१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

गौतमबुद्ध जन्मस्थलमा चक्र विज्ञान सप्ताह

आध्यात्मिक विज्ञानका प्रणेतामध्ये एक हुन् भगवान् गौतमबुद्ध। दुःखबाट मुक्ति र आनन्द प्राप्ति उनको जीवन मार्ग रह्यो। सुन्दर मानव जीवनको निर्माण प्रेम, शान्ति र आनन्दबाट हुन्छ, जुन ध्यानद्वारा मात्र प्राप्त हुन्छ। यसर्थ पनि ध्यान प्रेम, शान्ति र आनन्द प्राप्त गर्ने सर्वाधिक शक्तिशाली उपकरण हो भन्ने कुरा उनले आफ्नो जीवनबाट सिद्ध गरिदिए।

यति मात्र होइन, बुद्धले ध्यानद्वारा नै परम् सत्ता पनि प्राप्त गर्न सकिन्छ भन्ने कुरा पनि प्रमाणित गरिदिए। उनले भनेका छन्, ‘तिमी स्वयं आफ्नो प्रकाश बन।’

भगवान् गौतमबुद्धले जीवन मार्गका रूपमा अपनाएको ध्यान विधिलाई जनस्तर र विश्वमाझ पुर्‍याउने दीर्घकालीन ध्येय राखेर जीवन विज्ञानले लुम्बिनीमा आगामी चैत १७ देखि २३ सम्म विराट् चक्र विज्ञान सप्ताह आयोजना गर्न लागेको छ। ‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने नाराका साथ आयोजना हुन लागेको विराट् चक्र विज्ञान सप्ताहमा ५००१ जनाको सहभागिता रहने जीवन विज्ञानले जनाएको छ। जीवन विकास विशेषज्ञद्वय एलपी भानु शर्मा र रमेश नेपाल चक्र विज्ञान सप्ताहका प्रशिक्षक रहने छन्। यस सप्ताहमा विभिन्न मुलुकबाट सहभागिता रहने छ ।

हामीभित्र सातवटा ऊर्जा केन्द्र छन्– मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनहद, विशुद्धि, आज्ञा र सहस्रार। तिनीहरू मेरुदण्डको तल्लो भागदेखि शिरसम्म छरिएर रहेका हुन्छन्। यी चक्र नै स्वास्थ्य, सुख, साहस, प्रेम, ज्ञान, परम् आनन्दका मूल स्रोत हुन्। चक्र जागरणबाट ऊर्जाका स्रोत खुल्दै जान्छन्, मानिसले नयाँ जीवन प्राप्त गर्छ र पुराना मानसिकताबाट मुक्ति मिल्छ। चक्र विज्ञान सप्ताहको मूल उद्देश्य तिनै ऊर्जा जगाउनु हो।

मूलाधार : शारीरिक स्वास्थ्यसँग सम्बन्धित चक्र हो मूलाधार। यसलाई जीवनको मूल आधार मानिन्छ। हामीभित्रको चेतना वा होस वा सजगता नै मूल आधार हो। चेतनाद्वारा नै शरीर, मन र इन्द्रिय चलायमान हुन्छन्। यसर्थ मानिसलाई कर्म गर्दा आनन्द दिलाउने चेतनाले नै हो।

सबैभन्दा अस्थिर मन हो। छिनछिनमा दशतिर पुग्छ। एक ठाउँमा अड्याउन खोज्दाखोज्दै भागिसक्छ। जस्तो–हामी हरेक दिन हजारौं पाइला हिँड्छौं तर चार पाइला टेक्दाको अनुभव पनि गर्न भ्याइँदैन। ध्यानमा बसेका बेलामा पनि मन नौतिर भागिरहेको हुन्छ। मूलाधार चक्र कमजोर भएका बेलामा मन त एकनिमेष पनि अडिँदैन।

यस्ता समस्या हटाउन मूलाधार चक्र जगाउनुपर्छ। यो चक्र जति जगाउन सक्यो त्यति सजगता, ध्यान, होस बढ्छ। जति मात्रामा सजगता, ध्यान, होस बढ्छ, त्यति नै खुसी र आनन्द मिल्छ। कर्म गर्दा जति आनन्द आउँछ, बढीभन्दा बढी सफलता पनि प्राप्त हुन्छ। यसर्थ पनि विद्यार्थी, कर्मचारी, उद्योगी, व्यवसायी, राजनीतिज्ञ, वकिल, किसान, गृहिणी सबैले मूलाधार चक्र जगाउन जरुरी छ।

