७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

जनता–सेना सम्बन्धको इतिहास

नागरिक–सेना सम्बन्ध अर्थात् सिभिल–मिलिटरी रिलेसनको कहानी चलेको धेरै भयो। सेना र सरकारको सम्बन्ध राम्रो हुँदैमा सेना र जनताको सम्बन्ध असल हुन्छ भन्न सकिन्न किनकि कतिपय विकासोन्मुख देशमा सेना र सरकार मिलेर जनतामाथि अन्याय–अत्याचार गरेका छन् र गरिरहेका छन्।

भ्रष्ट सरकारलाई सेनाले साथ दिएर आफू पनि भ्रष्ट बनेका नजिर सेनामा धेरै छन्। अनि अर्को कुरा प्रजान्तात्रिक सरकारको मातहतमा हुँदैमा सेनाको चरित्र राम्रो हुन्छ भन्ने पनि किमार्थ होइन। अबको दुनियामा सेनाका काम दुनिया अर्थात् जनताले देख्न र भोग्न पाउने हुनुपर्छ भने जनताको भावनालाई सम्मान गर्दै सेनाले काम गर्नुपर्छ। नागरिक–सेना सम्बन्धलाई अब जनता र सेनाको सम्बन्धमा बदल्नुपर्छ।

जनताका छोराछोरी सेनामा भर्ना हुने हुँदा सैनिक संस्था सिधै जनतासँग सम्बन्ध राख्छ भने जनताको आवाजले मात्र सरकार र सेनाको कान खुल्ने छ। सैनिक ऐन नै सरकारको सेना नियन्त्रण गर्ने कडी हो। तसर्थ सरकार यही सैनिक ऐनमा केन्द्रित रहने भएकाले जनता र सेनाको सम्बन्ध भनेको ऐनले नबाँधेको खुला सम्बन्ध हो।

संसारले नै यो परिभाषा बदल्न ढिला भइसकेको छ। यही पृष्ठभूमिलाई मनन गर्दै यो लेखमा नेपालमा जनता र सेनाको सम्बन्ध बलियो बनाउन सकिने सम्भावित उपायहरू राखिएका छन्।  

अबका दिनमा नेपाली सेनामा सबैभन्दा ठुलो खाँचो जनता र सेनाबिचको सम्बन्ध सुधार्नु हो। विगतका दशकहरूमा नेपालका विभिन्न सरकार र सेना आफैंले पनि यस पक्षमा मनोवैज्ञानिक ढंगले प्रभावकारी पहल गरेनन्। हाल आएर सेनाबाट केही सोच र पहलकदमी भएका छन्। तर यो सुरुवात मात्र हो। सेना (जनताको सम्बन्ध विकास हुन दशकौंको प्रयास चाहिन्छ।

राज्यलाई पर्ने सेनाको आवश्यकता, यसको महत्व र इतिहासबारे राज्यले नै स्कुल, कलेज तथा विश्वविद्यालयको पाठ्यक्रमहरूमा स्तरअनुसारका बु“दा राखेर पढाउनुपर्छ, जुन अरू देशमा विद्यमान छन्। त्यसैगरी सेनाले पनि आफ्नो योगदान, इतिहास र महत्वबारे प्रकाशन गरेर नागरिक समाज, स्कुल, कलेज, विश्वविद्यालयहरूमा पढाउनु र पठाउनुपर्छ।

सेनाले सैनिक इतिहास केवल ब्यारेकभित्र मात्र पढाउने र नगन्य रूपमा छापिएका सैनिक इतिहास पनि ब्यारेकभित्र मात्र राखिएको बुझिन्छ। सेनाको महत्व र योगदान अनि इतिहासबारे जनताले पढ्न पाएका छैनन् भने नेपाली शैक्षिक पाठ्यक्रमहरूमा सेना, सुरक्षा र सेनाको ऐतिहासिक महत्वबारे उल्लेख नहु“दा सरकारको मन्त्रीतहमा पुगेका व्यक्तिहरूले समेत सेनाको सकारात्मक पक्षमा जानकारी नपाएर नै बोल्न सक्दैनन् । किनकि, देशका नागरिक नै नेपाली सेनाको मूल्यमान्यताप्रति सचेत छैनन्।

