‘शतबीज छरेर आयौ त बाजे?’ घरैनिर आइपुगेपछि एक्कासि एउटा आवाज उसको कानमा ठोक्कियो। उसले फर्केर हेर्यो। छिमेकी बलराम उपाध्याय उभिएका थिए। उनको लवज छेड हाने जस्तो थियो। ऊ फिस्स हाँस्यो। केही बोलेन।
‘म पनि गएको थिएँ शतबीज छर्न।’ उसले ढाँट्छ कि ठानेर मानो उनी उसलाई सचेत गराउँदै थिए।
ऊ फेरि पनि केही बोलेन।
‘पूजापाठलाई अनावश्यक खर्च र आडम्बर भन्थ्यौ। कुरा चैं नास्तिक जस्तो गर्ने, काम चैं आस्तिक जस्तो गर्ने?’
‘भन्न अफ्ठ्यारो लाग्यो होला नि! आफैले यो गरे त्यो गरे के फाइदा, के उपलब्धि हुन्छ भन्ने अनि कुन मुखले ‘हो’ भन्ने होइन भाइ?’ उनी अझै उसलाई खोर्याउँदै थिए।
‘गएको थिस् भने गएको थिएँ भन्दे कान्छो! आ ’ केको गलबदी। तातो न छारो!’ अर्को छिमेकी बोल्यो।
उसले गाह्रो नमानी सजिलै भन्यो, ‘हो, गएको थिएँ।’
‘अनि के उपलब्धि के फाइदा देखिस् त शतबीज ढुंगा र माटोमा छरेर?’ बलराम उपाध्याय पड्किए।
छिमेकीको अनावश्यक चासोमा दिक्क नमानी, दुर्घटनामा बितेका बाबुलाई सम्झिदै उसले भन्यो,‘हजुर, पितृको सम्झनामा श्रद्धाको बीउ छर्न गएको थिएँ! ढुंगामा छरिएकाले पशुपन्छीको पेट भरिन्छ र माटोमा छरिएकाबाट निष्ठाको बिरुवा उम्रनेछ।’
‘उम्रया उम्रयै हो तेरो रूखो र सुकेको श .. त..बी..ज..।’ उनले लोपारूँला जस्तो गरी भने।
रत्तिभर विचलित नभएर उसले भन्यो,‘मैले जलदान गरेर जीवन्त तुल्याएको शतबीज कर्मकाण्ड नभएर विज्ञानसम्मत भएकाले मेरो सद्भाव खेर नजानेमा म विश्वस्त छु।’
-नवराज शर्मा
प्रकाशित: १२ पुस २०८० ०४:४९ बिहीबार