११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

आधुनिक बिहे

लघुकथा

विश्वविद्यालयको प्राध्यापक भए पनि पाँच जनाको परिवारलाई छेलोखेलो पुग्ने कमाइ टीकाराम सरको थिएन। उनको प्राइभेट कलेजहरूको जस्तो केही सुविधा थिएन। टयुसन पढाएर कमाउने कुरा एकादेशमा भैसकेको थियो। फेरि उनको विषयमा ट्युसन पढ्ने विद्यार्थीहरू त्यति आउँदैन थिए।

छोराछोरी दुवै आधुनिक थिए। उनीहरूकी आमालाई पनि संगत लागेको थियो। आफ्नी बुढी आमा बिचरी जे दियो त्यही खाने र लगाउने गर्थिन्। उनी शान्त थिइन्। आफूले नयाँ लुगा सिलाएको उनलाई सम्झना नै छैन।

छोरीको बिहे पक्का भएको छ। जोरजाम गर्न जम्मा उनीसँग धेरै समय छैन। परिवारको इच्छा अनुसार बिहे  सबै रस्म पु¥याएर नै गर्नुपर्छ भन्ने छ। टिकोटालोमा पार्टी प्यालेसमा भव्य भोज गर्ने।

बिहेमा दुलाहालाई चाहिने सुनका परिधान अनि आएका पाहुना सबैलाई दक्षिणा सङ्गित,मेहन्दी त्यसपछि जन्ती र निम्तालुहरूलाई  विभिन्न परिकार सहितको भोज। अनि पछिल्लो रस्मचाहिं सम्धीसम्धिनी भेट कार्यक्रममा सम्धिनीहरूलाई सुनका गहनासहित केही जोर सारी, त्यसलाई सुहाउँदा मेक अपका प्रशाधन अनि अरू सात जना आफन्तलाई जोर लुगा र दक्षिण दिनुपर्छ भन्ने कुरा घरमा भएको सम्झिदा उनी झसङ्ग हुन्छन्।

सबैतिर महँगीले नेटो काटेको बेला कसरी व्यवहार गर्ने भन्ने चिन्ता लाग्छ। तैपनि उनी बुढी र छोरीलाई सँगै राखेर कतै कुनै तरीकाले खर्च घटाउन मिल्छ कि भनेर कोठे मिटिङ  राख्छन्। तर, आधुनिक समयमा आफूहरू पनि समयअनुसार नै चल्नुपर्छ। नत्र जोरीपारीले खिस्सी गर्छन् भनेर मान्दैनन्।

बेलुका ओछ्यानमा पल्टिएको बेला उनी सबै सम्झिएर हिसाबकिताब गर्छन्।

- हुनेखानेले केटालाई मोटर नै दिन्छन् तर हामी मोटरसाइकल दिने भनेर छोरीले भनेकी छे। सबै मिलाउँदा खर्च करिव बीस लाखको हाराहारी देखियो। म केही जान्दिनँ। तिमी आमा,छोरी र भाइ मिलेर केके गर्ने हो गर्दै गर नपुगेको खर्च म दिन्छु भनेर दस लाख दिइसकेका थिए।

तीन दिनपछि जन्ती आउने थियो। बिहान श्रीमतीले चिया खान बोलाउँदा उनी घरमा कतै भेटिएनन्।

प्रकाशित: २८ पुस २०८० ०६:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App