सेनाले जनहित (औषधी बाँड्ने, बाटो बनाउने, स्कुल बनाउने आदि) तर्फ मात्र जोड दिएको छ। यतिले मात्र सेनाको मूल्यमान्यता जनताले बुझ्दैनन्। सबैभन्दा पहिला त देशका बालबच्चा, युवा तथा प्रौढको मन–मस्तिष्कले देशलाई सेनाको महत्व, देशलाई सुरक्षाको खा“चो र राष्ट्रिय सेनाको इतिहास बुझ्नु जरुरी छ। त्यसपछि मात्र जनताबाट सेनाले मूल्यमान्यता पाउनेछन्।

यसर्थ, इतिहासले नै कुनै पनि संस्थाको जग बलियो हुने कुरा प्रस्ट छ भने देशको शैक्षिक पाठ्यक्रम शिक्षाको तहअनुसार उल्लिखित बुँदाहरू समावेश गर्नुु नितान्त जरुरी छ। हरेक नागरिकले आफ्नो देशको राजनैतिक, सैनिक, धार्मिक, सामाजिक इतिहास बुझे मात्र देशमा एकता कायम हुनेछ।

सेनाको महत्व झल्काउने स्थान भनेको सैनिक संग्रहालय हो। बेलायतजस्तो सानो देशमा २०० भन्दा धेरै सैनिक संग्रहालय छन्। जहाँ देशविदेशका शिक्षित तथा नपढेका व्यक्तिले पनि संग्रहालय देखेर सेनाको महत्व बुझ्छन्। सार्वजनिक चोक, सडक तथा बाटोमा सैनिक वीरहरूको सालिक राखिन्छ, सैनिक स्मारकहरू बनाइन्छन्, जसले सेनाप्रति जनताको श्रद्धा तान्छ।

सैनिक इतिहाससम्बन्धी अनुसन्धान गर्ने र प्रवचन दिने विद्वान्हरूलाई सेनाले छात्रवृत्तिमा राखेको छ। यसबाट नया“ कुराको खोज हुन्छ भने सेनाको पक्षमा विभिन्न शैक्षिक संस्थामा प्रवचन दिइन्छ। यस्ता कार्यबाट सेनाको यशोवृद्धि भएको छ। नेपाली सेनामा इतिहासकालदेखि नै पसिना बगाउने काम प्रशस्तै भयो तर इतिहास लेख्ने र जनतालाई इतिहास पढाउने काम भएन। जसका कारण जनता र सेनाबिचको खाडल पुरिएन।

नेपाल सरकार वा सैनिक कल्याणकारी कोषबाट वार्षिक १० लाखसम्मको गैरसैनिक विद्वान् तथा विज्ञका लागि छात्रवृत्ति राखेर विश्वविद्यालयहरूमा विद्यावारिधिदेखि सैनिक इतिहासको उत्खनन र सेना–जनताको सम्बन्ध बढ्ने प्राज्ञिक कामको सुरुवात गर्नु उचित हुनेछ।

साथै सेना र नागरिक समाजका बुद्धिजीवी, सेना र प्राज्ञ, सेना र पत्रकार, सेना र सरकारको नीतिनिर्माता तथा सेना र विदेशी कूटनीतिज्ञ तथा गैरसरकारी संस्थाबिच अन्तरक्रिया हुनुपर्छ। नागरिक–सेना सम्बन्धका लागि चाहिने नीतिका प्याकेज गैरसैनिक विज्ञ र मनोविज्ञहरूबाट तयार गराएमा त्यसको प्रतिफल राम्रो हुनेछ।

सैनिक आ“खाले मात्र बनाइएको प्याकेजले गैरसैनिकहरूको मन जित्न गाह्रो पर्ने भएकाले समाजशास्त्रसँग सम्बन्धित मनोविज्ञहरूको योजनाअनुसार सेनाले जनताको मन जित्ने कार्यक्रम बनाउनुपर्छ। सेनाको जनहित कार्यले मात्र त्यसमा पुग्दैन। मान्छेको मनमस्तिष्क बदल्ने खालको वैचारिक आन्दोलन सुरु गर्नु जरुरी छ। नेपाली सेनाको महत्व र इतिहास सेनाले मात्र बोलेर हुँदैन, गैरसैनिक क्षेत्रबाट बोल्ने स्थिति तयार भएमा अति उत्तम हुनेछ।

