आज माघ शुक्ल पूर्णिमा। आजभन्दा एक हजार ५ सय २० वर्षअघि ५६० सालमा विजयास्वामिनीले राजसुयज्ञ सम्पन्न गरी पलाञ्चोकी विजेश्वरी भगवतीको प्राण प्रतिष्ठा गरेकी थिइन्। यो कुरा काभ्रेपलाञ्चोक जिल्लाको प्राचीन पलाञ्चोक सहर हालको पाँचखाल नगरपालिकामा रहेको पलाञ्चोकी विजेश्वरी भगवतीबारे शिलालेखमा उल्लेख छ।
शिलालेख (अनुवाद) मा लेखिएको छ– वि.सं ५६० माघ शुक्ल पूर्णिमाका दिन भट्टारक (गद्दीनशिल) महाराज श्री मानदेवले सय वर्षभन्दा बढी समयसम्म आज्ञा गरिरहनुभएका बेलामा सम्राट् गृहपतिकी पत्नी विजयास्वामिनीबाट भगवती विजेश्वरी देवीको प्रतिष्ठा गरियो।
२०१३ सालमा पलाञ्चोकी विजेश्वरी मन्दिरछेउमा रहेको पाटीमा लिच्छविकालीन शिलालेख भेटिन्छ, जसलाई योगी नरहरिनाथले प्रथमतः प्रकाशन गरेका थिए– संवत् ४२५ अर्थात् माग शुक्ल पूर्णिमाका दिन वि.सं ५६० मा राजराजेश्वरी विजयास्वामिनीले राजसुयज्ञ सम्पन्न गरी पलाञ्चोक सहरको शिरोभागमा पलाञ्चोक गढीनेर स्थापना गरेको विजेश्वरी भगवतीलाई आजभोलि हामी पलाञ्चोक भगवती भनेर नाम करार गरिरहेका छौं यो गलत हो।
के लेखिएको छ त मन्दिरमा रहेको लिच्छविकालीन शिलापत्रमा– ‘१० संवत् ४२५ शक्लपौण्णमास्याम् अस्यान्निदवसपुव्यावा भट्टारकमहाराजश्रीमानदेवस्य २ साग्र वर्षशतमाज्ञायतस् सम्रागड्गृहपतेस्पतन्या विजयस्वामिन्या प्रतिष्ठापिता देवी विजेश्वरी (अनुवाद– संवत् ४२५ माघ शुक्ल पूर्णिमाका दिन भट्टारक (गद्दीनशिल) महाराज श्री मानदेवले सयभन्दा बढी वर्षसम्म (लामो कालसम्म) आज्ञा गरिरहनुभएका बेलामा सम्राट् गृहपतिकी पत्नी विजयास्वामिनीले भवती विजेश्वरी देवीको प्रतिष्ठा गरियो।
पलाञ्चोक भगवती मन्दिर क्षेत्रको विजयस्वामिनीको अभिलेख प्राप्त विवरणअनुसार पलाञ्चोक क्षेत्रको पुरातात्विक प्रमाण संवत् ४२५ को अभिलेखसँगै सुरु हुन्छ। यो अभिलेख पलाञ्चोक मन्दिरको दक्षिण–पश्चिम कुनामा पाइएको हो।
हिमवत् संस्कृति १ मा योगी नरहरिनाथद्वारा छापिएको यो अभिलेख इतिहास संशोधनको ४७ क्रमागत संख्यामा धनवज्र बज्राचार्यले छपाएका हुन्। अभिलेखमा भनिएको छ– संवत्४२५ माघ शुक्ल पूर्णिमाका दिन भट्टारक (गद्दीनशीन) महाराज श्री मानदेवले सयभन्दा बढी वर्षसम्म (लामो कालसम्म) आज्ञा गरिरहनुभएका बेला सम्राट् गृहपतिकी पत्नी विजयस्वामिनीद्वारा भगवती विजेश्वरीदेवीको प्रतिष्ठा गरियो।
यो अभिलेख विजयस्वामिनी नामकी एक महिलाले राखेकी हुन्। यस अभिलेखमा उनले आफूलाई सम्राट् गृहपतिकी पत्नीका रुपमा चिनाएकी छन्। यो अभिलेख मानदेवले शासन गरेको समयमा राखेको उल्लेख गरिएको छ।
अभिलेखमा उल्लिखित ‘सम्राट् गृहपति’ कुनै राजसम्राट् नभई अभिलेख राख्ने विजयस्वामिनीका श्रीमान् हुन् भन्ने धनवज्र बज्राचार्यको मत छ। तिनै विजयस्वामिनीले पलाञ्चोक भगवतीको मूर्ति स्थापना गरेको भन्ने अभिलेखीय प्रमाण पाइन्छ। यो नै अहिलेसम्म प्राप्त भएको पलाञ्चोक क्षेत्रको सबैभन्दा पुरानो अभिलेख हो।
यो अभिलेखले केहीकेही नयाँ तथ्यसमेत उद्घाटन गरेको छ। एकातर्फ यो समयमा मानदेवको शासन पलाञ्चोकसम्म पुगेको कुरालाई यही अभिलेखले पुष्टि गरेको छ भने मानदेव राजा भएको समयमा सो अभिलेख राखिएकाले अभिलेखमा उल्लेख भएको सम्राट् शब्द कुनै पदवीको अर्थमा नभई नामविशेषको अर्थमा उल्लेख गरिएको बज्राचार्यको मत छ।
