९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

महेन्द्र-बिपी बेमेल नै नेपालको दुर्भाग्य

बजारमा भर्खरै सार्वजनिक भएको पुस्तक ‘दरबारबाट देखेको नेपाल’ शाही पाश्र्ववर्ती एवम् पूर्व सैनिक सचिव विवेककुमार शाहले लेखेका हुन्। पुस्तकको पहिलो अध्याय सुरु हुनुअघि लेखकले पुस्तक किन लेखियो र उद्देश्य के हो भन्ने उल्लेख गरेका छन्।

अध्याय सुरु भएपछि दरबारबाट देखेको नेपाल वर्णन गरिएको छ। यसमा राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रको कार्यशैली र दृष्टकोण प्रस्तुत गरिएको छ। राजा वीरेन्द्रसँग २०४२ साल जेठको एक साँझ भएको कुराकानीबाट पुस्तक आरम्भ भएको छ। लेखक शाहले वीरेन्द्र र उनको परिवार, राजा ज्ञानेन्द्र र उनका छोरा पारसको आनीबानी र कार्यशैली प्रस्तुत गरेका छन्।

त्यस क्रममा लेखकले २०३० चैतदेखि २०६० कात्तिक २१ गतेसम्मको नारायणहिटी दरबार, कार्यरत ‘ग्याङ अफ फोर’ (चीरनशमशेर थापा, नारायणप्रसाद श्रेष्ठ, शान्त मल्ल, ताराबहादुर थापा) लगायतका सचिवबिचको आपसी सम्बन्ध र सोचलाई उजागर गरेका छन्।

मुलुकको राजनीतिक पक्ष/विकासक्रम

पञ्चायती राजनीति, जनमत संग्रह, बहुदल घोषणा, नेपाली कांग्रेसको पहिलो सरकारदेखि हालसम्मका सरकार अनि तिनले चुकाएको मौकाबारे व्यक्तिगत धारणा विस्तार गरेका छन्। राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई अक्षम घोषणा गर्दाको परिवेश र त्यसको जिम्मेवारी लेखकसमेतले लिएको प्रसंग राखेका छन्।

 राजनीति सञ्चालनमा नारायणहिटी दरबारअघिल्तिर सिंहदरबार निरीह रहेको कुराको प्रस्तुति पठनीय छ। पढ्दै जाँदा नारायणहिटी पनि तदर्थमा चलेको र दीर्घ सोच राखेर चलेको रहेनछ भन्ने थाहा हुन्छ। शेरबहादुर देउवा सरकारको खारेजी र राजा आफैंले शासन हातमा लिएपछि कसरी राजनीतिक दल र मित्र राष्ट्रसँग सम्पर्क वा कार्य गर्ने भन्ने योजना बनाएको देखिँदैन।

विदेश सम्बन्धः विदेशी मुलुक भूराजनीति

मुलुकको भौगोलिक परिवेश, छिमेकीहरूको सोच (भारत र चीन), शान्ति क्षेत्रको प्रस्ताव तुहिनाको कारण, राजा वीरेन्द्रको शुभराज्याभिषेकमा सिक्किमका चोग्यालको आगमन, उनको राजा वीरेन्द्रसँग भएको कुराकानी, सिक्किम विलय, सार्कको स्थिति, खम्पा उपस्थिति र तिनको निशस्त्रीकरणजस्ता मुलुकको विदेशसँग सम्बन्धित विषयहरू पुस्तकमा परेका छन्। समग्रमा पुस्तकको ठुलो हिस्सा मुलुकको वैदेशिक सम्बन्ध बताउनमा केन्द्रित छ।

नेपाली सेना र यसको भूमिका

सेनाका तालिम केन्द्रहरू विश्वस्तरीय होऊन्, विदेशी सैनिक पनि प्रशिक्षण लिन आऊन्, आफ्नो पेसागत कामका अतिरिक्त वातावरण संरक्षण र विकास निर्माण कार्यमा सरकारलाई सहयोग गरोस् तर सैनिक नेतृत्व राजनीतिबाट टाढै रहोस् भन्ने भित्री इच्छा राजा वीरेन्द्रको रहेछ भन्ने विवरण पुस्तकमा उल्लेख छ।

‘मैले सेवा गरेको सेना’ शीर्षकअन्तर्गत सेना र संस्कृति, सेना र नागरिकबिचको सम्बन्ध, विपद् व्यवस्थापन, शान्ति सेना, पर्यावरण संरक्षण, विकास निर्माणमा सेनालगायत आफूले बेहोरेका १० प्रधान सेनापतिका बारेमा राम्रैसँग वर्णन गरेका छन्।

नारायणहिटी दरबारमा वंश नाश हुँदा चर्चामा आएका प्रज्ज्वलशमशेर राणाको स्वभाव र राजा वीरेन्द्र पनि निरीह देखिएको कुरा उजागर भएको छ (पृष्ठ १९३)। सेवाबाट निस्किएपछि सेना प्रमुख रुक्मांगत कटुवाललाई राजा महेन्द्रले पढाएको, हेरविचार गरेको कुरा प्रकाश पार्दै चिफका रूपमा कटुवालसँग भएका कुरा रमाइलोसँग पुस्तकमा उतारिएको छ।