नेपाली सेनाको महत्व र इतिहासबारे युवापिँढीलाई जानकारी गराउनु जरुरी छ। नेपालमा हाल करिब ४१ प्रतिशत युवाशक्ति छ। यसर्थ सेनाका जंगी अड्डादेखि गण–गुल्मसमेतको पहलमा विश्वविद्यालयदेखि माध्यमिक विद्यालय तहसम्म पुर्‍याएर सेनाको मूल्यमान्यताबारे सक्षम सैनिक व्यक्ति वा गैरसैनिक प्राज्ञहरूबाट विद्यार्थीलाई प्रवचन दिइनुपर्छ। जुन कुरो शिक्षा र रक्षा मन्त्रालयको समन्वयबाट निर्देशन लिएर सैनिक वा गैरसैनिक पक्षहरूबाट गर्न सम्भव रहेको छ।

सेनाले राजनीति गर्नुहुन्न तर राजनीति बुझ्नुपर्छ। आजको जमानामा वैचारिक सिमाना छैन। राजनीतिक चेतनाले मान्छेमा परिपक्वता बढाउ“छ भने सेनाले देशको स्थितिबारे थाहा पाउँछन्। राजनीतिमा नै देशको सामाजिक, आर्थिक, सैनिक, धार्मिक, शैक्षिक पक्षहरू गा“सिएका हुन्छन्। राजनीति बुझेपछि सेनाले पनि परेका बेला गैरसैनिक निकायस“ग विश्वासका साथ अन्तरक्रिया गर्न सक्छन्। अनि एउटा सैनिक व्यक्ति राजनीतिक भड्काउबाट विचलित हुँदैन। उसलाई गर्न हुने र नहुने कामबारे थाहा हुन्छ।

जनीतिक चेतना नभएर नै हाम्रा सैनिक परिवारले राजनीतिक नेता तथा अन्य बुद्धिजीवीस“ग खुलेर कुरा गर्न नसकेको महसुस भएको छ। यसर्थ समाजवाद, पुँजीवाद, राज्यसुरक्षा, जनता, देशको राजनीतिक स्थिति चित्रण हुनेजस्ता विविध विषयलाई सेनाको विभिन्न तालिममा समावेश गराई गैरसैनिक प्राज्ञबाट प्रवचन दिलाइएमा फाइदा पुग्ने देखिन्छ। 

यसबाट पनि सेना–नागरिक सम्बन्ध बढ्नेछ। प्राज्ञको आ“खाबाट पनि सेनाको वास्तविकता देखिनेछ। यसले संस्थालाई फाइदा पु¥याउँछ। सबैभन्दा ठुलो कुरो नेपाली सेनाको गुणगान गरेर ठिक्क पार्नेहरूका भन्दा सेनाको कमजोरी पहिल्याएर बोल्ने र प्रवचन दिनेहरूका कुरा सुनेर तिनीहरूबाटै सुधारका उपायसमेत माग्नु बुद्धिमानी हुनेछ।

अन्य विकसित देशले थालनी गरेसरह नेपाली सेनाले पनि हरेक सैनिक अप्रेसन (कारबाही) गर्नुअगाडि सेनाभित्र गैरसैनिकतर्फका कानुनी र मानव अधिकार विज्ञहरूस“ग छलफल गरी त्यस अप्रेसनबाट हुने सबल र कमजोर पक्षबारे कानुनी सल्लाह लिनुपर्छ।

विगतको माओवादीसँगको बन्दुके लडाइँमा नेपाली सेनाको कानुन विभागले मानव अधिकारबारे सही सुझाव नदिएकै हो। यसले समयमा नै सही कुरो बोलिदिएको भए नेपाली सेनामाथि लादिएको मानव अधिकार हननका बातहरू पक्कै अति न्यून हुने थिए किनकि इन्फेन्ट्री लडाकु होस् वा जर्नेल कर्नेल होस्, ऊ लडाइँमा पोख्त हुन्छ तर ऊ मानव अधिकारको विज्ञ होइन।

लडाइँको बिचतिर पुगेपछि मात्र विदेशी र स्वदेशी केही संस्थाले मानव अधिकारसम्बन्धी प्रवचन दिएपछि नेपाली सेनाले थाहा पाएको थियो। यसको साक्षी यो लेखक स्वयम् हो। वास्तवमा प्राज्ञ र सञ्चार जगत्ले नेपाली सेनालाई नबुझेसम्म सेना र जनताको सम्बन्ध सुध्रिन सक्तैन।

