“ए बुढी! आज मुसाले साह्रै दुःख दियो।”, हिजो मात्र विदेशबाट आएको धनमान कराउँदै बाहिर निस्के।
बुढी तरकारी लिन बारीमा गएकी थिई। धनमानको अनुहार रातो भयो। आँखा रसिलो थियो। उसलाई देखेर बाहिर बसी प्याज केलाउँदै गरेकी सुनमाया खितिती हाँसी। धनमानले आफूलाई नियालेर हेरे। उनको अनुहार झनै रातो भयो।
सुनमाया जुरुक्क उठी। ऊ बारीमा गई र धनमानको श्रीमतीलाई भनी, “ऋचा दिदी! तपाईको घरमा मुसाले दुःख दियो रे। मुसा समात्न बोलाएका छन्। म पनि घर गएर आउँछु।”
“अब खाजा खाएर जाऊ। दिनभर काम गरिसक्यौ। खाजा खाने बेलामा कहाँ घर जान्छु भनेकी? मैले मुला ओखलिसकेँ। गएर तरकारी पकाइहाल्छु।”, ऋचाले भनी।
सुनमायाको अनुहार झनै रातो भयो। ऊ हत्तारहत्तार घरतिर कुदी। ऊ केही समयपछि फर्केर धनमानको घरमा गई।
उसले कराएर भनी, “दिदी! तपाईको घरमा मात्र होइन, मेरो घरको पनि मुसाले दुलो खनेर हैरान छ। बुढालाई टाल्नु भनेको मान्दै मान्नुभएन।”
ऋचाले हाँस्दै भनी, “मेरो घरको दुलो त बुढाले टालिदिए।”
धनमान बाहिर निस्किए। धनमानलाई देखेर ऋचाले भनी, “ए बुढा! के वाक्क परेको? मुख धोएर आउनुस्। दुलाको धुलाले गाला रातो भएको छ।”
प्रकाशित: ५ चैत्र २०८० १३:३७ सोमबार