श्री स्वस्थानी व्रतकथा नेपाली समाजमा लोकप्रिय व्रत हो। माघ महिनाभरि प्रत्येक दिन साँझपख परिवारका सबै सदस्यले स्वस्थानी व्रतकथा सुन्ने गर्छन्। स्वस्थानी व्रतकथाका रोचक प्रसंग श्रवण गर्दै यसबाट आफ्ना मनोकांक्षा पूरा हुने विश्वास सबैमा हुन्छ।
यसवर्ष बिहीबारदेखि स्वस्थानी व्रतकथा प्रारम्भ भएको छ। यसै अवसरमा काठमाडौंको साँखुमा प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने मेला पनि प्रारम्भ भएको छ।
स्कन्दपुराणमा वर्णित स्वस्थानी व्रतकथा भगवान् शिव, पार्वती, विष्णुको सेरोफेरोमा घुमेको छ। स्वस्थानीभित्र अनेकन् उपकथा छन्। सबैको उद्देश्य भनेको स्वस्थानी देवीको महिमा गायन गर्नु हो। ‘कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! तिमी एकचित्त भई सुन’ भन्दै कथा प्रारम्भ हुन्छ।
पुस–माघको चिसोको वास्ता नगरी एक छाक मात्र खाई श्री स्वस्थानी कथा सुनी भगवान्को भक्ति गर्दै एक महिनासम्म विशेषगरी महिलाले कठिन व्रत बस्ने गर्छन्। स्वस्थानी व्रतकथामै चित्रित शालीनदी मेलामा यस वर्ष २२० जना व्रतालु रहेका छन्। यसमध्ये १९९ जना महिलाले कठोर व्रत लिएका छन्।
स्वस्थानी व्रत बस्ने त्यहाँ महिला मात्र नभएर वर्षौवर्षदेखि व्रत बस्दै आएका पुरुष (सावागन) सात जना, साँखुकै नायोनकिन (नाइके) दुई जना, पुरुष ११ जना र माधव नारायण (विष्णु भनवान्) बोक्ने एक जना रहेका छन्।
शालीनदीमा एक महिना श्री स्वस्थानीको व्रत बस्नेहरू शालीनदीनजिकै कोठाभाडा लिएर ढुक्कै रहन्छन्। उनीहरू माघ १० बाटै शालीनदी मेलामा सहभागी भएका छन्। श्री स्वस्थानी व्रतकथा तथा शालीनदी मेलाको अन्त्य नभएसम्म व्रतालुहरू त्यहीं बस्छन्।
शालीनदीमै महिना दिन पूजा–आराधना र स्नान गर्दै व्रत बसेकी छन् काठमाडौं चाल्नाखेलकी प्रमिला कार्की। घरमा श्रीमान्, छोराछोरी रहे पनि उनलाई शालीनदीमा श्री स्वस्थानी व्रतले तानेको छ। पहिलो पटक श्री स्वस्थानी व्रत शालीनदीमा लिन पाउँदा उनी धेरै खुसी छिन्।
‘पोहोर साल स्वस्थानीको व्रत लिएकी एक व्रतालुले प्रसाद खुवाउँदै मनमा लागेको कुरा स्वस्थानीलाई सम्झँदै माग्नू, पूरा हुन्छ भनेकी थिइन्,’ उनले भनिन्, ‘त्यो साँच्चै रहेछ। श्री स्वस्थानीलाई सम्झँदै मागेकी थिएँ, पूरा भयो। म धेरै खुसी भएँ। त्यसैकारण यो वर्ष शालीनदीमै आएर एक महिना श्री स्वस्थानीको व्रत बस्दै छु। घरमा बालबच्चा बुढालाई जिम्मा लगाएर आएकी हुँ।’
उनले थपिन्, ‘एक महिने स्वस्थानीको व्रतअवधिमा घरको केही पनि समस्या मलाई नसुनाउनू भनेकी छु। मैले जसरी बालबच्चा हेरेको थिएँ। त्यसरी नै छोराछोरीलाई हेर्नू भनेर बुढालाई भनेकी छु। एक महिनाको स्वस्थानीको व्रत समाप्त भएपछि घर फर्किन्छु। स्वस्थानीको व्रत बस्न यो वर्ष खै केले जुरायो। अब पूरा गरेरै जाने हो।’
प्रमिलाले शालीनदी नजिकै कोठा भाडामा लिएर बसेकी छिन्। उनले स्वस्थानी व्रतकथामा सहभागी हुन पाउँदा अत्यन्तै हर्षित भएको बताइन्।
प्रमिलाजस्तै शालीनदीमा श्री स्वस्थानीको व्रतमा सामेल भएकी छन् भक्तपुरकी कान्छी श्रेष्ठ। उनले पनि आफ्नो घरपरिवार छाडेर महिना दिनसम्म श्री स्वस्थानीको व्रत शालीनदीमा बस्ने अठोट लिएकी छन्। ‘गुरु ब्रह्मा, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरु साक्षात् परंब्रह्म तस्मै श्री गुरुवे नमः। ओम श्री माधवाय केशवाय सिरमै नमामी’ जप्दै उनी १९९ जना महिला व्रतालुको भिडमा थिइन्। यसअघि पनि आफूले श्री स्वस्थानीसँग मागेको कुरा पूरा भएको उनले सुनाइन्। त्यसैले उनी श्री स्वस्थानीको भजनकीर्तनमा मग्न थिइन्। उनी मात्रै नभएर शालीनदीमा थुप्रै महिला र पुरुषहरू पनि श्री स्वस्थानीको पूजा आराधना गर्दै बसेका थिए।
