लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई छाता शब्दको रूपमा क्वियर शब्द पनि प्रयोग गरिन्छ। यसअन्तर्गत विविध यौनिकता, लैंगिकता र यौन विशेषता भएका व्यक्तिहरू पर्छन्। यद्यपि क्वियर व्यक्तिहरू आफ्नो यौनिकता र लैंगिकताको सवाललाई लेस्बियन, गे, ट्रान्सजेन्डर, इन्टरसेक्स, द्वियौनिक, अयौनिकजस्ता परिभाषाले आफूलाई बाँध्न चाहँदैनन्।
क्वियर भनेको नै लैंगिकता र यौनिकताका विषयमा समाजले परम्परागत रूपमा स्थापित गरेका बाइनरी मूल्य–मान्यतालाई नमान्ने वा तोड्ने वा त्यसको घेराबाट बाहिर निस्कने व्यवहार हो। तर के नेपालको लैंगिक तथा यौनिक अल्पसंख्यकको आन्दोलन स्वयमले क्वियर सिद्धान्तलाई अभियानको मुख्य आधार बनाउन सकेको छ त?
नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक अभियान मूलतः कुनै एक वैचारिक चिन्तनलाई आधार बनाएर अगाडि बढेको नभई समुदायको आत्मसम्मान र पहिचानको खोजीका लागि संगठित भई अगाडि बढेको पाइन्छ।
समुदायका व्यक्तिको दैनिक जीवनका सवालहरूलाई केन्द्रमा राख्दै यसको व्यवस्थापन तथा समाधानका लागि गैरसरकारी संस्थामार्फत संगठित भई सन् १९९९–२००१ देखि नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियान प्रारम्भ भएको हो।
यद्यपि सही वैचारिकीलाई समात्न नसक्दा अभियानले कछुवा गतिमा र अपूर्ण अवस्था मात्र उपलब्धिका रूपमा राज्यबाट केही अधिकार प्राप्त गरेको छ।नेपालको क्वियर अभियान प्रारम्भदेखि नै सुधारमुखी प्रवृत्तिको देखिन्छ।
यसको चरित्र समाजमा चलिआएको परम्परा, मूल्य मान्यताभित्र आफ्ना मागहरू अटाउने गरी लैंगिक पहिचान र यौनिकताको परिचय स्थापित गराउने अभ्यास गर्ने किसिमको छ।
समाजमा स्थिापितविपरीत यौनिकतालाई मात्र प्राकृतिक वा सामान्य मान्ने र दुई प्रकृतिको लैंगिक पहिचान महिला वा पुरुष नै हुनुपर्ने बाइनरी लैंगिक मान्यताकै सेरोफेरोमा अभियानको ऐजेन्डाहरू घुमिरहेका छन्। यसले गर्दा संगठित अभियानको २३ वर्ष बितिसक्दा पनि पहिचानअनुसारको नागरिकता र विवाह दर्ता गर्न पाउने अपूर्ण अधिकारको उपलब्धिलाई नै हालसम्मको मुख्य सफलता मान्नपर्ने अवस्था रहेको छ।
नेपाली समाज विपरीत लिंगीवाद/यौनिकतावादको कब्जामा रहेको छ। यसबाहेक यहाँ हिन्दु मान्यतामा आधारित जात र लैंगिकताका तहगत सामाजिक संरचना र विभेदकारी शक्ति सम्बन्धको जरा गहिरोसँग जकडिएको छ।
यो कब्जाबाट स्वयं क्वियर अभियान अछुतो रहन सकेको देखिँदैन। अभियानको ठुलो तप्का अझै पनि क्वियर अस्तित्वलाई सामाजिक स्वीकारोक्ति प्राप्त गर्न हिन्दु परम्पराले स्थापित गरेका विपरीत यौनिकताका मान्यताहरूभित्रै आफूलाई फिट गराउने चाहना, स्वभाव, व्यवहारको पछाडि कुदेको देखिन्छ।
