोकैमा पुगे पनि चाबहिल चोकमा झैं तुका तु जहाँ पनि जाने बस, माइक्रो बस र टेम्पो पाइहाल्न अलि मुस्किलै छ। त्यसैले पनि पठाओ गुहार्नु मेरो रहर होइन, बाध्यता बनेको छ। अब बाध्यता नै बनिसकेपछि अनुहार कुच्याएर सवारी किन गर्ने? चालक दाजुभाइले बात मार्न खोजे भने म पनि राम्रै बोलिदिन्छु, अनि त्यहींबाट सुरु हुन्छ समय कटनी ‘पठाओ गफ’।
थुप्रै ई–कमर्स कम्पनीहरूमाझ मोटरसाइकल र साइकलबाट मालसामान छिटो पुर्याउने कामको थालनी गरेर सन् २०१५ देखि बंगलादेशबाट पठाओ सेवाको सुरुवात भएको थियो। र २०१८ को सेप्टेम्बरमा मोटरसाइकल साथै ट्याक्सी सेवा दिने पठाओ नेपालमा सुरु भयो।
‘पठाऊ’ को माने बंगाली भाषामा ‘पठाओ’ हुनुले यो सवारी सेवाको नाउँ नेपालमा पनि सार्थक रहन गएझैं लाग्छ। हाल झन्डै एक लाख ५० हजार चालक यस अनलाइन राइडर एप ‘पठाओ’मा दर्ता भएका छन्।
यो संख्याको ०.२६ प्रतिशत मात्र अर्थात् लगभग ४०० महिला चालक पठाओमा कार्यरत छन्। तर पनि अहिलेसम्म महिला चालकसँग चाहिँ सहयात्रा गर्न पाएकी छैन। विडम्बना!
अर्को सार्क मुलुक पाकिस्तानमा चाहिँ २०१७ को मार्चदेखि थालिएको अनलाइन सवारी एप ‘पाक्सी’ (पिक ट्याक्सी)को लोकप्रियता बढ्दो छ, जुन महिला चालकद्वारा चलाइन्छन्।
पाकिस्तानको कराँचीमा अनलाइन सवारी एप ‘बाइकिया’ २०१७ को अन्तिम समयतिर सुरु भएको थियो। ‘बाइकिया’ले सुरुमा मोटरसाइकल सेवा मात्र दिए पनि पछि बिस्तारै ‘बाइकिया’ अनलाइन राइडर सेवामा अटो रिक्सा र कार पनि थपियो।
हाम्रा पठाओ, टुटल र इन ड्राइभजस्तै पाकिस्तानी सहरहरूमा अनलाइन सवारी एपहरू ‘पाक्सी’ र ‘बाइकिया’ बाहेक ‘ड्राइभ’ र ‘एम राइड्स’ पनि चलायमान छन्। ‘पाक्सी’मा चाहिँ लोग्नेमान्छे सवार हुन सक्दैनन्। पिक ट्याक्सीले १२ वर्षदेखि ७० वर्षका पुरुष यात्रीलाई आफ्नो सेवा प्रदान गर्दैन।
पठाओ सवारी गर्दाको मेरो अनुभव–सन्दर्भमा गएको एउटा साउने दिन त्रिवि शिक्षण अस्पतालमा डेरा फर्कन लाग्दा मजाले पानी परिरहेको थियो। ऊबेला २०१४ भदौमा मेरो साथीले भनेजसरी नै पठाओ बाइकवाला भाइले भने, ‘दिदी, यही मेरो डबल रेनकोट ओढ्नु न।’
‘मेरै छाता ओढ्छु नि, ल? यो कहिल्यै ओढेकी छैन, अप्ठ्यारो लाग्छ।’
‘छाता ओढेसी स्लो चलाउनुपर्छ। यो रेनकोट ओढ्नुभयो भने तपाईंको फाइलको झोला पनि भिज्दैन। तपाईंको छाता त अलिकति स्पिड बढायो कि उडिहाल्छ नि।’
‘लौ त!’ भनेर चढें अनि ओढें उसको दुई टाउके बर्सादी। खासै अप्ठ्यारो लागेन त्यो ओढ्दा। मुख बाहिर निकाल्न पाइहालिँदो रहेछ, त्यसो भएपछि निसासिन्छु होला भन्ने मेरो आदिम डरले पनि कुलेलम ठोक्यो।
०००
अस्ति एक पटक सानेपामा भएको एउटा पुस्तक विमोचन कार्यक्रमपछि घर फर्कंदै थिएँ। बस्नासाथ बाइक चालक भाइले भने, ‘कम्मरमा समाउनू न दिदी! हातमा, काँधमा समाउँदा त कसैले हातै चलाउन नदिएजस्तो असजिलो लाग्छ।’
‘आफ्नै भाइसँग मोटरसाइकलमा बस्दा त अहिलेसम्म मैले उसको कम्मरमा समाएकी छैनँ, तपाईंको कम्मरमा समाउन मलाई पनि त सहज लाग्दैन नि!’
