७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

शास्त्रीय मान्यतामा नयाँ वर्ष

शास्त्र

ज्योतिष शास्त्रअन्तर्गत सिद्धान्त ज्योतिषअनुसार सृष्टिदेखि अहिले (सृष्टितो गताब्दाः) सम्म गणना गर्दा एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार १२५ वर्ष बितिसकेको छ। त्यस्तै कलियुग सुरु भएको (कलेर्गताब्दाः) ५१२५, शालिवाहनीय शाक संवत् १९४६ र नेपाल संवत् ११४४/४५ पुगिसकेको छ।

धार्मिक तथा ऐतिहासिक तथ्यलाई हेर्ने हो भने यस्ता अनेकौं संवत्हरू चलेको पाइन्छ। तीमध्ये भारतीय शासक विक्रमादित्यले सुरु गरेको ऐतिहासिक आधारमा प्रायः नेपाल–भारतलगायत हिन्दु बाहुल्य देशमा विक्रम संवत् बढी प्रचलनमा रहेको छ। यस संवत्को पहिलो दिन वैशाख १ गतेलाई नयाँ वर्षको रूपमा मनाउने गरिएको छ तर वैशाख १ गतेलाई शास्त्रमा भने नयाँ संवत्सर मानी विशेष पर्वका रूपमा लिइएको पाइन्छ।

‘बृहस्पतेर्मध्यमराशिभोगात्

संवत्सरं सांहितिका वदन्ति’

अर्थात् नवग्रहमध्ये बृहस्पतिले जब मध्यम मानबाट एक वर्ष एक राशिमा भोग गरेर अर्को राशिमा प्रवेश गर्छ तब संवत्सर वा वर्ष परिवर्तन हुन्छ। यही वैशाख वा नयाँ संवत्सरबाटै बृहस्पति पनि नयाँ राशिमा प्रवेश गर्ने बताइएको छ। संवत्सर वर्षको पर्याय शब्द हो। यही नयाँ संवत्सरको सुरुवातलाई नै नयाँ वर्षका रूपमा मनाउन थालिएको ज्योतिष शास्त्रमा प्रमाण भेटिन्छ।

शास्त्रमा नवग्रहमध्ये सूर्य, चन्द्र र बृहस्पति ग्रहलाई महत्त्वपूर्ण ग्रहका रूपमा लिइएको छ। सौर्य मासमा सूर्यलाई र चान्द्र मासमा चन्द्रमालाई आधार मानिएको छ। बृहस्पति एक राशिमा एक वर्ष, सूर्य एक राशिमा एक महिना, चन्द्रमा एक राशिमा २.५ दिन रहने समय निर्धारण गरिएको छ। फलित ज्योतिषले फलादेश गर्दा र शुभ मुहूर्त निकाल्दा यी ग्रहहरू राशिमा रहेको आधारलाई बढी प्राथमिकता दिएको छ।

यसरी ज्योतिषीय ज्ञानलाई आधार मानी ग्रहचक्रको गतिलाई गणना गरेर समयचत्र (दिन–रात, बार, तिथि, पक्ष, मास, अयन, संवत्सरजस्ता अवधिमा वर्गीकरण गरिएको पाइन्छ। संवत् धेरै छन् तर पूर्वीय ज्योतिषीय परम्परा अनुसार तय गरिएका पञ्चाङ्गमा वैशाख १ वा मेष सङ्क्रान्तिलाई नै नयाँ वर्ष प्रारम्भ मानिएको छ।

सूर्यको स्थितिअनुसार दिनरात र मिति छुट्याइन्छ भने चन्द्रमाको कलाअनुसार तिथि र पक्ष निर्धारण गरिएको छ। त्यस्तै संवत्सरको निर्धारण बृहस्पतिबाट गरिएको छ। सूर्यको स्थितिअनुसार ३० दिनको एक सौर्यमास, एक संवत्सरमा ३६५ दिन र चन्द्रमाको स्थितिअनुसार कृष्ण र शुक्ल पक्ष निर्धारण गरेको पाइन्छ।

