२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

तराईमा हराउँदै होलीको मौलिकता

एक दशकअघिसम्म तराई/मधेसमा होली पर्व मनाउँदा मौलिक गीतमा नाचिन्थ्यो। होलीमा मधेसका सहर र गाउँमा ‘जोगिरा सरर...’ जस्ता गीत गाइन्थ्यो। फागु पूर्णिमा आउनुभन्दा एक साताअघिदेखि नै होलीको चहलपहल सुरु हुन्थ्यो।

विगतमा तराईमा होलीमा गाइने गीतहरू अहिले निकै कम सुन्न पाइन्छ। होलीको परम्परातगत मौलिकता हराउँदै गएको छ। चैताल, ढेड ताल, डभारी, धौतल्ली गीत र संगीत लोप हुँदै गएका छन्। होलीमा बजाइने ढोकल, हरमुनिया, तबलालगायतका बाजा र गाइने परम्परागत गीतहरू अहिलेको पुस्ताले छाड्दै गएको छ।

होलीका बेला गाइने मूल होली गीत र अवधी होली गीत जनजिब्रोबाट हटिसकेको अवधी साहित्यकार पशुपतिमणि पत्रपाठी बताउँछन्। ‘एक दशकअघिसम्म फागु पूर्णिमा आउनुभन्दा एक साताअघिदेखि नै ‘जोगिरा सरर...’ गीत गाइनथ्यो तर अहिले होली भित्रिँदा पनि त्यसको कुनै रोनक देखिएको छैन,’ उनले भने, ‘मौलिकता हराउँदै गएको छ।’ सांस्कृतिक पर्व होली आउनुभन्ला दुई साताअघिदेखि नै गीत, कविता, हास्यव्यंग्यजस्ता कार्यक्रम आयोजना गरिन्थ्यो तर अहिले ती सबै सपना जस्तो लाग्न थालेको उनी बताउँछन्।

अर्का अवधी साहित्यकार राघवेन्द्र श्रीवास्तव पनि तराईमा होली मनाउने पुरानो तौरतरिका हराउँदै गएको बताउँछन्। ‘टोल, छिमेकमा होली आउनुभन्दा १५ दिनअघि नै त्यसको अभास हुन्थ्यो तर अहिले त्यस्तो छैन,’ उनले भने।

अहिले होली फागु पूर्णिमाको दिन मात्र मनाउने गरिएको छ। त्यो पनि डिजे साउन्डमा नाचगान गरेर। अहिलेको युवा पुस्ताले होलीको मौलिकता बिर्संदै गएको भन्दै अवधी साहित्यकारले चिन्ता व्यक्त गर्न थालेका छन्।

अवधी संस्कृतिका जानकार विक्रममणि त्रिपाठीका अनुसार फागु पूर्णिमाको १५ दिनअघि पण्डितद्वारा विधिवत रूपमा पूजापाठ गरी होली सुरु भएको जनाउ दिइन्थ्यो, घरघरबाट गुइँठा संकलन गरी राति बालेर होली गीत गाइन्थ्यो, होलीको राति दाउरा बालेर होलीका दहन गरिन्थ्यो र होलीका दहनको खरानी पोतेर अर्को बिहान नुहाउने गरिन्थ्यो। होलीका दिन दिनभर एकआपसमा बधाई साटासाट गरी रङ लगाएर होली खेलिन्थ्यो।

अहिले भने होलीको त्यो मौलिकता हराउँदै गएको उनले बताए। पर्वहरूको परम्परागत मौलिकता, सांस्कृतिक पक्षबारे युवा पुस्तालाई जानकारी गराउन नसकिएकाले यस्तो अवस्था आएको उनको बुझाइ छ। ‘परम्परा र संस्कृतिलाई विकासको प्रक्रियासँगै अघि बढाउन नसक्दा मौलिकता मासिँदै गएको छ,’ उनले भने।

पाँचछ दशकयता सामाजिक आन्दोलनसमेत नभएकाले अवधीको मौलिकता हराउँदै गएको उनी बताउँछन्। युवा पुस्ताले होलीमा भाङ खाने नराम्रो परम्परालाई निरन्तरता दिएको तर राम्रा पक्ष जोगाउन ध्यान नदिइएको समाजका अगुवाहरूको गुनासो छ।

जिल्ला प्रहरी प्रशासनले मिलन र रङको पर्व होलीलाई सभ्य, शान्त र मर्यादित बनाउन आग्रह गरेको छ। पर्वका नाममा कसैले कसैमाथि जबरजस्ती रङ लगाइदिए, लोला हाने, सास्ती दिए कारबाही गरिने प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक नवरत्न पौडेलले सभ्य र मर्यादित रूपमा होली खेलेर शान्ति, सुरक्षा कायम गर्न सबैलाई आग्रह गरे। होलीमा हुन सक्ने सम्भावित घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न प्रहरीले होली विशेष सुरक्षा रणनीति लागु गरेको छ।

होलीका दिन एक हजार प्रहरी परिचालन गरिने भएको छ। होलीका दिन सोमबार २१ ट्राफिकसहित ९ सय ९९ जना प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक पौडेलले बताए। यस वर्ष काठमाडौं उपत्यकालगायत पहाडी भागमा आइतबार र तराई/मधेसमा सोमबार होली पर्व मनाइँदै छ।

प्रकाशित: ११ चैत्र २०८० ०७:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App