‘ल त ल, समाउनुस् मेरो काँधमै!’
उसको काँधमा समाएर ढुक्कै आउँदैथिएँ, अचानक डर डर पो लाग्यो। मोटरसाइकल चलाइरहेका ती भाइको त दाहिने कुमको हड्डी र मासु घरिघरि चल्न थाल्यो, मतलब आँखा फर्फराए जसरी फर्फराउन थाल्यो फडकफडक! उनको कुमको मासु चल्ने कैफियत मलाई थाहा भएन। सोचें-ड्राइभरीको अनुभव त राम्रै होला नि, नत्र जोखिम मोलेर किन पठाओ सेवामा होमिन्थे बरा!
०००
पठाओले सवारी सेवा दिनुबाहेक खानेकुरा पुर्याउने सेवा पनि दिने गरेको छ। अर्थोक जे जति सेवा दिइरहे पनि पठाओको भाषा सपार्ने कार्यले चाहिँ उल्लेख्य फड्को मारेको महसुस हुन्छ।
पठाओ राइडरहरू भाँती पुर्याएर सेवाग्राहीसँग कुरा गर्छन्। तर कहिलेकाहीं चाहिँ शिष्टता ओभरलोड भयो भने पनि झिजो लाग्दो रहेछ ! भोजपुरका एक जना साङपाङ भाइले त्यसै गरे। महाराजगन्जको मनमोहन कार्डियो थोरासिक अस्पताल पुगेपछि म बाइकबाट झरें र भाडा दिएँ।
‘तपाईंको काम एकछिन त हो, सकेर आइस्यो न म्याम ! पैसा भरे लिउँला न एकैचोटि,’ पैसा नलिएर त्यसो पो भन्छन् उनी।
मैले जति भने पनि उनको अनुरोध गराई थामिने छाँट देखिएन। केही सिप नलागेपछि म ल्याबतर्फ लागें। मेरो ब्लड स्याम्पल निकालुन्जेल पर्खिबसेर, त्यसपछि बल्ल मलाई घर ल्याइपुर्याउन उनी तात्तिए। त्यसरी स्नेहसाथ लैजानु ल्याउनु त गरे नि! तर म्यामका म्याम लगाएर हैरान पारे, मेरो कान फतक्कै पाक्यो जस्तो लाग्यो मलाई।
०००
एक बिहान, मन्डिखाटार र चक्रपथ जोडिने ठाउँको अव्यवस्थित जाममा बाइकले अलिक बेर अडिन पर्यो। चालक भाइले गुनासो गरे, ‘एउटा लाइट राखिदिनु नि ! ट्राफिक बस्नै पर्दैनथ्यो। बेकारमा छ्यास्स अघि बढियो भने रोकेर हजार रूपैयाँ ठटाइहाल्छ। दश पटक ओहोरदोहोर गरेर बल्ल हजार रूपैयाँ कमाको हुन्छ, त्यो पनि लगिदिएपछि के गर्ने!’
‘दिदी नेवार हो?’ चालकको सोधाइको जवाफमा ‘होइन’ राई हुँ तर राई भाषा जान्दिनँ,’ भनें।
विराटनगरका ती यादव भाइ र उनकी जहान राइनी बहिनीले प्रेम विवाह गरेका रहेछन्।
‘मेरी बुढी पनि राई हो, इलामकी। ऊ पनि राई कुरा जान्दैन किनकि उसको बाबु राई, आमा पाण्डे। अहिले उसैलाई अफिस पुर्याएर आएर चुनिखेल डेरामा खान जाँदै थिएँ। मेरो चाहिँ बसाइ चुनिखेलमा हो। तपाईंको भन्दा दुर्ई किलोमिटर पूर्व।’
‘चुनिखेल त ललितपुर पर्छ हैन र भाइ?’