चन्द्रमाको स्थितिअनुसार कृष्ण र शुक्ल पक्ष गरी एक चान्द्रमास मानिएको छ। अर्थात् शुक्लपक्षको प्रतिपदा (परेवा) तिथिदेखि कृष्णपक्षको अमावास्या (औंसी) सम्मको अवधि वा कृष्णपक्षको प्रतिपदा (परेवा) तिथिदेखि शुक्लपक्षको पूर्णिमासम्मको अवधिलाई चान्द्रमान भनिन्छ।

एउटा राशिमा सूर्य प्रवेश गरेको समय (सङ्क्रान्ति) देखि अर्को राशिमा सूर्य प्रवेश गरेको (अर्को सङ्क्रान्ति) सम्मको अवधिलाई सौरमान भनिन्छ। चान्द्र र सौर्यमान एकै दिन परेको भोलिपल्टको दिनलाई नयाँ वर्ष मानिन्छ तर तिथि क्षय भएर क्षय मास हुने भएकाले यो संयोग नपर्न सक्छ र विशेष गरी सूर्यको राशि सङ्क्रमण र संवत्सर परिवर्तनको दिनलाई नै नयाँ वर्ष मानिएको हो?

नवग्रहमध्ये पहिलो र ग्रहका राजा मानिने सूर्य ग्रहले वैशाखदेखि चैतसम्म क्रमशः १२ महिनामा १२ वटै राशिचक्र प्रवेश गर्दछ। क्रमशः वैशाखमा मेष, जेठमा वृष, असारमा मिथुन, साउनमा कर्कट, भदौमा सिंह, असोजमा कन्या, कात्तिकमा तुला, मंसिरमा वृश्चिक, पुसमा धनु, माघमा मकर, फागुनमा कुम्भ र चैतमा मीन राशिमा सूर्य सङ्क्रमण गर्दछ र एक राशिमा एक महिनाभर सूर्य रहने ज्योतिष शास्त्रमा उल्लेख छ। तसर्थ १२ महिनामध्ये पहिलो वैशाखमा राशिहरूमध्ये पहिलो मेष राशिमा सूर्य सङ्क्रमण भएको दोस्रो शास्त्रीय आधारमा नयाँ वर्ष वा नयाँ संवत्सर वैशाख १ गते मनाइन्छ।

प्रभवो विभवो शुक्लः प्रमोदोऽथ प्रजापतिः।

अङ्गिरा श्रीमुखो भावो युवा धाता तथैव च।।

ईश्वरो’ बहुधान्यश्च प्रमाथी विक्रमो वृषः।

चित्रभानुः सुभानुश्च तारणः पार्थिवो व्ययः।।

सर्वजित् सर्वधारी च, विरोधी विकृतिः खरः।

नन्दनो विजयश्चैव, जयो मन्मथ दुर्मुखो।।

हेमलम्बी विलम्बी च विकारी शार्वरी प्लवः।

शुभकृत् शोभकृत क्रोधी, विश्वावसु पराभवो।।

प्लवङ्गः कीलकः सौम्यः साधारणो विरोधकृत्।

परिधावी प्रमादी च, आनन्दो राक्षसो नलः।।

–मानसागरी (ज्योतिष शास्त्र)

