७ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

बिनादरकारको सरकार !

हास्यव्यंग्य

पहिलेका एकथरी अर्थशास्त्री भन्थे–सरकार भन्नु जनताका लागि नचाहिँदो बकबासे अभिशाप हो। निर्धा गरिब कामदार किसानसँग आकासे फल देखाएर करपोत उठाउँदै बलियाबांगा ठुलाठालुहरूले बसीबसी मिठोमसिनो बाँडीचुँडी खाने यसको इलम भन्दा हुन्छ। जालीजुलुमीहरूले नौथरी कानुनका साङ्ला बनाएर जनतालाई बाँध्ने, निचोर्ने, थचार्ने र पछार्ने पनि यसको थप बहादुरी नै हो।

तह नलागेको खण्डमा जेल हाल्ने, नेल ठोक्ने र अझै भनेको नमाने तिनै गरिबगुरुवालाई विदेशी कामदार बनाउँदै देशनिकाला गरेर लघार्ने आदि खुराफाती कुकृत्य गर्ने मैमत्त दानवराज पनि त हो सरकार।

हो त, यो गलगाँडतन्त्रे कुर्सीकामी नेतामण्डलीको पण्डालमा बाह्रमासे धामीनाच चलेको निकै भयो। कुनै बेला त यो निरीह देशमा पनि बन्नुपथ्र्यो करामती खँदिला टाउकाहरूको सहमतिको सरकार? तर सधैं बनिबनाउ छ घनटाउके बाजचिलदेखि डाँठ किर्ना–जुकाहरूको ठेक्का र मोलमोलाइको बाजी मार्ने माछाबजार!

अझ यसोभन्दा कसो होला, मौका परे देशलाई नै बाजी राख्ने जुवाडे जमातको विदेशी खेलौना ब्रान्डको हस्मतिको सरकार। उल्टो गति उल्टै कुरा, अर्थात् जजसले जे जे भन्छन्, हस् हस् हजुर भन्दै धमिराको अवतार लिएर देश धुल्याउने अनि आफू र जमात मोटाउने पाराको नाइकेहरूको सरकार।

होस् उडेका, बुद्धिविवेक सडेका, आफै जान्ने पल्टिएर तीन बित्ता बढेका मानव अवतारधारी बिल्टुवा वर्गले मिलीजुली बाँडीचुँडी खाने/खुवाउने सरकार। यसैले पनि सुरुमा त निकै गर्छु भनेथ्यो चमत्कार। खुट्टी देख्तै नपत्याउँदो भए पनि फाइँफुट्टी लडाउन यसले बाँकी राखेन बारम्बार।

मान्छेको आस कतातिर थियो तर बन्न गएछ भस्मासुरले सिकार खेल्ने र मिठोमसिनो पक्वान्न पकाउने, चोक्टा लुछ्ने भान्साघर। भएभरका सुन तस्कर, मानव व्यापारी अनि कुर्सी चढ्न भरथेग गर्ने पण्डा पगरीधारी सज्जन, दुर्जन सबै मिलीजुली अटाउने हावादारी दरबार।

विपक्षी विरोधी जतिलाई भान्साघरबाट हटाउने, नहटे बाँदरसेना लगाएर आङमाथि काउसो दलेर लखेट्ने, अझै काम नचले बलिको बोकालाई झैं खोरभित्र पसेर अँचेट्ने गर्धन, अझै नचेते भाँच्ने दाँत, भत्काउने बंगारा, भुत्ल्याउने बाल, टाङ खिचेर आङमाथि चलाउने तरबार। अनि ठुलाबडा कालेहरूलाई पनपच्छे नगरी भागशान्ति मिलाएर भण्डारा लगाउने मुरी चार ! एकले अर्कामाथि दागा नगरी गिट्टीबालुवादेखि कर्णाली महाकालीको पानीसम्मका साधनस्रोत बाँडेर खाने, अझै नपुगे चुँडेर पनि खाने मिलापत्रको सदाचार।

वाइड बडी, गोकर्ण सफारी, सेक्युरिटी प्रेस, कोरोनाको चन्दा र दान अनुदान सब लुँड्याउने हामभक्तहरूलाई पञ्चखत माफीको पुरस्कार ! अनि तिनैलाई ठुल्ठुला पदमा पुर्‍याउनुपर्ने तारन्तार? आफन्तलाई याने छोरीबुहारी, जुवाइँ, साला, सम्धी, मित–मितिनी, नाता–कुटुम्ब सबैलाई भागशान्ति पुर्‍याएर खुवाउने अनि देखाउने लोकाचार।

 गरिबगुरुवा भोकभोकै लाचार। जता पायो त्यतैका डाँडा जंगलहुँदो भ्यु–टावर बनाउने चमत्कार। यस्तै यस्तै आफू र आफन्तकै सरोकारका काम तमाम गर्न बनेको बेगारीको रागेपाटे पगरीधारी सरकार। विदेशीको दान, स्वदेशीको चन्दा सबै थोक लुँड्याउने मात्र भित्री–बाहिरी खुला धन्दा।