‘हो। ललितपुर, बुङमतीमा छ। याँ बुढानीलकण्ठ नगरपालिकामा पनि छ चुनिखेल। कपन–आकाशेधारादेखि मास्तिर पर्छ।’
‘जता पनि कपनैकपन रहेछ यहाँ त!’
‘आम्मै ! कपन त ठुलो छ नि दिदी! सुकेधारादेखि, मन्डिखाटारदेखि, बौद्धदेखि उता, सबै कपन।’
‘हो रैछ। आकाशेधारा पनि कता कतासम्म पर्छ, मैले अझसम्म चाल पाउँदिनँ। चाबेल गणेशथान पश्चिमको इलाकामा बस्दा त त्याँको चप्पा चप्पा थाहा थियो, लामो बसाइ भएर होला।’
‘हो नि दिदी! हामी जस्ताको त डेरामै जुनी बित्छ। मेरा आफ्नै काका काकी स्वयम्भूको एउटा घरमा ११ वर्ष बसे। घरबेटीले त्यो घर बेचेपछि काकाकाकी अर्को घरमा सरेर २२ वर्षदेखि त्यही डेरामै बसिरहेका छन्।’
०००
गंगालाल हृदय अस्पतालबाट डेरा फर्कंदा पठाओका चालकले भने, ‘गोल्फुटारको बाटो जाऊँ है दिदी? बाटो सोझो पनि छ, जामबाट पनि जोगिन्छौं।’
‘भैहाल्छ नि।’
चुच्चे नाकवाला उनलाई देख्दै जनै लाउने जातिका होलान् भनेर लख काटें मैले।
पछि कुराकानी सुरु भएपछि थाहा लाग्यो, उनी त लिम्बू पो रहेछन्। उनकी आमा ब्राह्मणी बुबा नेम्वाङ। तर उनी पनि जातीय भाषाको मामिलामा दुरुस्त मै जस्ता रहेछन्। मिस्कट जातजाति भएको गाउँमा जन्मेहुर्केका रहेछन्। ‘लिम्बू कुरा बोल्नै जान्नु हुन्न आमा। मेरा बुबा चाहिँ ताप्लेजुङ पाथीभरादेखि आकलझुकल आउने परिवारका मान्छेसँग बोलेर मुखको चिलाइ मेट्नुहुन्छ। अनि म के खा’र लिम्बू कुरा बोल्न जान्थें।’
‘अँ त नि ! म नि त्यस्तै परिवार र समाजमा जन्मेर हुर्कें अनि राई कुरा बोल्न र बुझ्न नजान्ने भएँ,’ खुब चित्त बुझेर सही थापें मैले।
‘यो सबको कारण बसाइँसराइ हो दिदी। हाम्रा बुबाहरू सुखसुविस्ता पाइएला भनेर पहाड छाडेर मधेस झरे। अनि यस्तो भयो। छोराछोरीले बाबुको जात र थर मात्र आफ्नो नाउँमा झुन्डाए, बाँकी भाषा संस्कृति चालचलन सबै गए गोलखाडी! मतवाली साथीहरू पहिचान पहिचान भनेर कुर्लिंदै गर्दा आफूचाहिँ टाउको र मुख लुकाउने दुलो खोजिबस्छु दिदी म त,’ बसाइँसराइप्रति उब्जेको मनको तिक्तता मजैले पोखे लिम्बू भाइले।
गोल्फुटारदेखि कपन आकाशेधारा ल्याइपुर्याउन्जेल, कहिल्यै नहिँडेका बाटासँग मलाई चिनाए तिनले। नाकठाडो उकालीहरू, चिप्लेटी खेल्दै बाइकसँगै गुड्किउँला जस्ता ओरालीहरू र जंगलबिचका घुमाउरा पहाडी बाटा ! डर डर लागे पनि एक प्रकारको रोमाञ्च भोगिरहेकी थिएँ म। कुराको सुरमा अझै पनि घरिघरि बसाइँसराइ प्रचलनप्रति झोक्किन छाडेका थिएनन् ती भाइ।
०००