प्रभव, विभव, शुक्ल, प्रमोद, प्रजापति, अङ्गिरा, श्रीमुख, भाव, युवा, धाता, ईश्वर, बहुधान्य, प्रमाथी, विक्रम, वृष, चित्रभानु, सुभानु, तारण, पार्थिव, व्यय, सर्वजित्, सर्वधारी, विरोधी, विकृति, खर, नन्दन, विजय, जय, मन्मथ, दुर्मुख, हेमलम्बी, विलम्बी, विकारी, शार्वरी, प्लव, शुभकृत्, शोभकृत्, क्रोधी, विश्वावसु, पराभव, प्लवङ्ग, कीलक, सौम्य, साधारण, विरोधकृत्, परिधावी, प्रमादी, आनन्द, राक्षस, नल, पिङ्गल, कालयुक्त, सिद्धार्थः रौद्र, दुर्मति, दुन्दुभि, रुधिरोद्गारी, रक्ताक्षी, क्रोधन, क्षय गरी ६० संवत्सर हुन्छन्। तिनलाई पनि २०÷२० भागमा विभाजन गरी ब्रह्म–विष्णु–रुद्र नाम दिई विंशतिकामा विभाजन गरी शास्त्रमा सारणिद्वार मानिएको छ।

ज्योतिष गणनाअनुसार वि.सं. २०८१ सालमा बृहस्पति पिङ्ल नामको संवत्सरबाट कालयुक्त नामको संवत्सरमा प्रवेश गरी संवत्सरभरि बृहस्पति मेष राशिमा रहन्छ। संवत्सरको नामअनुसार फल मिल्ने र बृहस्पतिको राशिस्थिति हेरेर कतिपय शुभ कर्म गर्न हुने वा नहुने पनि शास्त्रमा निर्धारण गरिएको छ। यस अर्थमा देवताका गुरु बृहस्पति ग्रहको महत्त्वपूर्ण भूमिका रहेको छ।

संवत्सर फल

ज्योतिष शास्त्रले बृहस्पतिस्थित राशि, संवत्सर, सो संवत्सरमा राजा र मन्त्री नियुक्त ग्रह तथा समस्त ग्रहचक्रबाट आएको तरङ्गआदिको आधारमा संवत्सर फल (वर्षफल) निर्धारण गरेको छ। यस वर्ष सुरु हुन लागेको कालयुक्त नामको संवत्सरको फल समसामयिक नीतिनियममा रहने भएकाले मानिसलगायत सबै प्राणीहरूमा सुखको अनुभूति हुने शास्त्रमा बताइएको छ।

खाद्यान्न उत्पादनमा वृद्धि हुने, राजा (शासकवर्ग) र जनताबीच शान्ति कायम हुने र शत्रुता हट्नेछ। सर्वत्र धान्यादि उत्पादनले पृथ्वी शोभायमान देखिनेछ। किसानले आफ्नो उत्पादनको यथोचित मूल्यप्राप्ति गर्नाले प्रसन्नता छाउनेछ। बृहस्पतिको उदयास्त कार्तिक वर्ष परेकाले अग्निजीवी, गाईपालक र यातायात व्यवसायी अलि पीडित हुनेछन्।

ग्रहस्थितिअनुसार मङ्गल राजा भएकाले शस्त्रप्रकोप, अग्निभय, भोकमरीजस्ता अशुभ फल बढ्ने र फलफूल व्यवसायमा वृद्धि हुनेछ। साथै मङ्गलकै प्रभावले जनधनको क्षति, चोरडाँकाको भय, शासकहरूमा वैमनश्य, आम नागरिकमा दुःखकष्ट, रोगव्याधि बढ्नेछ। मेघ गर्जन बढी भए पनि वर्षामा न्यूनता आउने सम्भावना प्रबल छ।

ग्रहस्थितिमा शनि मन्त्री रहकाले सरकार क्रूर र नृशंस बन्ने, जनधनको सुरक्षामा सरकार उदासीन बन्ने र जनता दुःखी हुनेछन्। त्यस्तै हात्ती, घोडा, गधा, गाईवस्तुलगायत पशुधनमा रोगव्याधिको सम्भावना, असन्तुलित वृष्टिका कारण धान्यादि उत्पादनमा न्यूनताजस्ता अशुभ फलका बाबजुद केही शुभफलको सम्भावना रहेको छ।

