९ असार २०८१ आइतबार
image/svg+xml
कला

पुस्तक दिवसका दुःख

यस्ताे पनि!

बेलायतमा लगभग ३० वर्षअघिबाट शुरू भएको विश्व पुस्तक दिवस यतिबेला विद्रोहको विषय बनेको छ। मूलतः बालबालिकामाझ पठन संस्कृति बढाउन यसलाई संस्कृतिकै रूपमा विकास गर्न त्यो बेला राम्रै कसरत गरिएको थियो। संसारमा विश्व पुस्तक दिवसका दुई मिति तय गरिएका छन्। एउटा अमेरिकी संस्करणको विश्व पुस्तक दिवस हरेक वर्ष २३ अप्रिलमा मनाइन्छ। बेलायतीहरूले भने यो दिवस मार्च ७ का दिन नै मनाउने गर्छन्।

बेलायतीहरूले विश्व पुस्तक दिवसलाई तामझामका साथ मनाउने गर्छन्। यो बेला बालबालिकालाई आफ्नो पुस्तकको मनपर्ने पात्रहरूजस्तै देखिने इच्छा गर्छन्। त्यसका लागि इन्टरनेटमा भाडाका लुगा, मेकअप या यस्तै केही बिक्रीमा राखिन्छन्।

२० पाउन्डसम्म मूल्य पर्ने यस्ता पहिरन, मेकअप र अन्य चिजबिज ८ मार्चदेखि काम नलाग्ने हुनाले ती खर्चिला भएको केहीको आपत्ति थियो।

प्रायः विद्यालयले अनिवार्य रूपमा स्कुले विद्यार्थीहरूलाई यस्तो पहिरनका लागि आग्रह गर्ने गरेको थियो। पछिल्लो समय बेलायतमा बढ्दो गरिबीका कारण अभिभावकहरूले अनावश्यक खर्चका लागि विद्यालयले दबाब दिएको भन्दै सो दिवसमा पहिरनबिना नै मनाउनुपर्ने बताएका छन्।

यस्ता पहिरनले वातावरणीय विनासलाई सघाउने भएकाले पनि विद्यालयहरूले अभिभावकको दबाबलाई मान्न बाध्य भएको बताइएको ‘द टाइम्स पत्रिका’ले जनाएको छ।

दबाबपछि विद्यालयहरूले बालबालिकाहरूले आफूलाई मनपर्ने पुस्तकका पात्रजस्तो पहिरन नलगाए पनि हुने कुरामा स्वीकृति जनाएका छन्। अब पहिरनको साटो शिक्षकहरूले बालबालिका तथा लेखकसँग अन्तरक्रिया गराउने भएका छन्।

यसैगरी पुस्तक साटासाट गर्ने, पुस्तक पढ्न सजिलो हुने गरी पहिरन लगाई विद्यालय आउनेजस्ता निर्णयहरू गरिएका छन्। जब विद्यालयले नै यस्ता पहिरन अब अनिवार्य नरहेको खबर ग¥यो, धेरै अभिभावकका लागि राहत भएको छ।

 राहत पाउनेमध्ये ३५ वर्षीया क्लेयर लिच भन्छिन्, ‘पोहोर मेरो पाँच वर्षे छोरोले डेभिड अटेनबोरोको लिटल पिपल, बिग ड्रिम्स पढ्यो। उसलाई त्यो यति मन पर्‍यो कि त्यस्तै पहिरन लाउनुपर्‍यो भनेर जिद्दी गर्न थाल्यो। हामीलाई सबै सामग्री जोड्न यति गाह्रो भयो कि, सम्झेर पनि आङ सिरिङ्ग हुन्छ। धन्न यसपालादेखि त्यो दुःख बेसाउनु परेन।’

नेवार्क हिल एकेडेमीकी प्रधानाध्यापक सोनिया केन्डल भन्छिन्, ‘विश्व पुस्तक दिवस भनेको तामझाम गर्ने दिन होइन। यो दिवस त पठन संस्कृति बढाउन, पढ्न बानी पार्न आकर्षित गर्ने दिन हो। अरू बेला नभ्याए पनि एउटा राम्रो किताबले आनन्दित हुने दिनका रूपमा यसलाई विकसित गर्ने हो।’

यस्ता कुरामा ध्यान नदिइए वातावरणीय क्षतिसमेत पुग्ने मात्र नभई पठन संस्कृतिमा यसले कुनै भूमिका नखेल्नेसमेत केन्डलको धारणा छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: १६ फाल्गुन २०८० ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App