धनवज्र बज्राचार्यको मतमा पलाञ्चोकमा हालसम्म प्राप्त अभिलेखमध्ये सबैभन्दा पुरानो मानिएको यो अभिलेख राख्न लगाउने विजयस्वामिनीसमेत सर्वसाधारण व्यक्ति हुन्। लिच्छविकालीन समयमा दुई पक्षबाट अभिलेख राख्ने गरेको प्रचलन पाइन्छ।
एउटा राजपरिवारका सदस्यहरूको तर्फबाट र अर्काे सर्वसाधारणलाई समेत अभिलेख राख्ने छुट थियो। राजपरिवारबाहेक सर्वसाधारणले राखेका अभिलेखहरूको प्रमाण खोज्दा देउपाटनको रत्नसंघको अभिलेख, टेबहालको गृहमित्रको अभिलेख, खपिंछेको वसन्तदेवको अभिलेख, बुढानीलकण्ठको मनुदेवको अभिलेख आदि रहेका छन्।
यस आधारमा पनि यो अभिलेख बज्राचार्यको मताअनुसार कुनै सम्राट्की पत्नीको नभई साधारण व्यक्ति गृहपतिकी पत्नीले राखेको मतलाई बलियो बनाएको छ। यी विजेश्वरी भगवतीलाई पलाञ्चोक सहरमा नेपालको राजधानी बनाएका तत्कालीन शासक मदन सिंहरामले काठमाडौँको इटुङ बहालमा शिलालेख थापना गरि वि.सं १४३९ मा पलाञ्चोकको किललानेर त्रिपुरेश्वरी र त्रिपुरासुन्दरीदेवीको जीर्णोद्धार गरेको उल्लेख गरेका छन्।
सो शिलापत्रमा स्वयम्भूनाथ चैत्यको पुनःनिर्माण गरेको समेत प्रसङ्ग जोडिएको छ। स्मरण रहोस्– वि.सं १४०६ मा मुसलमानले काठमाडौँ उपत्यकामा आक्रमण गरी ध्वस्त बनाएका मठमन्दिर पलाञ्चोकका शासकले निर्माण गरेको प्रमाण यथेष्ट छन्, त्यसको अर्को प्रमाण वि.सं १४१७ को पशुपतिनाथको जयसिहरामवर्दनको शिलालेख हो।
मुसलमानको आक्रमणबाट वि.संं १४०६ मा ध्वस्त भएको पशुपतिनाथ मन्दिर र वर्तमानको शिवलिङ्गसमेत पलाञ्चोकका शासकले निर्माण गरेको पशुपतिनाथभित्रको शिलालेखले पुष्टि गर्छ।
काभ्रेको पाँचखाल नगरपालिका– ९ मा अवस्थित यो मन्दिर सवंत् ४२५ वि.सं ५६० मा मानदेव प्रथमको शासनकालमा विजयास्वामिनीले राजसुयज्ञ गरी स्थापना गराएको पाइन्छ। पलाञ्चोक भगवती, नाला भगवती, नक्साल भगवती र शोभा भगवती चार दिदीबहिनीमध्ये पलाञ्चोक भगवती सबैभन्दा ठुली दिदी हुन् भन्ने लिच्छविकालीन र पूर्वमध्यकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ
पलाञ्चोकी विजेश्वरी भगवतीको मूर्ति एक मिटर अग्लो कालो चिल्लो ढुङ्गामा कुँदिएको अठार हात भएको, विभिन्न शस्त्रास्त्रले सजिएको, अलि बाङ्गिएको आकारमा छ।
यो मन्दिरमा विशेषगरी माघ शुक्लपूर्णिमा, ठुलो एकादशी, दसैं, माघे सङ्क्रान्ति र वैशाख पूर्णिमामा भगवतीलाई रथमा घुमाउने चलन छ। त्यस अवसरमा मन्दिरमा भत्तजनको ठूलो भीड लाग्ने गर्दछ।
सम्पूर्ण देवताका अंगबाट प्रार्दुभाव भएकी विजेश्वरी भगवती कमलको आसनमा विराजमान देवी महालक्ष्मीलाई सिंह वाहनमा विराजमान गरिएको छ, जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ। उनका अठार हातमा अक्षमाला, कमल, वाण, खड्ग, बज्र, गदा, चक्र, बञ्चरो, त्रिशूल, शंख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन्।
शक्तिस्वरुपिनीमा एकजना पहरी व्यापारीले ल्हासा व्यापारबाट आएको आम्दानीबाट मन्दिरमा पचास धार्नी घण्टी चढाएका छन्। यहाँका आदिवासी पहरी भाषाअनुसार पला–पाइला र चों–बस्नु वा राख्नु हो।
(पलाञ्चोकी विजेश्वरी भगवतीको प्राण प्रतिष्ठा भएको एक हजार ५ सय २१ वर्ष प्रवेशका अवसरमा)
प्रकाशित: १२ फाल्गुन २०८० १४:१६ शनिबार