गहुँ एवं सस्र्युं प्रजातिका अन्न तथा दुग्धजन्य उत्पादनमा वृद्धि हुनेछ। अल्पवृष्टि र सरकारका क्रियाकलापका कारण जनमानसमा सन्ताप र विविध सङ्क्रामक रोगले जनता दुःखी हुनेछन्। तालतलैयामा जलवृद्धि, ज्ञानी साधुसन्त, ब्राहमण एवं प्राज्ञिकजनप्रति लोकको सम्मानजनक भाव बढ्नेछ।

मुगा, तामा, रक्तचन्दन, रातो कपडालगायत राता वर्णका वस्तुमा मूल्यवृद्धि हुनेछ। शासकवर्ग भोगविलासमा प्रवृत्त हुनेछन्। शास्त्रवेत्ता, ब्राह्मणहरू वेद, उपनिषद्, पुराणलगायत शास्त्रको पाठपारायण एवं शास्त्रमा वैज्ञानिकताको अध्ययन–अनुसन्धानमा लाग्नेछन्।

व्यापक मूल्यवृद्धि हुनाले उपभोक्ता मारमा पर्नेछन्। न्यायपूर्वक सुरक्षा संयन्त्र परिचालन नहुनाले गाउँ, सहर कतै पनि सुख र सुरक्षाको अनुभूति हुनेछैन। देश विग्रहमा जानसक्ने खतरा रहेको छ। राज्यसंयन्त्र परनिर्देशनमा चल्नाले नागरिक पलायन हुने क्रम बढ्नेछ।

नयाँ वर्ष मनाउने तरिका

यसरी ग्रहचक्रको प्रत्यक्ष फल वा आकाशीय पिण्डबाट आउने तरङ्गको चराचर जगतमा प्रभाव पर्ने भएकाले ती तरङ्गहरूलाई रोक्न वा प्रभाव कम गर्नका लागि पनि शास्त्रीय मान्यताका आधारमा नयाँ वर्ष मनाउन आवश्यक छ।

खानपान, रहनसहन, भक्तिभाव र सद्व्यवहारले आकाशीय पिण्डबाट आउने नकारात्मक तरङ्गहरूको प्रभाव कम गर्ने प्राज्ञहरू बताउँछन्। पछिल्लो समय नयाँ वर्षलाई हर्षोल्लासका साथ मनाउने नाममा अत्यधिक मात्रामा राजसी र तामसी भोजन ग्रहण गर्ने, अनावश्यक रूपमा घुमफिर गरी व्यर्थमा समययापन गर्ने कुसंस्कारको विकास भएको पाइन्छ। तर शास्त्रले ग्रहहरूबाट आउने नकारात्मक तरङ्गहरूलाई कम गरी सकारात्मक ऊर्जाका लागि नयाँ वर्षको दिन तीर्थयात्रा गर्ने, देवीदेवताको पूजापाठ गर्ने, आराधना गर्ने, दान गर्ने वा अशक्त–अपाङ्ग–रोगी–असहाय–विपन्नआदि अवस्थाका मानिसको सेवा गर्ने, घरपरिवारमा सुखसमृद्धिको कामना गर्दै सरसफाइ गरेर घरमा रुद्रीपूजा, हवन गर्ने, विषुवत् शान्ति गर्ने र सकारात्मक ऊर्जा प्राप्त गर्नुपर्ने बताएको छ।

यस वर्ष मेष र तुला राशिमा विषु परेकाले मेष र तुला राशिवालाले विशेष गरी विषुवत् शान्ति गर्नुपर्ने शास्त्रीय विधानलाई विभिन्न पञ्चाङ्गहरूले संकेत गरिदिएका छन्।

तसर्थ नयाँ वर्ष अधिकतर राजसी र तामसी भोजन गरेर र भौतिकतामा रमाएर होइन शास्त्रसम्मत खानपान गरी अध्यात्म चिन्तन वा धार्मिक क्रियाकलापमा संलग्न भएर मनाउँदा मानव कल्याण हुनेमा दुईमत छैन। नयाँ वर्षले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस्, शुभकामना! 

प्रकाशित: १ वैशाख २०८१ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App