३ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

पूर्ण स्मृति सम्मानबाट तीन जना सम्मानित

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका तत्कालीन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार-२०८० प्रदान गरिएको छ।  

रेडियोको आठौं वार्षिक साधारणसभाको अवसर पारी आयाेजना गरिएको कार्यक्रममा समाजसेवातर्फ नन्दराज थापा, साहित्यतर्फ सागर उदास र  पत्रकारितातर्फ पत्रकार विकास खनाल सम्मानित भएका हुन्।

पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१० हजार, प्रमाणपत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेकाे छ।

तनहुँ जिल्लामा क्रियाशील रहेकामध्ये खोजपत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, तनहुँ जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिबाट छनौट गरिएको हो।

सोमवार गाछेपानीमा आयोजित कार्यक्रममा प्रदेश सभा सदस्य श्यामराजा महत, रेडियोका अध्यक्ष ऋषेश्वर भुवाई ‘ऋतु’, वडा नंं ६ र १० का अध्यक्षहरू बुद्धि बहादुर थापा, राजेन्द्र भट्टराई क्षेत्री, स्वर्गिय पूर्ण श्रेष्ठकी धर्मपत्नी सुकु श्रेष्ठले उनीहरूलाई नगद, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन्।

समाजसेवातर्फ छनौट भएका ६६ वर्षिय थापा यस क्षेत्रका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील रही नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। झण्डै ४ दशक शिक्षण पेशामा आवद्ध उनी निवृत्तपछि सामाजिक क्षेत्रमा क्रियाशील छन्। ग्रामीण  होमस्टेको प्रवर्द्धनमा लागेका उनी हाल शुक्लागण्डकी–२ दगाम बस्दै आएका छन्।

यसैगरी साहित्यतर्फ सम्मानित भएका उदास २०४५ सालदेखि कलम चलाउन थालेका हुन्। उनको शब्दको पहिलो गीत २०५१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो। विभिन्न गीति पुस्तक प्रकाशन र आधुनिक गीत रेकर्ड भएका छन्। उनी गण्डकी वाङमय प्रतिष्ठानका निवर्तमान अध्यक्ष हुन्।

यस्तै पत्रकार खनाल दमौलीमा रहेर पत्रकारितामा क्रियाशील छन्। म्याग्दे-१ को गुणादीमा जन्मिएका खनाल हाल हाल व्यास-२ मा रहेर पत्रकारिता गर्दै आएका छन्।

२०५७ सालबाट लेख रचना प्रकाशन गर्दै २०६७ सालमा मादी सेती प्रवाह दैनिकबाट पत्रकारिता थालेका खनाल हाल प्राइम टाइम टेलिभिजन, सेती मादी दैनिक र बीएनबी मिरर डटकममा आवद्ध छन्।

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य महतले रेडियोले स्थापना गरेको सम्मानले अन्य व्यक्तिहरूलाई समाजप्रति थप उत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सम्मान ग्रहणपछि सम्मानितहरूले आफूहरूलाई थप जिम्मेवार बनाएको बताएका थिए। रेडियोका अध्यक्ष भुवाईको अध्यक्षतामा भएको कार्यक्रममा छनौट समितिका संयोजक नारायण श्रेष्ठले पत्रकार खनाल, छनौट समिति सदस्य आनन्दसुन्दर श्रेष्ठले साहित्यकार उदास र रेडियोका पूर्व सदस्य सुजित हिराचनले समाजसेवी थापाको जीवनीमाथि प्रकाश पारेका थिए।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले तीन विधा छनौट गरिएको हो। रेडियोका पूर्व अध्यक्ष नारायणकुमार श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले पुरस्कृत व्यक्ति छनौट गरेको हो। छनौट समिति सदस्यहरूमा आनन्द सुन्दर श्रेष्ठ, ठान प्रकाश न्यौपाने र शिव गर्तौला रहेका थिए।

यसअघि पूर्ण स्मृति  शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कार-२०७९ बाट पत्रकारितातर्फ विश्ववन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल सम्मानित भएका थिए।

रेडियोका शेयरधनी सदस्य,  शुभेच्छुकबाट स्वतस्फूर्त र केही रकम उहाँको परिवारबाट जम्मा गरी ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो। सोही रकमको ब्याजबाट प्राप्त आम्दानीले प्रत्येक वर्ष ३ विधामा क्रियाशील व्यक्तिलाई पुरस्कार प्रदान गरिने रेडियोले जनाएको छ।

रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो।

सोही अवसरमा उत्कृष्ट विज्ञापनदाता डिजी लिंक नेटवर्क प्रालिका अध्यक्ष विपिन वाग्ले, शुक्ला मोटर्स प्रालिका सञ्चालक प्रवास पंगेनी र दुलेगौंडा मेटल उद्योगका सञ्चालक संगम वानीया, उत्कृष्ट कर्मचारीतर्फ रिमा गुरुङ, उत्कृष्ट स्रोता शुनपा-१० खोरादीका टोप विसी सम्मानित भए।

वार्षिक साधारणसभामा सचिव शिव पौडेल र कोषाध्यक्ष टिकाराम श्रेष्ठले पेश गरेको सचिव र कोषाध्यक्षको प्रतिवेदन छलफलपछि पारित गरिएको थियो। कार्यक्रममा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देलले स्वागत र सञ्चालन सचिव पौडेलले गरेका थिए।  

प्रकाशित: १० पुस २०८० ०८:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App