धन्दा राफसाफ पार्न पनि सहमतिको विकल्प कतै देखिएन कि एक्लै बजाऊँ भन्दा ! नत्र गलामा आइलाग्ने भयो घेराउ र ढुंगामुढासहित बल्खु माइतीघरे र सातदोबाटे विरोधको फन्दा। बल्लतल्ल भेटेको कुर्सीमाथि नै बज्रिएला कि बज्रपात या घँगारुको डन्डा। त्यसैले बनौं सतर्क। लुटौं देश, भुटौं जनता, चुटौं बुद्धिविवेक भन्ने गाँठी कुरामा मेलजोल भएपछि बल्ल पो बन्न गएको रहेछ त यो हस्मतिको सरकार !

यता सरकार के बनेथ्यो, उता सडकछाप लुते भुस्याहा कुकुर भुक्याभुक्यै गर्न लागे। घुस्याहा टोलीको उत्थानमा मानौं उनीहरू स्वागतगान र दलगत अभिवादनमा सरिक छन्।

त्यही मौका छोपेर सरकार पनि काउसो बनेर भन्सार पसेको हो कि? तर मोफसलका चियापसल, मदिरालय र मिडियालयमा समेत जताततै हल्ला चल्यो यो चाहिँ पक्कापक्की जनताको सरकार बन्यो।

अब यसले सिनित्तै बढार्छ डंगुर लागेको कसिंगर। तर विपरीत ! आकाशभरि सिकारी बाज चिलले कावा खाँदै गरेको देखेर चल्ला कराए, कुकुर भुके, बिराला रोए। सिंहदरबारबाट आउनुपर्ने सन्देश वनकालीको ढेडुबाट पो आयो। के अनर्थ यो भन्दै थिए कोही। कसैले यसैलाई निकै अर्थपूर्ण ठानेर हल्ला फिँजाए।

लौ बन्दै छ रे सहमतिको अर्को सरकार। तर आफू ताक्छ मुढो बन्चरो ताक्छ घुँडो। अनि के चाहिँ गरोस् बिचरा दाउरा चिर्न लागेको जेठो बुढो। काँचै खाऊँ जली मरौं भन्ने उखान बिर्साउँदै फेरि पनि बन्न गएछ हस्मतिको सरकार। ‘विनायकं प्रकुर्वाणो रचयामास वानरम्’ हेत्तेरिका गणेशजीको सुन्दर मूर्ति बनाउँछु भन्दा रूप नै बाँदरको बन्न गएछ। बिचरा सरकार बनाउने–बिगार्ने बाहिरभित्रका कलाकारको दिमाग इम्पुट नपाएर म्युट भएछ फेरि पनि। हेर फजिती !

हुँदाहुँदै चालढाल जेजस्तै भए पनि भोजनभण्डारा खुलाउने आसमा ठिंगठ्यंग दल याने थिंकट्यांक भनिने बिल्टुवा लाउकेहरूले पनि यसलाई खुसमतिको सरकार भनिदिए। जसले सुन–चरेस पास गरे अनि जसले पचाए, तिनले यस्तै सोच बनाए। अनि कसैले भाग न पाएपछि कुमतिको सरकार भने त कसैले दुर्मतिको सरकार भन्न पनि बाँकी राखेनन्।

कसैले ‘इस् खाइस्’मतिको सरकार पनि भन्न थाले। बुर्लुक्क कुर्सीमाथि चढ्न नपाउँदै एक्लै लफन्ड्याउने काँचो वायु आङमा चढिहालेछ बिचरा अगुवा मुखियाहरूको। काँचो वायु नै चढेर हल्लाउन थालेपछि उनले पो गरून् के? पकाएर वायु पाक्ने होइन क्यारे। चपाएर वायु थाक्ने होइन क्यारे।

भन्छन् बुढापाका, उहिले पनि मति सपार्न निकै गाह्रो पथ्र्यो अरे। हात्तीवनदेखि गोकर्ण हुँदै रोडिसनसम्मका रिसोर्ट, होटेल, मोटेल चहार्दै, चर्दै, पिउँदै, डकार्दै र थुपार्दै हिँडेका सर्वदलीय सहमति निर्माताको जामा पगरीधारी जलाहारीको हुलबाट लोभीपापी भाइमाराको दुलाभित्र छुट्टै सलामत भएर नयाँ धुनचक्कर !