एक दिन मैतीदेवी गइरहँदा बाइक चालक भाइको रङ खुइलेको कमिज ढाडमा मजैले उध्रेको देखेर नमजा लाग्यो मलाई। धेरै देखेकी छु, उनी जस्ता जल्दो बल्दो उमेरका युवाले ठ्याक्कै देखिने ठाउँमा फाटेको उध्रेको लुगा हत्तपत्त लगाउँदैनन्।
‘भाइ, पठाओ चलाउन थाल्नुभएको कति भयो?’ चाबहिलबाट हाँडीगाउँ जादैगर्दा पहेँलो पुलमुनि मैले सोधें। ‘दुई वर्ष भयो, पत्याउनुहुन्छ? दुई वर्षमा तीनवटा बाइक किनिसकेँ। नयाँ त काँ पाउनु, सेकेन्ड ह्यान्ड किन्छु। दुईतीन महिना चलाउन पाएको हुँदैन, घरि यो घरि त्यो सामान फेर्दा फेर्दा हैरान ! अनि अर्को सस्तो नखोजी धरै छैन। सस्तो बेसाहाले पखाला चल्छ भन्थे, हो रहेछ दिदी,’ भाइले आफ्नो सत्य बोले।
‘आखिर पेसा नै यही भएपछि बल गरेर, केही जोगाड गरेर एउटा सस्तोमस्तो नयाँ बाइक नै किन्दा हुँदैन र?’
‘घरव्यवहार राम्ररी चल्दिएको भए त हुन्थ्यो नि। रोगी बुबाआमा काम गर्न सक्नुहुन्न। बिहे भएकी एउटी दिदी दुई वर्षे भान्जासहित माइतै बस्नुहुन्छ। भाइ स्कुल पढ्दै छ। कमाउने मै एक्लो हुँ दिदी। सत्र वर्षकी बहिनीले धन्न अपाङ्ग टेवा संस्थामा निःशुल्क बस्न पाएकी छ। नत्र त ...।’
‘ओहो! बहिनी किन त्यो संस्थामा बस्नुपर्यो त? सरी, भन्न नमिल्ने भए कर छैन, भाइ!’
‘सबैलाई आफ्ना दुःख बताएर त बाँचिराख्छौं हामी। भन्न किन नमिल्नु दिदी, सानी छँदै पहाड घरमा आगोमा जलेर बहिनीका दुवै गोडा घुँडा मास्तिरबाट काट्नुपर्यो। बैनी एघारकी भएपछि काठमान्डूको एउटा समूहले बैनीलाई कृत्रिम खुट्टा लाइदिने भयो। अनि हामी परिवारै यता आयौं। उतिखेर बैनीले देब्रे कृत्रिम खुट्टा लाएपछि राम्रो प्राक्टिस गर्न सकिन अनि त्यो खुट्टा निकाल्नुपर्यो। अहिले फेरि कति खेपको भनसुन र दौडधुपपछि ६ महिना भयो, दाहिने आर्टिफिसियल लेग लाएकी बैनीले। वाकरसँग हिँड्ने प्राक्टिस थालेकी छ।’
ओहो! त्यसपछि म निःशब्द भएँ।
०००
पठाओ सफरको दौरानमा एक प्रौढ ट्याक्सी चालक मेरा आफन्ती जत्तिकै बने, तीर्थबहादुर तामाङ। सुरु सुरुमा मोटरसाइकलमा बस्न नसक्नाले अस्पताल र यताउता जाँदाआउँदा म ट्याक्सी नै चढ्ने गर्थें। त्यस्तैमा उनीसँग भेट भएथ्यो।
‘मो जाँ भए नि आउँछ बैनी। आबो तपैं कतै जानुपरो भने मोलाई नै फुन गर है?’ पहिलो भेटमै तीर्थ दाइले ‘बैनी’ पुकारे मलाई।
त्यसपछि त प्रायः उनकै ट्याक्सी चढें। खुब बोल्नुपर्ने उनलाई। बाटोभरि सुनाइबस्थे, ‘धन कमौन मोइले ट्यौसी चलाको हैन बैनी। काभ्रेको फूलबारी नमोबुद्धमा घर छ। २५ मुरी मकै, २८ मुरी धान फल्ने खेतबारी छ। तो अन्न आपूmले खा’र सक्दैन हामी।’
‘अनि त्यतिका सम्पत्ति र घरबार भएर पनि किन यहीं आउनुभा’को त?’
