इतिहासमा ८ मार्चले महिला अधिकारका लागि संघर्षको दिनका रूपमा प्रतीकात्मक अर्थ राख्छ। आजभन्दा १६७ वर्षअघि मार्च ८, १८५७ मा अमेरिकी कपडा र जुत्ता कारखानाका महिला कामदारहरू प्रदर्शनका लागि न्युयोर्कमा भेला भएका थिए। उनीहरूको माग थियो– १० घण्टा काम गर्ने दिन, उज्यालो र ओभानो कार्यस्थल र पुरुषसमान ज्याला।
२०औं शताब्दीको प्रारम्भमा उत्तर अमेरिका र युरोपमा सुरु भएको मताधिकार र श्रमिक आन्दोलनले विश्वव्यापी महिला आन्दोलनलाई नयाँ उचाइमा पुर्यायो। २८ फेब्रुअरी १९०९ मा अमेरिकी समाजवादी पार्टीद्वारा न्युयोर्क सहरमा आयोजित राष्ट्रिय महिला दिवस सायद प्रथम राष्ट्रिय दिवस थियो। यसले सन् १९१० मा कोपेनहेगनमा आयोजित अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनका महिला प्रतिनिधिहरू क्लारा जेटकिन, केटे डन्कर, पाउला थाइडे आदिलाई हरेक वर्ष विशेष महिला दिवसआयोजना गर्ने प्रस्ताव गर्न प्रेरित गर्यो।
यहीं क्लारा जेटकिनको सुझावमा हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवस मनाउने निर्णय गरियो र त्यसले विश्वका सबै महिलाहरू समान अधिकारको लडाइँ सुरु गर्न आह्वान गर्यो।
लगत्तै अर्काे वर्ष, मार्च १९, १९११ मा अन्तर्राष्ट्रिय महिला दिवस अस्ट्रिया, डेनमार्क र स्विटजल्यान्डमा दश लाखभन्दा बढी मानिसले मनाए। पहिलो विश्वयुद्धको पूर्वसन्ध्यामा सुरु भएको शान्तिपूर्ण आन्दोलनकै सिलसिलामा रुसी महिलाहरूले फेब्रुअरी १९१३ को पहिलो आइतबार आफ्नो पहिलो अन्तर्राष्ट्रिय महिला दिवस मनाए।
सन् १९१४ मा पहिलोपटक जर्मनीमा ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो। ८ मार्च १९१७ मा रुसको राजधानी पेत्रोग्राडमा (हालः सेन्टपिटर्सवर्ग) महिला कपडा मजदुरहरूले एक प्रदर्शन सुरु गरे। यसले फेब्रुअरी क्रान्तिको सुरुवात गर्यो (जुलियन क्यालेन्डरअनुसार २३ फेब्रुअरी, ग्रिगोरियनको ८ मार्चमा पर्छ)। जसले अन्ततः अक्टोबर क्रान्ति जन्मायो। १९१७ को फेब्रुअरी क्रान्तिपछि रुसमा महिलाहरूले मताधिकार प्राप्त गरे। योसँगै मार्च ८ लाई राष्ट्रिय दिवस बनाइयो।
अक्टोबर क्रान्तिपछिको रुसी फेडेरेसनमा ८ मार्चलाई प्रथमपटक सन् १९२१ मा पर्वका रूपमा आधिकारिकता दिइयो। सोभियत संघमा यो दिवस सोभियत महिलाको अधिकारको गर्व, प्रतिष्ठा र महिमाका रूपमा स्थापित भयो। समय क्रममा सोभियत युगमा यो उनीहरूको अविच्छिन्न संस्कृतिको अंगमा परिणत भयो र कैयन् पुस्ता यसलाई चाडपर्वजस्तै मनाउन अभ्यस्त भए।
सोभियत संघको सिको गर्दै दोस्रो विश्वयुद्धपछि फैलिएका समाजवादी देशहरूमा यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउन थालियो। अन्य प्रजातान्त्रिक र राजतन्त्रात्मक मुलुकमा ८ मार्चलार्ई महिला अधिकार र समाजवादी आन्दोलनको अंशका रूपमा आयोजन गर्न सुरु गरियो। गणतन्त्रात्मक नेपालमा हामी चाहिँ यसलाई कार्यक्रमका रूपमा मात्र आयोजन गर्छौं।