श्रव्य–दृश्य साधनले मान्छेलाई छिटै असर पार्छ। यसर्थ सेनाले नेपाल एकीकरणदेखि हालसम्मका विदेशी मित्रराष्ट्रलाई पुर्‍याएको सैनिक सहयोग जस्तैः नेपाल एकीकरण युद्धहरू, भारतको सिपाही विद्रोह, पहिलो र दोस्रो विश्वयुद्ध, हैदरावाद समस्या, नेपाल–अंग्रेज युद्ध, नेपाल–तिब्बत–चीन युद्ध, शान्ति सेनाको भूमिका, प्रकृति तथा वन्यजन्तु संरक्षण, बाढीपहिरो र भूकम्पमा गरिएका उद्धारका काम, जनहित कार्य तथा राष्ट्रिय विकासजस्ता विषयमा चलचित्र बनाई पालैपालो देशभरिकै सिनेमा हल र विद्यालय तथा सार्वजनिक स्थलमा निःशुल्क देखाउने प्रावधान भएमा यसबाट नागरिक समाजमा द्रुत गतिबाट सेनाको इतिहासबारे जानकारी बढ्नेछ र यसले नागरिक–सेना सम्बन्धमा इँटा थप्ने विश्वास लिइन्छ।

सैनिक कार्यक्रमबाट मात्र पुग्दैन, सबै नेपालीले टेलिभिजन हेर्न पाउँदैनन् र कतिले भ्याउँदैनन् पनि। अर्काे कुरा नेपाल सरकारमार्फत सेना (रक्षा मन्त्रालय) ले नेपालका सम्पूर्ण सांसद, नीति निर्माता, उच्च तहका कर्मचारी, पत्रकार, मानव अधिकारकर्मी, एनजिओ तथा शिक्षकहरूलाई राष्ट्रिय सुरक्षासम्बन्धी बोल्न हुने र बोल्न नहुने कुराको विषयमा गोष्ठी चलाउनुपर्छ। किनकि, राष्ट्रको सुरक्षा भनेको सबैका लागि हो।

देशका नेता, उच्च तहका कर्मचारी, पत्रकार तथा नीतिनिर्मातालाई राष्ट्रिय सुरक्षा र सुरक्षाकर्मीको महŒवमा ज्ञान नभएकाले नै विगतका दिनहरूमा बढी आलोचना मात्र भएको भनेमा अन्यथा नहोला। छिमेकी राष्ट्रहरूमा राष्ट्रिय सुरक्षासम्बन्धी सार्वजनिक स्थानमा टीका–टिप्पणी नहुनुको कारण पनि यही हो।

अझै भन्नुपर्दा नेपाली सेना र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको सम्बन्ध एउटै आमाका छोरीहरूजस्तो हुनुपर्छ। प्रतिस्पर्धी होइन, दुःखसुखका पूरकका रूपमा सम्बन्ध राख्नुपर्छ। उहिलेदेखि अहिलेसम्म पनि एकअर्को संस्थाका बहालवाला र भूतपूर्व ठुलासाना सबै दर्जाले एकअर्कालाई होच्याउने र खुइल्याउने शब्दहरू बोल्ने गरेका नजिर प्रशस्तै छन्। यसले यी सबै संस्थालाई क्षति पुर्‍याइरहेको छ।

यी संस्थाबिच एकता र सद्भाव देखावटी हुनुहुन्न। तल्लो तहदेखि ठुला दर्जासम्मको एकताले नै यी अङ्गहरूको सुवास फैलनेछ। दुःखका साथ भन्नुपर्दा आफ्ना राजनीतिक स्वार्थपूर्ति गर्न र आफ्ना झोले बनाउन यी अंगहरूको एकता हुन नदिने जालझेल राजनीतिक शक्तिबाट नै भए र भइरहेका छन्। यो अति घृणित तर संवेदनशील पाटो हो। यी चार अंगबिच एकता हुन नसक्दा नै यी संगठनहरूमा राजनीतिक शक्ति पसेर गिजलगाजल परिरहेका छन्।