व्रतको यो एक महिना साँखुस्थित शालीनदीमा आएर माघे स्नान गरी माधवनारायणको दर्शन गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वासले गर्दा त्यँहा हरेक वर्ष भक्तजनहरूको भिड लाग्छ।
श्री स्वस्थानी व्रत कथा वास्तवमा धार्मिक आस्था जगाउने पुस्तक भएकाले यसका राम्रा पक्षहरू धेरै छन् भने कतै आजको समाजले पचाउन नसक्ने खालका प्रश्नहरू पनि छन्। त्यस्तै गरी हतार, आवेश वा क्रोधमा गरेका काम कति कष्टदायक हुन्छन् भन्ने पनि यसमा चर्चा गरिएको छ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ। पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ। यस्ती देवीको विधिपूर्वक व्रत गरेमा मागेको कामना पूरा हुन्छ भन्ने विश्वास छ।
धर्म–संस्कृतिको आफ्नै परम्परा हुन्छ। हिन्दु धर्म यस्तै आस्थामा जीवित चिन्तन हो। यस धर्ममा व्रत, उपवास वा यस्तै पूजाआजाले विशेष महŒव राख्छन्। स्वस्थानी व्रतकथामा हिमालय–पुत्री पार्वती विष्णुले दिएको सल्लाहअनुसार महादेव पति पाऊँ भन्दै एक महिनासम्म व्रत बसेकी र त्यही व्रतको प्रभावले महादेव पति प्राप्त भएको सन्दर्भ केन्द्रीय रूपमा आएको छ।
अगस्त्य मुनिले पृथ्वीको उत्पत्तिका साथसाथै घटेका विभिन्न घटनाक्रमबारे भगवान् महादेव–पुत्र कुमारसँग राखेको जिज्ञासालाई उनले सविस्तार वर्णन गरेको पाइन्छ। कथामा उल्लेख गरेका धेरैजसो ठाउँ जस्तै पशुपति क्षेत्र, श्लेषमान्तक वन, वागमती नदी, मृगस्थली, किरातेश्वर, गौरीघाट, गुह्वेश्वरी, विभिन्न शक्तिपीठ, महादेव मन्दिर, शालीनदी आदि सबै नेपालमा नै भएकाले यो महिनामा यी पवित्र ठाउँमा भक्तजनको घुइँचो लाग्छ। स्वस्थानी भनेकै यहाँका देवस्थलको चर्चा गर्ने माध्यम पनि हो।
माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी व्रतकथा समापन गरिन्छ। यस दिनका लागि आवश्यक सबै पूजा सामग्री १०८ वटाका हिसाबले जम्मा गरिन्छ। पूजामा जौ, तिल, विभिन्न थरीका फलफूल, नैवेदसहित १०८ बेलपत्र, १०८ जनै, १०८ विभिन्न थरीका फूल, १०८ कुड्का सुपारी, १०८ पान, १०८ रोटीका साथै धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ।
यसरी पूजा गरेपछि यसबाट आठ अक्षता, आठ कुड्का सुपारी, आठ पुष्प, आठ पान तथा सगुन आदि आफ्ना पतिलाई दिनु, पति नभए छोरालाई, छोरा पनि नभए मित छोरालाई र यदि मित छोरा पनि नभए आफ्नो फलानो काम पूरा होस्, मनले चिताएको पूर्ण होस् भनी पवित्र नदी, तलाउ, पोखरी आदिमा बगाउने व्रतविधि छ।
धर्म–संस्कृतिमा नै नेपाल र नेपालीको पहिचान गाँसिएको विचार राख्छन् जनक–जानकी सिद्धार्थ धर्मकर्म सेवा संघका अध्यक्ष शंकर मल्ल ठकुरी। श्री स्वस्थानी व्रत अन्य व्रतजस्तो नभई निकै कठिन एवं कष्टकर रहेको ठकुरीको अनुभूति छ। यो व्रतमा छुट्टै नियमहरू पनि रहेका छन्, जुन कुनै पनि व्रत, उपवासमा नभएको उनले बताए।
श्री स्वस्थानी व्रतका क्रममा व्रतालुले माछा, मासु, मरमसलाको नामसमेत लिन नहुने र यस व्रतमा परापूर्व कालदेखि चलिआएको माधवनारायण व्रतका नियमहरू रहेका अध्यक्ष ठकुरीले बताए। दुध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुंगो र फलफूल मात्र व्रतालुका हकमा भोजन गर्न हुने उक्त सेवा संघले उल्लेख गरेको छ।
