४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

अपांगता भएका व्यक्तिका लागि ‘बोल्ने कला’

इलामका २२ वर्षे आलोक अपांगता भएका व्यक्ति हुन्। ह्विलचेयरमै संघर्ष गरी उनले सदरमुकामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट स्नातक उत्तीर्ण गरे। उनलाई बुवालगायत घरपरिवारका अरू सदस्यले ह्विलचेयरमा स्कुल पुर्‍याए, ल्याए। कलेज पनि उसैगरी आउजाउ गर्नुपर्छ। यतिबेला उनी ह्विलचेयरमै चढेर सदरमुकाममा चलिरहेको उद्घोषण तालिममा सहभागी भएका छन्।

‘आफूलाई लागेका कुरा कसरी निर्धक्कसँग अरूसामु राख्न सकिन्छ भनेर सिक्न आएको,’ उनी भन्छन्, ‘पहिलो कुरा त आफ्ना समस्या आफैं राख्नुपर्छ, भोलि कुनै अवसर आइहाले अरूका अघि आत्मविश्वासका साथ बोल्न सकियोस् भन्ने लक्ष्य हो।’

इलामकै देउमाई नगरपालिका–९ जितपुरका ५७ वर्षे चन्द्रशेखर भट्टराई दृष्टिसम्बन्धी अपांगता भएका व्यक्ति हुन्। उनी पनि सदरमुकाममा चलिरहेको उद्घोषण तालिममा सहभागी भएका छन्, ‘म राजनीतिक दलमा पनि आबद्ध, अरू सामाजिक संघसंस्थामा पनि जिम्मेवार पदमा छु,’ उनी भन्छन्, ‘तर कार्यक्रमहरूमा भाँती पुर्‍याएर बोल्न आउँदैन, कहिले धेरै बोलिन्छ, कहिले बोल्नुपर्ने कुरा छुट्छ। त्यसैले कुनै नयाँ कुरा पनि सिकिन्छ कि भनेर तालिम लिन आएको छु।’

इलाम नगरपालिका–६ की समी लावती ‘ब्लाइन्ड रक्स प्रतियोगिता–२०२१’ की राष्ट्रिय विजेता हुन्। इलामकै मरब क्याम्पसमा स्नातक तहमा अध्ययरत उनी पनि यो तालिममा सहभागी हुन आएकी छिन्। तालिमको अभ्यासमा उनी ब्रेल लिपिमा कार्यक्रम तयार गर्छिन् र आकर्षक रूपमा प्रस्तुति दिँदै छिन्।

‘म ब्लाइन्ड रक्समा विजेता बनेपछि धेरैतिरबाट कार्यक्रमका निम्तो आए, कतिपयमा पुगेर मन्तव्य दिएँ, भाषण गरेँ,’ उनले भनिन्, ‘तर मैले बोलेका कुरा सधैं अपुरो भएजस्तो लाग्यो, आफूमा आत्मविश्वास कम भएजस्तो लाग्यो।’

उनले तालिममा अरूलाई प्रभावित बनाउने गरी बोल्नसक्ने कला सिक्न आएको बताइन्। ‘बोल्न त धेरै बोलिन्छ तर भाकाबिनाको बोलाइको खास अर्थ नहोला,’ उनले भनिन्, ‘औपचारिक र अनौपचारिक रूपमा बोलीमा हुनुपर्ने गुण सिक्न आएकी।’

घरेलु तथा साना उद्योग कार्यालयले इलाम नगरपालिकासँगको समन्वयमा सदरमुकाममा ‘अपांगता भएका व्यक्तिका लागि उद्घोषण तालिम’ सञ्चालन गरिरहेको छ। पुस २५ गतेदेखि सुरु सातदिने तालिममा इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिकालगायत स्थानबाट अपांगता भएका १५ जनाको सहभागिता छ।

कार्यालय प्रमुख एकनाथ दाहालले उद्घोषणका माध्यमबाट अपांगता भएका व्यक्तिको नेतृत्व विकासमा सहयोग गर्न तालिम सञ्चालन गरिएको बताए।

‘उद्घोषण बोल्नका लागि मात्र होइन, सिपालु उद्घोषकले त्यसैमा रोजगारीसमेत पाउन सक्छन्,’ उनले भने, ‘कम्तीमा आफ्ना समस्या आफैं राख्ने बनाउन र अरूका समस्यासमेत उठान गर्नसक्ने बनाउन अपांगता भएका व्यक्तिका लागि तालिम सञ्चालन गरिएको हो।’ 

प्रकाशित: २७ पुस २०८० ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App