जस्तै: ट्रान्सजेन्डर महिलाहरूले आफू महिला भएको दाबी गर्न तीज मनाउनु सिन्दुर पोते लगाउनु, नाक छेड्नु; ट्रान्सजेन्डर पुरुषहरूले आफु पुरुष भएको दाबी व्रतबन्ध गर्नु, जनै लगाउनु।
हिन्दु धर्मशास्त्रमा महिला मात्र नभएर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको उपस्थिति र अधिकारलाई समेत उच्च महत्व दिइएको रटान लगाउने नेतृत्वको हाबी क्वियर अभियानभित्र छ। यसको फलस्वरूप क्वियर आन्दोलनका रूपमा व्यक्तिको वस्तुकरण गर्दै पितृसत्तालाई नै जोड दिने वैचारिकीलाई समर्थन गरिहेको देखिन्छ।
यसरी अभियानको एउटा हिस्सा क्वियर समुदायलाई धार्मिक समर्थन प्राप्त भएको भ्रममा हिन्दु संस्कार मान्यताले स्थापना गरेको लैंगिक विरोधी, यौनिकता विरोधी मान्यतालाई आत्मसात् गर्ने उल्टो वैचारिकीबाट चलिरहेको देखिन्छ। यसले मुख्यतः यौनिक र लैंगिक रूपले उत्पीडित यस समुदायलाई मुक्तिको बाटोबाट विमुख गराउँछ।
हिन्दुहरूको प्राचीनतम ग्रन्थ भागवत गीतामा कलियुगबारे भविष्यवाणी गर्दै भनिएको छ, ‘भविष्यको कलियुग यस्तो समय हो जब उच्च जातका महिला र तल्लो जातका पुरुषहरू आफ्नो कर्तव्यबाट अगाडि बढ्नेछन्।
विवाहको बन्द संरचना भत्किँदा सामाजिक र नैतिक व्यवस्था पतन हुनेछ, परिवार टुट्ने छ, संस्कार बिर्सिइनेछ, नारी अपवित्र हुन्छन् र यसैबाट जातजातिको मिसावट (वर्णशंकर) आउनेछ (गीता १ः४१–४४)।’
तर बिडम्बना हाम्रो क्वियर आन्दोलन जातको प्रश्नबाट निरन्तर टाढा छ भने तुलनात्मक रूपमा क्वियरप्रति हिन्दु धार्मिक विश्वास उदार रहेको भन्दै पितृसत्ताले निर्माण गरेका विभेदकारी भाष्यहरूलाई निरन्तरता दिइरहेको देखिन्छ।
दक्षिण एसियाली समाज र त्यसमा पनि नेपाली समाजले जात व्यवस्था र पितृसत्ताको गहिरो असर झेलिरहेको छ। यसर्थ जातीय र लैंगिक हिसाबले उत्पीडनबाट मुक्त हुन ‘ब्राह्मणवादी पितृसत्ता’ले स्थापना गरेका मूल्य मान्यतासँग संघर्ष गर्नुपर्ने मत उमा चक्रावर्ती (१९९३) को छ।
उनका अनुसार ‘ब्राह्मणवादी पितृसत्ता’ले जातका आधारमा संगठित समाजहरूमा पितृसत्ताको विशेष स्वरूपलाई जनाउँछ। यस्तो संगठनको आधार ब्राह्मण धर्मग्रन्थहरूमा आधारित छ। यसले व्यक्तिका नितान्त व्यक्तिगत निर्णयका विषयहरू के अध्ययन गर्ने, कस्तो प्रकारको काम गर्ने, कसरी लुगा लगाउने, के खाने, कोसँग विवाह गर्ने, कोसँग बच्चाहरू जन्माउने भन्ने विषयमाथि प्रभाव पार्छ।
यस्ता प्रभावलाई कानुनी स्वीकृतिमार्फत निरन्तरता दिइन्छ। ब्राह्मणवादी पितृसत्ताले निर्माण गरेको यस्तो जात र लिंगको सामाजिक स्तरीकरण (हायरार्की) का कारण महिला र दलित समुदायहरू सबैभन्दा बढी अपमानजनक अवस्थामा बाँच्न बाध्य छन्।
हिन्दु समाजमा महिला र लैगिक तथा यौनिक अल्पसंख्यकको यौनिकतालाई नियन्त्रण गर्न विषम यौनिकतामा आधारित पितृसत्ता र यसै मान्यताअनुरूपको विवाह संस्था खडा गरेर जातीय संरचना कायम राखिएको छ।