स्वाधिष्ठान : मनसँग सम्बन्धित चक्र हो स्वाधिष्ठान। यसलाई मानसिक स्वास्थ्य पनि भनिन्छ। यो चक्रले मनको व्यवस्थापन गरिदिन्छ। मन व्यवस्थापनका लागि धेरै उपायको खोजी भयो, तर चित्तबुझ्दो उपाय फेला पर्न सकेन। त्यसैले आज पनि मानिसहरू अशान्त र अव्यवस्थित छन्।

आत्तिनु, छटपटिनु, पिरिनु, डराउनु आदि अव्यवस्थित मनका कारण हुन्। गरेका काम छरपस्ट छन् भने मन अशान्त र अव्यवस्थित छ भन्ने बुझे हुन्छ। यस्ता मानिसलाई अशान्ति, दुःख र तनावले घेरिरहन्छ। ऊ कहिल्यै पनि खुसी हुन र रमाउन पाउँदैन।

स्वाधिष्ठान चक्र जागरणले अशान्त मनका समस्या हटाइदिन्छ र मन व्यवस्थित बनाइदिन्छ। मन व्यवस्थित भएपछि उमंग र उत्साह जन्मिन्छ।

यस अवस्थामा जे कर्म गर्दा पनि सफल हुन्छ। हामी आफूले गरेका काम व्यवस्थित होस् भन्छौं तर मनलाई अव्यवस्थित नै राख्छौं। यस्तो विपरीत अवस्था हामी सबैसँग छ। यसको अन्त्य स्वाधिष्ठान चक्रको जागरणबाटै सम्भव छ।

मणिपुर : ऊर्जाको केन्द्र हो मणिपुर चक्र। यसलाई प्राणिक स्वास्थ्य भनिन्छ। आँट, साहस, आत्मविश्वास मणिपुर चक्रका विशेषता हुन्। हाम्रो शरीरभरि सञ्चालन हुने ऊर्जा यही केन्द्रबाट सञ्चालित हुन्छ। यसलाई कुण्डलिनी ऊर्जा पनि भनिन्छ।

यो चक्र बिग्रँदा आत्मविश्वास कमजोर हुन्छ। ससाना कर्म गर्न पनि आँट आउँदैन। ठूला कर्ममा हात हाल्न डर लाग्छ। आफैंप्रति र आफ्नाप्रति अविश्वास पैदा हुन्छ। हामी उठ्न नसक्नु मणिपुर चक्र कमजोर भएकाले हो।

मणिपुर चक्र सबल भएको मान्छेले गरिखान्छ किनभने ऊसँग आँट वा आत्मविश्वास प्रबल हुन्छ। हामीभित्र अनन्त सम्भावना छन्, तिनमा सफलता प्राप्त गर्नु छ भने मणिपुर चक्र जगाए पुग्छ। यसपछि त प्रगति नै प्रगति हुन्छ। मणिपुर चक्र जगाउने हिम्मतिलाहरूले नै हो।

अनहद : यो भावनासँग सम्बन्धित चक्र हो। यसलाई भावनात्मक स्वास्थ्य भनिन्छ। सबैप्रति प्रेम भाव जगाइदिने भएकाले समूहमा घुलमिल भएर काम गर्ने क्षमता बढ्छ। सम्बन्ध विस्तार गरिदिन्छ। एकताको भावना बलियो बनाउँछ।

भाव असन्तुलनका कारण पनि हाम्रा जीवन व्यवहार बिग्रिएका छन्। कार्यालयमा सहकर्मीसँग मात्र होइन, छिमेकी र घरपरिवारकै सदस्यसँग सम्बन्ध बिग्रन्छ। अनहद चक्र कमजोर भएका कारणले यस्ता समस्या देखिन्छन्।