सबैभन्दा रमाइलो त केही दिन अनिश्चित मनस्थितिमा राखेर आफ्नै खल्तीबाट झिकेर दिएझैं गरी राजा ज्ञानेन्द्रले ‘आइ ह्याभ डिसाइडेड टु प्रमोट यु’ भनेर रथीमा बढुवा गरिदिएको कुरा पढ्दा आश्चर्य अनुभूत हुन्छ।

माओवादी बन्द र सेना

माओवादीको जन्म, २०५२ साल फागुन १ गतेबाट सुरु भएको सशस्त्र विद्रोह, समस्या पहिचानमा अलमल, एकीकृत सुरक्षा विकास कार्यक्रम, प्रहरी र सेनाको सम्बन्ध, भारतको भूमिका, चक्राता तालिम केन्द्रमा माओवादी र सरकारी सुरक्षा अंगलाई तालिम दिने कार्य, समाधानका लागि भारतीयको भूमिमा, कुटिल चाल, दरबारभित्र प्रमुख सचिवको भूमिका, रमेशनाथ पाण्डे र पशुपतिभक्त महर्जनको भूमिका, सेनालाई पाँच किलोमिटरमा सीमित गर्ने रणनीति, यसप्रति प्रधानमन्त्री चन्द र चिफले हल्का रूपमा लिएको कुरा, १२ बुँदे सम्झौतालगायत विषयको चर्चाले त्यसबेलाको परिस्थितिको दृश्यात्मक वर्णन गरेको महसुस गराउँछ।

‘जीवन एक अनुभूति अनेक’ शीर्षकको खण्डमा विविध विषय समावेश गरिएका छन्। यस खण्डमा रहेको ‘रेडियो नाटक घर’ पढ्दा पाठकले अति रोचक अनुभूति गर्न पाउने छन्। साथै यस शीर्षकमा गरिएको वर्णनले नेपाली परिवार/समाजको वास्तविक स्थिति उजागर गर्छ। पुस्तकका पाना पल्टाउँदै जाँदा समय बलवान हुन्छ भन्ने भनाइ पुष्टि भएको महसुस हुन्छ।

राजा वीरेन्द्रको स्वभाव र उनको शासनकालबारे पुस्तकमा वर्णन गरिएको छ। त्यसबाट उनी अत्यन्त भलादमी र तडकभडक गर्नु नपर्ने व्यक्ति अर्थात् सामान्य मानिस थिए भन्ने पुष्टि हुन्छ। उनले राज्य सञ्चालन न प्रजातान्त्रिक रूपमा न त आफ्ना बालेजस्तो गरी नै चलाउन सके। विश्वका नाम चलेका विश्वविद्यालय र गुरुहरूसँग पढेका राजा वीरेन्द्रले भलादमीपना तथा सिंहदरबारलाई छायामा राखेर परिवार र नारायणहिटीका सचिवबाट राज्य सञ्चालन हुन सक्दैन भन्ने बुझेनन्। यद्यपि भारत समक्ष झुक्नुभन्दा २०४६ सालको अन्त्यमा मुलुकमा बहुदलीय शासन व्यवस्थाको पुनः स्थापना गरी संवैधानिक राजा भएर बसिदिनाको कारण राजा वीरेन्द्र नेपालीका प्रिय राजा बन्न सफल भए र उनको वंश नाश हुँदा सम्पूर्ण नेपाली शोक मग्न तथा स्तब्ध हुन पुगे।

यस दृष्टिकोणबाट भन्ने हो भने राजा महेन्द्र अभागी देखिए किनभने उनले देशको इज्जत बढाउन जे जति काम गरेका थिए, ती सबै ओझेलमा परे। सम्भवतः देहावसान हुनुअघि उनले २०१७ पुस १ गतेको कदम फिर्ता लिएर जनताको नासो जनतालाई फिर्ता गरिदिएको भए वा बिपी कोइरालासँग मिलेर काम गर्न सकेको भए राजा महेन्द्र वीरेन्द्रभन्दा बढी लोकप्रिय हुने थिए।

नेपालको दुर्भाग्य भनेकै राजा महेन्द्र र बिपी मिल्न नसक्नु वा यिनलाई मिलाउने प्रयास राम्रोसँग नहुनु हो भने राजा वीरेन्द्रले २०३७ सालमा सम्पन्न राष्ट्रिय जनमत संग्रहपश्चात् तत्कालीन संविधानलाई संशोधनपछि उदार बनाउन नसक्नु हो।

सांग्रिला बुक्सद्वारा प्रकाशित पुस्तक ठमनाथ घिमिरेले सम्पादन गरेका हुन्। पाठकलाई पुस्तक सरल र बोलीचालीको भाषामा लेखिएझैं लाग्नेछ। गम्भीररूपमा पढ्दा कतैकतै केही तथ्यगत कमजोरी भेटिन्छन्। पुस्तकमा चित्र र दस्ताबेजहरू समावेश गरेको भए लुकेका कुरा देख्न र पढ्न पाइन्थे।

प्रकाशित: १७ चैत्र २०८० ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App