यो पनि भुल्नुहुन्न कि आजको युग भनेको आम सञ्चारको युग हो। युद्धमा समेत जसले आम सञ्चारको प्रयोेग गर्न सक्छ, त्यसैले ख्याति बढाउँछ र युद्ध जित्छ। यो पक्ष भनेको दुवैतिर धार भएको हतियार हो। यसर्थ, नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आम सञ्चारलाई चित्त बुझाएर र तार्किक अन्तरक्रिया गरी शंका उपशंका हटाएर राम्रो सम्बन्ध राख्ने प्रयास गर्नैपर्छ।

जबसम्म आम सञ्चारले सेनाको पक्षमा लेख्दैन र विरोध गरिरहन्छ, तबसम्म राम्रो काममा पनि जनधारणा सेनाको पक्षमा ल्याउन गाह्रो हुनेछ। नेपाली सेनाले सञ्चार–कुटनीति कार्यक्रम राखेर सम्बन्ध सुधार गर्ने सम्भावना प्रशस्तै छ। आम सञ्चारसम्बन्धी अध्ययन गर्ने गैरसैनिक विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गर्न सकिन्छ भने अन्य केही देशमा भएजस्तै उच्च हैसियत भएका पत्रकारहरूलाई करार सेवामा कम्तीमा पनि सिधै मेजर दर्जामा भर्ना गरी काममा लिइएमा अति राम्रो हुनेछ भन्ने महसुस गरिन्छ।

जसबाट सेनामा आम सञ्चारको महत्व बढी देखिन्छ। यसो गरेमा सेना र सञ्चारबिच सम्बन्ध राख्नुपर्ने संस्कारको विकास हुनेछ। अनि पत्रकारहरूलाई सुरक्षा दिएर निड टु नो बेसिसमा सैनिक कारबाहीमा लानुपर्छ। बन्दुक र गोलीको साथमा आम सञ्चारलाई प्रयोग गर्न सकेमा यसबाट सैनिक कारबाहीमा थप ५० प्रतिशत  शक्ति बढ्ने छ। यो थालनीपश्चात् देशहरूले सन् १९९१ को इराकविरुद्धको पहिलो हमलाबाट गरिसकेका छन्।    

सेनाको इतिहास पनि देशकै इतिहास हो। सेनाले गरेका राम्रा कार्यहरू सबै नेपालीका सम्पत्ति हुन् भने कमजोर पक्षलाई औंल्याएर त्यसमा सुधार गर्न जनताले नै दबाब दिनुपर्छ। सेनाप्रति जनताको आस र भावना के के छन् ? कम्तीमा पाँच वर्षको एकपटक सेनाको पोसाकमा होइन, सिभिल पोसाकमा स्थानीय ब्यारेकहरूले सुझाव सङ्कलन गर्नु जरुरी छ।

जनताको विश्वासभन्दा बाहिर रहेर सेनाले काम गर्ने हो भने सेना र जनताको सम्बन्ध भुसुक्कै बिग्रनेछ। हामी नेपालीको संस्कार, परम्परा र सोचाइ जे छ, सेना पनि त्यही परिवेशमा अलग रहन सक्दैन। सेना भनेको राष्ट्रिय सम्पत्ति हो भने सैनिकहरू जागिरे मात्र हुन्, आउँछन् जान्छन्। विगतका कमीकमजोरी सेनाले सच्याउनैपर्छ भने आम नागरिकले पनि पूर्वाग्रही सोच मात्र नराखी सेनालाई मार्गदर्शन अवश्य दिनुपर्छ।

अन्त्यमा, नेपाली सेनाले फौजको पैसा काटेर अस्पताल र स्कुल बनाउने अनि सबैको उपचार गर्ने, सन्तान पढाउने काम, यो अति दुःखद पाटो हो। व्यक्तिको पैसा काट्नु अपराध हो। अन्य देशको सेनाले के के सुविधा पाउँछन् ? त्यो हेरेर अब नेपाल सरकारले नै व्यक्तिको काटिने प्रथाको अन्त्य गर्नका लागि एउटा ठोस निर्णय लिनैपर्छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पनि सेनाकै जस्तोगरी व्यक्तिको पैसा काटेर अस्पताल खोल्ने र स्कुल बनाउने काम भइरहेको छ। त्यो पनि सरासर गैरकानुनी छ र यो काम सरकारले बन्द गर्नैपर्छ भन्ने अपिलसमेत गरिएको छ।

प्रकाशित: ५ फाल्गुन २०८० ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App