श्रमिक र सर्वाहारा मजदुरको कमाइमाथि थपथाप आइएनजिओका दान–उपदानमा हप्तौं-महिनौंसम्मको गरिष्ठ खानपान र मदमात्सर्यले मन मौलाएको क्षणमा कुन्नि के ताल परेर हो-मोलमोलाइ र भागबन्डाको अजेन्डासमेत सजिलै छिनिएछ।

बिफ, बफ, बिर्‍यानी, पिजा सससँगै नसादार रसादिले डमाडम भरिएको उदर तेस्र्याउँदै एकाएक अनौठो हिमचिम गाँसिएछ। रात्रिकालीन रमझमको रामरमितामय अवस्थामा। रागभैरवीको स्वरसन्धान अलाप्तै सबैले एक स्वरले भनेछन्, ‘अब हामी गरौं सहमति, नराखौं विमति।’

अनि तत्काल पाँचसातबुँदे सहमतिपत्र तयार भएर बाहुली दस्तखत हुँदो भएछ-अब हामी लोभीपापी सबै मिलेर बनाउने हो हस्मतीय सरकार !

प्रेस विज्ञप्ति निस्किएछ मध्य रातमा। मिडिया, पत्रकार, सुरक्षाकर्मी, पर्यवेक्षक सबै चकित पर्दै दोहोर्‍याईतेहर्‍याई त्यही विज्ञप्ति पढ्न थाले। जति पढ्दा, जति हेर्दा पनि उही कुरा यकिन भयो-लेखिएको ‘हस्मतीय सरकार’ नै रहेछ। सबै अक्षरका कान बाइमात्रा तर्कुले बर्धन्ने, एकलख कतै केही फरक रहेनछ पाठमा।

सायद उत्तर दक्षिणका मालिकसँग रंगीन रातको नसादार सहमति भएर नै खेताला कलमलाई पनि दुरुम पानीकै नसा चढेको हुनुपर्छ। चुच्चे नक्सा बनाउँदै, किताबमा मेट्तै गर्ने महान् हानवादीको कुशलता अनुपम नै हो नि। त्यसैले मिलीजुली सरकार बनाउने सल्लाह गर्दा कलम बहादुरले पनि सहमतिको ठाउँमा हस्मति लेखेर नोट अफ डिसेन्ट ठोकिदिएछ। कमाल न हो कलमको? गणेशजीले महाभारत लेख्दा पनि धपेडीमा परेको कलम रिसाएर नोट अफ डिसेन्ट लेखिदिएथ्यो र नै सदाका सत्यवादी युधिष्ठिर महाराज ‘नरो वा कुञ्जरो वा पि अश्वत्थमा हतोहतः’ भनेर काइते कुरा गर्न पुगेका थिए।

एकथरी पर्यवेक्षकहरू भन्दै पनि थिए– गाउँतिर दुःखीगरिबका घरबार लुटपाट गर्दै सहर पसेका दुर्गन्धी जमातको दुच्छर ग्याङ मिलेर बनेकाले उडुसमतिको सरकार भन्ने पनि सुनिन्थ्यो यसलाई। होस हराएका, मति बिग्रिएका महानायकहरूले देश, काल भुलेर बाहिरी जगत्लाई हँसाउन बनाइने दुर्गन्धी सरकार हुनुपर्छ यो !

यस्तो सरकारको स्वभाव हुँडारको हुन्छ र रङ रागेपाटे चितुवाको। देशका प्राकृतिक सम्पदाहरूलाई चपाउन सक्ने विशालकाय नंग्रादाराले वेष्टित नौथरी वर्णशंकर जुकाझैं टाँसिन सक्ने अनौठो जन्तुजमातको परिचय दिन्छ यसले। डाइनोसरकै पुनः आगमन पनि भनेथे कसैले। शत्रु मित्रु पहिचान गर्न नसक्ने, जजसले जे जे भन्छ, हस् हजुर भन्दै माल्सिरी गाउन माहिर।

अर्काको भरिया बनेर भारी बोक्न रुचाउने, अर्काको भरथेग नपाएसम्म यो धर्तीमा खुट्टा टेक्न र अडिन नसक्ने बलिष्ठ भकारी भीमसेन रूपधारी कागजी बाघहरू मिलीजुली बन्ने बनाइने सरकार हुनुपर्छ यो।

कमिसनका लागि देश डुबाउने खालका विदेशी ऋण लिएर छोरानातिलाई साहुको बाधा बनाएर विदेशतिर भगाउने लाज, घिन, डर नभएको कर्मठ नायब मण्डलीको हुस्सुमति, इस्मति, खुसमति, भुसमति, उडुसमति, पितापुर्खाको किस्मत गुमाउने, बाबुबराजुको आङ कन्याउने र सौताको रिसले पतिको काख भिजाउने किसमति बगालद्वारा निर्मित सरकार हुनुपर्छ यस्तो त। अर्काथरी अनर्थशास्त्रीको वितर्क थियो यो चाहिँ। बस कुरा यत्ति !  

प्रकाशित: २८ पुस २०८० ००:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App