२० वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘लेखक वर्ष कृति पुरस्कार–२०७९’ मफलरलाई

नेपाली लेखक संघ, कास्कीले प्रदान गर्ने ‘लेखक कृति पुरस्कार–२०७९’ गजलकार प्रदीप रोदनको कृति ‘मफलर’लाई प्रदान गरिने भएको छ। संस्थाको हालै बसेको कार्यसमिति बैठकले पुरस्कार छनोट समितिको सिफारिसलाई अनुमोदन गर्दै सो निर्णय गरेको हो।

कार्यसमितिले २०७९ सालमा गण्डकी प्रदेशभित्रका लेखकद्वारा प्रकाशित कृतिहरू अध्ययन गरी प्रारम्भिक चरणमा उत्कृष्ट ६ कृति छनोट गरी गत महिना पुरस्कार छनोट समितिलाई हस्तान्तरण गरेको थियो।  प्रारम्भिक चरणमा छनोटमा परेका कृतिहरू दिलीप ढकालको उपन्यास ‘छलाङ’, अशोक थापाको कथासङ्ग्र्रह ‘सन्तापको धून’, प्रदीप रोदनको गजलसङ्ग्र्रह ‘मफलर’, जनार्दन दाहालको लघुकथासङ्ग्र्रह ‘भुवा’, मिलन समीरको कवितासङ्ग्रह ‘प्रिय दुश्मन’ र सुरज उपाध्यायको बालकवितासङ्ग्रह ‘साइकल’ थिए। छनोटमा परेका कृतिहरूमध्ये  विषय, शिल्प, संवेदना, नवीनता एवम् विविध आधारमा ‘मफलर’ कृति छनोटमा परेको छनोट समितिका संयोजक डा. भूमिराज बस्ताकोटीले जानकारी दिए।  

त्यसैगरी वार्षिक रूपमा संस्थाले गर्ने ‘स्रष्टा सम्मान–२०७९’ बाट अग्रज साहित्यकार विश्वप्रेम अधिकारीलाई सम्मान गरिने भएको छ। अधिकारी स्याङ्जामा रहेर विगत ६ दशकदेखि साहित्यसाधनामा तल्लीन छन्। कविता, गीत, गजल, निबन्ध, कथा जस्ता विविध विधामा कलम चलाउँदै आएका अधिकारी तीन दशकदेखि निरन्तर प्रकाशन भइरहेको साहित्यिक पत्रिका ‘रजस्थल’का प्रधान सम्पादक हुन्।  

यही माघ महिनामा एक समारोह आयोजना गरी पुरस्कार प्रदान एवम् सम्मान अर्पण गरिने संस्थाका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले जानकारी दिइन्।

प्रकाशित: ९ माघ २०८० १४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App