८ मे १९६५ मा सर्वोच्च सोभियतको निर्णयले अन्तर्राष्ट्रिय महिला दिवसका दिन सोभियत संघमा छुट्टी नै दिने घोषणा ग¥यो।
सन् १९६० को दशकको उत्तराद्र्धमा विश्वमा फैलिएको नारीवादी आन्दोलनले ८ मार्चलाई आत्मसात गरेपछि यो विश्वव्यापी बन्यो। सन् १९७७ मा संयुक्त राष्ट्रद्वारा मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको दर्जा दिइयो र अब संसारभर मनाउन थालियो।
यो दिवस हरेक वर्ष मार्च ८ मा महिला अधिकार आन्दोलन, लैंगिक समानता, प्रजनन अधिकार र महिलाविरुद्ध हिंसा एवम् दुव्र्यवहार जस्ता मुद्दामा केन्द्रित रहेर आयोजन गरिन्छ।
सोभियत संघको सन्दर्भमा त्यतिबेला सोभियत समाजमा महिलाको ठुलो सम्मान थियो। समाजका हरेक क्षेत्रमा उनीहरूको दर्बिलो उपस्थिति थियो। महिला साक्षरता १०० प्रतिशत मात्र नभएर उनीहरू शिक्षा, कला, साहित्य, विज्ञान, प्रविधिमा पनि पुरुषकै हाराहारी देखिन्थे।
हाम्रो अध्ययनताका स्कुल होस् वा कलेज, विद्यार्थी होऊन् या प्रोफेसर, सोभियत संघमा महिलाहरूको बोलवाला हुने गथ्र्यो। हाम्रा कक्षाहरू यसका साक्षी थिए। त्यहाँँ केटीहरूका तुलनामा केटाहरूको संख्या कम हुन्थ्यो।
हाम्रा प्रायः भाषाशिक्षिकाहरू महिला थिए। हुन पनि त्यो बेला नेपाली महिलाको साक्षरता दर १.८ प्रतिशत मात्र थियो। भ्यालेन्तिना तेरेस्कोभा अन्तरिक्षमा पुग्ने प्रथम महिला बनिसकेकी थिइन्। त्यो पनि २६ वर्षको कलिलो उमेरमा। उनको यो उडान विश्व महिला जगत्का लागि प्रेरणाको स्रोत बन्यो। हामीले खार्कोभ पढ्दा प्रायः ट्रामचालकहरू महिला देख्थ्यौं। लाग्थ्यो वास्तविक नारी मुक्ति कहीं छ भने त्यो सोभियत भूमिमा छ।
सोभियत कालमा ८ मार्चको दिन महिलाहरू परम्परागत कामबाट मुक्त हुन्थे। पुरुषले भान्सा सम्हाल्थे, अपार्टमेन्ट सफा गर्थे र आफ्नै हातले केक पकाउनेदेखि घरको काम इमानदारीपूर्वक गर्न हरसम्भव प्रयासरत रहन्थे। यसलाई महिलाको विशेषाधिकार मानिन्थ्यो। ठाउँठाउँमा नारीहरूको सम्मानमा गीति कार्यक्रम गरिन्थे।
सोभियतकालमा ८ मार्चका दिन नेपाली छात्र संघले समेत बर्सेनि नारी दिवस कार्यक्रम आयोजना गथ्र्यो।
लामो हिमपात र जाडो पछि मार्चको यो पर्वलाई वसन्त पर्व पनि भनिन्छ। मे १ को श्रमिक दिवस, मे ९ को ‘विजय दिवस’जस्तै मार्च ८ कैयन् सोभियत पुस्ताका लागि संस्कृतिको अभिन्न अंग बन्न पुग्यो।
यो पर्वका अवसरमा महिलालाई परम्परागत रूपमा फूल, पोस्टकार्ड र उपहारहरू मात्र नभएर सम्मानपत्र, धन्यवाद र पुरस्कारहरू प्रदान गरिन्थ्यो। नारी दिवसमा अरू नभए पनि हाम्रो नेपाली विद्यार्थीहरूको फोकलटिचर ल्युदमिलाभिक्तोरोभ्नालाई मैले नेपाली कार्डहरू उपहार दिने गर्थें।
सोभियत संघ ढलेको तीन दशकभन्दा धेरै भइसक्यो। १९८० पछि जन्मेका त्यहाँका पुस्तालाई त त्यो बेलाको सोभियत परम्परा थाहा छैन होला। यद्यपि आजसम्म पनि विश्वभरका सोभियत दीक्षितहरूको स्मरणमा अन्तर्राष्ट्रिय नारी दिवसको त्यो संस्कृति तथा परम्पराको याद ताजा छ।
प्रकाशित: २६ फाल्गुन २०८० १२:३१ शनिबार