सबैसँगको सुमधुर सम्बन्ध विस्तार अनहद चक्रको जागरणबाट सम्भव छ। भावलाई आफ्नो नियन्त्रणमा लिनुपर्छ, तब मात्र सबैलाई समेटेर काम गर्न सकिन्छ। अहिलेको जमानामा सबैलाई समेटेर काम गर्दा प्रभावकारी ठहरिन्छ। जस्तै–उद्योग चलाउनका लागि धेरैजना मिल्नुपर्छ। भनाइ नै छ, ‘संघे शक्ति कलियुगे।’

विशुद्धि : ज्ञानसँग सम्बन्धित चक्र हो विशुद्धि। यसलाई बौद्धिक स्वास्थ्य भनिन्छ। कुनै पनि घटनाका बारेमा विश्लेषण, तर्कवितर्क, मूल्यांकन र त्यसको चुरोसम्म पुग्ने क्षमता विशुद्धि चक्र जागरणबाट प्राप्त हुन्छ।

यो चक्र कमजोर हुँदा बौद्धिक क्षेत्र कमजोर हुन्छ। लेखपढ गर्न मन लाग्दैन। विचारको शक्तिको कमीले अरूसँग बसेर विचार–विमर्श गर्न सकिँदैन। बलियो तर्क र प्रभावकारी विचार प्रस्तुत गर्न सकिँदैन।

विशुद्धि चक्रको जागरणबाट बौद्धिक क्षमता बढ्छ। यसको जागरणले सकारात्मक गुणमा वृद्धि हुन्छ। हरेकलाई हेर्ने क्षमता बढ्छ। पढेका कुरा याद हुन्छ। नराम्रा घटना भएका छन् भने पनि त्यसको विश्लेषण गरी सकारात्मक ज्ञान प्राप्त गर्ने क्षमता बढ्छ।

आज्ञा :  दृढता, अठोट, संकल्प, निर्णय क्षमता आज्ञा चक्रका विशेषता हुन्। यसलाई आत्मिक स्वास्थ्य भनिन्छ। यो चक्र सक्रिय छ भने समयमा निर्णय गर्ने क्षमता हुन्छ। समयमै निर्णय गर्दा विषयले पूर्णता पाउँछ। जुन काममा हात हाल्यो त्यसलाई तोकिएकै समयमा सफल गराएरै छाड्ने क्षमता प्राप्त हुन्छ।

हामी पछाडि परेको समयमा निण्य गर्न नसकेर हो। पाँच वर्षमा पूरा गर्ने भनी सुरु गरिएका विकास आयोजना सम्पन्न गर्न १० या २० वर्ष लाग्नु आज्ञा चक्र कमजोर भएर हो। जीवन विकास विशेषज्ञ नेपाल भन्छन्, ‘यतिबेला व्यक्तिको मात्र होइन, राष्ट्रकै आज्ञा चक्र नै बिग्रिएको अवस्था छ।

जसको आज्ञा चक्र ठीक छ उसले सही निणय गर्छ र निर्णयअनुसार काम पनि गर्छ। आज्ञा चक्रको जागरणबाट कुनै पनि निणय गर्न समय लाग्दैन। राष्ट्र बनाउनु छ भने व्यक्तिको आज्ञा चक्र जगाउनुपर्छ। त्यस अवस्थामा सबै काम समयमा तमाम हुन्छन्। व्यक्ति, परिवार, समाज र मुलुक माथि उठेको छिटै देख्न सकिन्छ।

सहस्रार : शान्ति र आनन्दसँग सम्बन्धित चक्र हो सहस्रार। यसलाई परम् स्वास्थ्य पनि भनिन्छ। यो चक्रको जागरणबाट मानिसलाई आफैंभित्रको स्थायी शान्ति मिल्छ। मानव जीवनभित्र दुःख–सुख, सफलता–असफलता, विचलन, तनाव, वासना निहित रहेको हुन्छ। स्थायी शान्ति प्राप्त भएपछि प्रकृतिका यी गुणले मानिसलाई कत्ति पनि प्रभाव पार्न सक्दैन।

कतिपय काम गर्दा प्राप्त भएको सफलताले पनि आनन्द त दिन्छ, तर त्यो अस्थायी हुन्छ। जीवनबाट दिक्दार भएर शान्तिको खोजीमा तीर्थस्थल, प्राकृतिक क्षेत्रहरूमा पुगेका छन्।