‘यै छोरछोरीले गर्दा। यिनारुलाई यैं पढ्नु परो अरे। डेरा खोजेर बस् त तेसोभा भन्दा नि मानेन। बाउआमा सँगै चाइयो अरे। कपनमा यौटा सानो घर किनाएरै छोडो। सन्तानको नाउँमा त्यै दुई जाना, जे जे भनो मान्नै परो के रे।’
‘ए!’
‘पढेर मत्तै के गर्नु, आइले कालेज पढ्ने छोराले च्या पका’र खानु नि सक्दैन। आमाकै मुख ताक्छ।’
अनि पछि जब म पठाओको मोटरसाइकल चढ्न थालें। तीर्थ दाइले अझ पनि मलाई छोड्न मानेनन्। कोही यात्रुलाई त्रि.वि. शिक्षण अस्पताल छाड्न गएका रहेछन् त्यो दिन। बाइकबाट ओर्लंदै गरेकी मलाई झ्वास्स देखिहाले। त्यसपछि आधा घण्टा कुरेर मलाई कपन ल्याएर छाडिदिएपछि मात्र चैनको सास फेरे उनले।
बिदा हुँदा भने, ‘बाइकलाई दिने जति नै पैसा मोलाई दिए भैगोन्त। भोन्यो ता, मो पैसा कमौनु ट्यौसी चलौंदैना। ट्याम पास गर्नु र आलिकति धर्म कमौनु चलौंछ। मोरेर जाँदा यो सम्पत्ति मोसँग जान्छा र? घरमा बसेर के गर्नु, बुढाबुढी ब्यानभरि हिँड्छ हामी। बुढीलाई कैलेकइँ मन्दिर लइदिन्छ। आनी, फापरको ढिँडो खाएसी ट्यौसी निकाल्छ मो। तपैंले केई अप्ठेरो नमान् क्या।’
त्यसपछि तीर्थ दाइ नजिकै छन् भने उनैलाई बोलाउन थालें। कुरैकुरामा दुई महिनाअघि सुनाए, ‘आबो हामी बुढाबुढी लन्डन जाँदैछ छोरीलाई भेट्नु।’
‘ए राम्रो। अनि छोरा याँ न्यास्रिन्छ होला एक्लै त।’
चिया पकाएर खान नसक्ने दाइको छोरालाई सम्झेर मैले सोधें।
‘आफ्नु देश, आफ्नु ठाउँमा कसोरी एक्लै ? जता हेरो सप्पै आफ्नु। उसको दिदी पराया मुलुकमा कसोरी पढ्छ होला। कसोरी बेभारको टन्टा, पढाइ, जागिरको तनाउसँग भिड्छ होला। छोरी ह्वाँ लन्डनमा बिसन्चो भो। याँ मन कुडाउनु बाहेक केइ गर्नु सक्दैना। घरमा पानीसम्म नतताको केटी, भातभान्सा जोहो गर्दै दुःखले पढ्दैछ बिदेसाँ। छोरीलाई हेरी मेरो छोरालाई त हाइसन्चो, अनि केलाई न्यास्रो?’
व्यवहारले खारिएका दाइले पुत्रमोहलाई भित्री अन्तरमा दबाए पनि उनको कुरा मेरो मनले त्यति खाएन किनकि गाउँबाट सहर पसेका मजस्ता धेरैलाई काठमाडौं पनि विदेशजत्तिकै छ। छिमेकीहरूसँग बिनसित्ति पानी बाराबारजस्तो स्थितिमा के खाएर मानौं सबै आफ्ना। जता हेर्यो बिरानै बिरानो लागेर उकुसमुकुस हुन्छ मलाई त।
प्रकाशित: ५ जेष्ठ २०८१ ०९:०३ शनिबार