विवाह गर्ने दुई व्यक्तिमा एक महिला र एक पुरुष हुनुपर्ने, उनीहरूको जात पनि मिल्नुपर्ने अर्थात् सजातीय हुनुपर्ने बाध्यकारी व्यवस्थाले विपरीत लिंगीवाद र जात व्यवस्थाको जरोलाई अति नै सुरक्षा गरिदिन्छ।
आफ्नो जातीय घेराभन्दा बाहिर अन्तरजातीय विवाह गर्नेहरू र समान यौनिकता वा लैंगिक अवस्थाको व्यक्तिसँग विवाह गर्नेहरूले प्रायः विभेद, बहिष्करण, हिंसा, यातना र हत्यासम्म भोगिरहेका हुन्छन्।
नेपाली समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकको स्वीकार्यतामा भएको समस्या पनि विपरीत यौनिकतामा आधारित ब्राह्मणवादी पितृसत्ताकै उपज हो।
जब यो समाजमा जैविक लिंग पुरुष भएको व्यक्ति आफूलाई महिलाका रूपमा परिभाषित गर्न खोज्छ तब पुरुष जन्माएका कारण प्राप्त गरेको सम्मान गुम्ने डरले अभिभावक यो स्वीकार गर्दैन; जब यौनांग योनि भएको व्यक्ति आफूलाई मानसिक र सामाजिक रूपमा पुरुष भनी परिभाषित गर्छ तब ब्राह्मणवादी पितृसत्ताले डो¥याएको मान्यता र नियम उल्लंघन हुने कारण समाजबाट उनीहरू अलग्याइन्छन्।
त्यसैगरी महिला र महिला, पुरुष र पुरुषबीचको प्रेम सम्बन्ध त यसले नस्विकार्ने भइहाल्यो; बाइसेक्सुल, पानसेक्सुअल व्यक्तिहरूलाई अनैतिक यौन व्यवहार ठह¥याइन्छ र अयौनिक अर्थात् असेक्सुअलहरूलाई ब्रह्मचारीको संज्ञा दिई पवित्रतासँग गाँस्ने गलत र मिथ्या व्यवहार गरिन्छ। र यस्ता अस्वीकार्यता यसरी स्थापित भएका छन् कि हामीले उनीहरूको जीवनमा हिंसा गरिरहेका छौं, विभेद गरिरहेका छौं भन्नेसमेत हामीलाई हेक्का हुँदैन। न त यसबारे मूलधारको लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको आन्दोलन नै सचेतपूर्ण तरिकाले लागेको छ न महिला आन्दोलन न दलित आन्दोलन।
ब्राह्मणवादी विवाह संस्था महिला र क्वियर समुदायको यौनिकता नियन्त्रण गर्ने बलियो हतियार हो। यसर्थ क्वियर समुदायका व्यक्तिहरूले पनि यस प्रकारको विवाह संस्था र यसको मान्यताबाट बाहिर निस्किएर प्रेम सम्बन्ध मात्र रहने पार्टनरसिपमुखी सम्बन्धमा प्रवेश गर्नु उपयुक्त हुन सक्छ।
ब्राह्मणवादी विवाह संस्थाले विशेषत पुरुषको अधीनमा महिलालाई र समयौनिकतामा आधारित अन्तजातीय विवाहमा कथित उच्च जातको व्यक्तिले आफ्नो पार्टनरलाई प्रेम र सुरक्षाका नाममा नियन्त्रण र हिंसा गरिरहेको हुन्छ।
यसर्थ नेपालको क्वियर समुदायले कानुनी विवाहलाई राज्यबाट लिए पनि सामाजिक रूपमा परम्परागत विवाह संस्थामा छिर्नु उपयुक्त रहँदैन।
परम्परागत विवाह संस्थाको मान्यताले समयौनिकता भएका जोडीहरूमा एकजनामा स्त्रित्व गुण र अर्कोमा पुरुषत्व गुणको अपेक्षा गर्छ र एकलाई परम्परागत श्रीमान् र अर्कोलाई परम्परागत श्रीमतीको भूमिकामा बस भन्छ।
जबकि समयौनिक जोडीहरू आपसमा विपरित नभई समान हैसियत र सम्बोधन तथा सम्बन्धमा रहने प्राकृतिक स्वभाव रहेको हुन्छ।