 धेरैतिर भौंतारिँदा–भौंतारिँदा हार खाएर अन्त्यमा गलत मार्ग समाप्त पुग्नेहरू पनि छन्। जीवन विज्ञान शिक्षक विन्दा आचार्य भन्छिन्–आफ्ना इच्छा शान्त नपारेसम्म परम् शान्तिको इच्छा गर्न सकिँदैन।

सहस्रार चक्रको क्रियाशीलताबाटै स्थायी शान्ति र आनन्द प्राप्त हुन्छ। यस्तो शान्ति र आनन्द कसलाई चाहिएको छैन र? सबै जाति, धर्म, संस्कृति र संस्कार अँगालेका आम मानिसलाई चाहिएको छ, जुन सहस्रार चक्रको जागरणबाटै प्राप्त गर्न सकिन्छ।

हामीलाई सुख पनि चाहिएको छ, शान्ति पनि चाहिएको छ र समृद्धि पनि चाहिएको छ, तर कसैगरी पनि मिल्दैन। तपाईंहामीले अँगालिरहेको जीवनशैलीबाट मिल्ने सम्भवै छैन। यसका लागि उपाय छन्– सातवटा चक्रको जागरण।

जीवन विज्ञान शिक्षक सरस्वती न्यौपाने भन्छिन्– चक्र जागरणबाटै ऊर्जावान् व्यक्तिको उदय हुन्छ। विवेकको जागरण, परम् शान्ति र आनन्दको अभ्युदय हुन्छ।

हाम्रो मुलुकको अवस्था लथालिंग छ भन्नेमा हामी परिचित छौं। त्यही अवस्था समाज, परिवार र व्यक्तिभित्र पनि छ। यसको एउटै कारण हो आध्यात्मिक नागरिक नजन्मिनु। जीवन विकास विशेषज्ञ शर्मा भन्छन्, ‘जबसम्म आम रूपमा आध्यात्मिक नागरिक जन्मिँदैन, तबसम्म लोकतन्त्र जन्मिँदैन र संवैधानिक, न्यायिक, राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, धार्मिक, व्यावहारिक, पारिवारिक क्षेत्रमा लथालिंग अवस्था रहिरहन्छ।’

यसबाट माथि उठ्न र उठाउनका लागि पनि लुम्बिनीमा चक्र विज्ञान सप्ताह आयोजना गर्नुको मूल ध्येय हो। ‘यो मानिसको जीवनमा भाग्योदय गर्ने महायज्ञ पनि हो। यो सुवर्ण अवसर हामी सबैलाई आएको छ’, जीवन विकास विशेषज्ञ शर्मा फेरि भन्छन्।

लुम्बिनी भिक्षु, योगी र अनुयायीहरूको पवित्र तीर्थस्थल मानिन्छ। उनीहरूले हजारौं वर्षदेखि प्रार्थना, जप, तप र ध्यान गर्दै आएकाले यहाँ दिव्य ऊर्जा शान्ति र आनन्द व्याप्त छ।

यसैको प्रभावले यहाँ हरेक वर्ष हजारौं मानिस विभिन्न मुलुकबाट आध्यात्मिक भ्रमण गर्न आउँछन्। यसर्थ पनि नेपाल भगवान् गौतमबुद्धको जन्मस्थलका रूपमा विश्वमाझ परिचित छ।

जीवन विज्ञान केन्द्रीय परिषद् संयोजक निर्मला श्रेष्ठ भन्छिन्–विश्वमाझ नेपाललाई देवभूमि, तपोभूमि, योगभूमि र आध्यात्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा चिनाउन, गौतमबुद्धले अभियानका रूपमा सुरु गरेको ध्यान साधनालाई अगाडि बढाउन, प्रत्येक नेपालीलाई आध्यात्मिक नागरिक बनाउन, सुख, शान्ति र समृद्धिको भाग्य भित्र्याउनका लागि पनि लुम्बिनीमा चक्र विज्ञान सप्ताह आयोजना गर्नुको एउटै उद्देश्य हो।

प्रकाशित: २६ फाल्गुन २०८० ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App