शालीनदीमा बसेका व्रतालुले दैनिक शंखरापुर, सक्व (साँखु ) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र चोखोपानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजनपश्चात् जुठो भाँडा माझ्नुपर्ने छ। व्रतालुका हकमा भोजन दिनको एकपटक मात्रै गर्नुपर्छ। साथै आफन्तको जुठो, सुतक बार्न हँुदैन भन्ने मान्यता रहेको छ।
श्री स्वस्थानीको व्रत अवधिमा व्रतालुको परदेश यात्रा रहेको छ भने शालीनदीबाट बज्रयोगिनी ढोका हुँदै पशुपति, फर्पिङ, दक्षिणकाली, पनौती, चाँगुनारायण, शंखमूलसम्म खाली खुट्टा हिँडेर परदेश यात्रा गर्नुपर्ने ठकुरीले बताए।
‘पुरुष व्रतालुहरूले कुनै पनि किसिमका रातो टीका तथा रातो वस्त्र लगाउन पाउने छैनन्,’ अध्यक्ष ठकुरीले भने, ‘नित्य पूजा गर्नुअगाडि सम्पूर्ण पुरुष व्रतालुहरूले चन्दनको टीका लगाएको हुनुपर्नेछ।’
नेपाल संवत्को आठौं शताब्दीदेखि सुरु भएको विश्वास गरिने एक महिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ। स्वस्थानी व्रतकथाको भूमिका खण्डमा उल्लेख भएअनुसार यसका कथयिता स्कन्द अर्थात् कुमार हुन् र प्रथम श्रोता अगस्त्य मुनि। स्वस्थानी कथाबारे गरिएका अनुसन्धानले यसलाई स्कन्दपुराणको केदारखण्ड, माघ महात्म्यबाट उद्धृत गरिएको भन्ने मान्यता छ। साथै यो पार्वतीले भगवान् शिवलाई पतिका रूपमा पाऊँ भनी व्रत बसेको भन्ने आधार पनि चर्चित छ।
शालीनदीमा महिलाले स्नान गर्दाको फोटो खिच्न नपाइने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले यो वर्षको मेलालाई सभ्य र भव्य बनाउनका लागि सम्पूर्ण तयारी गरेको बताए। पहिलो दिन बिहीबार मात्रै करिब सात हजार भक्तजन श्री स्वस्थानीको दर्शन गर्न शालीनदी आएको उनले बताए।
देशका विभिन्न भागबाट एक महिनाको अवधिमा २५ देखि ३० लाख भक्तजन मेला भर्न आउने अनुमान गरेको उनले बताए। भक्तजनको सेवासुविधालाई ध्यानमा राखी शालीनदी यातायात प्रालि र बाबा गोकर्णेश्वर प्रालिले जस्तोसुकै अवस्थामा सेवा दिने उनले बताए।
बस व्यवसायीले यसका लागि काठमाडौंको ठाउँठाउँबाट चल्ने बसको संख्या नियमितभन्दा बढाइएको र दुई सय बस रातिसम्म पनि सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए।
‘प्रत्येक बसमा भाडादर देखिने गरी मूल्यसूची टाँसिएको छ। कुनै बसले ठगेमा कारबाही पनि गरिन्छ,’ उनले भने, ‘इलाका प्रहरी कार्यालयले मेलामा हुनसक्ने सम्भावित झैझगडा, लुटपाट, चोरी, पकेटमार नियन्त्रणका लागि सम्पूर्ण सुरक्षा प्रणाली तयारी अवस्थामा रहेको छ। व्रतका क्रममा स्नान गर्ने महिलाको फोटो–भिडियो खिच्न रोक लगाइएको छ। साथै प्रत्येक पसलले मूल्यसूची राख्नुपर्ने र सूचीभन्दा बढी लिए कारबाही गर्ने बन्दोबस्त मिलाइएको छ।’
सभ्य र भव्य रूपमा सुसम्पन्न गर्न मूल समिति र विभिन्न उपसमिति गठन गरिएको श्रेष्ठले जानकारी दिए। ‘यातायात, सुरक्षा, ट्राफिक, फोहोरमैलालगायत विभिन्न उपसमिति गठन गरी काम गरिरहेको उनले बताए। व्रत बस्न साँखु आउने व्रतालुको सेवाका लागि सबैभन्दा पहिले लगत संकलनका लागि नाम दर्ता एवं स्थान व्यवस्थापन गरिएको छ,’ श्रेष्ठले भने। साथै श्री स्वस्थानीको दर्शन गर्न आएका भक्तजनहरू बिरामी भएमा तथा चक्कर लागेर ढलेमा स्वास्थ्य चेकजाँचको स्टल पनि राखेको उनले बताए।
शान्ति सुरक्षासम्बन्धी व्यवस्थापनमा शालीनदी परिसरका विभिन्न ठाउँमा सिसिटिभी क्यामेराको व्यवस्था गरिएको छ। शान्तिसुरक्षाका लागि सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी एवं महानगरीय प्रहरी प्रभाग, साँखुबाट विशेष प्रहरी टोली परिचालन गरिएको श्रेष्ठले बताए।
प्रकाशित: १३ माघ २०८० ००:४७ शनिबार