परम्परागत विवाह संस्थामा विश्वास राख्ने र अभ्यास गर्ने व्यक्तिहरूले समयौनिक जोडीको स्वाभाविक सम्बन्धलाई भत्काएर विपरित लिंगीवादी विवाह संस्कार नै स्थापित गर्नमा लाग्ने प्रवृत्ति नेपालको क्वियर अभियानमा पनि प्रशस्त छ।
नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले विवाहका विषयमा अझ धेरै छलफल गरी सही वैचारिकीसहित राज्यसँग वैवाहिक समानताको कानुनी अधिकारमा संघर्ष गर्नु जरुरी छ।
दक्षिण एसियाको जात व्यवस्थामा आधारित सामाजिक संरचनामा ‘दलित क्वियर’ हुनु भनेको दलित समुदाय र क्वियर समुदाय दुवै पहिचान अन्तरसम्बद्ध विशिष्ट सामाजिक पहिचानको अस्तित्व प्रस्तुत गर्नु हो। यसमा जातीयता, यौनिकता र लैंगिकताको पहिचान इन्टरसेक्ट रहेको हुन्छ।
नेपालजस्तो तहगत शक्तिसम्बन्ध भएको समाजमा दलित क्वियर सबैभन्दा पिँधको उत्पीडनमा परेको समूह हो। यस समूहमा अझ भूगोल, भाषा, वर्ग तथा अपांगताको सामाजिक न्यायका मानकहरूको थप सम्बद्धताले यस समूहलाई अति नै सीमान्तकृत बनाउन सक्छ।
नेपाली समाजको तहगत सामाजिक संरचना मूलतः ब्राह्मणवादी विपरीत लिंगवादमा आधारित पितृसत्तामा आधारित छ। यस्तो समाजमा शक्तिको केन्द्रमा कथित ब्राह्मण विपरितलिंगी (विपरीत यौनिकता) पुरुष रहन्छ भने यसबाहेकका सबै अन्य जातका, समयौनिक, द्वययौनिक, सर्वयौनिक व्यवहार भएका महिला, पुरुषलगायत अन्य सबै लैंगिक पहिचानका व्यक्तिमाथि शासन गर्छ। उनीहरूलाई नियन्त्रण गर्न विभिन्न किसमको सामाजिक मूल्य मान्यता निर्माण गर्नुका साथै कानुन नै निर्माण गरी यसलाई नियमनसमेत गर्छ।
नेपालको क्वियर अभियान तथा क्वियर दलितहरूका अभियानको प्रतिरोध यही ब्राह्मणवादी विपरीत लिंगवादमा आधारित पितृसत्तासँग रहनुपर्छ।
यो प्रतिरोध भुइँ तहमा रहेका क्वियर दलितहरूको मुक्तिका लागि मात्र नभई यो किसिमको तहगत सामाजिक संरचनाबाट प्रताडित सबै समुदायको मुक्तिका लागि पनि हो।
नेपालको मूल धारको महिला आन्दोलन, दलित आन्दोलन र यौनिक तथा लैंगिक अल्पसंख्यक अभियानले समेत यस बैचारिकीलाई आत्मसात गरि अगाडि बढेमा नेपालका महिलाहरू, दलितहरू र क्वियर समुदायको उत्पीडनबाट समग्र मुक्ति सम्भव छ।
आफ्नो अभियानको हाँगा मात्र समाएर हिँड्ने सामाजिक अभियानकर्मीहरूले पनि आफ्नो आन्दोलनभित्रको विविधतालाई ध्यान दिँदै प्रतिरोधको वैचारिकी तयार गर्ने र सम्बन्धित अभियानहरूबीचमा सहकार्य र सहअस्तित्व निर्माण गर्नुपर्ने हुन्छ।
–दलित क्वियर अभियन्ता गौरी नेपालीद्वारा सामरी उत्थान सेवालेकाठमाडौंंमा आयोजना गरेको ‘नेपाली क्वियर आन्दोलन र अन्तरसम्बद्धतामा आधारित विभेद’ शीर्षकको विमर्श कार्यक्रममा प्रस्तुत कार्यपत्रको अंश
प्रकाशित: २३ पुस २०८० ०१:५७ सोमबार