३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

इलामको पाखामा घन्किँदै छ नेपथ्य

सात दशकअघि मूर्धन्य साहित्यकारहरू भेला भएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका गुन्जिने भएको छ।

नेपथ्य ब्यान्ड चैत ३ गते शनिवार बेलुका सूर्योदय नगरपालिका अन्तर्गत करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा उपस्थित हुँदै छ।

जतिबेला नेपालमा काठमाडौँ उपत्यका बाहिर विरलै वृहत् साहित्यिक कार्यक्रम हुन्थ्यो त्यो बेला अर्थात् २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण सम, महानन्द सापकोटा, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र शंकर लामिछानेलगायतका साहित्यकारहरू भेला भएर करफोकमा ‘पहिलो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन’ आयोजना गरेको इतिहास छ।

नेपथ्यले आफूलाई प्रस्तुत गर्न लागेको पाखो त्यस भेगकै अर्को ऐतिहासिक महत्त्व राख्ने करफोक विद्यामन्दिरको परिसर हो।

‘राजमार्ग भएर गुज्रँदा वरिपरि चियाबारी, सल्लाघारी र वनजंगलले घेरिएको पूर्वी पहाडकै यस लोभ्याउने पाखामा एकपटक आफूलाई प्रस्तुत गर्ने इच्छा धेरै पहिलेदेखिको हो,’ नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘यसपटक इलामका साथीहरूले जोग मिलाइदिनुभएकोमा असाध्यै खुसी लागेको छ।’

नेपथ्यले मुलुकका स–साना गाउँवस्ती हुँदै विश्वका ठुला सहरहरूसम्म आफूलाई प्रस्तुत गर्दै आएको छ। नेपालमा हालसम्म करिब एक सय २० वटा कन्सर्ट आयोजना गरिसकेको ब्यान्डले नेपालबाहिर विश्वका १७ वटा मुलुकको ४१ वटा मुख्य सहरहरूमा ८० भन्दा बढी साङ्गीतिक प्रस्तुति दिइसकेको छ।

‘केही वर्षअघि मात्र करफोक छेवैको सानो सहर फिक्कलमा कन्सर्ट गर्दाको रमाइलो सम्झना मेरोनिम्ति अझै ताजा छ,’ अमृत भन्छन्, ‘त्यहाँ पुरानो सिनेमा हलमा कन्सर्ट चलिरहँदा एउटा बच्चा बोकेर नृत्य गरिरहेकी आमालाई देखेपछि मैले पनि उनकै शैलीमा नाचेको घटना अहिले सम्झँदा पनि मिठो लाग्छ।’

शनिवारको कन्सर्ट इलामकै न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजना हुन लागेको हो। इलाम नगरपालिका–६ को गढीथुम्कामा यो गुम्बा निर्माण भइरहेको छ। सभाकक्ष, पूजा हल, भण्डार र पाहुना कोठासहित तीन तल्ले गुम्बा २०८३ सालमा निर्माण सम्पन्न भई सञ्चालनमा आउने लक्ष्य राखिएको छ।

‘यो आयोजनाले एकातिर हाम्रो धार्मिक धरोहरको निम्ति केही कोषको व्यवस्था गर्नेछ,’ गुम्बाका निर्माण समिति अध्यक्ष हरि गुरुङ भन्छन्, ‘अर्कोतर्फ सङ्गीतका माध्यमबाट समेत इलाममा पर्यटनको विकास गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौँ ।’ कन्सर्टको आयोजना भने ‘इलाम गुरुङ समाज’ले गर्न लागेको हो।

कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउने छन्।

प्रकाशित: २८ फाल्गुन २०८० १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App